फेरि मारिए निहत्था शिक्षक

उत्तरपूर्वी मोरङको विकट क्षेत्र मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ (५३) को २३ मंसीरमा अत्यन्त क्रूर शैलीमा भएको हत्याको चौतर्फी आलोचना भएको छ । २५ वर्षदेखि पढाउँदै आएका प्रअ श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको थियो । हत्याको जिम्मा लिंदै नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको दाबी गरेको छ ।
तीन/चार जनाको समूहले २३ मंसीर बिहान दुवै हात अगाडि बाँधेर प्रअ श्रेष्ठलाई लगेको थियो । स्थानीयका अनुसार ‘केही सोधपुछ गरेर छाडिदिन्छौं’ भन्दै उनीहरूले वनतिर लगेका थिए । श्रीमती धनकुमारी श्रेष्ठ भने त्यतिखेर घाँस काट्न गएकी थिइन् । नेकपाका कार्यकर्ताको आवतजावत भइरहने हुँदा सोधपुछपछि छोडिहाल्छन् भन्नेमा परिवार र स्थानीय विश्वस्त थिए । तर केहीबेरमै बन्दूक पड्किएको आवाजसँगै मनमा चिसो पसेपछि गाउँलेहरू प्रअ श्रेष्ठको खोजीमा हिंडेका थिए । करीब एक किलोमिटर टाढा दुवै हात बाँधिएको अवस्थामा श्रेष्ठको शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
शव भेटिएको भन्दा करीब ५० मिटर उकालोमा श्रेष्ठको मोबाइल, टोपी र चप्पल भेटिएको थियो । त्यस ठाउँमा रगतको टाटासमेत भेटिएकोले श्रेष्ठको हत्या गर्नुअघि यातना दिइएको स्थानीयको अनुमान छ ।
गाउँका अगुवासमेत रहेका हेडमास्टरको हत्यामा संलग्नहरूका बारेमा स्थानीयको मनमा तितो सत्य छ, तर त्रासका कारण उनीहरू नाम लिन सक्ने अवस्थामा छैनन् । “दुई जनाको अनुहार चिनिएकै हो । तर उनीहरू कहाँ बस्छन्, थाहा छैन” एक जना स्थानीयले भने । हत्यामा संलग्न मध्ये दुई जना विगत १० दिनदेखि सोही गाउँमा हिंडडुल गर्दै आएको उनले बताए । त्यसो त उनीहरूका बारेमा प्रहरीले पनि जानकारी लिइसकेको छ । प्रहरीका एक उच्च अधिकृतले भने, “उनीहरूको परिचय पाइसकेका छौं, पक्राउ नभएसम्म सार्वजनिक गर्दैनौं ।”
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले श्रेष्ठको हत्यामा भूमिगत नेकपाका केन्द्रीयस्तरका नेताहरूको संलग्नता रहेको आशंका गर्छन् । खड्का भन्छन्, “नीतिगत निर्णय नभई यस खाले घटना तल्लो तहकाले मात्रै गर्दैनन्, माथिल्लो तहको संलग्नता हुनुपर्छ ।”
गाउँमा विप्लव माओवादीको अत्याचार कतिसम्म रहेछ भन्ने कुरा २४ मंसीरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि २५ मंसीरमा अन्त्येष्टि गर्न गाउँ जाने अवस्था नहुँदा झोडास्थित नुनसरी बक्राहा खोलाको घाटमा दाहसंस्कार गरिएबाट पनि बुझ्न सकिन्छ । झोडामा श्रेष्ठका छोरा छत्रबहादुरको घर भएकोले उनको परिवार अहिले त्यहीं काजक्रिया बसेको छ ।
हात बाँधेर घाँटी रेटी श्रेष्ठको हत्या गरिएको भए पनि विप्लव समूहले प्रतिकारमा श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमार्फत दाबी गरेको छ । हत्यालगत्तै मेची, कोशी ब्यूरो इन्चार्ज प्रतापका नाममा जारी विज्ञप्तिमा भनिएको छ, “उनलाई सम्झाउन जाँदा हतियार लिएर आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”
“गाउँले डराएका छन्, मलामी आउन सक्दैनन् भनेर नै यहाँ अन्त्येष्टि गरिएको हो” वडाध्यक्ष नरबहादुर राईले भने, “तलको खोलामा गरिएकोले गाउँका मान्छे मलामी आउन पाए ।” राईको भनाइमा गाउँ नै शोकमा डुबेका बेला विप्लवको त्रासका कारण घटनाबारे कोही बोल्न सक्ने अवस्थामा छैनन् । “हेडसरकै हत्या भएकोले असुरक्षित महसूस गरेर बसेका छौं” स्थानीय एक व्यक्तिले टेलिफोनमा भने, “गाउँमा प्रहरी कार्यालय स्थापना नभएसम्म सुरक्षित छैनौं ।”
कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयका २१ विद्यार्थीलाई श्रेष्ठ र सुजाता राईले पढाउँदै आएका थिए । “सरले अंग्रेजी र गणित पढाउनुहुन्थ्यो, नानीहरूको चुहिएको सिंगान हातैले पुछेर पानी नभेट्दा आफ्नै पेन्टमा दल्नुहुन्थ्यो” राईले भनिन्, “उहाँले कहिल्यै घिन मान्नु भएन, नानीहरूको जुठो पनि खानुहुन्थ्यो ।”
पढाइसँगै कृषि कर्ममा पनि संलग्न श्रेष्ठले गत वर्षबाट व्यावसायिक बाख्रापालन गर्दै आएका थिए । उनको खोरमा ४६ वटा बाख्रा छन् । श्रीमती धनमाया छोराकै घरमा बसेर क्रिया गर्न थालेकोले छिमेकीले बाख्राको स्याहार गर्दै आएका छन् ।
गाउँका कुनै पनि समस्या लिएर प्रअ श्रेष्ठ सदरमुकाम विराटनगर र राजधानी काठमाडौंसम्म आफ्नै खर्चमा धाउने गरेका थिए । “गाउँलाई ठूलो ऋण लगाउनुभएको छ उहाँले हामी तिर्न सक्दैनौं”, शिक्षक राईले भनिन् ।
छिमेकी मदन श्रेष्ठका अनुसार विद्यालयको जागिर छाडेर पूरै समय बाख्रापालनमा खर्चने योजना बनाएका थिए उनले । तर गाउँलेको अनुरोधमा जागिर भने छाडेका थिएनन् । “हामी रानो विनाको मौरी भएका छौं” श्रेष्ठले भने, “गाउँले सबैभन्दा ठूलो अभिभावक गुमाएको छ ।”
किरियामा बसेका श्रेष्ठका छोरा धनबहादुरले विना कारण बाबुको हत्या गरिएकोमा आक्रोश व्यक्त गरे । ससाना तीन छोरीलाई बाबुले नै पढ्ने व्यवस्था मिलाएको बताउँदै धनबहादुरले पढाउन सक्ने अवस्थामा आफू नरहेको बताए । उनले छोरीहरूको शिक्षाको जिम्मा सरकारले लिनुपर्ने बताए ।
हत्याका दोषीलाई कारबाही गर्न शिक्षक संगठनहरूले माग गरेका छन् । नेपाल शिक्षक महासंघले सत्य–तथ्य खोजी गरी दोषीलाई अविलम्ब कारबाही गर्न सरकारसँग माग गरेको छ । शिक्षक महासंघ, शिक्षक संगठन, शिक्षक संघलगायतले विद्यालयमा निर्भीकतापूर्वक पठन–पाठनको वातावरण बनाउन माग गरेका छन् ।
प्रतिकारको बहाना
हात बाँधेर घाँटी रेटी श्रेष्ठको हत्या गरिएको भए पनि विप्लव समूहले प्रतिकारमा श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमार्फत दाबी गरेको छ । हत्यालगत्तै मेची, कोशी ब्यूरो इन्चार्ज प्रतापका नाममा जारी विज्ञप्तिमा भनिएको छ, “उनलाई सम्झाउन जाँदा हतियार लिएर आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”
२६ फागुन २०७६ मा ब्यूरोको बैठक भएका बेला प्रहरी बोलाएर दमन गराएको आरोप श्रेष्ठमाथि लगाउँदै आएका थिए । “२०७७ साउनदेखि नै पार्टी विरोधी गतिविधि रोक्न र आफूलाई सच्याउन भनी सम्झाउन जाँदा उग्रगतिविधि देखाएका थिए” विप्लवको विज्ञप्तिमा भनिएको छ । तर, स्थानीयले भने भूमिगत समूहको आरोप झूटो भनेका छन् । गत असारमा ‘विप्लव’ समूहले चन्दा माग्दा उनले दिन मानेका थिएनन् । स्थानीयको भनाइमा त्यसकारण पनि विप्लवका कार्यकर्ता उनीदेखि रुष्ट थिए ।
यो ठाउँमा गत वर्ष भूमिगत समूहले सडक निर्माणमा प्रयोग भएका तीन वटा स्काभेटर जलाएका थिए । वडाध्यक्ष राईका अनुसार, त्यसलगत्तै स्थानीयले गाउँमा सुरक्षा पोष्ट राख्नुपर्ने माग गर्दै आएका थिए । त्यसका लागि उनीहरूले संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा (कुशल लिम्बू) को अगुवाईमा गत वर्ष सुरक्षा क्याम्प स्थापनाको माग गर्दै गृह मन्त्रालयलाई आग्रह गरिएको थियो । त्यसपछि रमितेखोलामा सुरक्षा वेसक्याम्प राख्ने सहमति भएको लिम्बूले बताए ।
गाउँमा भूमिगत समूहका क्रियाकलाप भएको सूचना पाएपछि कहिलेकाहीं सुरक्षाकर्मी पुग्ने गरेका थिए । प्रहरीले स्थानीयसँग सोधपुछ गरेर फर्किएपछि भूमिगत समूहले गाउँलेलाई धम्क्याउने गरेको थियो । गत १२ कात्तिकमा सर्च अभियानका क्रममा प्रहरीले इलाम चुलाचुलीका सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का प्रतीक भनिने काशीनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो । आफ्ना कार्यकर्ता पक्राउ गरिनुमा नेकपाले प्रअ श्रेष्ठको हात रहेको आरोप लगाएको थियो ।