रित्तिंदै साना स्कूल

प्रायः शिक्षकको भनाइ थियो— ‘आउने श्रीपञ्चमीदेखि हाल अध्ययनरत विद्यार्थी समेत घट्ने छन्। किनभने त्यस दिनबाट निजी विद्यालयले नयाँ विद्यार्थी भर्ना गर्न थाल्छन्।’ अर्थात् सामुदायिक प्राविका बाँकी विद्यार्थी पनि निजीले तान्न सक्छन् ।

कक्षा–५ सम्म पढाइ हुने गौरीगञ्ज–३, झापाको गौरीगञ्ज प्राथमिक विद्यालयमा २०६३ सालमा ६७५ जनासम्म विद्यार्थी रहेकोमा अहिले २२५ जना मात्र छन् । यसरी तीव्रगतिमा विद्यार्थी संख्या घटेकोमा प्रअ मोतिलाल ताजपुरिया चिन्तित छन् । उनी भन्छन्, “वर्षेनि विद्यार्थी घटिरहेका छन् । हामीले चाहेर पनि रोक्न सकिरहेका छैनौं, अधिकांश अभिभावकको चाहना नै सामुदायिक विद्यालयमा सन्तानलाई पठाउने छैन ।”

सो प्राविमा अहिले सबैभन्दा बढी विद्यार्थी कक्षा–५ मा छन्; ३८ जना । गत वर्ष यही कक्षामा ४३ जना थिए । तर अधिकांश विद्यार्थी नियमित विद्यालय आउँदैनन् । कक्षा–१ मा १७ जना विद्यार्थीलाई साउँ अक्षर चिनाउँदै गरेकी शिक्षक सावित्रा राजवंशीले भनिन्, “हुन त यो कक्षामा ३७ जना विद्यार्थी हुन् । तर आज आधा मात्र आए, सबै विद्यार्थी आएको दिन त कमै हुन्छ ।” पुसको तेस्रो साता चौरमा घाम तपाएर कक्षा–४ का ३० जना जति विद्यार्थीलाई पढाउँदै गरेका शिक्षक राजेन्द्र भण्डारी भन्छन्, “यो उपस्थिति धेरै राम्रो हो । तर सधैं यस्तो हुँदैन, बेला–बेला त विद्यार्थी खोज्न हामी उनीहरूको घरसम्मै पुग्ने गरेका छौं ।”

विद्यार्थी घटे, दरबन्दी काटियो
अहिले गौरीगञ्ज प्राविमा आठ शिक्षक कार्यरत छन् । विद्यार्थी संख्या घटेको भन्दै केही समय अघि यसका दुईवटा दरबन्दी काटिए । तर विद्यार्थी घटेपछि दरबन्दी कटौतीमा पर्ने यो विद्यालय एक्लो भने होइन । झपाकै कमल–६ को पञ्चकन्या प्राविको पनि अवस्था उही छ । यस विद्यालयमा विद्यार्थी संख्या घटेको भनेर २०६६ सालमै एउटा दरबन्दी काटिएको थियो । त्यसको दुई वर्षपछि अर्को दरबन्दी पनि कटौती भएको प्रअ थमनाथ घिमिरे बताउँछन् । २०४५ सालमा स्थापित यो विद्यालयमा स्थापनाकालदेखि प्रअ रहेका उनी बोर्डिङप्रति अभिभावकको चाहनाकै कारण लगातार विद्यार्थी घटेको दाबी गर्छन् । यस वर्ष यहाँ कक्षा–१ देखि ५ सम्म जम्मा ६२ जना मात्र विद्यार्थी छन् । कुनै दिन दुई/तीन जना मात्र विद्यार्थी राखेर पनि पढाउनु परेको शिक्षक बचना राई बताउँछिन् ।

गौरीगञ्ज र पञ्चकन्या प्रावि जस्तै, गौरादह–१ को लालजनकल्याण प्राविमा पनि लगातार विद्यार्थी घटिरहेका छन् । तीन शिक्षक र दुई बाल शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा हाल ७० जना विद्यार्थी छन् । कक्षा–३ मा सात जना मात्र विद्यार्थी छन् । प्रअ निर्मलाकुमारी पौडेलका अनुसार यहाँ अधिकांश अस्थायी बसोबासी र विपन्न परिवारका विद्यार्थी छन् । शिक्षक रामकुमारी कटुवाल बस्नेत भन्छिन्, “हामी आफैं विद्यार्थी खोज्न बेला–बेला गाउँ छिर्नुपर्छ, भर्ना भएका पनि नियमित आउँदैनन्, खोज्न जाँदा कोही घर रुँघेर, कोही भाइबहिनी हेरेर बसेका हुन्छन् ।”

विद्यार्थी घट्नुको कारण
प्रअ र शिक्षकहरूले विद्यार्थी घट्नुको मुख्य कारण पारिवारिक विपन्नता, अभिभावकको फरक अपेक्षा, निजी विद्यालयप्रतिको मोह आदि बताउने गरेका छन् । तर विद्यालयको अवस्था हेर्दा, यति मात्रै कारण देखिंदैन । गौरीगञ्ज प्राविको कार्यालयमा पहेंलो भइसकेका केही प्लाष्टिकका बोतलमा पानी भरिएको थियो । विद्यालय अगाडिबाटै खानेपानीको पाइप विछ्याइएको छ, तर विद्यालयमा ट्यूवेलको पानी उपयोग हुन्छ । “धारा जोड्ने पैसा छैन, त्यसैले ट्यूवेल नै प्रयोग गर्छौं तर विद्यार्थीले चाहेमा तताएर दिन्छौं” प्रअ ताजपुरियाले भने, “बोतलमा हेर्दा त आइरन लागे जस्तो देखिन्छ, तर के छ खास, परीक्षण पनि भएको छैन ।” पिउने सफा पानी मात्रै होइन, विद्यार्थी आकर्षित गर्ने खेल सामग्री, आधुनिक उपकरण जस्ता सुविधा पनि यी विद्यालयमा छैनन् ।

सुधार माने अंग्रेजी माध्यम
लगातार विद्यार्थी संख्या घट्दै गएपछि केही विद्यालयले आफूमा सुधारका प्रयास पनि गरेका छन् । तर सुधारको प्रयास सबैको एकै छ, अंग्रेजी माध्यम । अभिभावकमा अंग्रेजी माध्यमप्रतिको बढी चाहना रहेको अनुमान गरेर आफूहरूले २०७१ सालमा एक वर्षसम्म अंग्रेजी माध्यमबाट पठनपाठन पनि गरेको गौरीगञ्ज प्राविका प्रअ ताजपुरिया बताउँछन् । अंग्रेजी माध्यम नियमित गर्न गाविसले आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको तर रकम नदिएपछि सो कार्यक्रम स्थगित भयो । त्यसपछि सबै कक्षामा नेपाली माध्यमबाट पढाउन थालियो । प्रअ ताजपुरिया भन्छन्, “अंग्रेजी माध्यमलाई नियमित गर्ने हो भने ५० प्रतिशत विद्यार्थी थप गर्न सकिन्छ, तर यो हामीले मात्रै चाहेर हुँदैन ।”


लगातार विद्यार्थी संख्या घट्दै गएपछि केही विद्यालयले आफूमा सुधारका प्रयास पनि गरेका छन्। तर सुधारको प्रयास सबैको एउटै छ, अंग्रेजी माध्यम।

उता गौरादह–१ को लालजनकल्याण प्राविले पनि विद्यार्थी आकर्षित पार्नकै लागि अंग्रेजी माध्यमको पठनपाठन शुरू गरेको छ । त्यहाँ कक्षा–३ सम्म अंग्रेजी माध्यमको कक्षा हुन्छ । तर विद्यार्थी संख्या भने बढिरहेको छैन । पञ्चकन्या प्राविका प्रअ थमनाथ घिमिरेको पनि चाहना अंग्रेजी माध्यम चलाउने छ । तर स्रोतसाधन र जनशक्ति छैन । निजी विद्यालयको कोर्ष र अंग्रेजी माध्यम चलाउने हो भने विद्यार्थी संख्या बढाउन सकिने उनको बुझइ छ ।

विद्यार्थी घट्दा विद्यालय नै बन्द
झापाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने समस्या बढ्दै गएर विद्यालय नै बन्द पनि हुन थालेका छन् । शिवसताक्षी नगरपालिका वडा–११ को झरना प्रावि दुई वर्षदेखि बन्द छ । चार जना शिक्षक दरबन्दी रहेको सो विद्यालयमा वर्षेनि विद्यार्थी घट्दै गएर ३० जनामा झरेपछि २०७५ असारमा सबै विद्यार्थी अरू विद्यालयमा पठाउने निर्णय गरी विद्यालयमा ताल्चा लगाइयो । सोही विद्यालयबाट शिक्षण शुरू गरी सोही विद्यालयबाट शिक्षण जीवन अन्त्य गरेका तत्कालीन प्रअ मणिकुमार दाहालका अनुसार चार जनाको दरबन्दी विद्यार्थी संख्या घटेसँगै दुईमा सीमित भयो । बाँकी रहेका मध्ये पनि उनको अवकाश भएपछि सो दरबन्दी सूर्योदय आधारभूत विद्यालयमा सर्‍यो भने अर्की शिक्षक भावना खतिवडा सोही नगरको दीपेन्द्र प्राविमा सरुवा भइन् ।

२०५० सालमा दुई किलोमिटर आसपासमा अरू विद्यालय नभएपछि स्थानीयकै पहलमा झ्रना प्रावि स्थापना भएको थियो । विद्यार्थी संख्या बढ्दै जाँदा शिक्षक दरबन्दी पनि थपियो । तर नजिकै निजी विद्यालयहरू खुल्न थालेपछि क्रमिक रूपमा विद्यार्थी संख्या घटेको दाहाल बताउँछन् । विद्यालय बन्द हुन नदिन गाउँका घरघरमा पुगेर विद्यार्थी पठाइदिन आग्रह गरे पनि संख्या बढाउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम लिम्बूले बताए । गाउँपालिकाले सहयोग गरे अझै पनि सोही ठाउँमा विद्यालय सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

