जिज्ञासा र जवाफ

वरियता भन्ने कुरा काम र जिम्मेवारी अनुसार हुन्छ। पढाउने क्रममा स्नातकोत्तार गरेका शिक्षकको वरियता माथि भए पनि विद्यालयको व्यवस्थापन तथा प्रशासनिक कामकाजको प्रक्रियामा स्नातक मात्रै भए पनि प्रधानाध्यापकको वरियता माथि हुन्छ।

प्रअ र शिक्षक प्रतिनिधिको मताधिकार हुन्छ

क) शिक्षा ऐन २०२८ (आठौं संशोधन २०७३) को दफा १२ उपदफा–२ (क) बमोजिम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट गर्ने बैठकमा अध्यक्षका लागि सहमति नभई बहुमतबाट अध्यक्ष छनोट गर्नुपर्ने अवस्थामा शिक्षक प्रतिनिधि सदस्य र सदस्य सचिव प्रअ उम्मेदवार त हुँदैनन्, तर तिनले मतदानमा भाग लिन पाउँछन् कि पाउँदैनन् ?

ख) दफा १ को उपदफा (ग) अनुसार विव्यसले दुईजना सदस्यको मनोनयन नगरी सकेको अवस्थामा शिक्षकहरूले आफ्नो प्रतिनिधि छानी पठाउन पाउँछन् कि पाउँदैनन् ? यदि पाउने भए त्यो शिक्षक प्रतिनिधि सदस्यले विव्यसको बैठकमा भाग लिई आफ्नो मत जाहेर गर्न पाउँछ कि पाउँदैन ?

डम्बरप्रसाद उपाध्याय, पहलमान सिंह मेमोरियल मावि, घोडाघोडी नपा–११, कैलाली

क) शिक्षक प्रतिनिधि तथा सदस्य सचिव प्रधानाध्यापक दुवै जना विव्यसका सदस्य भएका कारण उनीहरू दुवैलाई मतदानमा भाग लिने अधिकार रहन्छ ।

ख) यो विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिने एक प्रक्रिया हो । तपाईंले राखेको जिज्ञासा अनुसार विद्यालय व्यवस्थापन समितिले दुईजना सदस्यको मनोनयन नगरिसकेको अवस्थामा पनि शिक्षकहरूले आफ्नो प्रतिनिधि छानेर पठाउन पाउँछन् । किनकि यो एउटा प्रक्रिया हो । जस्तो कि एउटा निर्वाचन क्षेत्रमा चुनाव भइसकेपछि अर्काे निर्वाचन क्षेत्रमा चुनाव हुन सकेन भनेर अरू प्रक्रिया रोकिने कुरा हुँदैन । प्रक्रियामा कोही अघि र कोही पछि त हुन्छ नै । तर सबै कुरा नियमसंगत हुनु भने जरूरी हुन्छ ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

.........................................................

अध्ययन विदाको दुरुपयोग भयो

१. शिक्षा नियमावली परिच्छेद १९ नियम १०६ को उपनियम (छ)मा अध्ययन विदा नोकरीको अवधिमा एकैपटक वा पटक–पटक गरी बढीमा तीन वर्ष पाउने उल्लेख छ । यद्यपि, यो विदा उपयोग गरेको विरलै सुनिन्छ । हालसम्म कति जना शिक्षकहरूले उपयोग गरेको तथ्याङ्क छ ? अनि यसका लागि के प्रक्रिया अपनाउनुपर्छ ?

२. यस्तै उपनियम (च) मा असाधारण विदा एक पटकमा एक वर्ष नबढाई नोकरीको अवधिमा बढीमा तीन वर्ष विदा पाउने कुरा उल्लेख छ । तर, स्पष्ट रूपमा कस्तो अवस्थामा लिन पाउने भन्ने उल्लेख छैन । खासमा कस्तो मापदण्ड वा अवस्थामा उक्त विदा लिन पाइन्छ ? प्रक्रिया के हो ?

दीपक एम.सी., बलभद्र मावि, झिमरुक –२, प्यूठान

१. पाँच वर्षसम्म स्थायी भएर सेवा गरिसकेका कुनै पनि शिक्षकले अध्ययन विदाको सुविधा लिन सक्नुहुन्छ । सेवा अवधिमा रहँदा पटक–पटक वा एकै पटक पनि यस्तो विदा उपयोग गर्न सकिन्छ । केही समय अघिसम्म मन्त्रालय अनि विभागबाट यस्तो विदाका लागि धेरै सिफारिश आउने गर्दथे । तर, अधिकांश शिक्षकहरूले यसको दुरुपयोग गरेको पाइएपछि अहिले मन्त्रालयबाट त्यस्तो सिफारिश बन्द गरिएको छ र अहिले त्यस्ता निवेदन पनि आएका छैनन् ।

पहिला–पहिला विदा बसेका शिक्षकहरूको रेकर्ड किताबखाना वा मन्त्रालयमा पनि हुँदैन । यस्तो सुविधा हालसम्म कति शिक्षकले लिनुभएको छ भन्ने तथ्याङ्क साविकको जिल्ला शिक्षा कार्यालय (हाल शिक्षा विकास तथा समन्वय इकाई)मा हुन सक्छ ।

(२) लामो अवधिसम्म लिइने विदा भएकै कारण यसलाई असाधारण विदा भनिएको हो । यो बेतलबी विदा हो । यो विदा लिने प्रक्रिया साविकको नियमावलीमा स्पष्ट तोकिएको छ । त्यसमा यस्तो विदा विद्यालय व्यवस्थापन समितिको सिफारिशमा जिल्ला शिक्षा अधिकारीबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ ।

संगीता रेग्मी, निर्देशक तथा सूचना अधिकारी, विद्यालय शिक्षक किताबखाना

.........................................................

वरियताको आधार शैक्षिक योग्यता मात्रै होइन

साविक उच्च माध्यमिक तहको दरबन्दीमा नियुक्त भएको शिक्षक र माध्यमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्त भएका शिक्षक बीचमा वरियता कस्तो हुन्छ ? यसमा तलको विश्लेषण ठीक हो कि होइन ?

क) साविक उच्च माध्यमिक तहमा नियुक्ति हुनका लागि शैक्षिक योग्यता स्नातकोत्तर (एम.ए. वा सो सरह) हुनुपर्छ भने माध्यमिक तहको शिक्षकको लागि स्नातक तह पास गरेको भए पुग्छ ।

ख) साविक उच्च माध्यमिक तहमा नियुक्ति भएका शिक्षकहरूले माध्यमिक तह द्वितीय श्रेणीको तलब पाउँछन् भने माध्यमिक तहमा शुरू नियुक्ति (स्थायी) भएका शिक्षकले माध्यमिक तह तृतीय श्रेणीको तलब पाउँछन् ।

उच्च माध्यमिक भन्ने शब्दको परिमार्जन तथा आधारभूत र माध्यमिक तहको शिक्षाको संरचनामा वरियताक्रम सम्बन्धमा मेरो जिज्ञासा पूरा गरिदिनुहुने अपेक्षा गरेको छु ।

हर्कबहादुर थापा, भीमसेन मावि बाग्लुङ, विहुँ

एक हिसाबले तपाईंको विश्लेषण पनि ठीकै हो । तर, यो शिक्षण पेशामा वरियता भन्ने कुराले खासै अर्थ राख्छ जस्तो लाग्दैन । यसमा वरियता शैक्षिक योग्यताले मात्रै निर्धारण गर्दैन । विद्यालयका कतिपय प्रशासनिक कामकाजहरू स्थायी शिक्षकहरूबाटै गर्नुपर्ने हुन्छ ।

