विद्यालयमा सामाजिक अध्ययन शिक्षणका चुनौती

हरेक देशले आफ्नो आवश्यकता र राष्ट्रिय उद्देश्य अनुरूप विद्यालय शिक्षाको संरचना निर्धारण गर्ने गर्दछ । सोही संरचना अनुसार विद्यालयमा के–कस्ता विषय पढाउने हो, सोको निक्र्योल गरिन्छ । त्यस कुराको मार्गदर्शन राष्ट्रिय पाठ्यक्रम प्रारूपले गर्छ । नेपालमा हालसालै मात्र संघीय सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७५ पारित गरेको छ । त्यसले २०६३ को पाठ्यक्रम प्रारूपलाई विस्थापित गर्छ । नयाँ प्रारूप अनुसार कक्षा–१ देखि ३ सम्म एकीकृत ढाँचाको पाठ्यक्रम लागू गरिनेछ भने आधारभूत (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) का लागि छुट्टाछुट्टै विषयगत पाठ्यक्रमको संरचना कार्यान्वयन गर्ने योजना रहेको छ । नयाँ प्रारूपले कक्षा–९ र १० मा पाँच वटा अनिवार्य र दुई वटा ऐच्छिक विषय रहने व्यवस्था गरेको छ । त्यस्तै कक्षा–११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय र कक्षा–१२ मा नेपाली, अंग्रेजी र जीवनोपयोगी शिक्षा गरी तीन वटा विषय अनिवार्य गरिएको छ । कक्षा–११ र १२ मा तीन–तीन वटा विषय चाहिं ऐच्छिक रूपमा रहने छन् ।

यसरी विद्यालयका विभिन्न तहमा सामाजिक अध्ययन लाई अनिवार्य विषयको रूपमा राखी उक्त विषयलाई विशेष प्राथमिकता दिन खोजेको देखिन्छ । तर, विद्यालय तहमा सामाजिक विषयकै शिक्षण सिकाइ त्यति प्रभावकारी नभइरहेको कुरा हामी सबैले महसूस गरेका छौं । त्यसमा पनि सामाजिक अध्ययन  विषयको शिक्षण–सिकाइ नीरस र रटान प्रणालीबाट हुने गरेको कुरा कसैबाट लुकेको छैन ।

विद्यालय तहमा सामाजिक अध्ययन विषयको शिक्षण सिकाइको औचित्य खोज्दै जाँदा यसभित्रका धेरै पक्षमाथि ध्यान पु¥याउनुपर्ने हुन्छ । सर्वप्रथम संयुक्त राज्य अमेरिकाले आफ्नो समाजको विविधतायुक्त संरचना सम्बोधन गर्न र बालबालिकामा नागरिक भावनाको विकास गराउन विद्यालय तहमा सामाजिक अध्ययन विषयको आवश्यकता महसूस गरेको थियो । अमेरिका धेरै हदसम्म यो विषयको औचित्यलाई व्यावहारिक रूपमै पुष्टि गर्न सफल पनि भयो । तर नेपाल जस्ता कम विकसित राष्ट्रहरूमा अत्यन्त फितलो कार्यान्वयनका कारण यो विषय सङ्कटमा रहँदै आएको छ । तथापि, संघीय सरकारले विद्यालयका सबै तहमा यो विषयलाई अनिवार्य विषयको रूपमा राख्नु निःसन्देह प्रशंसनीय कदम मान्नुपर्दछ ।

सामाजिक विषयको अध्यापन किन ?
मानिसहरूले आफ्नो समाज र संस्कृतिको संचारण र रूपान्तरण गर्ने प्रक्रियालाई सहज रूपमा लिएनन् भने यसले समाजको विकासलाई क्षति पुर्‍याउँछ । एकजना विद्वान् पाल इ. ब्रान्डविनले यही तर्कलाई स्वीकार्दै सामाजिक अध्ययन  विषयका बारेमा भनेका छन्— ‘मानिस आफ्नो संस्कृतिको संचारण र रूपान्तरण जुन प्रक्रियाबाट गर्दछ, सामाजिक अध्ययन विषय त्यसैसँग सम्बन्धित छ ।’ यहाँ, संस्कृतिको संचारण भन्नाले पुर्खाले आफ्नो सन्तानलाई प्रदान गर्ने ज्ञान र मूल्य तथा मान्यता बुझाउँछ । तर पछिल्लो पुस्ता वा सन्ततिले उक्त ज्ञान, मूल्य र मान्यतालाई यथावत् रूपमै स्वीकार गर्छ भन्ने छैन । उसले आफ्नो अनुभव र समाजको माग, आवश्यकता वा चाहना अनुसार नवीन ज्ञान, मूल्य र मान्यताको खोजी गरी पुर्खाबाट संचारित संस्कृतिलाई अझ् समृद्ध र परिष्कृत तथा समयसापेक्ष पनि बनाउन सक्छ । यसलाई नै रूपान्तरणको प्रक्रिया भन्ने गरिन्छ । तसर्थ सामाजिक अध्ययन विषयलाई अनुभव तथा खोजद्वारा ज्ञानको यही संचारण र रूपान्तरण गर्ने विषयको रूपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने हाम्रा पुर्खाबाट संचारित कतिपय ज्ञान, मूल्य र परम्परा हाम्रा लागि धरोहर हुन्, तिनको संरक्षण जरूरी छ भने विकृतिको रूपमा रहेका कतिपय प्रथाहरू जस्तै बालविवाह, छाउपडी, दहेज आदिलाई निर्मूल पार्नु उत्तिकै आवश्यक छ ।


सामाजिक अध्ययन विषयको प्रमुख चुनौतीको रूपमा रहेको योग्य र दक्ष शिक्षक वा सहजकर्ताको निर्माण र छनोटका लागि शिक्षक तयारी कार्यक्रम संचालन गर्नु अति नै आवश्यक छ।

सामाजिक अध्ययन  विषयले मानव र समाजको भौतिक तथा सामूहिक वातावरण बीचको पारस्परिक सम्बन्धको अध्ययन गर्ने हुनाले बालबालिकालाई विगतका परिवर्तनबाट सिक्दै वर्तमान र भविष्यमा हुने परिवर्तनको आकलन गर्न सहयोग पुर्‍याउँछ । यसबाट उनीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थासँग परिचित हुने अवसर पनि प्राप्त हुन्छ । यसका अतिरिक्त, सामाजिक अध्ययनको शिक्षणले बालबालिकामा लोकतान्त्रिक समाज अनुकूलका उत्तरदायी नागरिकका गुण र विशेषता विकास गर्नमा पनि सहयोग पुग्छ । त्यसैले भनिन्छ— सामाजिक अध्ययनको मुख्य उद्देश्य नै बालबालिकालाई लोकतान्त्रिक समाजमा रहन सक्ने असल नागरिक बन्न सघाउनु हो । संक्षेपमा भन्दा असल नागरिक निर्माणको यही महत्वपूर्ण उद्देश्य प्राप्तिका निम्ति सामाजिक अध्ययन  विषय सहायक हुने हुनाले यसको औचित्य बढेर गएको छ ।

निम्नलिखित थप कारणहरूले गर्दा पनि विद्यालय तहमा सामाजिक अध्ययनको शिक्षण–सिकाइ अनिवार्य गर्नु परेको छः
–  असल नागरिक भावनाको विकास गर्न
– विविधतायुक्त समाजलाई एकसूत्रमा बाँध्न
– बालबालिकामा सामाजिक चरित्रको निर्माण गर्न (जसबाट विभिन्न सामाजिक गुण जस्तै सहयोग, सहकारिता, सहिष्णुता र निष्पक्षताको विकास हुनसकोस् ।)
– समालोचनात्मक चिन्तन र सृजनात्मक कलाको विकास गर्न
– बालबालिकामा सामाजिक र बौद्धिक सीपको विकास गर्न
– सामाजिक अन्धविश्वास र विकृति हटाउन सहयोग गर्न
– मानवअधिकार र महिलाको अधिकार प्रवद्र्धनमा सहयोग गर्न
– सामाजिक न्यायको अवधारणालाई बल पुर्‍याउन
–  राष्ट्रिय र अन्तर्राष्ट्रिय समझ्दारीको विकासमा सहयोग पुर्‍याउन
–  शिक्षण–सिकाइमा बालबालिकाको सक्रिय सहभागितामा अभिवृद्धि गरी शिक्षालाई बालउन्मुख बनाउन, र
–    सिकारुलाई कक्षाकोठा भन्दा बाहिर शिक्षण–सिकाइका लागि स्वायत्तता प्रदान गर्न ।

सामाजिक अध्ययनको मुख्य मुद्दा के ?
सामाजिक अध्ययनको मुख्य मुद्दा भन्नाले यसको स्वरूप कस्तो हुने भन्ने नै हो । यो एउटा विधाको रूपमा रहने कि प्रणाली या तरिका (Approach) को रूपमा कार्यान्वयन हुने भन्ने हो । यदि विधाको रूपमा रहने हो भने सैद्धान्तिक रूपमा सामाजिक अध्ययनको आफ्नै विषयवस्तु हुनुपर्छ, जुन यसको प्रकृतिसँग मेल खाँदैन । सामाजिक अध्ययन  ले सामाजिक विज्ञानका क्षेत्रहरू, जस्तै भूगोल, अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र तथा मानवशास्त्र जस्ता विधाबाट आफ्नो उद्देश्य अनुरूपका विषयवस्तुको छनोट गरेको हुन्छ । उक्त छनोट बहुविधाका रूपमा कि एकीकृत विषयको रूपमा हुने भन्ने पनि महत्वपूर्ण रहेको छ । अहिले सामाजिक अध्ययनको विषयवस्तु छनोट गर्दा बहुविधाका रूपमा छनोट गरेको पाइन्छ, जुन यो विषयसँग त्यतिको मेल खाँदैनन् । यसलाई एकीकृत विषयको रूपमा प्रस्तुत गर्नुपर्छ, जुन आफैंमा चुनौतीपूर्ण कार्य पनि हो ।

सामाजिक अध्ययन विषयको शिक्षण–सिकाइ विधि तथा प्रविधिको छनोट पनि अर्को महŒवपूर्ण मुद्दा हो । सामाजिक अध्ययन स्वभावले नै मानव तथा समाजको भौतिक तथा सामाजिक वातावरणसँग सम्बन्ध स्थापना गर्नुपर्ने भएकोले उनीहरूमा चरित्र तथा नागरिक भावनाको विकास गर्नु आवश्यक हुन्छ । यो विषयको शिक्षण–सिकाइका लागि परम्परागत सिकाइ प्रणाली उपयुक्त मानिंदैन । त्यसैले, यस विषयको शिक्षणमा शिक्षककेन्द्रित भन्दा पनि बालकेन्द्रित बनाउनुपर्ने, बालबालिकालाई सिकाइका लागि स्वायत्तता प्रदान गर्नुपर्ने र यसका लागि शिक्षक सहजकर्ता तथा सहयोगी भूमिकामा हुनुपर्ने तथा कक्षाकोठाभित्र सिकाइलाई सीमित नबनाई सामाजिक सन्दर्भमा व्यापक बनाउनुपर्ने आवश्यकता रहेको छ ।

बालबालिकाको व्यवहारमा अपेक्षित परिवर्तन गर्न उनीहरूमा आवश्यक सीप तथा अभिवृत्तिको विकास जरूरी हुन्छ । यसका लागि प्रयोगात्मक पक्षमाथि बढी जोड दिने र पाठ्यपुस्तक खोज तथा अनुसन्धानमुखी बनाउनुपर्ने हुन्छ । साथै यसबाट बालबालिकामा सृजनशीलता तथा समालोचनात्मक चिन्तनको विकासमा टेवा पुग्ने हुनुपर्दछ ।

बेमेल शिक्षण सिकाइ
सामाजिक अध्ययनको पाठ्यक्रममा ‘विद्यार्थीलाई यो विषयसँग सम्बन्धित पाठ्यवस्तुको व्यावहारिक ज्ञान दिनका लागि कक्षा भित्र वा बाहिर; विद्यालय, परिवार, टोलछिमेक, विभिन्न समूह, समुदाय तथा स्थानीय सरकारसँग सम्बन्धित क्रियाकलाप गराउनुपर्छ’ भनिएको छ । विद्यार्थीलाई जस्ताको तस्तै पाठ्यपुस्तक कण्ठ गराउने परिपाटीलाई निरुत्साहित गरी ‘गर र सिक’ को विधि अपनाउन पनि भनिएको छ । यो विषयले कथा, नाटक, कविता, विभिन्न चित्र तथा रेखाचित्र, तस्वीर, नक्शा जस्ता सृजनशीलता विकास गराउने सामग्रीको प्रयोग गर्ने र यसका लागि प्रश्नोत्तर र प्रदर्शन विधि, छलफल तथा समस्या समाधान विधि, अवलोकन तथा सोधखोज विधि, अभिनय तथा परियोजना विधि, स्थलगत भ्रमण तथा घटना अध्ययन विधिको प्रयोग गर्ने भनिएको छ । यसका अतिरिक्त; यस विषयको शिक्षणमा सूचनाप्रविधिको पनि प्रयोग गर्न सक्नुपर्दछ ।

