बुद्ध कसका दूत ?

व्यक्ति, स्थान वा समाज चिनाउने कुरालाई पहिचान भनिन्छ । कसैका पहिचान एकभन्दा बढी पनि हुनसक्छन् । विश्वलाई चिनाउने सन्दर्भमा नेपालको पहिचान विशिष्ट छ । क्षेत्रफलका दृष्टिले सानो नै सही, तर भौगोलिक विविधताका कारण सामाजिक, सांस्कृतिक र प्राकृतिक क्षेत्रको विविधता पनि उत्तिकै व्यापक छ । एक हिसाबले विविधता नै नेपालको विशेषता भएको छ । ऐतिहासिक तथा सांस्कृतिक विकासका सन्दर्भमा यहाँ निर्मित मठमन्दिर, पाटीपौवा, विहार, स्तूप तथा दरबारहरू विशिष्ट छन् । यिनलाई सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ । यसरी नै प्रकृतिप्रदत्त सम्पदामा नेपाल सम्पन्न छ । अर्थात्, प्राकृतिक एवं सांस्कृतिक सम्पदाका सवालमा नेपालले विश्व रङ्गमञ्चमा नै ठाडो शिर गरेर उभिन सक्ने हैसियत राख्दछ । विश्व सम्पदा सूचीमा नेपालका विभिन्न ठाउँ सूचीकृत हुनु यसको एउटा उदाहरण हो । नेपालीलाई नेपालका सम्पदाहरूका बारे राम्रो जानकारी हुनु जरूरी हुन्छ । यही तथ्यलाई ध्यानमा राखेर विद्यालयस्तरबाटै त्यस्तो जानकारी दिन पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन  विधा अन्तर्गत कक्षा–१० को पाठ्यपुस्तकमा विश्व सम्पदा सूचीमा सूचीकृत भएका र नभएका समेत राष्ट्रिय सम्पदाहरू चिनाउन खोजेको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदा सूची तयार पार्ने गर्दछ । विशिष्ट मानवीय मूल्यका सम्पदाहरूलाई विश्वस्तरमा स्थापित गर्नका लागि त्यसको महत्ता हेरी विश्व सम्पदा सूचीमा राख्ने हो । यसमा विशेषतः विश्वभरबाट सांस्कृतिक एवं प्राकृतिक सम्पदा पर्दछन् । सूचीकृत सम्पदालाई विश्वकै निधिका रूपमा लिई अत्यन्तै महत्व दिइन्छ । यही भएर आफ्ना सम्पदा यसमा सूचीकृत हुनुलाई सम्बन्धित समाज तथा राष्ट्रले गौरवको विषयका रूपमा लिने गर्दछन् । विश्वका सामु पहिचान दिने खालका यस्ता सम्पदाका सम्बन्धमा नागरिकहरू जानकार र त्यसका सम्बन्धमा सचेत हुनै पर्दछ । तर पाठ्यपुस्तकमा समाविष्ट तत्सम्बन्धी जानकारीमा कुनै गल्ती वा कमी–कमजोरी हुनुहुँदैन; भेटिएका, औंल्याइएका त्रुटिलाई तुरुन्त सच्याउनुपर्दछ ।

बौद्ध देवी, हारती माताको मन्दिर, स्वयम्भू । तस्वीरः इनटरनेट

सामाजिक अध्ययन, १० कक्षाको एकाइ–३ अन्तर्गत पहिलो पाठमा शीर्षक ‘हाम्रा राष्ट्रिय सम्पदा’ राखिए पनि त्यसमा मूलतः विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको संक्षिप्त परिचय दिइएको छ । सूचीकृत सम्पदा भनी यहाँ १० वटा सम्पदाको नाम दिइए पनि वास्तविक संख्या चार वटा मात्र हो । सामान्यतः काठमाडौं उपत्यकाका मात्रै सात वटा सांस्कृतिक क्षेत्र ‘युनेस्को’ को सूचीमा परेको भन्ने बुझइ यसै क्षेत्रमा कार्यरत विज्ञहरूमा पनि रहेको पाइन्छ । यस्तै बुझाइ पाठ्यपुस्तकका लेखकहरूमा पनि रहेको बुझन गाह्रो छैन । स्वयम्भू महाचैत्य, खास्ति महाचैत्य (बौद्धनाथ), पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र गरी सात वटा सम्पदा क्षेत्रलाई बेग्लाबेग्लै हैसियतमा नभई सातै वटालाई एकमुष्ट रूपमा बुझी काठमाडौं उपत्यकालाई नै सम्पदा सूचीमा सूचीकृत गरिएको हो । तसर्थ, पाठमा काठमाडौं उपत्यका  उपशीर्षक अन्तर्गत यी सात वटा सम्पदा क्षेत्रलाई उल्लेख गर्नु उपयुक्त हुन्छ । सांस्कृतिक सम्पदा अन्तर्गत सूचीकृत अर्को ठाउँ गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो । यसरी नै प्राकृतिक सम्पदा क्षेत्र अन्तर्गत सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई पारिएको छ ।

सांस्कृतिक स्थलहरूको नामले पनि ती स्थानको ऐतिहासिक तथा सांस्कृतिक गरिमालाई उजागर गर्ने गर्दछ । तर नेपालको सन्दर्भमा यस विषयमा ध्यान गएको पाइँदैन । उदाहरणका लागि; स्वयम्भू स्तूपलाई स्वयम्भूनाथ स्तूप र खास्ति स्तूपलाई बौद्धनाथ स्तूप नामकरण गर्न थालिएको हिजोआज मात्रै हो । बौद्ध धार्मिक स्थलहरूमा नाथ शब्द जोड्नु अरू नै कुराको ‘फ्लेबर’ दिन खोज्नु हो, जुन गलत काम हो । पाठमा नमिल्दो भए पनि चलनचल्तीकै नाम राखिएको छ ।
स्वयम्भू स्तूपको परिचय दिने क्रममा पाठ्यपुस्तकमा ‘स्तूप परिसरमा हिन्दू मठ मन्दिरहरू पनि रहेका छन्’ भनिएको छ, जुन गलत जानकारी हो । कतिपय हिन्दू मन्दिर प्यागोडा शैलीका हुने भएको र स्वयम्भू स्तूपको बगलैमा प्यागोडा शैलीमा निर्मित हारतीमाताको मन्दिर देखेर यो भ्रम पर्न गएको अनुमान गर्न सकिन्छ । हारतीको मूर्ति, मन्दिर तथा पूजा नेपालबाहेक अन्यत्र पनि बौद्ध देवीकै रूपमा गरिन्छ । हारतीको उल्लेख हिन्दू सन्दर्भमा आउँदैन पनि । यसै पाठमा मञ्जुश्रीको पर्यायका रूपमा सरस्वतीलाई प्रस्तुत गर्न खोजिएको छ । महायानी बौद्ध धर्मअनुसार मञ्जुश्री एक पुरुष बोधिसत्व (भविष्यका बुद्ध) हुन् तर सरस्वती हिन्दूहरूकी देवी (स्त्री) हुन् । यी दुवै पात्र विद्यासँग सम्बन्धित हुनु बाहेक अन्य कुरामा समानता राख्दैनन् । 

                           
लुम्बिनी चिनाउने क्रममा सो पाठमा गौतम बुद्धलाई ‘एशियाका तारा उपनामबाट चिनिने शान्तिका अग्रदूत’ भनिएको छ । ‘एशियाका तारा’ को सट्टा कहीं कहीं ‘एशियाका ज्योति’ पनि भन्ने गरेको पाइन्छ । बुद्धलाई एशियाको ज्योति भन्नुको कारण जिसस क्राइष्टलाई ‘लाइट अफ द वल्र्ड’ भन्ने भनाइलाई बल प्रदान गर्न या त्यसको सोझे नक्कल पनि हुनसक्छ । बुद्ध र जिसस दुवैको जन्मभूमि र कर्मभूमि एशिया नै हो । तर कुन आधारमा एक जना एशिया स्तरको र अर्को विश्वस्तरको भयो भन्ने कुराको जवाफ कसैबाट पनि पाइँदैन । तसर्थ यो उपमा नै मिल्दो छैन । यसरी नै बुद्धलाई ‘शान्तिको अग्रदूत’ भन्नु पनि आफैंमा गलत बुझाइ हो । गौतम बुद्धलाई शान्तिको दूत भन्नुअघि उनलाई कसले पठाएको भन्ने प्रश्न उठ्छ, जबकि उनी स्वयंले अथक् प्रयत्न गरी ज्ञान प्राप्त गरेका थिए । बौद्ध धर्मदर्शन अनुसार उनलाई दूतका रूपमा बुझनु पटक्कै मिल्दैन र बौद्ध जगतले यस कुरामा आपत्ति नै जनाउने गर्दछ । बरू शान्तिसँग जोडेर विशेषण दिने हो भने बुद्धलाई ‘शान्ति नायक’ सम्म भन्न सकिन्छ । लुम्बिनीमा विभिन्न बुद्ध विहारहरू छन् भन्नुभन्दा ‘बौद्ध विहारका पुरातात्विक अवशेषहरू छन्’ भन्नु उपयुक्त हुन्छ । पुरातात्विक स्थलभन्दा अलि पर मात्रै विभिन्न देशले हालसालै बनाएका विहारहरू रहेका छन् ।

लुम्बिनी चिनाउन उक्त पाठ्यपुस्तकमा एउटा बेग्लै पाठ ‘ऐतिहासिक स्थल एवं स्मारकहरूको खोजी, पहिचान, संरक्षण र संवद्र्धन’ (पृ.१८८) समावेश गरिएको छ । पाठमा इसापूर्व २४९ मा लुम्बिनीको भ्रमणमा आएका मौर्यसम्राट अशोकको चर्चा गर्दै उनीद्वारा स्तम्भित अशोक स्तम्भमा कुँदिएको अभिलेखको उतार दिइँदा ‘इदह बुद्ध जाते’ भनिएको छ र त्यसलाई अथ्र्याउँदा ब्राकेटमा ‘यहाँ गौतम बुद्धको जन्म भएको हो’ भनिएको छ । अभिलेखको उद्धृत वाक्यांश नै गलत छ । ब्राह्मी लिपिमा रहेको उक्त अभिलेखमा अन्य वाक्यहरूका अतिरिक्त ‘हिद बुध जाते’ कुँदिएको छ । यहाँ ‘बुध’ मात्रै भनिएको छ, गौतम बुद्ध भनिएको छैन । बुद्धत्व प्राप्त गर्ने जो कोही बुद्ध हुने भएका कारण एकभन्दा बढी बुद्धहरू छन् । यस स्थलमा कुन बुद्ध जन्मेका भन्ने सन्दर्भमा अर्को वाक्यमा स्पष्टसँग ‘सक्यमुनि ति’ भनिएको छ अर्थात्, शाक्यमुनि । गौतम बुद्धलाई शाक्यमुनि पनि भनिन्छ । निग्लिहवामा प्राप्त सम्राट अशोककै अर्को अभिलेखमा ‘कोनागमन’ को नाम उल्लेख छ जसले कनकमुनि बुद्ध जनाउँछ । यही; दोस्रो पाठमा लुम्बिनी ‘बुद्ध धर्मको मात्र पवित्र स्थल हो भन्ने मानसिकता हटाई सम्पूर्ण नेपाली, नेपाल र विश्वको गौरव हो भन्ने चेतना अभिवृद्धि’ गर्नुपर्ने भनी दिइएको सुझाव अमूर्त छ । लुम्बिनीले अर्थवहन गर्नुको आधार नै त्यहाँ गौतम बुद्धको जन्म हुनु हो र यही आधारमा बौद्धहरू यसलाई पवित्र स्थलका रूपमा लिई तीर्थ गर्न आउने हुन् । लुम्बिनीको यही पहिचानलाई कायम राख्न सक्ने हो भने मात्रै सम्पूर्ण नेपाली, नेपाल र विश्वले गौरव गर्न पाउने हो । लुम्बिनीको पर्यटन गर्नमा अन्यलाई कुनै पनि प्रकारको रोकटोक छैन ।

पाठ्यपुस्तकमा ‘पर्यटन उद्योग, महत्व र सम्भावना’ शीर्षक पनि समाविष्ट छ । यस पाठमा लुम्बिनी लगायत जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, रिडी, उग्रतारा, मनकामना, पशुपतिनाथ, कृष्णमन्दिर, चाँगुनारायणका साथै काठमाडौं उपत्यकाका प्राचीन दरबारलाई पर्यटकीय दृष्टिकोणबाट महŒवपूर्ण मानिएको उल्लेख छ । यसरी नै सम्पदा सम्बन्धी अघिल्लो पाठमा विश्व सम्पदा सूचीमा सूचीकृत हुन योग्य अन्य सम्पदाहरूको नाम सुझाइएको छ । समग्रमा हेर्दा यी पाठहरू एकअर्कासँग सम्बन्धित छन् तर एउटा ठोस सन्देश वा शिक्षा दिन खोजेको भए पनि त्यो स्पष्ट भने हुनसकेको छैन । के–कति कारणले सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकृत हुन्छन्, यसको महत्व के छ, के–कस्ता नाकाम गर्दा सूचीबाट हटाइन्छ, सम्पदाहरूबाट के–कस्तो फाइदा लिन सकिन्छ भन्ने शिक्षा यी तीनवटै पाठमा परेको छैन । यही पाठको अभावमा विश्व सम्पदा संघले नेपाललाई चेतावनी दिने गरेको कुरा बिर्सन सकिन्न ।

हाम्रा सम्पदाको उचित संरक्षण हुन नसक्नुको पछाडि नीतिगत स्पष्टता नै नभएको, जिम्मेवार पदमा रहेकाहरूमा पनि उदासीनता र सर्वसाधारणमा चेतनाकै अभाव पाइन्छ । पाठ्यक्रममा यस्ता विषयवस्तु समेत समावेश गर्न सकेको भए भविष्यसम्म पनि सम्पदाका सम्बन्धमा विद्यार्थी संवेदनशील हुने तथा यसका सम्बन्धमा गलत काम हुनलाग्दा त्यसलाई खबरदारी गर्न हैसियत राख्न सक्ने हुन पाउँछन् । यसर्थ यो पाठमा थप परिमार्जन आवश्यक छ ।

 



 

commercial commercial commercial commercial