जिज्ञासा र जवाफ: २०७६ फागुन अंकमा प्रकाशित

सिटरोलले जोड्छ नोकरी अवधि

२०७१/४/२० गतेदेखि निमावि तहको स्थायी सेवामा रहँदै मैले २०७६/८/१ देखि मावि तहमा नयाँ स्थायी नियुक्ति लिएर पढाउन थालेको छु । मेरो नयाँ नियुक्ति पत्रमा सिटरोल नम्बर पनि उल्लेख छ । अब मैले नोकरी अवधि जोड्न के कस्तो प्रक्रिया अपनाउनु पर्ला ?

डम्बरबहादुर विश्वकर्मा, श्री अञ्चित मावि, बारा

एक जनाको सिटरोल नम्बर एउटै हुने भएकाले तपाईंको दुवै चरणका स्थायी सेवा अवधि सहजै जोडिन्छन् । पहिले निमावि तहमा स्थायी सेवा गरेको विद्यालयमै पुनः अहिले मावि तहमा नियुक्ति लिनुभएको हो भने हाजिर भएको जानकारी मात्र भए पुग्छ । विद्यालय फरक परेको भए अघिल्लो विद्यालयको रमानापत्र, हाल कार्यरत विद्यालयको बहाली पत्र र सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइको सिफारिश सहित आफ्नो सिटरोल नम्बर विद्यालय शिक्षक किताबखानामा पेश गर्नुपर्छ । तल्लो तहको सेवाबाट माथिल्लो तहमा पदोन्नति वा नयाँ नियुक्ति दुवै अवस्थामा एकै सिटरोल नम्बर कायम हुन्छ ।  

रवीन्द्र बुढाप्रिथी, निर्देशक, शिक्षा तथा मानव स्रोत विकास, केन्द्र (साविक शिक्षा विभाग), भक्तपुर

२०७५ को पोशाक भत्ता अब पाइँदैन

२०७५ असारमा लिइएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा सहभागी नभएका तथा अनुत्तीर्ण भएका शिक्षकले परीक्षाको अन्तिम परिणाम निस्कँदासम्म अध्यापन गरी २०७५ को शैक्षिक शत्र सकिने वेला (फागुन/चैत महीनामा) अवकाश पाएका थिए । ती शिक्षकले २०७५ सालको पोशाक भत्ता पाउने हुन् कि होइनन् ?

नवीनकुमार शर्मा, साविक सरस्वती मावि, चरकमटिया, दाङ

पोशाकभत्ता पाउन एक वर्ष पूरा व्यतीत गर्नुपर्ने र शैक्षिक सत्र अन्त्य हुने समयमा आर्थिक वर्ष नसकिने भएकाले तपाईंले भने झैं २०७५ फागुन/चैत महीनामा अवकाश पाएका अस्थायी शिक्षकले पोशाक भत्ता पाउने अवस्था देखिंदैन ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक, साविक शिक्षा विभाग

सिटरोल भर्न काज विदा ?

सामुदायिक विद्यालयका नवप्रवेशी स्थायी शिक्षकले सेवा प्रवेशका चरणमा गर्नुपर्ने कार्यहरू क्रमशः सिटरोल फारम भर्ने, प्रमाणित गर्ने, सिटरोल नम्बर लिने र नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट परिचयपत्र लिने प्रयोजनका लागि आफू कार्यरत विद्यालयबाट काज विदा पाउँछन् या पाउँदैनन् ? यदि काज पाइन्छ भने अधिकतम र न्यूनतम कति–कति दिन पाउन सक्ला ?

तुलसीप्रसाद चम्लागाईं, फुल्पिङकोट मावि, बलेफी गापा–२, सिन्धुपाल्चोक

तपाईंले भन्नुभएको जस्तै सिटरोल फारम भर्ने, प्रमाणित गर्ने, सिटरोल नम्बर लिने र नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट परिचयपत्र लिने इत्यादि काम तपाईंका निजी र व्यक्तिगत हुन् । यी कामका लागि काज विदाको सुविधा हुँदैन । यी काम गर्न तपाईंले नियमानुसार पाउने क्याबी विदा, पर्व विदा वा बिरामी विदा लिन सक्नुहुन्छ ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक, साविक शिक्षा विभाग

छुट ग्रेड बारे सर्वोच्चमा मुद्दा छ

स्थायी हुनु पूर्व नै ए–लेभल तालीम प्राप्त गरी रु.६५ (क) तालीम भत्ता खाँदै आएको तथा २०५७ असार मसान्तसम्म तालीम प्राप्त र आई.एड., बी.एड. गरेका शिक्षकलाई प्राविधिक ग्रेड दुई थप गरी अरू शिक्षकले रु.४,१००/– खाँदा हामीहरूले रु.४,३२०/– स्केल खाँदै आएका थियौं । २०७३ साउन १ गतेदेखि ग्रेड समायोजन गर्दा हाम्रो प्राविधिक ग्रेड हटाइएको थियो, जुन छुट ग्रेड निजामती कर्मचारीहरूले खाइसक्नुभयो । अब हामी शिक्षकले उक्त छुट प्राविधिक ग्रेड पाउने कि नपाउने ?  

चन्द्रा भण्डारी (न्यौपाने), नेपाल राष्ट्रिय आभूवि, वीरेन्द्र नपा–५, चिसापानी, सुर्खेत

तपाईंले उल्लेख गरेको प्राविधिक ग्रेडका बारेमा सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ । त्यसैले यस बारेमा अहिले केही बोल्न मिलेन ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक, साविक शिक्षा विभाग

प्रस्तावित ऐनको बारेमा बोल्न मिल्दैन

नेपालको राष्ट्रिय शिक्षा नीति २०७६ ले माथिल्लो शैक्षिक योग्यता, सक्षमता र अनुभवको आधारमा माथिल्लो तहमा बढुवा गर्ने व्यवस्था गरेको छ; जुन राम्रो पक्ष हो । तर, माथिल्लो योग्यता भएका शिक्षकहरू २५ प्रतिशत आन्तरिक परीक्षा र कासमूद्वारा पहिले नै प्रावि र निमावि द्वितीय श्रेणीमा बढुवा भइसकेका शिक्षकहरूलाई प्रस्तावित शिक्षा ऐनमा कसरी समायोजन गर्ने व्यवस्था गरिएको छ ?

जयप्रकाश राय, नेपाल राष्ट्रिय मावि, फतेपुर, बारा

नेपालको राष्ट्रिय शिक्षा नीति २०७६ मा जुन व्यवस्था गरिएको छ, ऐन बनाउँदा सामान्यतया त पछ्याइने नै हो । शैक्षिक योग्यता, अनुभव र सक्षमताको आधारमा नै शिक्षकको मूल्याङ्कन हुने हो । यससम्बन्धी थप व्यवस्था भने नयाँ शिक्षा ऐन बनेपछि मात्रै यकिन हुन्छ । प्रस्तावित शिक्षा ऐनको बारेमा अहिले नै केही भन्न सकिंदैन, मिल्दैन ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

दरखास्त शुल्क आयोगले तोकेभन्दा बढी लिन पाइँदैन

सामुदायिक विद्यालयमा करार शिक्षकको रूपमा रिक्त स्थायी दरबन्दी वा राहत कोटा दरबन्दीमा पदपूर्ति गर्दा दर्खास्त दस्तुर आफूखुशी राखेको पाइन्छ । शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि मावि तहको दर्खास्त दस्तुर खुला रु.१०००, समावेशी समूहको लागि रु.६००, निमावि तहको दर्खास्त दस्तुर खुलातर्फ रु.७०० समावेशीतर्फ रु.५०० र प्राथमिक तह कक्षा १–५ को दर्खास्त दस्तुर खुला रु.५०० र प्रत्येक थप समावेशीको लागि रु.४०० हुने गरी विज्ञापन गरेको जगजाहेर छ । तर त्यो दस्तुर रकम भन्दा बढी दर्खास्त रकम लिई रिक्त दरबन्दी करार पदपूर्ति गर्ने सामुदायिक विद्यालयलाई कारबाही हुन्छ कि हुँदैन ?

मानबहादुर बस्नेत, नेपाल राष्ट्रिय मावि, रनगाई बुद्धभूमि नगरपालिका, कपिलवस्तु

शिक्षकको करार दरबन्दी पूर्ति गर्नका लागि विद्यालयहरूले आफूखुशी दरखास्त शुल्क लिन पाउँदैनन् । शिक्षक सेवा आयोगले तोकेको दर भन्दा बढी लिनुहुँदैन । यदि कुनै विद्यालयले आयोगले तोकेभन्दा धेरै शुल्क लिएको खण्डमा प्रमाण जुटाएर सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाइ तथा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिन्छ ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक, साविक शिक्षा विभाग

प्रथम/द्वितीय भन्ने कुरै आउँदैन

कक्षा–१२ सम्मकै परीक्षाको नतिजा अक्षरांकन पद्धतिबाट प्रकाशन गरी परीक्षार्थीलाई ग्रेडशीट प्रदान गरिने वर्तमान अवस्थामा कक्षा–१० को परीक्षाफलमा यस्तो अवस्था भए विद्यालयमा कसलाई प्रथम मान्ने ?

१) यदि (क) विद्यार्थीको जीपीए २.६७ र (ख) को जीपीए २.६८ छ । तर विद्यार्थी (ख) को कुनै विषयमा ग्रेड प्वाइन्ट १.६ ‘डी प्लस’ भन्दा कम छ भने ११ पढ्न पाउने भएकोले (क) लाई वा बढी जीपीए भएको (ख) लाई ?
२) यदि (क) र (ख) को जीपीए माथिकै अनुसार छ र दुवै जना कक्षा–११ मा पढ्न पाउने अवस्थामा छन् । तर ग्रेड वृद्धि परीक्षामा विद्यार्थी (क) ले कुनै विषयमा वृद्धि गरी २.६८ भन्दा माथि पुर्‍याएमा परम्परागत नियमित र पूरक शब्द प्रयोग गरी नियमित भएकोले (ख)लाई प्रथम मान्ने वा ग्रेड वृद्धि नतिजाको आधारमा (क) लाई ?

डम्बरप्रसाद उपाध्याय, पहलमानसिंह मेमोरियल मावि, घोडाघोडी नपा–११, कैलाली

ग्रेड प्रणाली लागू भइसकेपछि यसमा प्रथम वा द्वितीय भन्ने कुरै आउँदैन । एउटै जीपीए धेरै जनाले पनि लिन सक्छन् । २.६७ भन्दा जीपीए २.६८ त्यसै ठूलो हो । कुनै विषयमा कति जीपीए छ भन्ने कुराले पनि मापन गर्दछ । कुन विषय पढ्नका लागि कुन–कुन विषयमा कुन–कुन ग्रेड ल्याउनुपर्छ भन्ने स्पष्ट कुरा पाठ्यक्रम विकास केन्द्रले तोकिदिएको छ । त्यसैले यसमा कोही प्रथम वा अरू हुँदैन । कुन–कुन विषयमा कति कुन ग्रेड ल्याउनेले के–के विषय पढ्न पाउँछ भन्ने पूरा जानकारी पाठ्यक्रम विकास केन्द्रको आधिकारिक वेबसाइटमा हेर्न पनि सकिन्छ ।

रामराज खकुरेल, परीक्षा नियन्त्रक, राष्ट्रिय परीक्षा बोर्ड

तपाईं उम्मेदवार हुन पाउनुहुन्न

मेरो जन्ममिति वि.सं.२०३६ साल पुस २८ गते हो । शिक्षक सेवा आयोगको माध्यमिक तहको करार (योग्यता क्रम) सूची २०७६ मा मेरो नाम नामेसी प्रकाशित छ । अब मैले २०७६ पुस १४ गतेदेखि २०७६ पुस २८ गतेसम्म १५ दिने म्याद राखी विज्ञापन गरिएको माध्यमिक तह, अस्थायी राहत करार शिक्षक पदको लागि उम्मेदवार हुन पाउँछु कि पाउदिनँ ?

सन्तोष सेर्मा, पृथ्वी मावि, कुम्मायक–१, यासोक पाँचथर

दरखास्त दिने अन्तिम दिनमै तपाईं ४० वर्ष पुग्ने भएका कारण दरखास्त दिन मिल्दैन ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक, साविक शिक्षा विभाग

निजीका शिक्षकको सुविधा सामुदायिक सरह नै

निजी स्कूलका शिक्षकले कुन कर्मचारी सरहको तलब सुविधा पाउने व्यवस्था छ ? अनि निजी स्कूलका शिक्षक–कर्मचारीहरूले कुन–कुन विदा उपयोग गर्न पाउँछन् त ?

पल्लवराज जोशी, चौलानी बोर्डिङ स्कूल, गोकुलेश्वर, दार्चुला

निजी स्कूल तथा बोर्डिङ स्कूलका शिक्षकहरूले पनि सामुदायिक स्कूलकै शिक्षक सरहको तलब सुविधा पाउनुपर्छ । यदि यसो नभएमा सम्बन्धित कार्यालयमा उजुरी गर्न सकिन्छ । निजी स्कूलका शिक्षक कर्मचारीहरूको विदा पनि सामुदायिक विद्यालयकै सरह हुन्छ ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक, साविक शिक्षा विभाग

मनपरी भत्ता खान मिल्दैन

शिक्षा विकास तथा समन्वय समिति इकाइ र गाउँपालिकाले सिर्जना गरेका शिक्षक दरबन्दी वा अनुदान कोटामा शिक्षक नियुक्ति गर्दा स्थानीय तहको हस्तक्षेपले धेरैभन्दा धेरै समस्या पारेको छ ।

१. शिक्षक नियुक्तिको प्रक्रियामा जनप्रतिनिधि, विषय विज्ञ, प्रअ, विनि र विव्यस अध्यक्षलाई एक दिनको जनही रु.५०००/– सोभन्दा माथि भत्ता खान मिल्छ कि मिल्दैन ?
२. सरकारी अनुदान कोटामा शिक्षक नियुक्ति गर्दा नियम प्रक्रिया अनुसार अन्य वैकल्पिक उपाय हुँदाहुँदै पनि बबई गाउँपालिकाको हस्तक्षेपले अध्यापन अनुमति पत्र प्राप्त नभएको व्यक्तिलाई शिक्षक पदमा नियुक्ति गर्न मिल्छ कि मिल्दैन ?

लिला वि.क., बबई गाउँपालिका–४, हापुरे, दाङ

१. शिक्षक नियुक्तिको प्रक्रियामा जनप्रतिनिधि, विषय विज्ञ, प्रअ, विनि र विव्यस अध्यक्ष वा कसैले पनि जनही रु.५ हजार भत्ता लिन मिल्दैन । यसो गरिएको छ भने त्यो आर्थिक अनुशासनको सरासर उल्लंघन हो ।  
२. कुनै गाउँपालिका वा नगरपालिका वा अन्य स्थानीय सरकारले भन्दैमा अध्यापन अनुमतिपत्र नभएका व्यक्तिलाई शिक्षकमा नियुक्ति गर्न मिल्दैन । त्यसो गरिएको भए त्यो सरासर गैरकानूनी हो । शिक्षक नियुक्तिको आफ्नै प्रक्रिया छ । यसको आफ्नै मापदण्ड छ । त्यो सबै पूरा गर्नुपर्छ । कसैले भन्दैमा अध्यापन अनुमतिपत्र विनाको व्यक्तिलाई शिक्षक भर्ना गर्न पाइँदैन । अध्यापन अनुमतिपत्र कानूनले नै तोकेको कुरा हो ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षक मासिक, २०७६ फागुन अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial