टाढाका स्कूल चाहियो बस या छात्रावास !
विद्यालय टाढा हुने समस्याको समाधानका लागि शिक्षक–विद्यार्थीले दुई वटा विकल्प अघि सारेका छन्। पहिलो, विद्यालयमै छात्रावास र दोस्रो, स्कूल बसको व्यवस्था गर्ने ।
पाल्पाको तिनाउँ गाउँपालिका, सत्यवती गाउँका आशिष राना विद्यालय आउँदा–जाँदा दैनिक झण्डै ६ घण्टा पैदल हिंड्छन् । बिहान ७ बजे घरबाट नहिंडे उनको पहिलो घण्टी छुट्छ । पैदल हिंडेपछि पनि २० मिनेट गाडी चढेर उनी विद्यालयसम्म आइपुग्छन् । सो गाउँपालिकाको दान्सिङ गाउँकी नमूना राना पनि विद्यालय आउँदा–जाँदा दैनिक पाँच घण्टाभन्दा बढी हिंड्ने गरेको बताउँछिन् । उनी भन्छिन्, “नजिक विद्यालय छैन, पढ्नका लागि हिंड्नै पर्यो ।”
कक्षा–१० मा अध्ययनरत आशिष र नमूना मात्र होइन तिनाउ गाउँपालिकामा रहेको तिलोत्तमा माध्यमिक विद्यालयका अधिकांश बालबालिका एक घण्टाभन्दा बढी समय खर्चेर विद्यालयसम्म आउने जाने गर्दछन् । धेरै हिंडाइको थकानका कारण बालबालिकाहरू कक्षामा पढ्दापढ्दै निदाउने गरेको शिक्षकहरू बताउँछन् । हिउँदका तीन महीना त उनीहरू विद्यालयबाट घर फर्किंदा रातै पर्छ । यस्ता बालबालिकाको समस्यालाई ध्यानमा राखेर विद्यालयले मंसीर, पुस र माघ महीनामा ३ः३० बजे नै छुट्टी दिने गरेको छ । तिलोत्तमा माविका प्रधानाध्यापक झ्विन्द्र ज्ञवालीका अनुसार बालबालिकालाई घर फर्किंदा अँध्यारो नहोओस् भनेर आधा घण्टा अघि नै छुट्टी गर्ने गरिएको हो । यी तीन महीनाका लागि कक्षाको घण्टी पनि ४० मिनेटको बनाउने गरेको उनले बताए । प्रअ ज्ञवालीका अनुसार मुख्य गरेर कक्षा ८–११ का विद्यार्थीलाई विद्यालय आउनलाई बढी समय लाग्ने भए पनि आधाभन्दा बढी विद्यार्थी एकतर्फी नै दैनिक एक घण्टाको दूरी हिंडेर आउने–जाने गर्छन् ।
कतिपय विद्यार्थी विद्यालय वरपरका घरमा डेरा लिएर पनि बसेका छन् । कक्षा–१० का विद्यार्थीलाई चाहिं एसईई परीक्षालाई लक्षित गरी तिहारपछिदेखि तिलोत्तमा माविले विद्यालयमै बस्ने व्यवस्था गर्ने गरेको छ । तिलोत्तमा गापाका मराम, पाताल, बौरीडाडा, जलमाघाट, दान्सिङकोट र ज्यामिरे यो विद्यालयबाट टाढा पर्ने गाउँ हुन् । विद्यालयमा हाल २३३ छात्रा र २६० जना छात्र गरी ४९३ जना बालबालिका अध्ययनरत छन् ।
घर र स्कूलबीचको दूरी कसरी घटाउन सकिन्छ त ? “स्कूलले बस सेवा संचालन गरे सजिलो हुन्थ्यो”, कक्षा–१० की ईशा सिंजाली बताउँछिन् । “होस्टल भए हुन्थ्यो भन्ने आफूलाई लागेको” अर्का विद्यार्थी पुरन बगाले बताउँछन् । बंगली मधुवनका पुरन बगाले पनि दैनिक तीन घण्टा हिंड्नुपर्छ । प्रायः ढुंगा बोक्ने टिप्परमा चढेर विद्यालय आउने गरेका बगालेले वर्षा लागेपछि विद्यालय आउन हिंड्नै पर्ने बाध्यता सुनाए ।
तिनाउ गाउँपालिकाकै ढुंगाखानी गाउँको कल्याणी आधारभूत विद्यालयका बालबालिकाको अवस्था पनि उस्तै छ । उक्त विद्यालयमा सार्वजनिक बस चढेर आउनेदेखि घण्टौं हिंडेर विद्यालय आउने बालबालिकाहरू पनि छन् । तिलोत्तमा र कल्याणी पाल्पा जिल्लाको चुरे क्षेत्रमा पर्ने विद्यालय हुन् । चुरे क्षेत्रमा बस्तीहरू पातलो हुने हुँदा बालबालिका आधा घण्टादेखि तीन घण्टासम्मको पैदल दूरी पार गरी विद्यालयसम्म आउने गर्दछन् । कल्याणी आभूविका प्रधानाध्यापक सुन्दर गाहा भन्छन्, “टाढा–टाढाका गाउँबाट मोटर बाटोसम्म हिंड्ने र त्यहाँबाट सार्वजनिक साधनले चढाए चढेर त नचढाए हिंडेरै आउनुपर्ने बाध्यता छ ।” कल्याणी आभूविमा अध्ययनरत १६६ बालबालिकामध्ये दुई जना चेपाङ र एक जना ब्राह्मण छन् । बाँकी सबै मगर जातिका छन् ।
रोल्पाको रुन्टीगढी गाउँपालिकाको सैबाङ गाउँमा रहेको भीमसेन माध्यमिक विद्यालयमा पनि घण्टौं पैदल हिंडेर आउने बालबालिका छन् । उक्त विद्यालयको कक्षा–९ का ४८ जनामध्ये आठ जना र कक्षा–१० का ५५ जनामध्ये १३ जना बालबालिका डेरा लिएर स्कूल छेउमै बस्छन् । रुन्टीगढी गाउँपालिकाको वडा–५ का वडाध्यक्ष यमबहादुर दसौंदी रानाले थुमपेक गाउँ विद्यालयदेखि टाढा रहेको बताए । उनका अनुसार उक्त गाउँबाट विद्यालयसम्म आउन जङ्गल, खोला र भीर पार गर्नुपर्दछ । उक्त गाउँबाट ठूला मान्छेका लागि विद्यालय आउन त्यस्तै तीन घण्टा जति लाग्छ भने बच्चाका लागि पाँच घण्टा लाग्न सक्छ । उनले भीमसेन मावि भन्दा रुन्टीगढी गाउँपालिका वडा–४ को सूर्योदय माध्यमिक विद्यालय र सुनिल स्मृति गाउँपालिकाको घोडागाउँमा रहेका रामेश्वरी माध्यमिक विद्यालय केही नजिक पर्ने भए पनि भीमसेन माविको पठन–पाठन राम्रो भएका कारण टाढा–टाढाका बालबालिका पनि उक्त विद्यालयमा पढ्न आउने गरेको बताए ।
भीमसेन माविका प्रधानाध्यापक जोखबहादुर गाहा टाढाबाट आउने विद्यार्थी एकतर्फी रूपमा विद्यालयसम्म आइपुग्न तीन/चार घण्टासम्म हिंड्नुपर्ने बताउँछन् । प्रअ गाहा भन्छन्, “छोटो दिनमा त कोठा खोजेर बस्नुको विकल्प छैन, टाढा घर भएका बालबालिकाले शुक्रवारे क्रियाकलापमा भाग लिन पाउँदैनन् ।”
रोल्पाकै कोटगाउँमा रहेको नेपाल माध्यमिक विद्यालयका ४२ जना बालबालिका स्कूलकै कोठामा बस्छन् । त्यसमध्ये २३ जना छात्र छन् भने १९ जना छात्रा । उनीहरू कक्षा–८ देखि कक्षा–१० सम्मका हुन् । ती बालबालिकाहरूबाट मासिक रु.३ हजार लिएर विद्यालयले खाने, बस्ने, नास्ताको साथै बिहान–बेलुका पृष्ठपोषण कक्षाको व्यवस्था गरेको छ । उक्त माविका प्रअ कृष्णबहादुर पुन टाढाका बालबालिकाको समस्यालाई मध्यनजर गरी कम पैसामा विद्यालयमै बस्ने व्यवस्था गरेको बताउँछन् । उनले भने, “हाम्रोमा छात्रावास त छैन, तर भएका कोठालाई अधिकतम प्रयोग हुने गरी बसाइको व्यवस्था गरेका छौं ।”
समस्या र समाधानका उपाय
शिक्षक तथा विद्यार्थीका अनुसार विद्यालय टाढा हुँदा विभिन्न खालका समस्या आउने गरेका छन् । बालबालिका थकानका कारण कक्षामा निदाउने, कहिलेकाहीं बाटोबाटै बालबालिका घर फर्किने, सानोतिनो बिरामी पर्दा विद्यालयमा नआउने, विद्यालयमा नियमित नहुने जस्ता समस्या दोहोरिने गरेका शिक्षकहरू बताउँछन् । त्यस्तै, बाटोमै अत्यधिक समय बित्ने हुँदा गृहकार्य गर्न समय नपुग्ने, घर फर्किंदा अँध्यारो हुने, बिहानै खाना खाएर विद्यालय आइपुग्दा भोक लाग्ने, शुक्रवार हुने अतिरिक्त क्रियाकलापहरू छुट्ने पनि विद्यार्थी बताउँछन् ।
विद्यालय टाढा हुने समस्याको समाधानका लागि शिक्षक–विद्यार्थीले दुई वटा विकल्प अघि सारेका छन् । पहिलो विद्यालयमै छात्रावासको व्यवस्था गर्ने र दोस्रो, स्कूल बसको व्यवस्था गर्ने । पाल्पाको तिलोत्तमा माविका प्रअ झ्विन्द्र ज्ञवाली विद्यालयमा १०० जनासम्मको छात्रावासको व्यवस्था गर्न सके समस्या हल हुने ठान्छन् । त्यस्तै पाल्पाकै कल्याणी आभूविका प्रअ सुन्दर गाहा स्कूल बसको व्यवस्था भए आफ्ना बालबालिकाको समस्या समाधान हुने बताउँछन् ।
रोल्पाको भीमसेन माविका प्रअ जोखबहादुर गाहाले चाहिं विद्यालय टाढा हुनेका लागि पहाडी भूगोल भएका कारण स्कूल बस भन्दा छात्रावास नै उपयुक्त हुने बताए । नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर पुन आफूहरूले विद्यालयकै स्रोतमा केही विद्यार्थीलाई छात्रावासको सुविधा उपलब्ध गराइरहेको उदाहरण दिंदै सरकारी निकायबाटै त्यसको व्यवस्थापन भए बालबालिकाको हित हुने ठान्छन् ।
शिक्षक मासिक, २०७६ फागुन अंकमा प्रकाशित ।