नास्तिकहरूको हालखबर !

जुन समाजमा भोजन, स्वास्थ्य, शिक्षा र आवासको राम्रो सुविधा उपलब्ध हुन्छ, त्यहाँ धार्मिकता क्षीण र नास्तिकता प्रबल भेटिन्छ भने त्यस्ता सुविधा न्यून र जीवन–सुरक्षा कमजोर भएका देशमा धर्मको वर्चस्व उच्च हुन्छ।

नेपाल लगायत संसारका विभिन्न देशमा कुन धर्मका अनुयायी कति छन् भन्ने मोटामोटी आँकडा पाउन गाह्रो छैन, तर कुनै पनि धर्ममा विश्वास नगर्ने नास्तिक या अधार्मिक मानिसको संख्या थाहा पाउन अलिक कठिन पर्छ । यसको एउटा कारण आम सामाजिक संस्कार र परम्परागत सोचाइ नै हो । कतिपय देश या समाजमा ईश्वरमा विश्वास नगर्ने मानिसहरू पनि आफूलाई ‘नास्तिक’ या ‘अधार्मिक’ भनाउन रुचाउँदैनन् । यसको एउटै रोचक उदाहरण ‘ग्रिलेई’ नामक संस्थाले सन् २००३ मा गरेको सर्वेक्षणमा देखिएको थियो । सर्वेक्षणका क्रममा ४१% नर्वेजियन, ४८% फ्रान्सेली र ५४% चेक नागरिकले ईश्वरमा आफ्नो विश्वास नभएको बताए । तर तीमध्ये १०% नर्वेजियन, १९% फ्रान्सेली र २०% चेक मात्रै आफूलाई ‘नास्तिक’ का रूपमा चिनाउन तयार थिए ।

अधार्मिकता सम्बन्धी पहिलो विस्तृत अध्ययन/सर्वेक्षण ग्यालप वल्र्ड Gallup world) ले सन् २०११ मा गरेको थियो । त्यसमा ‘ग्यालप’ को प्रश्न थियो— “धर्म तपाईंको जीवनको महत्वपूर्ण अङ्ग हो ?” यो प्रश्नमा ‘होइन’ जवाफ दिनेहरूलाई ‘अधार्मिक’ को श्रेणीमा राखेर आँकडाको विश्लेषण गरिएको थियो । तर, विकिपिडिया लगायत अन्य संस्थाहरूले नास्तिक, धर्मनिरपेक्षवादी, मानववादी, धर्म–विरोधी, ईश्वर विरोधी, पण्डा–पुरेत–पादरी विरोधी, अज्ञेयतावादी र सन्देहवादीहरूलाई पनि ‘अधार्मिक’ मान्ने गरेका छन् । यसरी ‘धर्म र ईश्वर’ को परिभाषा तथा आधारभूत बुझइमै संस्था, देश र समुदायपिच्छे भिन्नता रहेकोले नास्तिक या धर्मरहित मानिसहरूको खास संख्या आकलन गर्न असम्भव प्रायः लाग्छ ।

तथापि, अधार्मिकहरूको विश्वव्यापी अवस्था र प्रवृत्ति के कस्तो रहेछ भनेर सामान्य जानकारीको निम्ति यहाँ विभिन्न २५ वटा देशको जनसंख्यामा ‘अधार्मिक’ हरूको ग्यालप (Gallup) र विकिपिडिया  द्वारा तयार पारिएको तालिका प्रस्तुत गरिएको छ ।

यो तालिका अनुसार सबैभन्दा धेरै अधार्मिक/स्तिकहरू स्वीडेन (८८%) मा देखिन्छन् भने सबैभन्दा कम इरान (१.१%) मा । तर, यस्ता आँकडाको व्याख्या गर्दा प्रत्येक देश र समुदायको विशिष्ट अवस्था ख्याल गर्न बिर्सनुहुँदैन । स्वीडेनको समाज स्वतन्त्र र समृद्ध भएकोले आँकडाले धेरै हदसम्म त्यहाँको धार्मिक यथार्थ बताउन सक्छ भने इरानको समाज र सत्तामा कट्टरपन्थी इस्लामिकहरूको वर्चस्व रहेकोले त्यहाँको आँकडाले वास्तविकताको प्रतिनिधित्व नगर्न सक्छ । यस सम्बन्धमा माल्दिभ्सको उदाहरणले अझै स्पष्ट पार्छ । माल्दिभ्सको संविधानले सुन्नी मुसलमान मात्र त्यो देशको नागरिक हुनसक्ने व्यवस्था गरेको छ । यसको अर्थ, माल्दिभ्समा रहुञ्जेल कुनै नास्तिकको गणना स्वतः ‘धार्मिक’ या आम ‘सुन्नी मुसलमान’ कै रूपमा हुनेभयो ।

विकिपिडियाका अनुसार सन् २००७ को विश्व जनसंख्यामा अधार्मिक/नास्तिकको संख्या ५० देखि ७५ करोडको बीचमा थियो । यो भनेको बौद्ध धर्मावलम्बीको कुल संख्याको दोब्बर हो । त्यो वर्ष क्रिश्चियनको विश्व जनसंख्या दुई अर्ब, मुसलमानको १.२ अर्ब र हिन्दूको ९० करोड आकलन गरिएको थियो । त्यसपछि नास्तिकहरूको संख्या आउँछ ।

विकसित देशमा नास्तिक/अधार्मिकको संख्या बढी र कम विकसित देशमा आस्तिक या धार्मिकहरूको संख्या बढी देखिन्छ । नोरिस र इगलहर्टले सन् २००४ मा गरेको एक व्याख्या अनुसार जुन समाजमा भोजन, स्वास्थ्य, शिक्षा र आवासको राम्रो सुविधा उपलब्ध हुन्छ, त्यहाँ धार्मिकता क्षीण र नास्तिकता प्रबल भेटिन्छ भने त्यस्ता सुविधा न्यून र जीवन–सुरक्षा कमजोर भएका देशमा धर्मको वर्चस्व उच्च हुन्छ । केही अपवादलाई छोडेर, सामाजिक सुरक्षा तथा वैयक्तिक सुख–सुविधा र नास्तिकता बीच समानुपातिक सम्बन्ध देखिन्छ । अर्थात् गरीबी, आर्थिक विषमता र कष्टपूर्ण जीवनले धार्मिक आश्रय बढी खोज्छ ।

धार्मिक र अधार्मिक बीच अर्को चाख लाग्दो भिन्नता पनि हुन्छ । कुनै हिन्दू, मुस्लिम या क्रिश्चियन परिवारमा बच्चा जन्मने बित्तिकै त्यो धर्म मान्नेको संख्या बढ्छ । तर, नास्तिकहरू त्यसरी जन्मँदैनन् । कुनै धर्मभित्र जन्मिएको बालक नै
लेखपढ गरेर नास्तिक या अधार्मिक बन्न पुग्ने हो ।

शिक्षक  मासिक, २०७६ माघ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial