बालमैत्री विद्यालय भ्रम र यथार्थ

हाम्रा विद्यालयहरूमाझ आजकल एक प्रकारको प्रतिस्पर्धा चलिरहेको छ— बालबालिकालाई आफूतर्फ आकर्षित गर्ने प्रतिस्पर्धा । आफ्नो विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिने यस्ता प्रयासलाई सकारात्मक रूपमा नै लिन सकिन्छ । विद्यार्थी आकर्षित गर्न गरिने गतिविधिमध्ये एउटा कुरा चाहिं विभिन्न विद्यालयबीच साझ जस्तै छ । प्रायः सबै विद्यालयले प्रायः भन्ने गर्छन्— ‘हामी बालमैत्री, व्यावहारिक, जीवनोपयोगी, गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौं ।’ विद्यालयहरूले प्रयोग गर्ने यी प्राविधिक शब्दावलीको मर्म हामी शिक्षक, अभिभावक, विद्यार्थी लगायतका सरोकारवालाहरूले के कसरी आत्मसात् गरेका छौं भन्ने विषय निकै महत्वपूर्ण छ । यो छोटो प्रस्तुति चाहिं ‘बालमैत्री’ अवधारणामा केन्द्रित गर्न चाहन्छु ।

बालमैत्री शब्दको ‘मैत्री’ ‘मित्र’ बाट बनेको जस्तो देखिन्छ । मित्रको अर्थ ‘साथी’ पनि हो । त्यसै हुनाले कतिपय व्यक्तिहरूले बालबालिकालाई साथी जस्तै या मित्रवत् व्यवहार गर्नुपर्छ, त्यसो गरेमा बालमैत्री हुन्छ भनेर भ्रममा परेको पनि पाइएको छ । त्यसैगरी, शिक्षक र विद्यार्थी बीचको सम्बन्ध मित्र–मित्र अर्थात् साथी–साथीको जस्तो भएपछि विद्यालय बालमैत्री हुन्छ भन्ने बुझाइ पनि त्रुटिपूर्ण छ । बालमैत्रीको अवधारणा त्यस्तो होइन । शिक्षक विद्यार्थीको शिक्षक नै हो र विद्यार्थी शिक्षकको विद्यार्थी (बालक) नै हो । यी दुई बीचको सम्बन्ध र व्यवहार शिक्षक र बालबालिकाको जस्तै हुनुपर्छ । त्यस्तो सम्बन्ध र व्यवहारलाई नै बालमैत्री मान्न सकिन्छ ।

अब प्रश्न उठ्छ, हामी ठूला मानिसले बालबालिकालाई सही व्यवहार गर्न के गर्नुपर्ने होला ? के–के चाहिं गर्नु नपर्ने, गर्न नहुने हो ? बालबालिकाहरूका लागि गरिने, उनीहरूसँग गरिने र उनीहरूद्वारा गराइने सम्पूर्ण व्यवस्थापन, व्यवहार र क्रियाकलापहरू बालबालिका अनुकूल र उनीहरूको हितैहितमा हुनसक्यो भने ‘बालमैत्री’ हुन्छ । बालमैत्री हुनको लागि बालबालिकाको अनुकूल मात्र हुनुपर्ने भएपछि के–के अनुकूल र कस्तो–कस्तो अनुकूल भन्ने जिज्ञासा उत्पन्न हुन्छ । यो अनुकूल भनेको बालबालिकाको व्यक्तिगत क्षमता अनुकूलको, आवश्यकता अनुकूलको, रुचि अनुकूलको, बालस्वभाव अनुकूलकोे भनिएको हो । अर्थात्, बाल क्षमता मैत्री, बाल रुचि मैत्री, बाल स्वभाव मैत्री, बाल आवश्यकता मैत्री हुनुपर्छ भनिएको हो ।

हुर्कंदै गरेका बालबालिकाको उमेर अनुसारको शारीरिक र बौद्धिक क्षमता हुन्छ । क्षमता अनुकूलका व्यवहार तथा सिकाइ क्रियाकलापहरू भएनन् भने बालमैत्री भएन । जस्तो कि कक्षा–२ मा पढ्ने ७ वर्षको बालकलाई विद्यालयमा सबै घन्टीमा बेन्चमा बसेर पढ्न लेख्न लगाइन्छ, २० सम्मका गुणा कण्ठ गर्न लगाइन्छ भने त्यो बालमैत्री व्यवहार भएन भन्न सकिन्छ । दिनभरि बेन्चमा बसेर पढ्नु–लेख्नु उसको शारीरिक क्षमता भन्दा बाहिरको कुरा हो । त्यस्तै ७ वर्षको बालकलाई २० सम्मको गुणा कण्ठ पार्न दबाब दिनु उसको बौद्धिक क्षमताभन्दा बाहिरको कुरा हो । यस्तो व्यवहार बालबालिकाको प्रतिकूल हुन जान्छ । उमेर र परिपक्वता अनुसारको भौतिक तथा शैक्षिक व्यवस्थापन र सिकाइ क्रियाकलाप नगराउने विद्यालय बालमैत्री होइनन् । जस्तो, कक्षा–३ मा सिकाइ सक्नुपर्ने भाषिक सीपहरू कक्षा–५ मा आइपुग्दा पनि सिकाएको छैन; कक्षा–५ मा सिकिसक्नुपर्ने भिन्नको अवधारणा र जोड, घटाउ कक्षा–८ मा आइपुग्दा पनि सिकाएको छैन भने त्यो विद्यालय र ती शिक्षक बालमैत्री होइनन् । किनकि तिनीहरूले बालबालिकाको क्षमता अनुकूल ठीक उमेर र कक्षामा निर्धारित सिकाइ उपलब्धि हासिल गराएनन् ।

बालबालिकाका विभिन्न आवश्यकता हुन्छन् । शारीरिक आवश्यकता, सुरक्षा आवश्यकता, सामाजिक आवश्यकता लगायत आत्म गौरवका आवश्यकताहरू । बालबालिकाहरू विद्यालयमा रहँदा यी आवश्यकताको सम्बोधन हुने वातावरण र अवस्था बालमैत्री विद्यालयको एउटा लक्षण हो । भोक लाग्दा खान पाउने, तिर्खा लाग्दा पानी पिउन सक्ने व्यवस्था, दिसा–पिसाब लाग्दा सहज शौचालयको उपलब्धता, खेल खेल्न पाउनु आदि शारीरिक आवश्यकता हुन् । सानो कक्षामा निद्रा लाग्दा सुत्न पाउने, बिसन्चो भएमा आराम गर्न पाउने व्यवस्था बालबालिकाको आवश्यकता अनुकूल हुन् । यस्तो व्यवस्थाले बालमैत्री विद्यालय बन्न योगदान गर्छ । विद्यालयमा कुनै असुरक्षा अवस्था नभएको, दुर्घटना वा कुनै चोटपटक लाग्ने, विद्यार्थीको कुनै सामान हराउने, कुटपिट, गालीगलौज गर्ने अवस्था नभएर बालबालिकाले ढुक्क भई सुरक्षित महसूस गर्ने निर्भय वातावरण हुनु बालमैत्री विद्यालयको अर्को लक्षण हो । साना बालबालिकालाई निद्राबाटै झक्झकाएर उठाउनु, सबेरै रुचि नहुँदै खानेकुरा कोच्याउनु, घिसार्दै स्कूल बस आउने ठाउँसम्म पुर्‍याउनु, धूलो, धुवाँ, गर्मीमा उसिन्दै बसमा हल्लाउँदै ठोक्काउँदै, ट्राफिक जाममा फस्दै डेढ दुई घन्टा लगाएर स्कूल ओसार–पसार गर्ने व्यवहार बालमैत्री हैनन् । यस्तो व्यवस्थापनले बालबालिकालाई स्वस्थ मनोसामाजिक रूपमा हुर्कन र बढ्न गम्भीर बाधा गरिरहेको हुन्छ ।

एकआपसमा घुलमिल हुने, समूहमा रहेर काम गर्ने, जोडीमा काम गर्ने, एक अर्कोलाई सहयोग गर्ने, सहकार्यबाट कुनै काम र समस्या समाधान गर्ने जस्ता क्रियाकलाप बालबालिकाका सामाजिक आवश्यकता हुन् । बालबालिकाहरूबीच हुने गतिविधि (Child to child activities) पर्याप्त मात्रामा सञ्चालन हुने कक्षा र विद्यालयलाई बालमैत्री लक्षण भएको विद्यालय मान्न सकिन्छ । यसको विपरीत कक्षामा शिक्षकतर्फ मात्र फर्केर बस्नुपर्ने, शिक्षकले मात्र सिकाउने, घरमा व्यक्तिगत रूपमा ट्यूसन पढ्न पढाउन सल्लाह दिने, बाहिर कोचिङ कक्षा चलाउने र घर–घरमा गएर व्यक्तिगत ट्यूसन पढाउने शिक्षक भएको विद्यालय बालमैत्री होइन ।

विद्यालय बालबालिकाहरू रमाई–रमाई आउने खालको हुनुपर्दछ । दिनभर खुशी रहने हुनुपर्दछ । आफ्नो परिचयप्रति, उपस्थितिप्रति र आफ्ना शिक्षक, साथीहरू र समग्र विद्यालयप्रति गर्वको अनुभूति हुने हुनुपर्दछ । भाषा, जाति, धर्म, लिङ्ग, भेषभूषा, रंग, शारीरिक बनावट वा अपाङ्गताको कारणले कुनै भेदभाव र हेलाँहोचो हुन नपर्ने बरू आफ्ना यस्ता मौलिकताप्रति गर्व गराउने वातावरण हुनु बालमैत्री विद्यालयको लक्षण हो । यस्तो वातावरणले बालबालिकाको आत्मगौरवको आवश्यकता सम्बोधन भइरहेको हुन्छ ।

बालबालिकाको रुचि र बालस्वभावको कदर गरी तदनुरूपको व्यवहार र सिकाइ क्रियाकलाप सञ्चालन हुनु पनि बालमैत्री विद्यालयको लक्षण हो । बालबालिकाका रुचि र स्वभाव कस्ता–कस्ता हुन्छन् भन्ने कुरा शिक्षकहरूले आफ्नो अनुभव र बालमनोविज्ञानको अध्ययनबाट थाहा पाउन सक्छन् । साथै, खास प्रकारका रुचि र स्वभाव भएका बालबालिकालाई उनीहरूका रुचि र स्वभाव अनुकूल हुने गरी कसरी सिकाउन सकिन्छ भन्ने कुरा शिक्षण विधिको अध्ययन र अभ्यासबाट जान्न सकिन्छ । विद्यार्थीले खेल्न, घुम्न, डुल्न, भिडियो हेर्न, चित्र हेर्न र कोर्न, गीत गाउन र नाँच्न, उफ्रन, दगुर्न मन पराउँछन् । बालबालिकालाई यस्ता काम गर्न नदिई कुनै शिक्षकले पाठ्यपुस्तकका विषयवस्तु मात्र सुनाउने, लेखाउने, कण्ठ गराउने काम गराउँछन् भने ती बालमैत्री शिक्षक होइनन् । यसको विपरीत खेल खेल्न चाहने बालस्वभावको कदर गर्दै आफूले सिकाउनुपर्ने विषयवस्तुलाई खेलमा ढालेर सिकाइ क्रियाकलाप गराउने शिक्षक बालमैत्री शिक्षक हुन् । कुनै विद्यालयका सबै शिक्षकले विषयवस्तु सिकाउन, खेल खेलाउँछन्, चित्र र चलचित्र देखाउँछन्, अभिनय, नाटक, भूमिका निर्वाह गराउँछन्, काम दिएर भ्रमणमा पठाउँछन्, समूह–समूह बनाएर कामको जिम्मा दिन्छन् भने त्यो विद्यालय बालमैत्री हो ।


बालबालिकाहरूका लागि गरिने, उनीहरूसँग गरिने र उनीहरूद्वारा गराइने सम्पूर्ण व्यवस्थापन, व्यवहार र क्रियाकलापहरू बालबालिका अनुकूल र उनीहरूको हितैहितमा हुनसक्यो भने ‘बालमैत्री’ हुन्छ।

शान्ति, अहिंसा र प्रेम— बालमैत्री विद्यालय हुनका अति आवश्यक तत्व हुन् । बालमैत्री विद्यालय बन्न विद्यालयमा होहल्ला, कोलाहल, झैझगडा, दलगत विवाद र द्वन्द्व जस्ता कुराहरू हुनुहुँदैन । बालबालिकालाई कुनै पनि कारण र बहानामा गरिने दण्ड, सजायको अस्तित्व समाप्त भएको हुनुपर्दछ । बालमैत्री विद्यालय यस्तो हुन्छ जहाँ कुनै बालक कुनै दिन घरायसी, पारिवारिक कारणले तनावग्रस्त अवस्थामै विद्यालयमा प्रवेश गर्‍यो भने पनि भित्र पसिसकेपछि आनन्द र शीतलताको अनुभूति गर्न सकोस् । बालमैत्री विद्यालयमा बालबालिका माथि कुनै पनि प्रकारको हिंसा र दुर्व्यहारको कल्पनासम्म पनि गरिएको हुँदैन । शिक्षक, कर्मचारी लगायत सबै ठूला मानिसबाट साना मानिसहरूलाई अभयदान प्राप्त भएको स्थिति रहन्छ ।

बालमैत्री विद्यालयमा शिक्षक र विद्यार्थीबीच स्नेहको गाँठो अत्यन्तै कसिलो हुन्छ । शिक्षकहरूको सम्पूर्ण ध्यान आफ्ना विद्यार्थीको आवश्यकता, रुचि, सिकाइ र सुरक्षामा केन्द्रित भएको हुन्छ । ती शिक्षकहरू विद्यार्थीलाई परीक्षाका लागि मात्र तयारी गर्ने नभएर उनीहरूलाई सार्थक जीवनका लागि तयार गर्ने ध्याउन्नमा लागेका हुन्छन् । विद्यार्थीका हृदयमा शिक्षकहरू सबैभन्दा प्रिय र ईश्वर भन्दा महत्वपूर्ण ठहरिएका हुन्छन् ।

विद्यालय बालमैत्री हुनका लागि प्रारम्भिक कक्षामा प्रयोग हुने भाषाको स्थान पनि महत्वपूर्ण हुन्छ । तोते बोली बोल्न सिक्दै गरेका नानीबाबुहरू आमाको काख छोडेर विद्यालयमा आउँछन् । उनीहरूसँग शिक्षकले गर्ने सञ्चारको भाषा र सिकाइको माध्यम उनीहरूकै मातृभाषा हुनुपर्दछ । यसो भए मात्र उनीहरूलाई सहज महसूस हुन्छ र सिकाइ पनि सम्भव हुन्छ । बालमनोविज्ञान र सिकाइका सिद्धान्तले पनि यही बताएका छन् । बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय नियम र नेपालको संविधानले समेत प्रारम्भिक कक्षामा बालबालिकाकै मातृभाषामा शिक्षा दिने प्रतिबद्धता जनाएका छन । यसर्थ, हाम्रो सन्दर्भमा शुरूका कक्षामा मातृभाषा बाहेक अंग्रेजी वा अन्य भाषालाई बालबालिकासँगको सञ्चारको माध्यम भाषा बनाइएका विद्यालयहरूलाई बालमैत्री विद्यालय मान्न सकिन्न । कक्षा चढ्दै जाँदा विद्यार्थीलाई थप भाषाहरू सिकाउँदै शिक्षण सिकाइको माध्यम भाषा परिवर्तन गर्न पनि सकिन्छ । तर, मातृभाषाको तोते बोली सिक्दै गरेका बालबालिकासँग अनौठा–अनौठा भाषा प्रयोग गरेर प्रारम्भिक दिनमै तर्साउने र हतोत्साहित गर्ने व्यवहार बालमैत्री होइन ।

बालमैत्री विद्यालयका आधारभूत पक्षलाई आत्मसात् गरेर तदनुरूपको योजना र तयारीका साथ लागिपर्‍यौं भने बालमैत्री–विद्यालय निर्माण गर्न असम्भव छैन । तर लोकप्रिय शब्दावलीको प्रयोगले मात्र चाहिं हामीलाई लक्ष्यमा पुर्‍याउन सक्दैन । बालमैत्रीको अवधारणालाई बुझेर र प्रतिबद्धताका साथ लाग्यौ भने हाम्रा विद्यालयहरू बालमैत्रीमा रूपान्तरित हुँदै जानेछन् ।

प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ, (साविकको जिशिका) गुल्मी

commercial commercial commercial commercial