जस्तो कि माध्यमिक विद्यालयका प्रधानाध्यापक स्थायी शिक्षकलाई नै बनाउनुपर्ने हुन्छ । जबकि यहाँ माध्यमिक तहका लागि स्नातक उत्तीर्ण प्रधानाध्यापक हुनसक्ने व्यवस्था छ । तर स्थायी नियुक्ति हुनुप र्‍यो । तर, त्यहाँ कार्यरत अर्काे कुनै शिक्षक स्नातकोत्तर हुनुहुन्छ भने पनि कामकाज त प्रअले नै गर्नुपर्ने हुन्छ । अब यस्तो अवस्थामा कसरी वरियता तोक्ने ? वरियता भन्ने कुरा काम र जिम्मेवारी अनुसार हुन्छ । पढाउने क्रममा स्नातकोत्तर गरेका शिक्षकको वरियता माथि भए पनि विद्यालयको व्यवस्थापन तथा प्रशासनिक कामकाजको प्रक्रियामा स्नातक मात्रै भए पनि प्रधानाध्यापकको वरियता माथि हुन्छ ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

.............................................

ग्रेड थप हुन्छ कि हुँदैन ?

म शिक्षक सेवा आयोगबाट प्रावि तह उत्तीर्ण गरी २०७१ सालदेखि निरन्तर शिक्षण गरिरहेकोमा २०७६ मा शिक्षक सेवा आयोगबाट पुनः निमावि तह उत्तीर्ण गरी २०७६ कात्तिकदेखि निमावि तहमा शिक्षण गरिरहेको छु । प्रावि तहमा हुँदा मेरो ४ ग्रेड सहित खुद पाउने तलब रु.२६,७४२ (भत्ता बाहेक) थियो । तर, निमावि तहमा मेरो खुद तलब रु.२४,९८० (भत्ता बाहेक) छ । यसरी एउटै सेवामा माथिल्लो तहमा नाम निकालेर सिफारिश हुँदा खाईपाई आएको तलबबाट नघट्नुपर्ने होइन र ? तलब नघट्ने गरी ग्रेड थप हुने व्यवस्था छ कि छैन, छ भने कहाँ सम्पर्क राख्ने ? प्रावि र निमाविको सेवा जोड्न मैले के गर्नुपर्ला ?

सुरजराज अधिकारी, मावि महादेवडाँडा, सिन्धुली

तपाईंले २०७१ सालदेखि प्रावि तहमा स्थायी भएर पढाइरहनु भए पनि जब २०७६ सालमा निमावि तहको नियुक्ति पत्र लिनुभयो, तपाईंको जागिर त्यही दिनदेखि नयाँ भयो । अब प्रावि तहमा जुन ग्रेड थियो, त्यो रहँदैन । किनकि तपाईंको जागिर नै नयाँ भइसक्यो ।

जहाँसम्म तलबको कुरा छ । निमावि तहमा आइसकेपछि त्यही अनुसार तोकिएको तलब नै पाउने हो । तपाईंको सेवाको प्रकार एउटै त हो, तर फेरि तपाईं खुल्ला प्रतिस्पर्धाबाट नयाँ तहमा नियुक्ति पाउनुभएपछि त्यो नयाँ नै भयो । यसमा तपाईंको सेवा अवधिसम्म जोड्न सकिन्छ, तर ग्रेड भने उही रहँदैन ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

............................................

राहत शिक्षकको अवधि तोकिएको छैन  

राहत शिक्षकको अवधि कहिलेसम्म हो— सन् २०२२ वा २०२९ ?

टीकाबल्लभ पराजुली, श्री आदर्श जनता प्रावि, वालुवाथान–६, झापा

राहत शिक्षक कहिलेसम्म भन्ने जुन प्रश्न छ यसको अवधि तोकिएको छैन । सामान्यतया यो व्यवस्था सबै दरबन्दी पूरा नभएसम्मका लागि हो ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षक  मासिक, २०७६ माघ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial