काल्पनिक होइनन् इतिहासका कुरा

हामीले सुन्ने र पढ्ने कुरा सामान्यतया कुनै वेला साँच्चै भए/गरेको भन्ठान्छौं र सोही अनुसार बोल्ने तथा विचार निर्माण गरिरहेका हुन्छौं । तर तीमध्ये कतिपय काल्पनिक अथवा वास्तविक घटनालाई तोडमोड गरिएका पनि हुनसक्छन् भनेर हेक्का नराख्दा आधिकारिकता वा प्रमाणको अभावमा कहिलेकाहीं लज्जित पनि हुनुपर्ने हुन्छ । ऐतिहासिक पात्र गौतम बुद्ध (इ.पू. ५६३–४८३) का सम्बन्धमा आधिकारिक कुरा भनेका बौद्ध ग्रन्थहरू नै हुन् । यस सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित ‘मेरो नेपाली’ कक्षा–४ र ५ का दुईवटा पाठ्यपुस्तकमा खोट देखिएका कारण यहाँ चर्चा गर्नु परेको छ ।

जोडजाड र तोडमोड
कक्षा–५ को ‘मेरो नेपाली’ मा रहेको ‘पश्चात्ताप’ पाठमा गौतम बुद्धले आफूलाई गाली गर्नेसँग पनि रिसाउनुहुन्न भन्ने सन्देश दर्शाएको छ । यो काल्पनिक नभएर सत्य घटना हो । यसको मूल स्रोत बौद्ध धार्मिक ग्रन्थ ‘त्रिपिटक’ मा सङ्कलित ‘अक्कोस सूत्र’ हो । एक मित्र घरबार छाडी गौतम बुद्धकहाँ प्रव्रजित भएको खबरले रिसाएका आक्रोशक भारद्वाज नामका ब्राह्मण राजगृहको वेणुवनको कलन्दकनिवाप बिहारमा पुग्छन् र रिसाउँदै बुद्धलाई गाली गर्न थाल्छन् । यही वेला बुद्धले पनि प्रश्न गर्छन्— ‘हे ब्राह्मण, तिम्रो घरमा कोही मित्र, आफन्त वा अतिथि आउने गरेका छन् ? उनीहरूलाई खाने–पिउने केही त दिने गरेको छ होला नि ? त्यसरी दिएको कुरा उनीहरूले खाएनन् भने कसले लिन्छ ?’

बुद्धको प्रश्नमा ती आक्रोशित ब्राह्मण जवाफ दिन्छन्— ‘यदि तिनीहरूले लिएनन् या खाएनन् भने ती कुरा म आफैं लिन्छु ।’ यही वेला बुद्धले— ‘त्यस्तो हो भने हामी नरिसाएकाहरूसँग तिमी रिसायौ, तिम्रो रिसलाई हामीले ग्रहण गरेनौं । त्यो रिस तिम्रो आफ्नै भयो होइन ?’ यसपछि पनि बुद्धले क्रोध सम्बन्धी केही उपदेश दिएपछि आक्रोशक भारद्वाज संयम हुन्छन् र बुद्धको प्रशंसा गर्छन् । तर ‘पश्चात्ताप’ पाठमा बुद्धलाई गाली गर्नुसम्म गरेर ती ब्राह्मण गइसकेपछि भिक्षुहरूको प्रश्नमा बुद्धले रिसाउनुहुँदैन भनेर जवाफ दिन्छन् । गाली गर्ने ब्राह्मण बाटैबाट फर्केर आई माफी माग्छन् ।

बेग्लै समय, सन्दर्भ र पात्रसँग सम्बन्धित अर्को ‘अक्कोध सूत्र’ र काल्पनिक कुराहरूलाई जोडेर ‘पश्चात्ताप’ पाठ बनाइएको छ । क्रोध लगायतका विषयमा बुद्धका थुप्रै उपदेश पाइन्छन् । ऐतिहासिक कुराहरूलाई यसरी जोडजाड तथा तोडमोड गरेर आफू अनुकूल प्रस्तुत गर्दा तथ्य कुरा बाङ्गिन्छ ।

ऐतिहासिकता के हो ?
‘नीमको पात’ कक्षा–४ को ‘मेरो नेपाली’ मा समाविष्ट पाठ हो । पाठ अनुसार तीतो स्वादका कारण बेस्सरी रिसाएर एक उद्दण्ड र घमण्डी राजकुमारले देखेजति सबै नीमका बोट उखेलेर फ्याँक्न थाल्छन् । नीमको बोट किन उखेलेको भनेर बुद्धबाट सोधनी हुँदा उनको जवाफ थियो— ‘सुन्नुहोस्, सानै छँदा त यस बिरुवाको पात यति तीतो छ, ठूलो भएपछि त यसमा विष पो फल्ने हो कि ! त्यसैले अहिले नै उखेलेर फ्याँकेको हुँ ।’ जवाफमा बुद्धले ‘राजकुमार, तिमी पनि अहिले नीमका यी बिरुवा जस्तै साना छौ । तिमी मानिसहरूसँग तीतो र मन नपर्ने व्यवहार गर्छौ । यदि मानिसहरूले तिमीले बिरुवालाई गरेजस्तै व्यवहार गरे त्यसको परिणाम के होला ? भन त !’

बुद्धको प्रतिक्रिया सुनेर राजकुमार छाँगाबाट खसे जस्ता भए । उनलाई पछुतो भयो र पछि उनको बानीव्यहोरा असल हुँदै गयो । तर प्रश्न उठ्छ, ती कुन देशका राजकुमार थिए र उनको नाम के थियो ? बौद्ध ग्रन्थहरूमा कुनै पनि प्रसंगमा गाउँ, ठाउँ र समयको उल्लेख पाइन्छन् । तत्कालीन राजनीति तथा शासकहरूको नाम पनि भएको र ती विवरण अध्ययन–अनुसन्धानका क्रममा सही निक्लेका कारण सम्पूर्ण भारतको आधिकारिक इतिहास लेखनमा सहयोग पुगेको छ । पाठमा उल्लिखित घटना वा सन्देशमा कुनै खोट नभए पनि यो बुद्धसँग सम्बन्धित घटना नै हो र ? भनेर वास्तविकता माथि भने प्रश्न उठ्छ ।

बिग्रिन्छ के ?
विद्यालयको पाठ्यपुस्तकमा विभिन्न विषयवस्तु समावेश गरेर विद्यार्थीलाई असल सन्देश दिने हो, त्यसका लागि काल्पनिक कुरा वास्तविक र वास्तविक कुरा काल्पनिक बनाएर प्रस्तुत गर्दा के बिग्रिन्छ र भन्ने प्रश्न पनि उठाइन सक्छ । यस प्रश्नसँगै ऐतिहासिकता र नैतिकताको कुरा पनि उठ्ने हुन्छ । तथ्य कुरालाई तोडमोड गरी मिलाएर बनाएको कुरा पाठ्यक्रममा राखिनु भनेको खेलाँची र हेलचेक्र्याइँ हो । यसले इतिहासप्रति उदासीन हुने प्रवृत्ति पनि बढाउँछ । विद्यार्थीलाई परीक्षामा उत्तीर्ण मात्रै गर्ने भए अन्य कुराहरूमा उदासीन हुन सकिन्थ्यो, तर यही पाठ सुदूर भविष्यसम्म जोडिएको हुन्छ । विद्यालयको पाठ्यक्रम पढेर हुर्केकाहरू सधैं तिनै कुराहरूमा सीमित हुँदैनन् । आफू सानो छँदा कति हेलचेक्र्याइँका साथ पढाइएको रहेछ भनेर थाहा पाए भने त्यसको प्रभाव के पर्ला ? अथवा तिनले कतैबाट यथार्थ थाहा पाउन सकेनन् भने त्यस्तो अवस्थामा अपुरो, अधुरो तथा गलत पढाइको परिणाम झ्नै नराम्रो हुन्छ ।



 

commercial commercial commercial commercial