शिक्षक अभाव र परिणाम

परिणाम स्पष्ट छ, शिक्षक नहुँदा पढाउने काम ठप्प हुन्छ । अभाव हुँदा शैक्षिक गुणस्तर खस्किन्छ। प्रति विद्यार्थी शिक्षकको समय कम हुन जान्छ । अर्को शब्दमा भन्दा शिक्षक अभाव हुनु भनेको शिक्षक विद्यार्थी अनुपात बढनु हो। जसले गर्दा शिक्षकले प्रभावकारी ढंगले पढाउन सक्दैनन् । माथिल्ला कक्षाहरूमा विषयगत शिक्षक चाहिने हुँदा शिक्षकको अभावले झनै समस्या गर्छ ।

तल्लो कक्षामा शिक्षकको अभावले गर्दा साना उमेरका विद्यार्थीमा दूरगामी मनोवैज्ञानिक प्रभाव पर्ने गरेको उदाहरण पनि भेटिन्छ। पढने रूचि कम हुँदै जाने र पढाइमा कमजोर हुने कारण पनि शिक्षकको अभाव हुन सक्दछ। यस्ता अनगिन्ती परिणाम खोज्न सकिन्छ। तर प्रश्न के हो भने शिक्षक अभाव नभएका वा भनौ आवश्यक संख्याभन्दा बढी शिक्षक भएका विद्यालयमा शैक्षिक गुणस्तर वा भनौ पढाइको स्तर राम्रो छ त ?

शहरी क्षेत्रका सामुदायिक विद्यालयहरूको अवस्था हेर्दा थाहा हुन्छ शिक्षक अभाव नभएका कतिपय विद्यालयको हालत झनै खराब छ। केही दिनअघि एउटा अनलाइन मिडियामा एकजना शिक्षकले एउटा मात्र विद्यार्थी भएको विद्यालयमा पढाउने गरेको समाचार आयो । के त्यो सिकाइको लागि उत्कृष्ट अवस्था हो त ? त्यो बच्चाको सिकाइ सबैभन्दा अव्बल हुन्छ त ? पक्कै पनि हुँदैन । 

त्यसैले शिक्षक अभाव हुन दिनु हुँदैन, त्यो पहिलो शर्त हो । तर के पनि हेक्का राख्नु पर्‍यो भने शिक्षक हुनुले मात्रै राम्रो परिणाम सुनिश्चित गर्दैन । अन्य कुराहरू जस्तै शैक्षिक पूर्वाधारका कुरा, शिक्षण विधिका कुरा खेलकुद लगायत विद्यार्थीको आफ्नै घरपरिवारका कुराले पनि प्रभाव परेको हुन्छ ।

हामीले शिक्षाको कुरा गर्दा कमै ध्यान दिने गरेको विषय हो शिक्षकको आचरण, बानी–व्यहोरा इत्यादि जसको परिणाम ज्यादै डरलाग्दो हुने गरेको छ । विद्यालयमा बढदो लैङगिक हिंसा एउटा सानो उदाहरण मात्र हो ।

भर्खरै शिक्षक आयोगले लिएको परिक्षामा धेरैले पास गर्न सकेनन् । थुपै्र दरबन्दी खाली रह्यो । यसले शिक्षक अभावको कुरा मात्रै नभएर धेरै प्रश्न जन्माएको छ । विगतमा शिक्षकहरूले लाइसेन्स परिक्षामा चोर्न नपाएको गुनासो अझै पनि सेलाएको छैन । यसबाट हामीले के सिक्ने, छलफलको विषय हुन सक्छ ।

अब शिक्षक अभावका कुरा गरौं

तथ्याङ्कले के भन्छ ?

१. शिक्षक विद्यार्थी अनुपात प्राथमिक तह (कक्षा १–५)मा हेर्दा निजीमा अनुपात बढी छ । अर्थात् निजीमा एकजना शिक्षकले सरदर २८ जना विद्यार्थी पढाउनु पर्छ भने सामुदायिकमा २१ जनालाई मात्रै पढाउनु पर्छ । त्यसैगरी आधारभूत तह कक्षा (१–८) मा पनि सामुदायिक विद्यालयका शिक्षकलाई निजीतर्फका शिक्षकभन्दा कमै विद्यार्थी पढाउनु पर्ने अवस्था देखिन्छ। अर्थात् सामुदायिक विद्यालयतर्फ एकजना शिक्षकले सरदरमा २५ जना विद्यार्थीलाई पढाउदा निजीतर्फ २६ जनालाई पढाउनु पर्ने अवस्था छ ।

२. माध्यमिकतर्फ भने शिक्षक विद्यार्थी अनुपात खास गरेर कक्षा ११–१२ मा अचाक्ली बढी देखिन्छ र दुबैतर्फ बढी छ । तर फेरि पनि शिक्षाको गुणस्तर सामुदायिक आधारभूत तहका बिद्यालयमा किन कमजोर छ त ?

अब केही गम्भीर कुरा गरौं 

क) शिक्षा सधैं labour intensive नै रहनु पर्छ र ?

विगतमा कृषि क्रान्ति भयो, औद्योगिक क्रान्ति भयो । यिनको शुरूवात श्रम–प्रधान (labour intensive) नै थियो। क्रमशः यान्त्रीकरण (automation) तर्फ गए र वर्तमानमा प्रविधि (technology) को प्रयोग अपरिहार्य बनेको छ । शिक्षामा यो फड्को मार्न किन सकिएन ? शायद, कृषि र उद्योगमा जस्तो शिक्षामा क्रान्ति नभएर होला । विगतको कारण जे सुकै होस, तर वर्तमानमा प्रविधिको प्रयोग बिना अबको शिक्षा सम्भव पनि छैन र पूर्ण पनि हुँदैन ।

भर्खरैको शिक्षक आयोगको नतिजाले हामीलाई के थाहा भयो भने, हाम्रा शिक्षकहरू र शिक्षक हुन चाहनेहरू (केही अपवाद बाहेक) अहिलेकै परमपरागत शिक्षाका लागि पनि योग्य छैनन् । प्रविधिको प्रयोग यिनै शिक्षकबाट गर्न सकिन्छ भन्ने आधार ज्यादै कमजोर देखिन्छ ।  त्यसो हो भने अब शिक्षक किन ? शिक्षक कति ? र शिक्षक कस्तो ? का विषयमा नयाँ योजना बनाउने हो कि ? यसो गर्दा शिक्षक विद्यार्थी अनुपात खासै चिन्ताको विषय रहँदैन ।

ख) शिक्षा विद्यालय भित्रमात्रै सिमित हुनुपर्छ र ?

उच्च शिक्षातर्फ खुला विश्वविद्यालयको अवधारणा लागू भएको दशकौ भयो । हामीले नेपालमा पनि शुरू गरिसक्यौं। विद्यालयतर्फ पनि ‘पर्खाल विहीन स्कूल’ (School Without Walls) को अवधारणा पाँच दशकभन्दा बढी भइसक्यो । यो एक किसिमको वैकल्पिक शिक्षा (Alternative Education) हो । अमेरिका, यूके र अष्ट्रेलियामा लागू भएको छ । हामीले चाहिं विद्यालयतर्फ पनि खुला किन नगर्ने ?

हिजो कोरोना कालमा हामीले विद्यालय शिक्षा प्रणालीको विकल्प खोज्यौं । अनलाइन अफलाइन मार्फत र विभिन्न माध्यमबाट शिक्षालाई निरन्तरता दिने प्रयास गर्‍यौं । केही सफल पनि भयौं । धेरै कुरा सिक्ने मौका पायौं।

जस्तैः १. सिक्नका लागि विद्यालय धाउनु पर्ने कुरा असहज मात्रै होइन रहेछ त्यसका जोखिम पनि रहेछन । थुपै्र सावधानी अपनाउनु पर्ने रहेछ ।

२. थोरै समयमा धेरै कुरा सिक्न सकिने रहेछ। सिक्नका लागि पाठ्यक्रम नै चाहिने कुरा होइन रहेछ । 

३. शिक्षक विद्यार्थी अनुपात नमिल्दा पनि सिकाइ हुने रहेछ।

४. जाँच लिने, पास फेल गर्ने कुरा बकवास रहेछ, आदी, इत्यादी

त्यसो हो भने, सिकाइलाई विद्यालय बाहिर ल्याउन ढिलो भइसक्यो। हाम्रा शिक्षक विद्यालय भित्रको पढाइ वा अझ भनौ घोकाइका लागि मात्र अभ्यस्त छन । सिकाइलाई विद्यालय बाहिर ल्याउदा फेरि पनि कस्ता शिक्षक, कति शिक्षक भन्ने गणित निकाल्नु पर्ने हुन्छ ।

ग) पढाउने हो कि सिकाउने हो ?

पढाउने मात्रै हो भने पक्कै पनि शिक्षक विद्यार्थीको अनुपातले विशेष महत्व राख्छ। तर सिकाउने हो भने, शिक्षक होइन सहजकर्ता चाहिन्छ । कुनै खास सीप सिकाउनका लागि सीप भएको सहजकर्ता । सबैले एकै खाले सीप सिक्ने कुरा पनि नहोला । फरक सीपका लागि फरक सहजकर्ता । त्यसो हो भने अब शिक्षकको लाइसेन्स होइन सहजकर्ताको लाइसेन्स बाडौं । धेरैभन्दा धेरै विषयमा, पेशामा, व्यवसायमा सीप सिकाउन सक्नेलाई टेष्ट लिएर सहजकर्ताको लाइसेन्स बाडौं । विद्यालय वा सिकाइ केन्द्रले आवस्यक्ता अनुसार यस्ता सहजकर्ताको सेवा लिन सक्ने वातावरण बनाउ । यसोगर्दा अहिलेको शिक्षक विद्यार्थी अनुपातको रडाको पनि मत्थर होला ।

घ) कतै उल्टो बाटो त हिडीरहेका छैनौं ? 

एकातिर हामी २१औं शताव्दीको शिक्षाका कुरा गर्छौ अर्कोतिर शिक्षक विद्यार्थी अनुपातको दुहाइ दिएर थाक्दैनौं। यदि २१औं शताव्दीको शिक्षाको कुरा साच्चैनै गरेको हो भने, दुइवटा बिषयमा स्पष्ट हुन जरूरी छः १) आइसिटी/प्रविधिको प्रयोग बिना २१औं शताव्दीको शिक्षाले तय गरेको लक्ष्य प्राप्त गर्न सकिंदैन र २) अहिलेकै प्रणाली र अहिलेकै शिक्षकबाट २१औं शताव्दीको शिक्षा सम्भव छैन ।

अर्थात, हामी २१औं शताव्दीको शिक्षातर्फ उन्मुख हो भने, शिक्षक विद्यार्थी अनुपातको विषय गौड हुन जान्छ । नयाँ शिक्षक, नया सहजकर्ता, नयाँ सिकाइ केन्द्र लगायत समग्र शिक्षा प्रणालीकै पुर्नप्रबोधिकरण (Reorientation/reformation) गर्नुपर्ने हुन्छ ।

अन्तमा, शिक्षाको समस्या शिक्षकको सख्ंयाभित्र भन्दा पनि संख्या बाहिर बढी छ।

(दक्ष शिक्षक अभावका कारण र परिणाम’  विषयमा शिक्षा पत्रकार समूहको संयोजनमा शिक्षक मासिकद्वारा २९ मंसीर २०७९ मा काठमाडौंमा आयोजित अन्तरक्रियामा शिक्षाविद् डा. विष्णु कार्कीद्वारा प्रस्तुत अवधारणा पत्र ।)

 

commercial commercial commercial commercial