कोरोनाले कति शिक्षकको ज्यान लियो ?

अघिल्लो साता (२२ भदौ, २०७८) को एउटा छलफलको क्रममा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोभिड–१९ बाट प्रभावित पत्रकारहरूको संख्या खरर सुनाउनुभयो, “अहिलेसम्म संक्रमित भएका पत्रकारको जम्मा संख्या १०८५, त्यसमध्ये ६० जना ‘आइसोलेसन’मा; तीनजना गम्भीर अवस्थामा आइसीयूमा उपचार गराउँदै र हालसम्म २३ जनाको मृत्यु भएको ।”

पत्रकार महासंघका महासचिवबाट पत्रकारहरूको यस्तो अद्यावधिक आँकडा सुनेपछि कोभिड–१९ बाट प्रभावित शिक्षकहरूको पनि यस्तै आँकडा खोजेर समाचार बनाउन हामी लागि पर्‍यौं । त्यसनिम्ति सर्वप्रथम सार्वजनिक विद्यालयका शिक्षकहरूको तालुकवाला संस्था शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)मा सम्पर्क राख्यौं । केन्द्रसँग हाम्रो मुख्य जिज्ञासा, कोभिड–१९ का कारण अहिलेसम्म कति शिक्षकको मृत्यु भयो भन्ने थियो । तर, कोरोनाले शिक्षक समुदायमा पारेको असरसम्बन्धी कुनै पनि आँकडा आफूसँग नभएको जनाउ सो केन्द्रका सूचना व्यवस्थापन शाखाका प्रमुख रामचन्द्र शर्माले दिनुभयो । सूचना शाखा प्रमुख शर्माले भन्नुभयो, “हाम्रो शिक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस)मा एउटा कोलम थपेर कोभिड–१९ बाट मृत्यु भएका शिक्षकहरूको तथ्याङ्क भरेर पठाउनू भनी विद्यालयहरूलाई सूचना जारी गरिएको छ । विद्यालयहरूले तथ्याङ्क पठाएपछि मात्र मृत शिक्षकहरूको संख्या दिन सक्नेछौं ।” अर्थात्, शिक्षकमा कोरोनाको के–कस्तो असर पर्‍यो भन्ने जानकारी उपलब्ध छैन ।

कोभिड–१९ बाट प्रभावित शिक्षकको सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघको जवाफ एकैप्रकारको पाइयो । संगठनका महासचिव हंशबहादुर शाहीले अहिलेसम्म कोरोनाबाट करीब २०० जना शिक्षकको मृत्यु भएको अनुमान गरिएको जानकारी दिनुभएको छ । “मृतक संख्या १६० पुग्दासम्म हामीले गनेका थियौं । तर पछि, मृत्यु भएका सदस्य–शिक्षकको परिवारलाई रु.५ हजार नगद दिने निर्णय भएपछि जिल्ला–जिल्लामै तथ्याङ्क राख्न भनियो, केन्द्रबाट संकलन गर्न छोडियो” भन्ने शाहीको कथन थियो ।


नेपालको शिक्षामा कोभिड–१९ र डेढ वर्षदेखिको ‘लकडाउन’ ले पारेको असर बारेमा त प्रश्न सोध्न मिल्ने कुनै निकाय वा अधिकारी नै देखा पर्दैनन् । समग्रमा कोभिड–१९ कालमा शिक्षा सबै दृष्टिबाट बेवास्ता र न्यून प्राथमिकताको क्षेत्रमा पर्न गएको दुःखद अवस्था देखापर्छ ।

नेपाल शिक्षक संघले पनि कोभिड–१९ बाट मृत्यु हुने सदस्य–शिक्षकलाई रु.१० हजार दिने निर्णय सँगै कोरोना प्रभावित शिक्षकको तथ्याङ्क राख्ने जिम्मेवारी जिल्ला तहलाई सुम्पिएको छ । संघका महासचिव सोमनाथ गिरी आफूले मृत शिक्षकको संख्या ९० जनासम्म गनेको सम्झँदै भन्नुहुन्छ, “अहिलेसम्म २०० भन्दा बढी नै शिक्षकको मृत्यु भइसकेको हुनुपर्छ ।”

यसैगरी, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीको अनुमानमा पनि कोभिड–१९ ले २०० भन्दा बढी शिक्षकको ज्यान लिइसकेको हुनुपर्छ । उहाँको संगठनका २१ जना सदस्य–शिक्षकको मृत्यु भएको छ । संस्थागत विद्यालय शिक्षक युनियन नेपालका अध्यक्ष होमकुमार थापाका अनुसार निजी विद्यालयहरूमा अध्यापन गर्ने ११ जना शिक्षकको कोभिड–१९ बाट मृत्यु भएको छ । शिक्षकहरूको छाता संगठन– नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर पनि कोरोनाबाट २०० भन्दा बढी शिक्षकको मृत्यु भएको अनुमान गर्नुहुन्छ ।

कोरोनाबाट मृत्यु भएका शिक्षकको विवरण संकलन गर्न नै बाँकी रहेको स्थितिमा, सो महामारीबाट अहिलेसम्म के–कति शिक्षकहरू संक्रमित भए अनि कति जना अस्पतालमा उपचार गराउँदैछन् भन्ने जस्ता जानकारी पाउने सम्भावना त्यसै पनि देखिंदैन । खासमा कोभिड–१९ प्रभावित शिक्षकको विवरण राख्ने कुरालाई सरकारी निकाय र शिक्षकका संघ–संस्थाहरूले खासै गम्भीरतापूर्वक लिएको पाइँदैन । यो भन्दा अगाडि बढेर, नेपालको शिक्षामा कोभिड–१९ र डेढ वर्षदेखिको ‘लकडाउन’ ले पारेको असरबारेमा त प्रश्न सोध्न मिल्ने कुनै निकाय वा अधिकारी नै देखा पर्दैनन् । समग्रमा कोभिड–१९ कालमा शिक्षा सबै दृष्टिबाट बेवास्ता र न्यून प्राथमिकताको क्षेत्रमा पर्न गएको दुःखद अवस्था देखापर्छ ।

commercial commercial commercial commercial