सडक दुर्घटनाका मनोसामाजिक पक्ष

“धन्न त्यो बेलामा मेरो एउटा खुट्टा मात्र गयो । हातै गुमेको भए चक–डस्टर समाएर पेट पाल्नुपर्ने म के पो गर्ने थिएँ होला ? ...”

सडक दुर्घटनामा परेर एउटा खुट्टा काटिनुपरेका एक ४५ वर्षे शिक्षक हामीसँग निरन्तर फलो–अप  मा छन् । तर उनको मानसिक समस्या खुट्टा गुमेका कारण मात्र भने होइन ।

“... मेरी १६ वर्षकी कलकलाउँदी छोरी... तिनले के बिगारेकी थिइन् होला हे प्रभु ! कति चाँडै ? कस्तो बीभत्स रूपमा... त्यो राक्षस ट्रक... हरे ! बरू म छेउपट्टि भइदिएको भए त्यो बेला...”

करीब पाँच वर्षअघिको त्यो घटना उनले अझै बिर्सन सकेका छैनन् । त्यसका एक–एक दृश्य फिल्मसरि नाँच्दछन् उनको आँखा अगाडि । बजारतिरबाट घर आइरहेका थिए रे बाबुछोरी हिंड्दै, गफ गर्दै । छोरी बाटोको छेउपट्टि अनि बाबु भित्तापट्टि । पछाडिबाट बेतोडले आएको ट्रकले दुवैलाई अगाडि हुत्याइदिएछ, दुवै ढलेछन् । उनी होशमै रहेकाले अलिकति उठ्न र चिच्याउन सकेछन् । तर आफ्नै आँखा अगाडि छोरीको रक्ताम्मे शरीर देखेर तुरुन्तै मूच्र्छा परेछन् । वरिपरिकाले अस्पताल पुर्‍याइदिए । उनी बाँचे । छोरी घटनास्थलमै बितिछन् ।

शारीरिक घाउ–चोटको उपचार पूरा भएको तीन–चार महीनापछि उनमा मानसिक समस्याहरू देखिन थाले । त्यो घटनाका दृश्य बारम्बार आँखा अगाडि आइरहने, तर्सने, बाटामा हिंड्न डर लाग्ने, ट्रक आदि सवारी साधनको अगाडि पर्न नसक्ने, बस नचढ्ने, निद्रा नलाग्ने आदि समस्याका कारण आफ्नो दैनिक क्रियाकलाप अनि शिक्षण कार्यमै प्रभाव पर्न थालेपछि श्रीमतीले उनलाई अस्पताल ल्याइपुर्‍याइन् ।

रोगको प्रकृति अध्ययन गर्दा ती शिक्षकलाई सडक दुर्घटनाका कारण आफ्नो अङ्गभङ्गका साथै आफ्नै आँखा अगाडि भएको छोरीको बीभत्स मृत्युले पारेको मानसिक आघातले उनलाई पोस्टट्रमाटिक स्ट्रेस डिस्अर्डर भएको हुनसक्ने आकलनका साथ उनको उपचार शुरू गरियो । मनोविमर्श अनि औषधोपचारले उनका लक्षणमा शनैःशनैः सुधार आइरहेको छ । तर अझै पनि त्यो गम्भीर आघातको असर बाँकी नै छ । त्यसैले बेलाबेलामा उनी भक्कानिन्छन्, माथिका अभिव्यक्तिहरू त्यसैका प्रमाण हुन् ।

सडक दुर्घटना, प्राकृतिक प्रकोप, बलात्कार जस्ता हिंसात्मक दुव्र्यवहार तथा लडाइँ, झगडा, युद्धबाट बाँचेकाहरूमा यस्तो प्रकारका मानसिक रोगहरू देखिने गर्दछन् । शरीरको घाउभन्दा मनको चोटले लामो समयसम्म असर पार्ने गर्दछ ।

२०७६ को मंसीर–पुस महीनामा नेपालमा अत्यधिक सडक दुर्घटना भए । मंसीर महीनामा मात्रै झ्ण्डै अढाइ सय व्यक्तिले मृत्युवरण गर्न पुगे सडक दुर्घटनाका कारण । यसरी दुर्घटनामा ज्यान गुमाउनेहरूको पीडा त छँदै नै छ, दुर्घटनामा परेर बाँचेकाहरू अनि आफ्ना नजिकका व्यक्तिलाई गुमाएका परिवारका सदस्य एवं साथीसङ्गीहरूमा समेत पर्न जाने दुर्घटनाको मानसिक आघात अवर्णनीय नै रहन्छ । दुर्घटनाबाट प्रभावितहरूले आवेशमा आएर तत्काल गर्ने आगजनी, तोडफोड आदिका कारण हुने भौतिक क्षतिका साथसाथै माथि उल्लेख भएका शिक्षक जस्ताको शारीरिक र मानसिक रोगको असर दीर्घकालीन हुन्छ । यी सबैसँग जोडिएर आउने आर्थिक–सामाजिक क्षति त अर्को महत्वपूर्ण पाटो नै भयो; जुन झनै भयावह हुन्छ ।

सडक दुर्घटनाका कारकतत्वहरूमध्ये चालक (ड्राइभर) जनित कारण सबैभन्दा प्रमुख मानिएको छ । तत्सम्बन्धी समस्या सम्बोधन हुन सक्दा सडक दुर्घटनामा ५० प्रतिशतभन्दा बढी कमी आउने बताइन्छ । काठमाडौं उपत्यकामा हुने ६०–७० प्रतिशत दुर्घटना मोटरसाइकल केन्द्रित हुने गरेको र त्यसनिम्ति किशोर चालकहरू जिम्मेवार रहने अध्ययनहरूले औंल्याएका छन् । किशोरहरूमा व्यक्तित्व विकास राम्ररी भइनसकेको, सवारी चलाउने ज्ञान–अनुभव पूर्ण नभइसकेको, तीव्र गति, शान–शौकत, चलचित्र आदिको प्रभाव–देखासिकी, मद्यपान या लागूपदार्थको अम्मल, पारिवारिक जिम्मेवारीको अभाव आदि मनोसामाजिक पक्षहरू प्रबल रहने हुँदा तिनीहरू कैयौं दुर्घटनाका लागि जिम्मेवार भएका हुन सक्दछन् । चालक–अनुमतिपत्र दिंदा यी मनोसामाजिक पक्षहरूको पनि ख्याल गर्न अनि तिनका घरपरिवारको पनि लगत राख्न सके दुर्घटनाको दुरवस्थामा अलिकति सुधार आउने थियो कि ! लामो दूरीका रात्रिबस लगायत सार्वजनिक यातायातका चालकहरूलाई त ड्राइभिङ लाइसेन्स दिनुअघि मनोवैज्ञानिक परीक्षण नै गरिनुपर्छ ।

सडकका दुरवस्थाहरूको चर्चा त अरू लेखहरूमा भई नै रहेका छन् ।

विद्यालयको पाठ्यक्रममा भए पनि–नभए पनि शिक्षकवर्गले ट्राफिक नियमका बारेमा अतिरिक्त क्रियाकलापकै रूपमा भए पनि सडक सुरक्षाका कक्षा या कार्यक्रम चलाउनुपर्दछ विद्यालयमा । यसका लागि ट्राफिक प्रहरीहरूलाई नै पनि आमन्त्रण गर्न सकिन्छ । अभिभावकहरूकै उपस्थितिमा यस्ता कार्यक्रम चलाए अझ्ै प्रभावकारी हुनसक्ला । आजका विद्यार्थी–पैदलयात्रु भोलिका किशोर मोटरसाइकल चालक अनि भविष्यका कार चालक पनि हुन् ।

शिक्षक  मासिक, २०७६ माघ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial