सामूहिक आत्महत्याको मनोविज्ञान

एक महीना बित्न लाग्दासम्म पनि त्रिशूलीको त्यो सामूहिक पारिवारिक आत्महत्या (२ माघ, २०७६) को खबर अझ्सम्म ताजै छ । त्यसो त नेपालमा आत्महत्या धेरै नौलो कुरा पनि होइन । किशोरकिशोरीहरू त्यसको शिकार भइरहेका खबर आइरहन्छन् । विश्वव्यापी रूपमा, १५–२९ उमेर समूहमा सर्वाधिक आत्महत्या हुने गरेको तथ्याङ्क छ । केही समयअघि नेपालमै पनि, ‘शिक्षकले मन नपराएको’, ‘बाबाले गाली गरेको’ जस्ता सामान्य कारण देखाएर कलिला नानीबाबुहरूले आत्महत्या गरेका खबरहरू आएका थिए ।

पछिल्लो समाचारमा आए (दुई नाबालकसहित युवा दम्पतीले त्रिशूली नदीमा हामफालेको) जस्ता सामूहिक आत्महत्याका धेरै विवरण हामीसँग उपलब्ध छैनन् । भारतमा चाहिं ‘सामूहिक आत्महत्या’ को प्रवृत्ति विद्यार्थीवर्ग, कृषकवर्ग अनि पारिवारिक रूपमा व्यापक भएको पाइन्छ । सन् २०१८ मा मेडिकल या इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीका लागि कोचिङ्ग  कक्षा पढिरहेका १९ विद्यार्थीले राजस्थान (भारत) को कोटा शहरमा एकसाथ आत्महत्या गरेको समाचार आएको थियो । परीक्षामा उत्तीर्ण हुन नसकेको झेंकमा उनीहरूले यसरी आत्महत्या गरेको हुनसक्ने धेरैको अनुमान रह्यो ।


‘कुनै निश्चित समूहले एकै किसिमको तनाव’ महसूस गरिरहेमा त्यो समूह ‘सँगसँगै मर्ने’ निर्णयतिर डोरिन सक्दछ।

हाम्रो परीक्षा प्रणाली र अभिभावकहरूको महत्वाकांक्षा पनि अलि त्यस्तै नै छ । व्यक्तिको सर्वाङ्गीण विकासलाई भन्दा मार्कशिट, अंकभार अनि विद्यार्थीको र्‍याकिंग (ranking) मा नै जोड दिने । अनि बेलाबेलामा ‘शिक्षकले पिट्दा कानको जाली नै फुट्यो’, ‘शिक्षकको सजायका कारण विद्यार्थीको आँखाको ज्योति नै गुम्यो’, ‘हात भाँच्चियो’, ‘खुट्टा मर्कियो’  जस्ता खबरले कहिलेकाहीं हाम्रा विद्यालय पनि दण्डालयकै भूमिकामा रहेको आभास गराउँछन् । किशोरी विद्यार्थीहरू शिक्षकको यौन दुर्व्यवहारको शिकार बन्ने गरेका खबरहरू पनि आइनै रहन्छन् । अनि, सिनियर विद्यार्थीले जुनियरहरूलाई सताउने प्रवृत्ति (ragging) पनि छ यदाकदा । यस्ता घटना र प्रवृत्ति कायम रहिरहेको खण्डमा हाम्रा विद्यालयहरू पनि सामूहिक आत्महत्याका केन्द्र नबन्लान् भन्न सकिन्न । ‘कुनै निश्चित समूहले एकै किसिमको तनाव’ महसूस गरिरहेमा अनि त्यस्ता तनावको उचित व्यवस्थापन गर्न नसकिने भनी उनीहरूले नै ठम्याएमा त्यो समूह ‘सँगसँगै मर्ने’ सामूहिक निर्णयतिर समेत डोरिन सक्दछ ।

आत्महत्याको विचार संक्रामक नै पनि हुनसक्दछ, एउटा व्यक्तिबाट अर्कोमा सहजै सर्न सक्ने । सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढोत्तरी भइरहेको आजको स्मार्टफोन जमानामा किशोरकिशोरीमा यस्तो संक्रामकता झनै सजिलोसँग फैलिन सक्दछ । एकअर्कासँग व्यक्तिगत घनिष्ट सम्बन्ध हुने छात्रछात्राका समूहमा त यस्तो संक्रामकता झनै भयावह हुनसक्दछ, किनभने किशोरकिशोरीहरू एकअर्काको देखासिकी अरूभन्दा बढी गर्छन् । प्रभावशाली व्यक्तिहरूको नक्कल गर्ने प्रवृत्ति पनि तिनमा हुन्छः जस्तो— शिक्षक, अभिनेता, राजनीतिक नेता आदि । कसैले तनाव झेल्न नसकेर आत्महत्या गरेको खबर देख्दा पनि त्यस्तो प्रवृत्ति प्रबल हुनसक्दछ ।

विद्यालयमा यस्तो प्रवृत्ति मौलाउन नदिन के गर्न सकिन्छ त ?
१. विद्यार्थीको तनावको स्रोत पहिचान गर्न उनीहरूसँग बारम्बार छलफल हुने माहोल बनाउने । त्यस्तो वातावरण शिक्षकवर्ग, विद्यार्थी काउन्सिल आदिले तयार पार्न सक्दछन् । तनावग्रस्त विद्यार्थीलाई अलग्गै राखेर मनोविमर्श जस्ता यथोचित उपाय अवलम्बन गरी तिनको तनाव व्यवस्थापन गर्नतिर लाग्नुपर्छ ।
२. तनाव व्यवस्थापनका लागि विज्ञसहितका कक्षाहरू संचालन गर्ने, विद्यालयमा ‘नैतिक शिक्षा’ या ‘आध्यात्मिक विमर्श’ आदि कार्यक्रमहरू संचालन गर्ने ।
३. शैक्षिक गतिविधि सुधार गर्ने । परीक्षाको अंकसँग सम्बन्धित रहेर मात्र प्रतिस्पर्धात्मक क्रियाकलापहरू गर्ने प्रवृत्तिलाई निस्तेज पार्दै लैजाने । व्यक्तिको सर्वाङ्गीण विकास, चारित्रिक एवं व्यावहारिक वृद्धि विकास आदिलाई पनि जोड दिने प्रवृत्तिको विकास गर्ने ।
४. विद्यार्थीलाई दिइने सजायको विकल्पतिर ध्यान दिई शारीरिक एवं मानसिक चोट पर्ने खालका दण्ड दिने नीति परित्याग गर्ने । आवश्यक परे ‘सजायका विकल्प’ बारे शिक्षक तालीमको व्यवस्था गर्ने ।
५. विद्यालय वा छात्रावासहरूमा शिक्षकद्वारा विद्यार्थीमा या सिनियर विद्यार्थीद्वारा जुनियरहरूमा यौनजन्य या अन्य कुनै पनि किसिमका हिंसात्मक क्रियाकलापहरूमा ध्यान दिने ।
६. वेलावेलामा अतिरिक्त क्रियाकलापहरूको माध्यमद्वारा विद्यार्थीमा रहेको प्रतिभा, कुण्ठा या तनाव अभिव्यक्त गर्ने वातावरण तयार गर्ने । जस्तैः कविता, वादविवाद, निबन्ध, वक्तृत्वकला अनि शारीरिक खेल–योग आदि ।

यी सबै पक्षहरूमा ध्यान पु¥याई विद्यार्थीको आत्मसम्मानमा अभिवृद्धि अनि मनोसामाजिक तनावहरूको व्यवस्थापन गर्नतिर पाइला चाल्न सके सामूहिक आत्महत्या जस्तो जघन्य प्रवृत्तिलाई निरुत्साहित गर्न अवश्य बल पुग्नेछ ।

शिक्षक  मासिक, २०७६ फागुन अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial