स्वर्ग जाने बाटो 

रामनारायण गाउँघरमा कहलिएका पण्डित थिए। उनलाई पौराणिक शास्त्र सहित कर्मकाण्डको राम्रो ज्ञान थियो। उनले परम्पराबाट पनि धेरै कुरा सिकेका थिए।

रामनारायणलाई पुराण भन्न पनि बोलाइन्थ्यो। पुराणका मीठा–मीठा कथाका प्रसङ्ग ल्याएर रमाइलोसँग मानिसलाई मुग्ध पार्न सक्ने उनको कला थियो। त्यसै कारण मानिसहरू उनको कथा वाचन सुन्न लालायित हुन्थे। उनले आफूलाई एउटा धार्मिक र असल मान्छे सम्झन्थे। अरूहरूले पनि उनलाई ज्ञानी मान्थे र आदर गर्थे। सरल र हँसिला स्वभावका थिए। उनी खासै लोभ लालच पनि गर्दैनथे। दक्षिणा यति चाहिन्छ भनेर कहिल्यै भन्दैनथे। भक्तजनले दिएको पत्रम् पुष्पम्‌मै उनी सन्तुष्ट हुन्थे।

पुराण भन्दा ‘यो जुनीमा गरेको पुण्यको कमाइ अर्को जुनीमा भोग्न पाइन्छ, परलोकमा स्वर्गमा पुगिन्छ; तर पाप गरेमा नर्कमा डुबिन्छ’ भन्ने उनको सन्देश हुने गर्दथ्यो। उनले जीवनमा के गर्दा पाप हुन्छ, के गर्दा पुण्य हुन्छ भनेर धेरैलाई अर्ति–बुद्धि दिएका थिए। असल आचरणमा बस्नुपर्छ, दुःखीको सेवा गर्नुपर्छ, दान दिनुपर्छ, अरूको भलो हुने काम गर्नुपर्छ भनेर पुराणका कथा सुनाउने क्रममा दोहो¥याइरहन्थे। उनी दैनिक रूपमा भगवान्‌को पूजा गर्ने, स्तोत्र गर्ने पाठ र ठाडो टीका लगाउने गर्दथे।

एक दिन कालगतिले पण्डित रामनारायणको मृत्यु भयो। गाउँघर छिमेक मात्र हैन टाढा–टाढा बस्तीका मानिसहरू पनि दुःखी भए। उनको विधिवत् काजकिरिया सम्पन्न भयो।

उता; यमराजका दूतले पण्डितलाई यमलोक पु¥याए। धर्मराज यमराजले चित्रगुप्तलाई पण्डित रामनारायणको पाप–पुण्य बहीखाता हेर्न लगाए। पुण्य र पापको तराजुमा हिसाब चढाउँदै जाँदा पुण्यतिरको पल्ला भारी हुँदै गयो। त्यो सब हेरिरहेका पण्डित बैकुण्ठलोक प्राप्त हुने भयो भनेर ढुक्क हुँदै गए।

चित्रगुप्तले भने, “अरू हिसाब हेरिसकियो, अहिलेसम्म त ठीकै छ। अब अन्तिम जाँच बाँकी छ। मान्छेले मर्त्यलोकमा जीवजगत, प्राणी र वनस्पतिप्रति गरेका व्यवहार पनि केलाउनुपर्ने हुन्छ। त्यसपछि महाराज यमराजसमक्ष सबै हिसाबकिताब बुझाउँछु।”

रामनारायणलाई यमराजले आफूलाई स्वर्ग पठाउने कुरामा कुनै शंका थिएन।

तर, चित्रगुप्तको ‘रिपोर्ट’ हेरेपछि यमराजबाट हुकुम भयो– “हे बालक! तिमी त स्वर्ग जान नपाउने रहेछौ!”

पण्डित आश्चर्यमा परे। उनलाई यस्तो गडबड होला भन्ने लागेकै थिएन।

“किन प्रभु; के कमी भयो ?” उनले डराउँदै प्रश्न गरे। “मैले सबै प्राणीहरूमाथि दया राखेको थिएँ। जीवनभर शाकाहारी भएकोले मैले प्राणी हत्या गरेको थिइनँ। गौमाताको सेवा गरेर गोरस खाएको मानिस हुँ। घाँस काटेको छु, भकारो सोहोरेको छु ।” पण्डितले उदाहरण सहित स्पष्टीकरण दिए।

“त्यो सबैको हिसाब भइसक्यो र पनि स्वर्ग पठाउन नसक्ने भइयो ।”

“किन ?” केही आक्रोश र भयमिश्रित स्वरमा पण्डितले प्रश्न गरे ।

यमराजले भने, “सुन, गम्भीर कुरा छ ।”

“के कुरा महाराज ?” पण्डित जान्न लालायित भए।

“ठीक छ, तिमीले जीवनमा धेरै मानिसलाई असल काम गर्न अभिप्रेरित ग र्‍यौं। जगतको भलो हुने काम गर्न सन्देश दियौ। मानिसलाई पाप कर्म नगर्न र पुण्य कार्य गर्न सम्झ्यौ। लोभ लालच, व्यभिचार गर्न हुन्न भनेर सिकायौ। ध्यान, व्रत, पूजापाठ गरेर आत्मिक शान्ति प्राप्ति गर्न सिकायौ। अनि मानव सहित सबै प्राणीको लागि शान्तिको कामना ग र्‍यौ। यसबाट निःसन्देह तिमीले पुण्य बढायौं। तर तिमी एक ठाउँमा चुकेका रहेछौ। तिमीले केही मानिसलाई खेती गर्न लगायौ, तर उब्जेको त्यही अन्न पकाएपछि उसले छोएको खान मानेनौ। घर बनाउन लगायौ, तर बनेपछि उसलाई त्यही घरभित्र पस्न दिएनौ। उसले सिएको कपडा लगायौ तर उसलाई छुन मानेनौ। मन्दिरमा बाजा बजाउन बोलायौ तर उसलाई मन्दिरभित्र छिर्न दिएनौ।”

“यो त मैले लोक र धर्मकै लागि गरेको हुँ, प्रभु ! शास्त्र र परम्परा अनुसार गरेको हुँ!” रामनारायणले आफ्नो बचाउ गर्न खोजे।

तर, यमराजले पण्डितका कुरालाई खासै महत्व दिएनन् । उनले पण्डितलाई सम्बोधन गर्दै फेरि भने, “हेर, पण्डित! तिमीले शास्त्रको मूल पहिल्याउन सकेको भए यो सब हुन्थेन होला। शुरूमा मानिसलाई श्रमको आधारमा विभिन्न वर्णमा बाँडिएको हो। कोही पनि जन्मको आधारमा ठूलो–सानो हुँदैनथ्यो, न त कुनै काम ठूलो–सानो हुन्थ्यो। एउटा मानिस आफ्नै जीवनकालमा विभिन्न वर्णको हुन सक्थ्यो अर्थात्, शूद्र, वैश्य, क्षत्रीय र ब्राह्मण हुन सक्थ्यो। कसैको पूर्व निर्धारित जात थिएन। पेशा अनुसार एकै परिवारमा विभिन्न वर्णका सदस्य हुन्थे। यति बेलासम्म समाजको व्यवस्था राम्रै थियो। तर, पछि यो व्यवस्थालाई कुरुप बनाइयो। शक्तिमा रहेका स्वार्थी मानिसहरूले जन्मको आधारमा जातलाई स्थायी बनाए। यसपछि सेवाजन्य पेशाहरूलाई हेय गर्न थालियो। फलस्वरूप सीपको कदर भएन। मानिसलाई गुण–दोष भन्दा पनि जन्मको आधारमा तल्लो र माथिल्लो जात भनेर हेला गरियो। तिमीले त्यसलाई पनि धर्म र पुण्य काम भन्ठान्यौ। जनावर छुने, गोबर छुने तर मानिस नछुने? मानवीय समभाव र श्रद्धा खै ? आफैं भन म तिमीलाई कसरी स्वर्ग पठाउँ ?”

“प्रभु ! यो सब अज्ञानमा भएको हो। मैले त मेरो घर बनाउने, लुगा सिलाउने, औजार बनाउने, सङ्गीत बजाउने मानिसलाई पनि माया गरेकै हुँ। हामीले समस्या पर्दा एकअर्कालाई सघाएकै थियौं। छुवाछूत जस्ता परम्परालाई धान्दा धर्मको रक्षा हुन्छ भन्ठानें। मैले समाजमा त्यही देखें। हामीलाई त्यही पढाइयो, त्यही सिकाइयो। सबै शास्त्रलाई सत्य मानियो। शास्त्रको मूल पहिल्याउन सकिएनछ। एक मानिसले अर्को मानिसमाथि अन्जानमा यति ठूलो अपमान गरिएको रहेछ। अनर्थ भो। क्षमा पाऊँ प्रभु !” रामनारायणले बिन्ती बिसाए।

