नचिनेको चोर छोरो समान
‘सर नमस्कार’
‘तिमी... ५८ को एसएलसी... प्रमोद... !’
‘हजुर ! म प्रमोद नै हुँ !’
‘कहाँ छौ, के गर्दैछौ ?’
‘म पनि शिक्षक नै भएँ सर ! स्कूलमा पढाउँदा पढाउँदै छात्रवृत्ति पाएँ र अमेरिका गएर बालमनोविज्ञानमा थप पढें । त्यही विषयमा एउटा किताब पनि लेखेको छु । हजुरबाट विमोचन होस् भन्ने छ। समय माग्न आएको ।’
‘कसरी हुन्न भन्नु र ? मैले साह्रै मन भएर पनि पढ्न नपाएको विषय हो बालमनोविज्ञान। केही कुरा सिकिन्छ, त्यसैले पनि आउँछु ।’
‘त्यो कुरा पनि छ यो किताबमा। बाल मनोविज्ञान नपढेका मेरा माधव सर भन्ने एउटा च्याप्टर नै छ किताबमा र हजुरले कसरी एउटा बालकलाई चोर हुनबाट जोगाउनुभयो भन्ने छ !’
शिक्षक नबुझेको भावमा हेर्छन्।
‘समीरमानको घडी चोरेका दिन हजुरले मलाई सजाय गरेको भए म यो हुने थिइनँ सर जो आज छु। शायद म गल्ती र अपमानबोधका कारण त्यसपछि स्कूल नै आउन सक्ने थिइनँ !’
‘त्यो तिमी थियौ र ?’
‘हजुरलाई थाहा थिएन र सर ?’
‘थिएन, साँच्चै थाहा थिएन । जब मैले तिमीहरू सबैलाई आँखा चिम्लिन लगाएर खानतलासी लिन थालें, मैले पनि आँखा चिम्लेको थिएँ, साँच्चै नै आँखा चिम्लेको थिएँ । मलाई समीरमानको घडी भेट्नैपर्ने थियो, त्यो घडी लिने व्यक्ति खुट्याउनेतिर मेरो ध्यान थिएन । त्यसदिन मात्र होइन, मलाई दोषी फेला पार्नमा कहिल्यै चाख भएन । त्यसो त मैले चौथो विद्यार्थीको खल्तीमा नै घडी भेटिसकेको थिएँ, तर पनि मैले सबैको खल्ती छामें ! घडी भेटिनासाथ खोज्ने काम रोकेको भए त चोर्ने व्यक्ति थाहा भइहाल्थ्यो नि !’
प्रमोद थप भावुक र गम्भीर बन्छन् । सर थप्छन्, ‘बाल्यकालमा हामी सबैबाट अनेक गल्ती भएका हुनसक्छन् । गल्ती गर्नेलाई सुधार्ने तरीका धेरै हुन्छन्, र मैले आफूले जानेसम्मको तरीका अपनाएको हुँ ।’
(शिक्षक मासिक, २०८० भदौ अंकमा प्रकाशित।)