सर्पलाई शत्रु मात्रै नठानौं ! 

वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पस, हेटौंडामा स्नातक तह (वन विज्ञान) पढ्ने क्रममा म फरेष्ट्रि गेट अगाडि हिंडिरहेको थिएँ। त्यसै क्रममा बाटोमा एउटा सर्प देखियो, त्यो सर्प अविषालु धामन सर्प थियो र त्यो बेग गतिमा झाडीतिर जाँदै थियो । त्यतिकैमा अचानक म पछाडि रहेका एक व्यक्तिले त्यो सर्पतिर ढुंगा प्रहार गरे । ढुंगा सर्पको ढाडमा लाग्न गयो। पछाडिबाट अचानक ढुंगा प्रहार भएकाले ढुंगा प्रहार गर्ने व्यक्तिलाई रोक्न सकिएन । त्यो सर्प कहीबेर छट्पटायो र मर्‍यो ।

सामान्यता सर्प भन्ने बित्तिक्कै आम मानिसमा एक किसिमको डरको तरङ्ग फैलिने गर्छ । सर्प देख्नासाथ मानिस तर्सिने, कराउने, भाग्ने वा प्रतिकार गर्ने गर्छन् । यस किसिमको प्रवृत्ति मानवविकास क्रमसँगै विकसित भएको तर्क बताइन्छ । वास्तवमा हामी सर्पदेखि यति धेरै डराए पनि सर्प मानिसको शत्रु नभएर पर्यावरणको एक अभिन्न अङ्ग हो भन्ने बुझ्नु जरूरी छ । यिनीहरू आहारा श्रृङ्खलामा शिकारी र शिकार दुवैको भूमिका निर्वाह गर्दछन् भने हाम्रो अन्नबाली नोक्सान गर्ने मुसाको शिकार गरी तिनको सङ्ख्या नियन्त्रण गर्न समेत सर्पको विशेष भूमिका रहने गर्दछ।

सर्प घस्रेर हिड्ने सरीसृप प्राणी हो । रेप्टाईल डाटाबेसअनुसार संसारमा हालसम्म करीब ३ हजार ९७१ प्रजातिका सर्प पहिचान भएका छन् । यिनीहरूले स्वयम् विभिन्न पारिस्थितिकीय प्रणालीअनुरुप आफूलाई ढालेका हुन्छन् । सर्प समुन्द्रमा, जमिन, वन, खेतबारी, हिमाली भेगलगायत विभिन्न स्थानमा पाइन्छन् । नेपालमा सर्पको फैलावट तराईदेखि हिमाली भेगसम्म रहेको छ।

नेपालमा पाइने सर्प ६ परिवारमा विभाजित छन् । इलापेडी, भाइपरेडी, कोलुब्रिडी, बोएडी, टाइफलोडी र पराइडी, जसमध्ये विष दन्त अगाडि भएका १७ प्रजाति इलापेडी (गोमन, करेत सर्प, मुगा सर्प र भाइपरेडी (बाघेसर्प, हरेउ, आँधो सर्प परिवारबाट र विष दन्त मुखको पछाडि भएको एक प्रजाति कोलुब्रिडी परिवारबाट अति विषालु मानीएका छन् । सही उपचारको अभाव भएको खण्डमा यिनको टोकाइबाट मृत्युसमेत हुने सम्भावना रहन्छ । यी १७ प्रजातिबाहेक अन्य प्रजातिका सर्प अविषालु वा कोमल विष भएका छन्, जसबाट मानवजातिलाई कुनै खतरा छैन। 

हामीले देख्ने र भेट्ने सबै सर्प विषालु हुँदैनन् र विषालु सर्पले टोकेमा सर्पले छोड्ने विषको मात्रा फरक हुन सक्छ। 

सर्पको विष प्रोटिन, पेप्टाइड, कम आणविक तौल भएका जैविक र अजैविक अवयवको मिश्रण हो । यो विषालु सर्पको विष ग्रन्थीको स्राब हो र यो (सुक्खा तौल) ९० प्रतिशतभन्दा बढी विभिन्न प्रोटिनले बनेको हुन्छ भने यी प्रोटिन विषाक्त र अविषाक्त दुबै प्रकृतिका हुन सक्छन्। सर्पको विष आँखाको तल र पछाडितिर अवस्थित विष ग्रन्थीमा उत्पादन हुने गर्छ, जुन परिमार्जित र्‍याल ग्रन्थी हो । विष ग्रन्थीमा उत्पादन भएको विष, विष नलीका हुँदै मुखको अघिल्लो भागमा अवस्थित विषदन्तबाट आफ्नो शिकारमा प्रवेश गर्छ । यस किसिमको विष यन्त्र इलापेडी र भाइपरेडी परिवारका सर्पमा हुने गर्दछ।

यसैगरी कोलुब्रिडी परिवारका विषालु सर्पमा विषदन्त मुखको पछिल्लो भागतिर अवस्थित हुन्छ । लाल कण्ठे दलिने सर्पमा (Red Necked Keelback) विषदन्त पछाडि रहेको हुन्छ रयनमा विषको उत्पादन डुबरनोयको ग्रन्थीमा हुने गर्दछ।

विष दन्त पछाडि भएको विष प्रणाली
प्रायःजस्तो मानसि सर्पप्रति घृणाभाव राख्छन् र आम मानिस विषालु (Venomous) र अविषालु (Non Venomous) सर्पबीच फरक छुट्याउन सक्दैनन्, जसका कारण जम्काभेट हुने हरेक सर्पलाई मार्छन्। सर्पदंश रोकथामसम्बन्धी अपर्याप्त चेतना, प्राथमिक उपचारसम्बन्धी ज्ञानको अभाव, सर्पको पर्यावरणमा भूमिकासम्बन्धी ज्ञानको कमी र सर्पको त्रासले गर्दा मानिस र सर्पबीचको अन्तक्र्रियामा सर्पलाई निर्मम रूपमा मारिने गरिन्छ । यसरी सर्प मार्नाले मानव-सर्प द्वन्द्व कम हुने नभएर बरु पर्यावरणीय असन्तुलन निम्तिन सक्छ।

सर्पसँग मानिसको अन्तक्र्रिया आदिम समयदेखि नै हुँदै आएको छ । सर्पले मानिसको मानसपटलमा प्राचीन समयबाटै गहिरो छाप छोडेको पाइन्छ । संस्कृतिअनुसार सर्पसम्बन्धी अनेकखाले विश्वास, मान्यता तथा पौराणिक कथा रहेका छन्।

कहिलेकाहीं सर्प आहाराको खोजीमा र आश्रयस्थल खोज्दै मानिसको घरभित्र पनि पस्छन् र यही क्रममा मानिस र सर्पबीच नकारात्मक अन्तक्र्रिया हुने सम्भावना हुन्छ। नेपाल एक उष्ण प्रदेशीय क्षेत्रमा पर्ने कृषिप्रधान देश भएकाले मानिस र सर्प धेरै नजिक रहने गर्छन् र मानिसको सर्पसँग बारम्बार अन्तक्र्रिया हुने गर्दछ । यसैगरी नेपालमा मानव-सर्प द्वन्द्व अति नै उच्च रहेको छ । फलस्वरुप सर्पदंश, सर्पलाई मार्ने, मानिसको अङ्गभङ्ग हुने, मानिसको मृत्यु हुने घटना हुन्छ । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार नेपालमा सर्पदंशबाट प्रतिवर्ष करीब एक हजार मानिसको मृत्यु हुने गर्छ। सर्पदंश एक दुर्घटना हो र आवश्यक सावधानी अपनाएमा धेरै हदसम्म कम हुन सक्छ।

सर्पदंशबाट बँच्ने उपाय

  •  धेरैजसो सर्पदंशका घटना गृष्म र वर्षायाममा हुने भएकाले यस बेलामा विषेश सतर्कता अपनाउनु पर्दछ।
  • सर्प हुनसक्ने सम्भावित स्थान झाडी, कुनाकाप्चा, दुला, पुराना वस्तु राखिएका स्थानबाट टाडा रहने वा जानै परेमा विशेष सावधानी अपनाउने।
  • झाडी भएको क्षेत्रमा जानुपरेमा लठ्ठीले झाडीतिर प्रहार गरेर जाने, जसले गर्दा सर्प भएको खण्डमा सर्प डराएर भाग्छ ।
  • रातको समयमा बाहिर निस्कँदा वा अँध्यारो ठाँउमा जाँदा टर्चलाइटको प्रयोग गर्ने।
  • घर वरपर सरसफाइमा ध्यान दिने र झाडीलाई काट्ने।
  • घरबाट बाँस, काठ, पुराना वस्तुको थुप्रो हटाउने ताकि सर्पले लुकेर बस्ने स्थान पाउँदैनन् ।
  • घरमा भएका दुला टाल्ने, झ्यालढोका राम्रोसँग लगाउने ।
  • जमिनमा भन्दा खाटमा सुत्ने र झुलको प्रयोग गर्ने।
  • सुत्नुभन्दा पहिले ओछ्यान राम्रोसँग सफा गरी सुत्ने, जसले गर्दा ओछ्यानमा सर्प छिरेको छ भने थाहा पाइन्छ।
  • सर्प कहिलेकाहीं हामीले लगाउने जुत्तामा पनि छिरेर बसेको हुन सक्छ । त्यसैले जुत्ता लगाउनु भन्दा पहिले राम्रोसँग हेरेर मात्र लगाउने।
  • सर्पले टोकेको खण्डमा अन्य कुरामा नलागि नजीकैको सर्पदंश केन्द्र वा अस्पताल जानु नै उपयुक्त हुन्छ ।
  • सर्पदंशको समयमा होश पुर्‍याएर काम गर्नुपर्छ।

सर्पदंशको बेला गर्नुपर्ने काम

  • सर्पदंश भएको व्यक्तिलाई हौसला प्रदान गर्ने।
  • सर्पदंश भएको अङ्गलाई कुनै कपडा वा पट्टिको माध्यमले स्थिर राख्ने। 
  •  गहना, कस्सिएका लुगा लगाएको छ भने हटाउने।
  • सर्पदंश भएका व्यक्तिलाई यथाशीघ्र सर्पदंश केन्द्र वा अस्पताल लैजाने।
  • स्वास्थ्यकर्मीबाट उपयुक्त उपचार ।

गर्न नहुने कार्य

  • बिरामीलाई धामीझाँक्रीकहाँ लाने ।
  • सर्पले डसेको भागमा चुस्ने कार्य ।
  • सर्पले डसेको भाग चिर्ने वा घाउ बनाउने ।
  • सर्पले डसेको भाग वरपर डोरीले कसेर बाध्ने।
  • सर्पले डसेको घाउलाई जलाउने। 

वातावरणमा रहेका प्रत्येक जीवजन्तुको पर्यावरणमा आफ्नै भूमिका हुन्छ । सर्प पर्यावरणको महत्वपूर्ण सदस्य हुन् । वातावरणका हरेक प्राणी एकआपसमा निर्भर रहेका हुन्छन् । यिनको अस्तित्व एकआपसमा निहित हुने गर्छ । मानवजातिको अस्तित्व पनि थुप्रै जीवजन्तुमा निहित छ । त्यसैलै मानव र ती जीवजन्तुबीच सहअस्तित्व आवश्यक छ । यसैगरी मानव र सर्पबीच पनि सहअस्तित्व जरुरी हुन्छ । सर्प हाम्रा घर वरपर प्रशस्त पाइने भएकाले मानव र सर्पबीच अन्तक्र्रिया भइरहने हुन्छ । मानव र सर्पबीच नकारात्मक अन्तक्र्रिया कम गर्न, मानिसमा सर्प र सर्पसम्बन्धी सचेतनाका साथै केही अवस्थामा सर्पको उद्दार र स्थान्तरण पनि आवश्यक हुने गर्दछ। पछिल्लो समय सर्पको उद्दार र स्थानान्तरण बढ्दो छ । यसले मानव-सर्पबीचको नकारात्मक अन्तक्र्रिया न्यूनीकरण गर्न सहयोग भए तापनि उद्धार र स्थानान्तरण कानूनी, नैतिक र पर्यावरणीय दृष्टिकोणबाट सही बनाउने चुनौती पनि छ।

नेपालमा अधिकांश उद्दारकर्ताले स्वयंसेवी रूपमा सर्प उद्दार र स्थान्तरण गरिरहेका छन् र उनीहरू यस किसिमका कार्य गर्ने आधिकारिक व्यक्ति भने होइनन् । यसैगरी राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयमा यस किसिमको जनशक्तिको अभाव रहेको छ । केही स्थानमा सर्प उद्दारकर्ता र सरकारी पक्षबीच समन्वय भइरहेको पाइन्छ तर धेरै स्थानमा भने कुनै समन्वयबिना नै उद्दार र स्थान्तरणको कार्य भइरहेको पाइन्छ । यसले कानूनी जटिलता निम्तिन सक्छ किनभने एकातिर सर्प उद्दार गर्दा र स्थानान्तरण गर्दा मुचुल्का उठाउनेजस्ता कानुनी पक्ष रहन्छन् भने अर्काेतिर स्वयंसेवी रूपमा खटिएका उद्दारकर्ता कानुनी रुपले आधिकारिक व्यक्ति होइनन् । यसकारण डिभिजन वन कार्यालय, राष्ट्रिय निकुञ्ज र उद्दारकर्ताबीच समन्वय हुन जरूरी छ।

उद्दार र स्थानान्तरणको क्रमम नैतिक र पर्यावरणीय पक्षमा त्यति ध्यान दिइएको पनि पाइँदैन । सर्पलाई उद्दारका नाममा प्राकृतिक वासस्थानबाट हटाई अन्यत्र लगेर छोडिने प्रवृत्ति देखिन्छ । यस किसिमले गरिएको उद्दारले सर्पले त्यस स्थानको पारिस्थिकीय प्रणालीमा गर्नुपर्ने भूमिका निर्वाह गर्न पाउँदैन र पर्यावरणीय असन्तुलन हुन जान्छ । केही उद्दारका क्रममा उद्दारकर्मीले सुरक्षाको न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइन्छ, जसका कारणले दुर्घटना जुनसुकै बेला पनि घट्न सक्छ । सर्प उद्दार र स्थानान्तरणसम्बन्धी धेरै कार्य व्यक्तिगत तबरले नै भएको पाइन्छ । यसबाहेक गैरसरकारी संस्थाले पनि साना स्तरमा कार्य गर्दै आएका छन्। तर सरकारी तबरबाट भने खासै काम भएको पाइँदैन । सर्प उद्दार र स्थानान्तरणसम्बन्धी कुनै किसिमको आचारसंहिता छैन । त्यसैले सर्पको पारिस्थिकीय, उद्दारकर्ताको सुरक्षा र कानुनी दृष्टिकोणले यथाशीघ्र एउटा स्तरीय आचारसंहिता बनाउन आवश्यक छ। 

सर्प उद्धार र स्थानान्तरण गर्दा ध्यान दिनुपर्ने कुरा 

  • सर्प उद्धार गर्दा मानव र सर्पबीच सह-अस्तित्वलाई मुख्य लक्ष्य बनाएर गर्न पर्दछ।
  • अति आवश्यक भएमा मात्र सर्प उद्दार गर्नु पर्दछ । धेरैजसो सर्प उद्दार गर्नु नपर्ने अवस्थामा तिनकै प्राकृतिक बासस्थानबाट गरिन्छ।
  • सर्प उद्दार खाली हातले गर्नु हुन्न र अरुलाई देखाउनका लागि मात्र स्टन्ट पनि गर्नु हुन्न। 
  • उपयुक्त उपकरण (हुक, टङ्ग, झोला, पाइप, पञ्जा, जुत्ता आदि) प्रयोग गरेर मात्र सर्प उद्दार गर्नु पर्छ। 
  • सर्प उद्दारका क्रममा भीड हुने सम्भावना भएकाले भीडलाई पनि नियन्त्रण गर्न आवश्यक हुन्छ । त्यस क्रममा जम्मा भएको भीडलाई उद्दार पछि सर्पसम्बन्धी ज्ञान फैलाउन पनि प्रयोग गर्न सकिन्छ।
  • उद्दारका क्रममा वैज्ञानिक शोधका लागि तथ्यांक पनि लिन सकिन्छ। त्यसबाहेक अनावश्यक रूपमा जिस्क्याउने, चलाउने गर्नु हुन्न। 
  • सर्पलाई उद्दार पछि सबैभन्दा नजिकैको उपयुक्त स्थानमा छोड्नु पर्छ ।

सर्प संरक्षणमा युवा-विद्यार्थीको भूमिका 
विद्यार्थी परिवर्तन र संरक्षणका सम्वाहक हुन्। उनीहरू आफ्नो विषयगत अध्ययनपछि ती अध्ययन गरेका कुरालाई व्यवहारमा लागू गर्ने व्यक्ति हुन्। उनीहरूले सर्प संरक्षण तथा मानव-सर्प द्वन्द्व न्यूनीकरणमा प्रभावशाली भूमिका निर्वाह गर्न सक्छन्। समाजमा व्याप्त सर्पसम्बन्धी अन्धविश्वास, गलत धारणा (सबै सर्प विषालु हुन्छन्, सर्पले बदला लिने गर्छ। सर्पको आँखामा क्यामेरा हुन्छ अनि मार्नेलाई फोटो खिचेर राख्न । सर्पको मणी हुन्छ, सर्पदंशको उपचार धामीझाक्रीबाट सम्भव छ)लाई हटाउन र सर्प संरक्षणको महइभ्व आम मानिसमा बुझाउन अहम् भूमिका निर्वाह गर्न सक्छन् । यसरी उनीहरूले सर्प संरक्षणमा मात्र नभएर सर्पदंश भएको बेला गर्नुपर्ने कार्यबारेमा आम मानिसलाई जानकारी गराएर उनीहरूको ज्यान समेत जोगाउन सक्छन्। 

त्यसैगरी युवाविद्यार्थीको माध्यमबाट समाजमा व्याप्त सर्पप्रतिको नकारात्मक धारणा बदल्न सकिन्छ। सचेतनाका कार्यक्रम सञ्चालन गरी सर्पको विषयमा सचेत समाज निर्माण गर्न सकिन्छ। 

युवाविद्यार्थी अध्ययनपश्चात् एक दक्ष जनशक्तिका रूपमा सर्पको उद्धार र स्थान्तरणका कार्यमा संलग्न भएर पनि मानव-सर्प सहअस्तित्वका लागि योगदान गर्न सक्छन् । आफूमा भएको ज्ञानबाट पर्यावरण सन्तुलन गर्न अहम् भूमिका विद्यार्थीको रहन्छ। 

विद्यार्थीले सर्पसम्बन्धी अध्ययन, अनुसन्धान गरेर सर्प र मानव अन्तक्र्रियाका अनेक आयाम पत्ता लगाएर मानव-सर्पबीचको द्वन्द्व न्यूनीकरण गर्न टेवा पुर्‍याउन सक्छन्। यसैगरी सर्पको विषबाट सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टि स्नेक भेनम’मा मात्र नभएर अन्य औषधी र उपचारमा पनि प्रयोग हुन सक्छ । सर्पको विषका तत्व आयुर्वेद, होमीयोप्याथी र अन्य चिकित्साशास्त्रमा हजारौँ वर्षदेखि प्रयोग हुँदै आइरहेको पाइन्छ। सर्पको विषबाट बाथ रोग, थ्रोम्र्बासिस, क्यान्सरलगायतका धेरै रोगको उपाचारका औषधी बनाउन पनि प्रयोग गर्न सकिन्छ। युवाविद्यार्थीले यस विषयमा अध्ययन गरेर विभिन्न प्रभावकारी औषधी बनाउन सक्छन्। उनीहरूले सर्पको वंशाणुगत, पारिस्थितिकीयलगायतका कुरा अध्ययन गरी सर्पलाई भइरहेका खतरा वा भविष्यमा हुने खतरा, सर्पको विकासक्रम, नयाँ प्रजातिको आविष्कार गर्न सक्छन्।

(वन डिभिजन कार्यालय, राप्ती मनहरी, मकवानपुरको प्रकाशन ‘वातावरण शिक्षा’-२०७९ बाट सभार।)

commercial commercial commercial commercial