यस बाहेक सामाजिक–अध्ययन विषयको शिक्षा र शिक्षण विधिमा आएको परिवर्तनलाई पनि हामीले आत्मसात् गर्नुपर्दछ । (हे. तालिका माथि)

उपर्युक्त तालिकाको आधारमा हामी के भन्न सक्छौं भने विद्यालय शिक्षामा सामाजिक–अध्ययन  विषयको प्रमुख चुनौती भनेको यसका लागि आवश्यक शिक्षक वा सहजकर्ताको निर्माण र छनोट हो । एकातिर सरकारले सामाजिक–अध्ययन  शिक्षक वा सहजकर्ताका लागि कस्तो योग्यता र मापदण्ड आवश्यक हुने भन्ने निक्र्योल गर्न सकेको छैन भने अर्कोतर्फ दक्ष शिक्षक उत्पादन गर्ने शैक्षिक संस्था वा विश्वविद्यालयहरू त्यस्ता शिक्षक उत्पादन गर्न उदासीन देखिएका छन् ।
नेपालमा सामाजिक अध्ययनको अर्को मुख्य समस्या, यस विषयको शिक्षण–सिकाइका लागि माध्यम भाषा के हुने भन्ने पनि हो । यो विषयको स्वभाव परिवार, समुदाय र स्थानीय व्यक्तिसँग छलफल र अन्तरक्रियाका आधारमा तथ्यहरू सङ्कलन गर्नुपर्ने भएकोले यसका लागि सिकाइको उपयुक्त माध्यम स्वाभाविक रूपमै स्थानीय भाषा हुनसक्छ । तर, स्थानीय वा मातृभाषाको सट्टा यो विषय शिक्षणको माध्यम भाषा अंग्रेजीलाई बनाइन्छ भने त्यसले घोकन्ते सिकाइलाई बढावा दिनु बाहेक केही गर्दैन । यो विषय शिक्षण सिकाइको बढी भाग क्रियाकलापमुखी हुने हुनाले पनि यसको अध्ययन र सिकाइ स्थानीय वा राष्ट्रिय भाषामै हुनुपर्छ । भारतमा सामाजिक–अध्ययन विषयको शिक्षणका लागि त्रिभाषिक नीति अवलम्बन गरेको छ । हामीले पनि सामाजिक अध्ययन विषयको शिक्षणमा कम्तीमा द्विभाषिक नीति अवलम्बन गर्दा यसको उद्देश्य पूरा हुने संभावना बढाउन सकिन्छ ।

अब के गर्ने
सामाजिक अध्ययन  विषयको शिक्षण–सिकाइबाट बालबालिकाको व्यवहारमा अपेक्षित परिवर्तन ल्याउन उनीहरूमा आवश्यक सीप तथा अभिवृत्तिको विकास गर्नु अति आवश्यक हुन्छ । यसका लागि विषयको प्रयोगात्मक पक्षमाथि बढी जोड दिंदै पाठ्यपुस्तक खोज तथा अनुसन्धानमुखी बनाउनुपर्दछ । सामाजिक अध्ययन विषयको प्रमुख चुनौतीको रूपमा रहेको योग्य र दक्ष शिक्षक वा सहजकर्ताको निर्माण र छनोटका लागि शिक्षक तयारी कार्यक्रम संचालन गर्नु अति नै आवश्यक छ । यसका लागि दीर्घकालीन र अल्पकालीन कार्यक्रम ल्याउन सकिन्छ । अल्पकालीन कार्यक्रममा विद्यालय आधारित तालिमको आयोजना गर्ने र दीर्घकालीन अन्तर्गत सामाजिक अध्ययनको लागि छुट्टै शिक्षक तयारी कार्यक्रम ल्याउनुपर्छ । त्यस्तै, यस विषयको शिक्षण–सिकाइका लागि माध्यम भाषामा द्विभाषिक नीति अवलम्बन गर्नै पर्दछ ।

शिक्षक  मासिक, २०७६ माघ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial