शिक्षक मासिकलाई रु. १ लाखको पुरस्कार

काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्र’ले २०७७ सालको ‘त्रैलोक्य नाथ उप्रेती शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई प्रदान गरेको छ । १४ भदौ २०७८ मा पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित एक विशेष समारोहमा त्रैलोक्य नाथ उप्रेती शिक्षा विकास केन्द्रका अध्यक्ष एवं काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाललाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो । पुरस्कारमा रु.१ लाख १ सहित सम्मान–पत्र रहेको छ ।
शिक्षक मासिकलाई पुरस्कारका निम्ति छनोट गर्नुका कारणहरू स्पष्ट पार्दै उक्त सम्मान–पत्रमा भनिएको छ, “नेपालको शिक्षा विकासमा शिक्षक वर्गको महत्वपूर्ण भूमिका रहने कुरालाई दृष्टिगत गरी शिक्षकको क्षमता बढाउन उपयोगी र स्तरयुक्त लेखहरू प्रकाशन गरेर विद्यालयीय शिक्षाको विकासमा सहयोग पुर्याउँदै आएको” हुँदा शिक्षक मासिकलाई यो पुरस्कार दिइएको छ ।
सो समारोहमा पुरस्कार वितरण गर्नुभन्दा अघि काठमाडौं विश्वविद्यालयका वर्तमान उपकुलपति डा. भोला थापा, लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा. हृदयरत्न बज्राचार्य र त्रैलोक्य नाथ उप्रेती शिक्षा विकास केन्द्रका निर्देशक डा. केदारनाथ श्रेष्ठले नेपालको शिक्षा विकासका चुनौतीका सन्दर्भमा शिक्षक मासिकले विगत डेढ दशकदेखि निर्वाह गरेको भूमिकाको विवेचना गर्नुभएको थियो । नेपालको सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिको निम्ति शिक्षकहरूको विकासमा विशेष ध्यान दिइनुपर्ने र शिक्षक मासिकको प्रकाशनले निरन्तरता पाउनुपर्ने कुरामा उहाँहरूले जोड दिनुभएको थियो ।
त्रैलोक्य नाथ उप्रेती शिक्षा विकास केन्द्रका तर्फबाट प्रतिभा रिजालले सञ्चालन गर्नुभएको सो समारोहमा स्व. डा. त्रैलोक्य नाथ उप्रेतीका छोरा दीपक नाथ उप्रेतीले मन्तव्य राख्नुभएको थियो ।