“मैले बुझें, तर पनि म तिमीलाई स्वर्ग पठाउन त कुनै हालतमा पनि सक्दिनँ। ज्ञानी भएर पनि तिमी अज्ञानी भयौ। हो, यसमा तिम्रो मात्र दोष छैन। जमाना पनि त्यस्तै थियो। शासकहरूले कानून पनि त्यस्तै बनाएका थिए। तोड्दा सजाय हुन्थ्यो। तिमीलाई जे सिकाइयो, त्यसलाई तिमीले सत्य सम्झियौ। त्यसकारण म तिमीलाई एउटा मौका दिन्छु। म तिमीलाई जिउँदै पृथ्वीमा फर्काइदिन्छु। तिम्रो पाप–पुण्यको हिसाब गर्दागर्दै यतिका वर्ष बिते। अहिले त पृथ्वीलोकको नेपाल देशमा पनि मानिसहरूको केही चेत खुलेको छ। कमसेकम कानून फेरिएको छ। भेदभाव, छुवाछूत गरे अब सजाय हुन्छ। तर यसबारे मानिसहरूलाई अझै राम्रोसँग थाहा छैन। तिमीले त्यहाँ गएर मानिसलाई जातका आधारमा नभएर गुण–दोषका आधारमा व्यवहार गर्नू र त्यही गर्न सिकाउनू। मानिस सबै समान छन् भनेर बुझाउनू। यसका लागि तिमी उपयुक्त गुरु हुन सक्छौ। तिनलाई तिमीले स्वर्ग जाने बाटो खोल्न के गर्नुपर्छ; के गर्नुहुँदैन भनेर सिकाउनू। तिम्रो पाप सुलेपछि म दूत पठाउँछु, अनि तिम्रो स्वर्ग जाने बाटो खुल्छ। अस्तु !”

शब्दार्थ

पौराणिक : पुराणमा भएको; पुराण कालको; पुरानो समयको 

शास्त्र : धार्मिक ग्रन्थ; पुस्तक

लालायित : लोभिएको, अतिलोभी, इच्छुक

पत्रम् पुष्पम् : कसैलाई कुनै काम गरेबापत दिइने सामान्य पारिश्रमिक

दक्षिणा : पूजा–पाठ आदि धार्मिक कार्य गराइदिएबापत पुरोहितलाई पारिश्रमिकका रूपमा दिइने नगद; धार्मिक अवसरमा चेलीबेटी, कुटुम्ब आदिलाई टीका लगाएर दिइने नगद; उपहार

जुनी : जीवन

पुण्य : धार्मिक दृष्टिबाट शुभ फल दिने काम; धर्म–कार्य

परलोक : धार्मिक आस्था अनुसार मरेपछि पुगिने ठाउँ 

आचरण : बानीब्यहोरा

भलो : राम्रो

दिनचर्या : दिनदिनै गरिने काम  

श्रद्धा : मान; आदर

कालगति : स्वाभाविक; समय पुगेर

विधिवत् : नियम अनुसार

यमराज : मान्छे मरेपछि स्वर्ग–नर्क पठाउने निर्णय गर्ने व्यक्ति; कालको राजा

दूत : प्रतिनिधि 

यमराज : यमराजको राज्य

बहीखाता : हिसाब राख्ने किताब

पल्ला भारी हुनु : तौलले बढी थिचिएको तराजुको एक भाग; वजनदार हुनु

वैकुण्ठलोक : स्वर्ग; विष्णुको राज्य 

खुट्किलो : सिंढीको टेक्ने भाग

गौमाता : गाई

गोरस : दूध, दही, घ्यू वा सोबाट बनेका खानेकुरा

अभिप्रेरित : प्रेरणा प्राप्त

व्यभिचार:र खराब बानी वा चरित्र  

आत्मिक : आत्माको; मनको

निःसन्देह : शंका नभएको

चुकेका : गल्ती गरेका

श्रम : काम

वर्ण : हिन्दूधर्म अनुसार मानिसका चार श्रेणी (ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र)

कुरुप : रूप बिग्रेको, नराम्रो

हेय : हेलाँ

गुण–दोष : असल र खराब पक्ष

समभाव : सबैप्रति समान व्यवहार

अन्जान : नजानेर

अनर्थ : सोचेभन्दा उल्टो

सुल्नु : चुक्ता हुनु; असुल हुनु।

अभ्यास

तलका प्रश्नको उत्तर लेख

१. रामनारायण कस्तो स्वभावका मानिस थिए?

२. किन मानिसहरू रामनारायणलाई आदर गर्थे?

३. के कारणले यमराजले रामनारायणलाई स्वर्ग पठाउन सकेनन्?

४. रामनारायणले कसरी आफ्नो स्वर्ग जाने बाटो खोल्न सक्छन्?

अतिरिक्त कार्य

१. तिम्रो छिमेकमा के कस्ता काम गर्दा पाप हुन्छ, के गर्दा पुण्य हुन्छ भन्ने विश्वास छ? कुनै जान्ने मान्छेसँग छलफल गरी त्यस्ता कामको सूची बनाऊ।

२. पाठलाई राम्रोसँग पढेर रामनारायणलाई पृथ्वीमा जिउँदै पठाइएपछि के भयो होला? कल्पना गरेर कथालाई टुंग्याऊ।

(शिक्षक  मासिक, २०८० असार-साउन अंकमा प्रकाशित।)

commercial commercial commercial commercial