गैंडाको बलि !

नेपाल प्रकृति संरक्षणको आत्माको रूपमा चितवनको एकसिङे गैंडा स्थापित छ । गैंडाको अप्राकृतिक मृत्युमा सम्पूर्ण नेपाली दुखित हुने गर्छन् । गैंडा मार्नेलाई कानूनी सजाय पनि ठूलो नै हुन्छ । गैंडाका अङ्ग–प्रत्यङ्गको ओसार–पसार वा खरीदबिक्रीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबन्ध छ । यो विश्वकै दुर्लभ एवं संरक्षित प्राणी हो । तैपनि गैंडालाई मार्ने र यसको मर्ने क्रम सधैं चिन्ताको विषय बन्ने गरेको छ ।

गैंडाको रूपरङ र चरित्र विचित्रको हुन्छ । त्यही विचित्र चरित्रको गैंडा गाथालाई आफ्नै आत्मकथाको रूपमा सँगालेर डा.हेमन्तराज मिश्रले ‘गैंडाको आत्मा’ शीर्षकको एक उत्तम पुस्तक निर्माण गरेका छन् । उनको ‘द सोल अफ द राइनो’ नामक अंग्रेजी भाषाको मौलिक पुस्तक सन् २००८ र सन् २०१२ मा विदेशी प्रकाशन गृहहरूबाट निस्केको थियो । अंग्रेजी पाठकलाई पस्केको त्यो नेपाली खुराक २०७६ पुस १७ गते नेपाली थालमा एक सरस र सरल पकवान बनेर वन्यजन्तु पीडित उद्धार कोषको तर्फबाट प्रकाशित भएको छ । पूर्व राष्ट्रपति डा.रामवरण यादव तथा वन तथा वातावरण मन्त्री माननीय शक्तिबहादुर बस्नेतको उपस्थितिमा गैंडाको आत्मा  लोकार्पण भयो । लगभग २४० पृष्ठको त्यो पुस्तक पढेपछि मेरा मनमा खेलेका अनेक कुराहरू शिक्षक एवं विद्यार्थीमाझ पुर्‍याउने मनसायले यो लेख तयार पारेको छु ।

गैंडा ज्यादै भद्दा र भारी स्तनधारी पशु हो । हात्तीपछिको दोस्रो ठूलो जनावर गैंडा नै हुनुपर्छ । सामान्यतया यो दुई टन अर्थात् दुई हजार किलोग्राम वजनको र झण्डै ६ फुट अग्लो हुन्छ । गैंडाको विशेषता यसको बाक्लो छालामा हुन्छ । यसको बाक्लो छाला ढाल अर्थात् सुरक्षा कवचको रूपमा रहेको हुन्छ । तर गैंडाको मूल पहिचान भनेको यसको खाग नै हो । हाम्रो गैंडामा एउटा मात्र खाग हुन्छ र त्यो नाकै माथि उम्रेको हुन्छ । वैज्ञानिकहरूले ग्रीक भाषाको सहायता लिएर लैटिन भाषामा गैंडालाई ‘राइनोसेरस’ (Rhinoceros) जातिको ‘युनिकर्निस’ प्रजातिमा राखेका छन् । राइनो (Rhino) को अर्थ— नाक र सेरोस (Ceros) को अर्थ हड्डी वा सिङ हुन्छ । त्यस्तै युनिकको अर्थ— एक र कर्निसको अर्थ पनि सिङ हुन आउँछ । हामी पनि यसलाई एकसिङे गैंडा भन्दछौं । तर गैंडाको यो सिङ हाम्रो गाई, भैंसीको जस्तो खप्परकै अभिन्न अङ्ग भने हैन । यो अवयव हाम्रो औंलाको नङ वा शरीरको बाहिर पलाउने अङ्ग हो । यो हड्डीको अंश हैन ।

सामान्यतया गैंडाको एउटा सिङ वा खाग एक किलो वजनको हुन्छ र त्यसको लागि हजारौं अमेरिकी डलर तिर्न मानिसहरू तयार हुन्छन् । गैंडा स्वयंको लागि खाग न लौरो हो न हतियार ! आपसी जुधाइमा यसको कुनै भूमिका हुँदैन । सिंगौरी खेलेर जमीन खन्न, जोत्न पनि यो काम लाग्दैन । भाले–पोथी दुवै प्राणीमा सिङ या खाग हुन्छ । उनीहरूबीचको आपसी आकर्षणमा पनि यसको कुनै काम छैन । तर गैंडाको खाग नै गैंडा हत्याको मूल कारण बन्ने गरेको छ । गैंडाको खागलाई यौनवद्र्धक औषधिको रूपमा लिने मानिसहरू चीन, भारत, जापान लगायत मध्यपूर्वी देशहरूमा छरिएका छन् र खागको बढी माग पनि त्यहींबाट हुन्छ । यसको अर्को प्रयोग सजावट र शक्ति प्रदर्शनका सामानका रूपमा पनि हुने गर्छ । खाडी राष्ट्र यमनका धनाढ्यहरूले बोक्ने छुरीको बिंडमा गैंडाको खाग जडिएको छ भने त्यसको मूल्य र मान्यता नै बेग्लै हुन्छ । यस्तै गरेर गैंडाको खागको प्यालाले विषादी मिसिएको मदिरा वा अरू खाद्यवस्तु तुरन्तै छुट्याउने काम गर्छ भन्ने विश्वासले पनि खागको मूल्य आकाशमा पुर्‍याउन मद्दत गरेको छ । यस्ता परम्परागत विश्वास र अन्धविश्वासहरू कुनै पनि वैज्ञानिक अध्ययन वा अनुसन्धानबाट पुष्टि भएका छैनन् । फगत अन्धविश्वासको गहिराइमा डुबेका मानिसको सोख र चाहनाले गैंडाको खाग तस्करीको सञ्जाल एशिया र युरोपमा फैलन सफल भएको छ ।

गैंडा विनाशको अर्को अन्धविश्वास केही हिन्दूहरूको पितृ तर्पणसँग पनि जोडिएको छ । श्राद्ध गर्दा, पितृलाई जल र पिण्ड दान गर्ने परम्परा छ । प्रत्येक पिण्डमा एक टुक्रा गैंडाको अङ्ग (छाला, मासुको सुकेको टुक्रा) समावेश गर्ने चलन छ । काठमाडौंमा पूजा सामग्री बेच्ने पसलहरूमा गैंडाको सुकुटी मासु भनेर स–साना टुक्राहरू खरीद गर्न सकिन्छ । त्यसका अतिरिक्त, यहाँ पुरोहितले पनि गैंडाको छालाले बनेको खगौतो साथमा लिएर श्राद्ध कर्म गराउन आउने चलन छ । पितृ तर्पणमा त्यो वस्तु अनिवार्य मानिन्छ । तर यस्तो चलन सबैतिर नहुन सक्छ । पितृ तार्ने यस्ता अन्धविश्वास राजा महाराजाहरूमा बेग्लै ढङ्गले गाँजिएका हुन्छन् । यस विषयमा डा.हेमन्त मिश्रले गैंडाको आत्मा मा यसरी प्रकाश पारेका छन्— “नेपालको परम्परा अनुसार गद्दी आसन गरेपछि गैंडा तर्पण दिनुपर्ने हरेक राजाको धार्मिक कर्तव्य थियो । धार्मिक विधि अनुसार गैंडाको शरीरभित्रबाट राजाले पितृहरूलाई गैंडाको मुटुको रगतको तर्पण दिंदै, देशको शान्ति र समृद्धिको लागि पूजाआजा गर्नुपथ्र्यो । त्यसको अतिरिक्त, राजकीय रीतिरिवाज अनुसार तर्पण दिइने गैंडाको शिकार राजा वीरेन्द्रको आफ्नै हातले गर्नु अनिवार्य थियो । सुशील राजाको रेखदेखमा तर्पणका लागि उपयुक्त भाले गैंडा खोज्ने र त्यसको निगरानी गर्ने मेरो मुख्य जिम्मेवारी थियो । त्यो जिम्मेवारीले म वन्यजन्तु संरक्षकबाट शाही गैंडा शिकारीमा रूपान्तरण भएँ ।”

सन् १९१२ मा नेपालमा गैंडाको शिकार खेल्दै बेलायतका राजा जर्ज पञ्चम ।

नेपालको प्रचलित कानून अनुसार गैंडा मार्ने व्यक्तिलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र रु.५० हजारदेखि रु.१ लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ । तर यस्तो ऐन–कानून राजालाई लाग्दैनथ्यो । तसर्थ दिलोज्यानले गैंडाको संरक्षणमा लागेका कर्मचारी नै कसरी गैंडा शिकारीमा परिणत हुन पुगे र तत्कालीन राजाले गैंडाको आलो रगतले कसरी आफ्ना पितृलाई तर्पण दिए भन्ने कुराको मनोहर वृत्तान्त यो पुस्तकमा समावेश छ । लेखकको शब्दचित्रण र घटनाक्रमको सविस्तार वर्णन ज्यादै रोचक छ । शिकार र शिकारीका कुराहरू त्यसै पनि कौतूहलपूर्ण र घत लाग्ने हुन्छन् नै । तर डा. मिश्रको लेखन हृदयविदारक पनि छ ।

राजाले शिकार गर्ने र तर्पण दिनुपर्ने जनावर भाले नै हुनुपर्छ । पोथी पर्नुहुँदैन । तसर्थ, डा.मिश्र तथा उहाँका सहकर्मीहरूले भाले गैंडा कसरी ठम्याए, त्यसलाई कसरी निगरानीमा राखे र राजाको बन्दूकको निशानामा पारे भन्ने विवरण निकै हृदयस्पर्शी छन् । राजगुरु तथा पुरोहितहरूले राजा वीरेन्द्रबाट गरिने तर्पणको साइत २०३५ सालको २८ पुस निकालेका रहेछन् । गैंडा लगायत अन्य वन्यजन्तुको संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय निकुञ्जहरूको स्थापनामा लागेका राजा स्वयं त्यस्तो अन्धविश्वासको खाल्डोमा फसे अथवा फसाइए भन्ने रहस्य बुझन सजिलो छैन । यो किताबले पनि त्यसको खुलासा गर्दैन ।

२०३५ सालको त्यो ऐतिहासिक शाही–शिकारको वृत्तान्त पस्किंदै डा.मिश्र आफ्नो किताबमा लेख्छन्— ‘राजारानी र राजपरिवारका अरू सदस्यहरू पनि सफारी पोशाकमा राष्ट्रिय निकुञ्जभित्र हात्तीमा सवारी हुन्छ । हात्तीको फौजले घेरिएको गैंडालाई राजाको निशानामा पारिन्छ । आरामले घाँसमा सुतेको गैंडालाई ढुङ्गामुडा गरी उठाइन्छ, किनभने सुतेका पशुलाई शिकार गर्न वर्जित छ । हाम्रो धार्मिक मान्यताभित्रको कुरा हो यो । चारैतिर हात्तीको घेरामा परेको निरीह गैंडा एकैछिनमा अत्तालिन्छ । त्यही क्रममा राजा चढेको हात्तीतिर जाइलाग्छ । त्यसपछि— “राजाले ढ्याङ्ग बन्दूक पड्काए । जङ्गल थर्कियो । गैंडा भुईंमा ड्याम्म लड्यो ।” तर त्यो गैंडा मर्दैन । रगत बगाउँदै हात्तीलाई हमला गर्दै जङ्गलभित्र विलाउँछ । घन्टौंको खोज–तलासपछि रगतको आहालमा गैंडा भेटिन्छ । हात्ती नजिक आएको देखेर त्यो प्राणी उठ्छ र आक्रमण गर्न खोज्छ । दोस्रो गोली त्यसको शरीरमा दागिन्छ । लड्खडाउँदै त्यो गैंडा अगाडि बढ्छ । तेस्रो गोली लागेपछि गैंडा ढल्छ तर फेरि उठेर आक्रमण गर्न खोज्छ, तुरुन्तै चौथो गोलीको प्रहारपछि त्यो प्राणी फेरि नउठ्ने गरी ढल्छ । श्री ५ महाराजाधिराज सरकारको जय भन्दै माहुतेहरू र शिकारी दल चिच्याउँछन् ।’


गैंडा स्वयंको लागि खाग न लौरो हो न हतियार ! भाले–पोथी दुवै प्राणीमा सिङ या खाग हुन्छ। उनीहरूबीचको आपसी आकर्षणमा पनि यसको कुनै काम छैन। तर गैंडाको खाग नै गैंडा हत्याको मूल कारण बन्ने गरेको छ।

गैंडा ढलिसकेपछिको वर्णन लेखकले यसरी गरेका छन्— ‘त्यो गैंडालाई साँझ राजाको क्याम्प पुर्‍याइन्छ । विशेषज्ञ कर्मचारीले चिरफार गरेर त्यो दुई टनको गैंडालाई चारै खुट्टा आकाशतिर फर्र्र्काएर रूखका हाँगाहरूमा बाँधिन्छ । राजपुरोहितहरू अनेक विधि–विधानमा लाग्छन् । त्यस मृत गैंडाको शरीरभित्र राजाले प्रवेश गर्छन् । गैंडाको आलो रगत लिएर पितृलाई तर्पण दिने काम हुन्छ ।’

डा.मिश्रले सबै विधि–विधानको क्रिया र प्रक्रियाहरू मिहिनसँग शब्दमा उतारेका छन् । यस्तो वर्णन अन्यत्र छ जस्तो लाग्दैन । गैंडाको शरीरै भित्र पसेर; त्यसको जीउभित्र उभिएर रगतको तर्पण दिइन्छ भन्ने मेरो कल्पनाभन्दा बाहिरको कुरा डा.मिश्रले उजागर गरिदिएका छन् ।

रहस्य र रोमाञ्चले भरिएको यो पुस्तकको आरम्भमा अर्को एउटा ‘रहस्यमय वाक्य’ पनि अङ्कित छ । त्यो हो— “के गर्देको छोरा तिमीले !, देवतुल्य राजाको मुखबाट झिनाे स्वरमा निक्लेका, यिनै अन्तिम शब्द हुन् । यो वाक्य राजा वीरेन्द्रको सन् २००१ जून १ तारिख (१९ जेठ, २०५८) नारायणहिटी राजदरबारको पारिवारिक रात्रिभोजमा ढल्नु अगाडिको अन्तिम थियो ।”

एकातिर मरेका पितालाई तार्न बाँचेको छोराले गोली ठोकेर गैंडा मार्छ र अर्कोतिर बाँचेका पितालाई उनकै पुत्रले गोली नै ठोकेर हत्या गर्छ । डा.मिश्रको यो पुस्तक रहस्यै रहस्यले सजिएको एउटा दस्तावेज पनि हो । वास्तविक अभिलेख पनि हो ।

शिक्षक  मासिक, २०७६ फागुन अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial