भेरीगंगा र भर्चुअल सिकाइ !

बिहानको ठीक ११ बजेको छ । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाको छिन्चुस्थित शारदा माध्यमिक विद्यालय । उक्त विद्यालयको कक्षा–१० को सेक्सन ‘ए’; जसको एकछेउमा यो पंक्तिकारलाई पनि बस्ने अवसर प्राप्त छ । यहाँ म सबैका लागि अपरिचित छु, र मेरो लागि कक्षाका विद्यार्थी अपरिचित छन् । म विद्यार्थीलाई सरसर्ती हेरिरहेको छु भने विद्यार्थीको ध्यान टेलिभिजनको स्क्रिनतिर दौडिरहेको छ । यस्तैमा टेलिभिजनको स्क्रिनमा शिक्षक जितेन्द्रराज ओली देखिन्छन् । उनले विद्यार्थीलाई ‘शुभप्रभात !’ भन्दै आफ्नो गणित विषयको कक्षामा स्वागत गर्दछन् । उनले विद्यालयहरूको नामै लिएर मावि झ्ङ्निी, मावि रामघाट, मावि लोदे, मावि झ्लिमिले र मावि छिन्चुका विद्यार्थीलाई आ–आफ्नो कक्षामा सक्रियतापूर्वक सहभागी हुन समेत अनुरोध गर्दछन् । उनले नाम लिएका विद्यालयका विद्यार्थी टेलिभिजनको स्क्रिनमा झल्याकझुलुक देखिन्छन् । मलाई बस्दाबस्दै बोध हुन्छ, उनले म बसेको सेक्सनलाई मात्र नभई उल्लिखित पाँच वटा विद्यालयका नौ वटा सेक्सनका विद्यार्थीलाई एकैसाथ सहजीकरण गरिरहेका रहेछन् ।

सेक्सन ‘ए’ बाट केही समय अनलाइन शिक्षक जितेन्द्रराज ओलीका सहजीकरणका गतिविधि स्क्रिनमा नियालिसकेपछि म त्यहाँबाट निस्कें र प्रसारण कक्षामा पुगें । प्रसारण कक्षा  (Control room) मा अनलाइन शिक्षक जितेन्द्रराज ओली एक्लै थिए । उनका सामु एउटा सेतोपाटी र टेबुलमा ल्यापटप थियो । त्यहीं नजिकै वेब क्यामरा पनि थियो । ल्यापटपमा देखिएका विभिन्न विद्यालयका विद्यार्थीलाई हेरेर उनी कक्षामा सहजीकरण गरिरहेका अर्थात् पढाइरहेका थिए । कुनै विद्यालयको कुनै सेक्सनमा विद्यार्थी अल्मलिएको स्थिति देखियो भने त्यहाँका शिक्षक र विद्यार्थीलाई फोकस गरेर सहजीकरणको क्रममा जिज्ञासा राख्दै प्रतिक्रिया समेत मागिरेहका थिए जितेन्द्र सरले । विद्यार्थीले पनि अनलाइन शिक्षक ओलीको जिज्ञासाप्रतिको जवाफ र आफ्ना अस्पष्टताहरू अभिव्यक्त गरिरहेका थिए । यी सबै गतिविधि पाँच वटै विद्यालयका कक्षा–१० का सबै सेक्सनका विद्यार्थीले टेलिभिजनको स्क्रिनमा देखिरहेका थिए ।

भर्चुअल कक्षाको प्राविधिक पक्ष बारे कुरा गर्दा अनलाइन शिक्षक लालबहादुर खड्का र कुशेश्वर ठाकुर भन्छन्, “यसमा त्यस्तो ठूलो कुरा केही नभएर सामान्य प्रविधिको भरमा सञ्चालन भइरहेको छ । हामीले मोबाइल वा ल्यापटपबाट ग्रुपमा भिडियो कल गर्ने गरेको प्रविधि र एप्स नै यहाँ प्रयोग गरिएको छ । अर्को शब्दमा, भिडियो कन्फ्रेन्स हो यो । हामीसँग जोडिएका सबै विद्यालयमा बिजुली, इन्टरनेट र वाईफाई सेवा छ । सबैसँग टीभी स्क्रिन र ल्यापटप छ । यति भएपछि हामी पाँचवटा विद्यालयका ९ वटा सेक्सनमा जोडिएका छौं ।” यस्तो कक्षाको औचित्य र आवश्यकता बारे भेरीगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत गजेन्द्र जिसी भन्छन्, “यस नगरपालिकामा माध्यमिक विद्यालय १२ वटा छन् तर माध्यमिक शिक्षक दरबन्दीको संख्या राहतसहित १६ वटा मात्र छन् । धेरै माध्यमिक विद्यालय दरबन्दीविहीन छन् । तिनै दरबन्दी नभएका माध्यमिक विद्यालयलाई फाइदा हुने हिसाबले जबर्जस्ती तरिकाबाट यो शैली अपनाइएको हो ।”

शाखा अधिकृत जीसीले भने जस्तै मलाई पनि जबर्जस्त तरिकाले सञ्चालन गरिए झैं लाग्यो यी कक्षा । कक्षामा शिक्षण गर्ने शिक्षक कन्ट्रोल रूममा गएर अनलाइन शिक्षण गर्न थालेपछि शारदा मावि छिन्चुका विद्यार्थी शिक्षकविहीन जस्ता देखिन्छन् । यसकारण पनि कक्षामा अनलाइन शिक्षण भइरहेको समयमा विषयवस्तु स्पष्ट नहुँदा कहिलेकाहीं कक्षामा हल्ला हुने गर्दछ । कन्ट्रोल रुम हुनुपर्ने जति स्रोत–साधन सम्पन्न हुनसकेको छैन । ह्वाइट बोर्ड समेत कम्तीमा दुई वटा भइदिएको भए पछिल्लो शिक्षकलाई तयारी गर्ने अवसर हुन्थ्यो । दोस्रो घण्टीको शिक्षकको पालो आइसक्दा पनि पहिलो घण्टीका शिक्षकले ह्वाइट बोर्डमा लेखेको कुरा मेट्दै गरेको देखिन्छ । सके सबै सेक्सनमा, त्यसो हुन नसके पनि कन्ट्रोल रूममा एलसीडी प्रोजेक्टर वा स्मार्ट बोर्ड हुनुपथ्र्यो । अनलाइन शिक्षकले विशेष तयारी गरेर सामग्रीसहित आउनु पनि उत्तिकै आवश्यक छ । विद्युत् नभएको वेलाका लागि ‘ब्याकअप’ त चाहिन्छ नै ।

उल्लिखित समस्याको बारेमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव धीरेन्द्रप्रसाद लम्साल भन्छन्, “यो शुरूआत हो । यही पुस ८ गतेबाट सञ्चालन गरेका छौं । आगामी शैक्षिक सत्रदेखि हाल देखिएका कमी–कमजोरीलाई समाधान गरी नगरपालिकाका सबै माध्यमिक विद्यालयमा विस्तार गर्ने योजना छ ।”

भर्चुअल सिकाइ (Virtual Learning) लाई आईसीटी (ICT) अर्थात् सूचना र प्रविधिमा आधारित सिकाइ पनि भनिन्छ । नेपालको आईसीटी माष्टर प्लानले सन् २०२० सम्ममा मुलुकभर ई–शिक्षा ई–स्कूल र ई–सिकाइ (E-Education, E-School,  E-Learning) कार्यक्रम सञ्चालन र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । पन्धौं योजनाले प्राथमिक तहदेखि उच्च शिक्षासम्मको शिक्षण सिकाइको प्रक्रिया तथा शिक्षक तालिममा कम्प्युटर सीप उपयोग गर्ने र यसका लागि पूर्वाधार र मानवीय क्षमता विकास गर्ने नीति अघि सारेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ मा समेत ई–लाइब्रेरी, भर्चुअल ल्याब, भर्चुअल कक्षाकोठा र शिक्षण सिकाइमा आधारित एप्सको विकास गरी प्रयोगमा ल्याइनेछ भन्ने उल्लेख छ ।

अरू विकल्प
त्यसो त, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (पुरानो शिक्षा विभाग) ले आर्थिक वर्ष २०७५/७६ देखि नेपाल टेलिभिजनसँग प्रसारण सम्झैता गरी शनिवार बाहेक हरेक दिन कक्षा–१० का अनिवार्य विषयका पाठहरू बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र कक्षा–९ का अनिवार्य विषयका पाठ दिउँसो १ बजेदेखि ३ बजेसम्म प्रसारण गरिरहेको छ । कक्षा–१० का अनिवार्य ६ वटा विषयका ५४२ र कक्षा ९ का अनिवार्य ६ वटा विषयका ४०० वटा पाठ एनटीभी च्यानलबाट प्रसारण गर्नका लागि तयार गरिएको छ । ती पाठ यूट्यूबको ncedvirtual channel मा समेत राखिएको छ । इन्टरनेट र वाईफाई उपलब्ध भएको अवस्थामा उक्त भर्चुअल पाठहरू कम्प्युटर ल्यापटप र मोबाइल सेटमा हेर्न सकिन्छ । यसका अतिरिक्त सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाबाट ती पाठ कपी गरी इच्छुक विद्यालयहरूलाई दिने व्यवस्था समेत रहेको छ ।


धनमैत्री मन र डोजरमैत्री सरकारहरू भएको ठाउँमा प्रविधिमैत्री शिक्षा फस्टाउनु भनेको उजाड मरुभूमिमा हरियाली जङ्गलको परिकल्पना गर्नु जस्तै हास्यास्पद हुन्छ कि भन्ने पनि लाग्छ।

उल्लिखित विश्लेषणबाट भर्चुअल सिकाइका चार वटा मोडल देखिए । पहिलो, सुर्खेतको भेरीगंगाले सञ्चालन गरिरहेको अन्तरक्रियात्मक मोडल । दोस्रो, यूट्यूबमा भएका पाठलाई सर्च गरेर आफूखुशी अध्ययन गर्ने मोडल । तेस्रो, शिक्षा तथा मानव विकास केन्द्रले एनटीभी च्यानल मार्फत प्रसारण गरेको मोडल र चौथो भनेको हार्डडिस्कमा कपी गरेर अफलाइनको समयमा पनि अध्ययन गर्ने मोडल । विद्युत्, इन्टरनेट र वाईफाई सुविधा भएको विद्यालयमा पहिलो र दोस्रो तरिका बढी उपयुक्त देखिन्छ । यसमध्ये पनि पहिलो तरिका दोस्रो भन्दा उपयुक्त देखिन्छ । किनभने पहिलोमा विद्यार्थीसँग अन्तरक्रिया गर्ने र उनीहरूका क्रियाकलाप अवलोकन गर्ने अवसर समेत प्राप्त हुन्छ । यसका लागि हरेक सेक्सन र कक्षाकोठामा सकेसम्म विषयगत शिक्षक र त्यो नभए सामान्य सहजकर्ता मात्र भए पनि आवश्यक पर्छ । यसका अतिरिक्त कन्ट्रोल रूम पनि साधनसम्पन्न हुनुपर्दछ । साथै शिक्षकहरू दक्ष, सक्षम, सिर्जनशील र स्रोतपूर्ण हुनु जरूरी छ । कन्ट्रोल रूमको शिक्षकलाई सहयोग गर्नका लागि क्यामरा, ल्यापटप आदिको बारेमा जानकारी भएको सहयोगीको पनि त्यत्तिकै जरूरी छ ।

इन्टरनेट र वाईफाईको पहुँच भन्दा बाहिरका विद्यालयका निम्ति तेस्रो र चौथो तरिका प्रयोग गर्न सकिन्छ । विद्युत् भने यी दुवै मोडलमा आवश्यक छ । यी दुईमध्ये पनि राम्रो र लचिलो तरिका भनेको हार्डडिस्कमा कपी गरेर कम्प्युटर वा टीभीबाट हेर्ने तरिका हो । यसका लागि हरेक विद्यालयले ४ टेराबाइटको हार्डडिस्क र टेलिभिजन सेट वा स्मार्ट बोर्ड र ल्यापटप वा कम्प्युटर हुनु आवश्यक हुन्छ । निश्चित समयसम्म हेरी/सुनिसकेपछि विषयगत शिक्षकले विद्यार्थीलाई धारणा प्रष्ट भए/नभएको सम्बन्धमा रोकेर छलफल चलाउन सकिन्छ र तत्पश्चात पुनः प्ले गर्न सकिन्छ । यस प्रकारको सुविधा टीभीबाट प्रसारण हुने तरिकामा उपलब्ध हुँदैन ।

निष्कर्षमा भन्नुपर्दा, सिकारुहरू प्रविधिमैत्री हुँदै गइरहेको अवस्था छ । त्यसकारण सिकाइलाई प्रभावकारी बनाउने हो भने यसलाई प्रविधिसँग जोड्नु पनि त्यत्तिकै आवश्यक छ । अर्कोतिर विद्यालयमा शिक्षक र त्यसमा पनि सक्षम शिक्षकको त्यत्तिकै अभाव छ । यस्तो अवस्थामा सिकाइको भर्चुअल मोड अपनाउनु यसै पनि किफायती र लाभप्रद विकल्प हुनसक्छ । शारदा माध्यमिक विद्यालयका छात्राहरूः राधा पौडेल, करुणा खत्री र रामकुमारी महराले भने झ्ैं यो तरिकाबाट अरू विद्यालयका विद्यार्थीको अवस्थाको बारेमा समेत जानकारी हुने भई आफू कहाँ छु भन्ने बारेमा बोध हुने गर्दछ । यसको अर्थ हो, यो तरिकाबाट आर्जन गरिने शिक्षा र सिकाइले सिकारुलाई विश्व बजारको जानकारी लिन समेत सहयोग पुर्‍याउँछ । यति हुँदाहुँदै पनि यो विधिलाई प्रभावकारी रूपमा प्रयोग गर्नका लागि शिक्षकहरू प्रविधिमैत्री हुनु जरूरी छ । कक्षाकोठा साधन र स्रोत सम्पन्न हुनु आवश्यक छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा मान्छेका मनहरू शिक्षामैत्री हुनु आवश्यक छ । धनमैत्री मन र डोजरमैत्री सरकारहरू भएको ठाउँमा प्रविधिमैत्री शिक्षा फस्टाउनु भनेको उजाड मरुभूमिमा हरियाली जङ्गलको परिकल्पना गर्नु जस्तै हास्यास्पद हुन्छ कि भन्ने पनि लाग्छ ।

शिक्षक  मासिक, २०७६ फागुन अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial