बालबालिकालाई ‘पढ्न’ सिकाउने काइदा !

झन्डै ११ महीनापछि खुलेको स्कूल फेरि कोरोनाको दोस्रो लहरले बन्द भएको छ । बालबालिका घरमै थुनिएका छन् । घर बाहिर गएर खेल्न पाएका छैनन् । समूहमा खेल्न त बिर्सिसकेका छन् शायद । अन्तर्मुखी स्वभावका छोराछोरी नहोऊन् भनी समूहमा खेल्न लगाउँथ्यौं पहिले । दुःख परेको वेला एकले अर्कालाई सहयोग गर्न सिकाउँथ्यौं । अहिले उनीहरूलाई कसैसँग नखेल, बिरामी परेका मानिस नजिक नजाऊ भन्नुपर्ने बाध्यता छ । बालबालिका पनि दुबिधामा परेका छन् । ग्याजेटदेखि टाढा राख्न चाहन्थ्यौं हामी । ग्याजेट नै दिनु परेको छ अहिले— पढ्न होस् वा खेल्न । पढ्ने किताबदेखि खेल्ने साथी बनेको छ मोबाइल, ल्यापटप ।

दुःख परेकालाई सहयोग गर्न सिकाइएको शिक्षा गलतझैं साबित भएको छ यो परिस्थितिमा । कसैको दुःखमा सहयोग गर्न नसक्ने भएका छौं । अरूको त के कुरा आफ्नै परिवारका सदस्य बिरामी परे पनि नछुनू, नजिक नजानू भनी सिकाउनुपरेको छ । ‘चोर पल्कियो भनेर नरुनू, काल पल्कियो भनेर रुनू’ भन्ने उखान सत्य साबित भएको छ । चोरलाई तह लगाउने उपाय छन् । तर यो कालरुपी भाइरससँग कुनै उपाय छैन । खोप तयार भएको छ । साना बालबालिकालाई खोप ‘...बेल पाक्यो हर्ष न बिस्मात’ भने जस्तै भएको छ । घरभित्रै बस्नुको विकल्प छैन हामीसँग । यस्तो अवस्थामा बालबालिकालाई कसरी व्यवस्थापन गर्ने ? उनीहरूको खाली समयलाई कसरी सदुपयोग गर्ने ? हामी सबैको टाउको दुखाइको विषय हो यो ।

स्कूलहरूले अनलाइनबाटै भए पनि पढाउने कोशिश गरेका छन् । स्कूलमै गए सरह सबै विषयको पढाइ भएको छैन । सिकाइले निर्धारित कक्षागत क्षेत्र ओगट्ने प्रयास गरेका छन् । जसोतसो एक वर्षको शैक्षिक सत्र पूरा गरे स्कूलहरूले । यो वर्ष पनि कति समय अनलाइनबाटै पढ्नुपर्ने हो निश्चित छैन । केही पनि नहुनु भन्दा यो राम्रो हो । दुर्गमका बालबालिका त यो सुविधाबाट पनि वञ्चित छन् । अनलाइन कक्षाले बालबालिकाको संज्ञानात्मक, भावनात्मक, बौद्धिक, सामाजिक पक्षलाई समेट्न सकेको छ/छैन, यो कुरा हामीले मनन गर्नुपर्छ । अनलाइन सिकाइले उनीहरूको बौद्धिक र सामाजिक पक्षलाई केही मात्रामा समेट्न खोजेको छ । तर संज्ञानात्मक र भावनात्मक पक्षलाई समेट्न सकेको छैन । यी पक्षमा हामी अभिभावकले नै काम गर्नुपर्ने हुन्छ ।

अघिल्लो पटकको लकडाउनको वेला बालबालिकालाई लक्षित गरी विभिन्न संस्थाले कार्यक्रम गरेका थिए । तर यो पटक भने थोरै मात्र संस्थाले बालबालिका लक्षित कार्यक्रम गरेको देखेकी छु मैले । उनीहरूको समय खेर नजाने गरी कसरी समयको सदुपयोग गर्ने ? भनी हामीले सोच्नुपर्ने वेला आएको छ । धेरै कुरा सिक्न सक्छन् बालबालिकाले सानो उमेरमा । महत्त्वपूर्ण समय खेर जान दिनु भनेको उनीहरूलाई बर्बादीतिर धकेल्नु हो । आफ्ना छोराछोरीको लागि कसैले गरिदेओस् भन्ने होइन हामीले नै वातावरण मिलाइदिनुपर्छ ।


धेरै कुरा सिकाउने विद्यालय बनाउन सकिन्छ घरमा यो वेला । म आफैं पनि शिक्षक एवं अभिभावक हुँ । छोरीलाई खाली समयमा चित्र कोर्न, गणित तथा नेपाली विषयका रोचक खेल तयार गर्न लगाएकी छु । आफूले दिनभरि गरेका कामको दैनिकी लेख्ने गर्छिन् उनी ।

सिकाइ विद्यालयको चौघेरामा मात्र सीमित हुँदैन । यो जीवनपर्यन्त निरन्तर चलिरहन्छ । सिक्न शिक्षक नै चाहिन्छ भन्ने छैन । बालबालिकाको खाली समय चिन्नुपर्छ । धेरै कुरा सिकाउने विद्यालय बनाउन सकिन्छ घरलाई । म आफैं पनि शिक्षक एवं अभिभावक हुँ । छोरीलाई खाली समयमा चित्र कोर्न, गणित तथा नेपाली विषयका रोचक खेल तयार गर्न लगाएकी छु । आफूले दिनभरि गरेका कामको दैनिकी लेख्ने गर्छिन् उनी । बालबालिकाले कक्षामा पढेकै कुरालाई सहयोग पुग्ने खालका काम गर्न लगाउन सकिन्छ । कक्षा तीन, चारमा पढ्ने छोराछोरीका लागि हामीले दैनिक रूपमा किन्ने गरेका तरकारी, फलफूल, दुधको हिसाब गर्न लगाई महीनाभरिमा  के–कति खर्च लाग्ने रहेछ हिसाब निकाल्न लगाउन सकिन्छ । यसले उनीहरू हिसाबमा सक्षम हुनुका साथै अभिभावकको मासिक आम्दानी र खर्चबारे जानकार हुन्छन् । परिवारको आम्दानी र खर्च थाहा दिनु भनेको उनीहरूलाई आर्थिक रूपमा मितव्ययी हुन सिकाउनु पनि हो । यसले उनीहरूको अनावश्यक कुरा माग गर्ने बानीलाई निरुत्साहित गर्न सहयोग गर्छ ।

केही समय शारीरीक कसरत हुने खालका खेल खेल्न लगाउनु पर्छ । घरमा साना भाइबहिनी छन् भने उनीहरूसँग खेल्ने समय पनि छुट्याउन सकिन्छ । यसले उनीहरूको सामाजिक, संवेगात्मक तथा भावनात्मक पक्षलाई राम्रो बनाउँछ । साथै; अन्तरक्रियात्मक सीपको विकास हुन्छ ।

यो बाहेक उनीहरूलाई पढाइको अतिरिक्त सहयोग चाहिएको विषयमा जोड दिन सकिन्छ । म प्राथमिक तहकी नेपाली शिक्षक हुँ । आफ्ना छोराछोरीले नेपाली पढ्न मन नगर्ने कुरा धेरै अभिभावकबाट सुन्छु । नेपाली विषयप्रति उनीहरूको चासो हराउँदै गएको छ । चासो नदिएकै कारण नेपाली भाषा कमजोर हुन पुगेको हो । शिक्षक मात्रैको प्रयासले नपुगेको हुन सक्छ । अहिले बालबालिका झन्डै एक वर्षभन्दा बढी समय अभिभावकसँगै छन् । यो समयलाई बुझेर नेपाली पढ्न–लेख्न सिकायौं भने उनीहरूको खेर गएको समय सदुपयोग पनि हुनेछ । नेपाली भाषा पनि राम्रो हुन्छ । नेपाली भाषा कसरी पढाउने त ?

पढ्न सिकाउने काइदा

  • आफ्ना बाबु–नानी कुन उमेर समूहका छन् त्यसमा ध्यान दिनुपर्छ ।
  • त्यसपछि उनीहरूको स्तर कुन तहको छ ? स्वर वर्ण (अ, आ ...) व्यञ्जन वर्ण (क, ख ...) मात्रा (ा, ,ि, ी ...) पत्ता लगाउनुपर्छ ।
  • त्यसपछि उनीहरूलाई हौसला दिंदै, सहज वातावरण बनाउँदै (यति पनि आउँदैन भन्न छोडनुपर्छ) अभिभावकले औंलाले देखाउँदै ठूलो स्वरले पढिदिनुपर्छ ।
  • फेरि अर्को पटक औंलाले देखाउँदै आफूले पढ्ने र उनीहरूलाई पनि पढ्न लगाउने गर्नुपर्छ । यसो गर्दा उनीहरूले शुद्धसँग उच्चारण गर्न नजानेका वर्णहरू सजिलोसँग विनाहिचकिचावट उच्चारण गर्न सक्छन् । यसले उनीहरूको आत्मबल बढ्न जान्छ ।
  • अर्को पटक फेरि आफूले औंलाले देखाउँदै हौसला दिंदै बालबालिकालाई पढ्न लगाउने । पढ्दा गल्ती गरेमा रोक्नु हुँदैन । गल्ती गरेका वर्ण कापीमा टिप्नुपर्छ र पढिसकेपछि उक्त वर्ण दोहोर्‍याएर पढ्न लगाउनुपर्छ । यसो गर्दा पढाइको गति निरन्तर हुन्छ । उनीहरूलाई आत्मविश्वास बढ्छ ।
  • सिकाउँदा जहिले पनि सरलबाट जटिलतिर लैजानुपर्छ । मूर्तबाट अमूर्ततिर (देखेको कुराबाट नदेखेका कुरा) तिर लैजानुपर्छ । जस्तै; क बाट कलम देखेको छ, तर क बाटै कमल देखेको छैन भने कमल पछि सिकाउनुपर्छ ।

यो एउटा उदाहरण मात्र हो । यसरी उनीहरूको उमेर, तह र सिक्ने क्षमता अनुसारका क्रियाकलाप गर्दै सिकाउन सकेमा नेपाली भाषा बालबालिकाको लागि हाउगुजी हुने छैन । हामीले नै मिहिनेत गर्न छाड्यौं भने हाम्रा छोराछोरीले झन् छोड्ने छन् । मातृभाषाको अस्तित्व नै हराएर जानेछ ।

सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका चार पक्ष हुन् । भाषा राम्रो हुन यी चारै पक्षको सन्तुलन मिल्नुपर्छ । पहिले बच्चाले हामी बोलेको सुन्छ । अनि बोल्न थाल्छ । ऊ बोल्न जानेपछि मात्र पढ्न थाल्छ । यसरी नै पढ्न सक्ने भएपछि मात्र लेख्न सक्छ । लेखाइ भाषाको अन्तिम पक्ष हो, त्यसैले भाषा एकअर्कामा अन्तरसम्बन्धित छ ।


पहिले बच्चाले हामी बोलेको सुन्छ । अनि बोल्न थाल्छ । ऊ बोल्न जानेपछि मात्र पढ्न थाल्छ । यसरी नै पढ्न सक्ने भएपछि मात्र लेख्न सक्छ । हामीले बालबालिकाको सुनाइ र बोलाइ पक्षमा ध्यान नदिएकै कारणले उनीहरूको पढाइ सीप सबल हुन सकेको हुँदैन ।

हामीले बालबालिकालाई पढ्न लगाउनुभन्दा पहिलेका पक्ष सुनाइ र बोलाइका अभ्यास प्रायः कसैले पनि गरेका हुँदैनौं । पढाउन मात्र कोशिश गर्छौं । हामीले बालबालिकाको सुनाइ र बोलाइ पक्षमा ध्यान नदिएकै कारणले उनीहरूको पढाइ सीप सबल हुन सकेको हुँदैन । त्यसैले सानै उमेरदेखि उनीहरूको तहका कथाका किताबहरू पढेर सुनाउने गर्नुपर्छ । कथा सुनाइसकेपछि कथाका बारेमा बुझेका कुरा भन्न लगाउनुपर्छ । यसरी दैनिक रूपमा छलफल गर्दै उनीहरूको सुनाइ र बोलाइ सीपमा निखार ल्याउनुपर्छ । यसले पढाइ र लेखाइमा पनि सहयोग गर्छ ।

यो मैले शिक्षण सिकाइ तालिमबाट सिकेको कुरा हो । तालिमबाट सिकेको कुरा मैले घरमा प्रयोग गरेकी थिएँ । घरमा दुई वर्षकी छोरी थिइन् । सधैं सुत्ने वेलामा उनका तहका नेपाली भाषाका कथा सुनाउने गर्थ्यौं हामी । त्यसपछि उनले के बुझिन् छलफल गरेर मात्र सुत्ने गर्थ्यौं । यो अभ्यास हामीले उनी आफैंले पढ्न सक्ने नहुँदासम्म दैनिक रूपमा गर्थ्यौं । यसो गर्दा बालबालिकाहरूमा सुन्ने बानीको विकास हुनुका साथै कल्पना शक्ति, तार्किक शक्तिको पनि विकास हुने रहेछ । त्यसरी पढाएकै कारणले अहिले कक्षा–४ मा उनको नेपाली भाषा र अंग्रेजी भाषा दुवै राम्रो छ । दुवै भाषाका किताबहरू सजिलैसँग पढ्न सक्छिन् । त्यसैले साना छोराछोरी छन् भने आजैबाट पढाउन शुरू गरौं । ठूला नै छोराछोरी छन् भने पनि उनीहरूको सुधार गर्नुपर्ने क्षेत्र पहिल्याएर पढाउन ढिला नगरौं । अहिले नभ्याएको कहिले भ्याउने ? हामीले नगरे कसले गर्ने ?

commercial commercial commercial commercial