बाल कक्षाको बिजोग
पठनपाठन बन्द भएपछि झ्रना प्राविका फर्निचरहरू मक्किन थालेका छन् । तीन वटा भवन लथालिङ्ग छन् । करीब तीन कट्ठा जमीन बेवारिसे बनेको छ । त्यही विद्यालयको एउटा कक्षामा स्थानीय भगवती मावि मार्फत बालकक्षा सञ्चालन भइरहेको छ । तर त्यो बालकक्षा पनि भन्नु मात्र छ । पढ्ने, लेख्ने, खेल्ने सामग्री केही पनि छैनन् । भर्ना संख्या १० भए पनि पुस तेस्रो साताको बिहान १०ः३० बजे पुग्दा तीन जना बालबालिकालाई प्लाष्टिकको सुकुलमा पेन्सिल समाउन सिकाउँदै थिइन्, बाल शिक्षक संगीता दाहाल बजगाईं । कक्षाकोठामा बालबालिका राख्ने फर्निचर, खेलाउने सामग्री, देखाउने कुनै चित्र–फोटा समेत नभएकाले घाम तपाउँदै बाहिरै पढ्न सिकाउने गरेको उनले बताइन् । बाल कक्षाको सुधारका लागि कुनै सहयोग पाउन नसक्दा बिजोगले बाल कक्षा सञ्चालन गर्नु परेको दुखेसो उनको थियो । सो वडाका वडाध्यक्ष भैरवकुमार श्रेष्ठले भने सधैंका लागि विद्यालय बन्द राख्ने पक्षमा आफूहरू नभएको र आगामी वर्षदेखि सुधार गरी पुनः विद्यालय (झरना प्रावि) सञ्चालन गर्ने योजना सुनाए ।

दुई वर्षदेखि बन्द रहेको झ्रना प्राविको रित्तो भवन (बायाँ); सो प्राविका तत्कालीन प्रअ मणिकुमार दाहाल र विव्यस अध्यक्ष टीकाराम लिम्बू ।

दरबन्दीको गञ्जागोल
बन्द भएको झरना प्रावि बाहेक शिवसताक्षी नपामा अरू ३५ सामुदायिक विद्यालय छन् । सो नगरपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालका अनुसार नपाभित्रका प्रावि तहमा २२५ जना शिक्षक कार्यरत छन् । तर दरबन्दी मिलान गर्दा प्राविका ७८ घट्ने र माविमा ८१ थपिने अवस्था छ । नगरका अन्य केही प्राथमिक तहका विद्यालयमा पनि निरन्तर विद्यार्थी घट्दो अवस्थामा छन् । तर ती विद्यालय बन्द वा मर्ज गर्ने भन्दा पूर्वाधार र गुणस्तर सुधार गरी कक्षा–३ सम्म सञ्चालन गर्ने विकल्प बारे छलफल भइरहेको दाहालले बताए ।

झापाका १५ वटा स्थानीय तहमा ३६५ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये अधिकांशमा दरबन्दीको समस्या छ । धेरैजसो प्राथमिक तहका विद्यालयमा विद्यार्थी संख्याको तुलनामा दरबन्दी धेरै छ, तर मावि तहमा दरबन्दी अभाव छ । शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतले अधिकांश स्थानीय तहका प्राथमिक विद्यालयमा आवश्यकता भन्दा बढी दरबन्दी देखिएको तर आधारभूत (निमावि) तथा मावि तहका अभाव रहेको बताए । मावि तह सञ्चालन भएका विद्यालयमा विद्यार्थी अभावको समस्या नरहेको तर प्रावि मात्र सञ्चालन भएका धेरैजसो ठाउँमा विद्यार्थी संख्या घट्दो अवस्थामा रहेको उनको भनाइ छ ।

प्राथमिक तहलाई अभिभावकले समेत आफ्ना सन्तान विद्यालय जान अभ्यस्त बनाउने थलोको रूपमा मात्र उपयोग गर्ने गरेको शिक्षकको भनाइ छ । रिपोर्टिङका क्रममा पुगिएका सबै विद्यालयका शिक्षकको साझ भनाइ थियो— ‘आउने श्रीपञ्चमी (१६ माघ, २०७६) देखि हाल अध्ययनरत विद्यार्थी समेत घट्ने छन् । किनभने सो दिनलाई निजी विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना गराउने साइतका रूपमा उपयोग गर्ने गरेका छन् ।’ अर्थात् सामुदायिक प्राविका बाँकी विद्यार्थी पनि निजीले तान्नेछन् ।

शिक्षक  मासिक, २०७६ माघ अंकमा प्रकाशित ।


commercial commercial commercial commercial