ओसीडी एक पीडादायी मनोरोग

एक ४०+ का शिक्षक ५–६ वर्षदेखि अस्पताल धाइरहेका छन् । गर्मी महीनामा पनि दुवै हातमा पञ्जा लगाएर हिंड्नुपर्ने, खुल्ला हातले केही चीज छोइयो भने लामो समय लगाएर हात धुनुपर्ने, चक–डस्टरको धूलो लागेमा लुगा धोइहाल्नुपर्ने, नुहाउन दुई घण्टा नै लाग्ने, घरको ढोका लगाएपछि चार–पाँच पटक नै जाँच गरेर पक्का गर्नुपर्ने, ग्याँस–चूलो बन्द भए/नभएको बारम्बार भान्सामा पुगेर पक्का गर्नुपर्ने जस्ता अस्वाभाविक व्यवहार या समस्याका कारण झ्ण्डै शिक्षण पेशा नै त्याग गर्न पुगेका उनी यताका दिनमा केही सहज जीवन बाँच्न थालेका छन् । नियमित औषधि सेवन र मनोवैज्ञानिक उपचारका कारण हरदम चिन्तित र उद्वेलित हुने समस्याबाट उनले केही त्राण पाएका छन् ।

एउटै विचार बारम्बार मनमा आइरहने, त्यो विचार बेकारको हो भन्ने थाहा पाउँदा–पाउँदै पनि त्यसलाई रोक्न नसक्ने, त्यसरी निरन्तर आइरहने विचारलाई सन्तुलनमा ल्याउनका लागि केही काम गर्नैपर्ने, काम गर्दा पनि सन्तुलनमा ल्याउन नसके त्यही विचारका कारण तनावमा पर्ने अनि त्यस्तो तनावका कारण उदासीनता र उद्वेलित भइरहने जस्ता लक्षण भएको मानसिक रोगको परिणाम हो माथि उल्लिखित घटनाका पात्र शिक्षकको समस्या । यो रोगको नाम हो— ‘ओसीडी’ (Obsessive Compulsive Disorder) । यसले व्यक्तिलाई लामो समयसम्म सताउन सक्छ ।

यो रोगले सताएका व्यक्तिलाई खुल्ला हातले छोइएका हरेक चीजहरू ‘फोहोर’; ‘कीटाणुजन्य’ या ‘बिटुलो’ हुन् । त्यस्ता चीज छोइएमा ‘रोग’ या ‘पाप’ लाग्छ भन्ने विचारले प्रभाव पारेको हुन सक्दछ । यहाँ, प्रभावित व्यक्तिको चेतनास्तर या चिन्तन मुताबिकका विचार आउन सक्दछन् । अशिक्षित अनि अति धार्मिक विश्वासमा रहेकाहरूमा चोखो–बिटुलो, धर्म–पापको विचार आउँछ भने शिक्षित अनि वैज्ञानिक चेत भएकाहरूमा ‘कीटाणुजन्य’ या ‘रोग’ को चिन्ता आउन सक्दछ । त्यस्ता विचारले उनीहरूलाई पटक–पटक सताउँछन् । त्यसमा कुनै सत्यता छैन भन्ने जान्दा–जान्दै पनि सम्बद्ध व्यक्तिले यस्ता विचारलाई मनमस्तिष्कबाट हटाउन सक्दैनन् । यसरी बारम्बार आइरहने विचारलाई अंग्रेजीमा ‘अब्सेसन’ (Obsession) भनिन्छ । अनि त्यो विचारलाई मत्थर मार्नका लागि गरिने कार्यलाई ‘कम्पल्सन’ (Compulsion)भनिन्छ ।

माथिको उदाहरणमा ‘फोहोर भयो’ भन्ने चिन्तालाई मत्थर गर्न ती शिक्षकले बारम्बार हात धुने गर्दथे । हात धुने कामले ती विचारका कारण उत्पन्न तनाव घटाउन सहायता गर्ने गर्दथ्यो । त्यस्तै ‘फोहोर नहोस्’ भनेर तिनले दुवै हातमा पञ्जा लगाउने, लामो समय लगाएर नुहाउने जस्ता काम गर्ने गर्दथे । ‘फोहोर’ बाट बच्न चक–डस्टर नचलाउने, लुगाहरूमा धूलो लाग्न नदिने, लागिहालेमा लुगा धोइरहने जस्ता कार्यहरू गर्ने गर्दथे । यस्ता बेकारका विचारमा सत्यता नभएको भन्ने थाहा हुँदाहुँदै पनि बारम्बार ती विचारहरू आइरहने अनि नचाहँदा–नचाहँदै पनि हात धुने, सरसफाइमा ज्यादा ध्यान दिइरहनुपर्ने आदिका कारण हरदम तनावमय रहन्थ्यो तिनको जीवन । अनि एक पटक त जागिर नै छोडिदिने निर्णय समेत गर्न पुगेका थिए उनी । तर मित्रहरूको सल्लाहमा अस्पताल आई उपचार प्रक्रिया शुरू भएपछि उनको जीवन अलिकति सहज हुन थाल्यो ।

विश्वभरमा करीब १.२ प्रतिशत जनसंख्यामा रहेको ओसीडी  रोगलाई अत्यन्त पीडादायी मानिन्छ । केही बालबालिकामा समेत देखिन सक्दछ यो रोग । बारम्बार आइरहने अनावश्यक विचार र त्यसलाई नियन्त्रण गर्न बढी समय व्यतीत गर्नुपर्दा यस्ता रोगीमा डिप्रेसन, एङ्गजाइटी, मद्यपान दुर्व्यसन जस्ता थप समस्या पनि आउन सक्दछन् । ओसीडी  बाट सताइएका कतिपय रोगीले आत्महत्या नै गर्न पनि सक्छन् ।

अतः यो रोगको शङ्का लागेका बिरामीहरूले पूर्ण शारीरिक परीक्षण गराउनुपर्दछ ताकि रोगको स्रोत मस्तिष्कजन्य हो या शारीरिक संक्रमण आदि भन्ने खुट्याएर उपचार गर्न सकियोस् । ओसीडी को उपचारका लागि औषधिहरू लामो समयसम्म खानुपर्दछ । सँगसँगै, नियमित रूपमा मनोवैज्ञानिक उपचार पद्धति पनि चालु राख्नुपर्दछ ।

ओसीडी  द्वारा ग्रसित रोगीहरूलाई नेपाली समाजमा ‘पानी बहुलाहा’, ‘सुचीबाई’ आदि भनेर तिरस्कार गर्ने; ‘जुम्सो’ भनेर हेलाँ गर्ने चलन छ । यस्ता रोगीलाई कहिलेकाहीं यौन सम्बन्धी या फोहोरी विचारले पनि सताउन सक्दछन् । त्यसले मनमा पश्चात्ताप भाव ल्याउने आदि कारणले रोगीको उदासीनता अझै बढ्न जान्छ । यस्ता रोगीलाई तिरस्कार होइन उचित उपचार, सल्लाह अनि प्रोत्साहनको आवश्यकता रहन्छ । त्यस्तै ओसीडी रोगका बारेमा चेतनास्तर बढाउनु र बिरामीलाई मनोचिकित्सकहरूको सल्लाह/सुझाव अनुसार उपचार गर्नु/गराउनु जरूरी हुन्छ । उपचार लामो भए तापनि नियन्त्रण नै हुन नसक्ने रोग भने होइन ओसीडी

शिक्षक  मासिक, २०७६ चैत अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial