शिक्षकका खुशी र निराशा !
शिक्षकहरू आफ्नो पेशामा खुशी छन् कि छैनन् ? सन्तुष्ट छन् कि छैनन् ? छन् भने के कुराले उनीहरूलाई पेशामा खुशी र सन्तुष्टि मिलेको छ ? उत्साह थपेको छ ?
माथिका प्रश्नको उत्तर दिंदा प्रायः शिक्षकहरू भएका नीतिगत व्यवस्थामा असन्तुष्टि प्रकट गर्छन्। त्यसमै सुधारको आवश्यकता रहेको बताउँछन्। तर पनि उनीहरू शिक्षण पेशामा रमाइरहेका छन्। रमाउनुका आधार उनीहरू आफैंले बनाएका छन्।
कृष्ण संस्कृत मावि, सुर्खेतका प्रअ लोकबहादुर खत्री पेशाप्रति खुशी र सन्तुष्ट पाइन्छन्। उनी मावि तहमा अंग्रेजी विषय शिक्षक हुन्। शिक्षकका रूपमा विद्यार्थीसँग घुलमिल हुन पाउँदा उनलाई सबभन्दा धेरै खुशी मिल्छ। उनी भन्छन्, “विद्यार्थीबाट पाउने सम्मान महत्वपूर्ण पक्ष हो। जिल्लामा प्रमुख जिल्ला अधिकारीले भन्दा शिक्षकले बढी सम्मान पाउँछ । शिक्षकका धेरै विद्यार्थी हुन्छन् ।” प्रअ खत्री शिक्षा तालिम केन्द्र (कर्णाली प्रदेश) का रोष्टर प्रशिक्षक पनि हुन्। “प्रशिक्षणका क्रममा धेरै प्रअ तथा शिक्षकका कुरा सुन्न र उहाँहरूलाई सिकाउन पाइन्छ। स्रोत व्यक्तिका रूपमा नमूना कक्षा देखाउन पाउँदा पनि खुशी लाग्थ्यो”, उनले भने।
विभिन्न अवसर र पुरस्कारले पनि उनलाई पेशामा सन्तुष्टि दिलाए। सुर्खेतकै जीवनज्योति माविमा प्रअ हुँदा तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयले उनलाई दक्षिणकोरियामा तालिमको लागि सिफारिश गरेको थियो। उनी भन्छन्, “त्यहाँ सूचनाप्रविधि सम्बन्धी तालिम लिने मौका पाएँ। ब्रिटिश काउन्सिलले पनि प्रशिक्षकको रूपमा मान्यता दिएको छ। त्यस मार्फत बेलायत जाने अवसर पनि पाएँ। यस्ता कार्यक्रममा सिकेका कुरा अरूलाई सिकाउन पाउँदा आनन्द मिल्छ।” २०७२ सालमा राष्ट्रिय शिक्षा पुरस्कार पाउँदा ऊर्जा थपिएको उनको अनुभव छ।
शान्ति नमूना माध्यमिक विद्यालय, रूपन्देहीकी शिक्षक सीता गौतमका लागि यो पेशामा रमाउनुको मुख्य आधार विद्यार्थीसँगको सुमधुर सम्बन्ध र उनीहरूप्रतिको जिम्मेवारी हो। सामाजिक क्षेत्रमा क्रियाशील हुन पाइने अवसर पनि उनको सन्तुष्टिको अर्को कारण हो। उनी भन्छिन्, “शिक्षकलाई समाजमा बौद्धिक वर्गको रूपमा हेरिन्छ। विकास निर्माणका कार्य हुन् वा अन्य सामाजिक कार्य विभिन्न समितिमा बस्न आग्रह गरिन्छ। यो समाजबाट पाइने सम्मान हो।” यसबाहेक विद्यालयले आन्तरिक स्रोतबाट दिने सुविधा र पुरस्कार आदिले पनि उनमा उत्साह थप्ने काम गरेको छ।
त्रिपद्म मावि, ललितपुरका सहायक प्रअ धन कन्दङ्वाले आफ्ना विद्यार्थीको कक्षा-१० र कक्षा-१२ को नतिजालाई आफ्नो सन्तुष्टिको प्रमुख आधार बनाएका छन्। उनी भन्छन्, “मेरो विषय सामाजिक अध्ययनमा विद्यार्थीले उच्चतम ग्रेड पनि ल्याएका छन्। मध्यम पनि ल्याएका छन्। औसतमा करीब ३ जीपीए छ। यो भनेको राष्ट्रिय औसतको आसपास हो।” त्यसैगरी आफ्नो संस्था अर्थात् कार्यरत विद्यालयले सम्मान, इज्जत दिएकोमा उनी खुशी छन्। पेशामा सन्तुष्ट हुने अर्को पक्ष अतिरिक्त कमाइ पनि हो। “होम ट्युसन पढाउँछु। सामाजिक अध्ययन नेपालीमा पढाइ हुन थालेपछि निजी विद्यालयका विद्यार्थीलाई गाह्रो भएको छ”, उनले भने।
आदर्श मावि, झापाकी शिक्षक प्रतिमा चापागाईंलाई शिक्षक भइसकेपछि आफ्नो काममा रमाउनैपर्छ भन्ने लाग्छ। उनी प्रावि तहमा पढाउँछिन्। “किताबका पाठ मात्र होइन, जीवनमा काम लाग्ने नैतिक आचरण पनि सिकाउन पाएकी छु। उनीहरूले मलाई दोस्रो आमाको रूपमा हेरेको अनुभूति हुन्छ। उनीहरू दुःखी हुँदा पनि मलाई आफ्ना कुरा भन्छन्। र, खुशी हुँदा पनि। मसँग दुःखसुख बाँड्छन्।” दुई दशक शिक्षण पेशामा बिताउँदाको खुशी र सन्तुष्टि उनी यसरी व्यक्त गर्छन्।
ज्ञानोदय मावि, काठमाडौंका प्रअ नातिकाजी महर्जनले साढे तीन दशक शिक्षण पेशामा व्यतीत गरे। अब तीन महीनापछि उनी सेवानिवृत्त हुँदैछन्। उनी भन्छन्, “उज्याला आँखा, मधुर बोली र छलकपटरहित व्यवहारका निर्दोष बालबालिकाको साथले मलाई यो पेशामा खुशी र आनन्द दिन्छ।” उनका लागि पेशामा सन्तुष्टि मिलेको दोस्रो कारण संस्थाको सफलता हो। उनले विद्यालयलाई सबैजसो पक्षमा उचाइमा पुर्याउन सक्नुलाई आफ्नो सफलताको आधार बनाएका छन्।
विशेषगरी विद्यार्थीसँगको भावनात्मक सम्बन्ध, सामीप्यता, उनीहरूको नतिजा, विद्यालयमा काम गर्ने सकारात्मक वातावरण र पेशामा रमाउने व्यक्तिगत स्वभाव जस्ता कारणले शिक्षकहरू आफ्नो पेशामा खुशी र सन्तुष्ट पाइन्छन्। तर यो पेशामा उनीहरूको जाँगर मर्ने, मनोबल गिर्ने र वितृष्णा पैदा हुने कारण पनि छन्।
पेशागत क्षमता विकासका निम्ति अवसरको कमी
शिक्षणको दौरान नयाँ-नयाँ कुरा आइरहेका हुन्छन्। जस्तो नयाँ पाठ्यक्रम आउँछ। सूचनाप्रविधि, शिक्षण विधि, कक्षा व्यवस्थापनका कुरा आउँछन्। शिक्षण सिकाइका लागि नयाँ कुरा सिक्ने अवसर नपाउँदा जाँगर कम चल्ने, पट्यार लाग्ने र आफू धार नलगाएको भुत्ते हतियार झैं भएको शिक्षकहरू बताउँछन्।
ज्ञानोदय मावि, काठमाडौंकी अंग्रेजी शिक्षक अन्जु लामाले शिक्षकको पेशागत विकास तालिम टीपीडी लिएको ५ वर्ष भइसकेको छ। त्यसपछि त्यो विषयको पुनर्ताजगी तालिमको अवसर पाएकी छैनन्। उनी भन्छिन्, “पाठ्यक्रम परिवर्तन भइरहन्छ। तर हाम्रो पढाउने शैली पुरानै छ। हतियारलाई भुत्ते हुन नदिन बेला-बेला धार लगाए जस्तै शिक्षकलाई पनि समय-समयमा पुनर्ताजगी तालिम चाहिन्छ।”
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुर्खेतका शिक्षक भूपाल सिंह ठकुरीलाई पनि पुनर्ताजगी तालिमको अभाव खट्किएको, आधारधूत तहमा अध्यापनरत उनले दुई वर्षअघि टीपीडी तालिम लिएका थिए । उनी भन्छन्, “पुनर्ताजगी तालिम चाहिन्छ। नयाँ कुरा जानियो भने उत्सुक भइन्छ। शिक्षणका लागि उत्प्रेरित भइन्छ। पढाउन सिकाउन मजा लाग्छ । नभए पट्यारलाग्दो एकनाशको हुन्छ।”
राष्ट्रले समय अनुसार शिक्षकलाई ज्ञान, सीप उपलब्ध गराउन नसकेको र यसमा चाहिने जति लगानी पनि नगरेको शिक्षक प्रतिमा चापागाईंको गुनासो छ। उनी भन्छिन्, “अहिलेका विद्यार्थी हामीभन्दा सूचनाप्रविधिमा धेरै अगाडि छन्। प्रविधिको सिकाइमा प्रयोग अनिवार्य जस्तै भइसकेको छ। शिक्षकलाई त्यसमा दक्ष बनाउनुपर्छ।”
गत वर्ष मात्र शिक्षण पेशामा प्रवेश गरेका मोरङका मावि शिक्षक मणिकुमार लिम्बूलाई दिनका दिन एउटै काम गर्दा पट्यारलाग्दो (मोनोटोनस) भएको महसुस हुन्छ । उनले कुनै पेशागत तालिम पाएका छैनन् । तालिममा पर्ने कहिले पालो आउँछ त्यो पनि उनलाई थाहा छैन।
पछिल्लो समयमा, शिक्षक तालिम केन्द्र्रहरू कटौती गरिएका कारण तालिम पनि खुम्चिएका छन्। पहिले तालिम केन्द्र, उपकेन्द्र, स्रोतकेन्द्र र जिल्ला शिक्षा कार्यालयबाट तालिमहरू भइरहन्थे । संस्कृत मावि, सुर्खेतका प्रअ खत्री भन्छन्, “अब प्रदेशमा मात्र तालिम केन्द्र छन्। एउटा केन्द्रले कति शिक्षकलाई समावेश गर्न सक्छ र ? हाम्रो विद्यालयमा ९५ प्रतिशत शिक्षकले पुनर्ताजगी तालिम पाएका छैनन् । एक शैक्षिक सत्रमा कम्तीमा पनि एकपटक पुनर्ताजगी तालिमको व्यवस्था हुनुपर्छ । त्यसनिम्ति संघले नै बजेट छुट्याउनुपर्छ।”
निजामतीका कर्मचारीले विदेशमा अध्ययन भ्रमण गर्नेको अवसर पाए जस्तै शिक्षकका लागि पनि व्यवस्था हुनुपर्ने माग शिक्षकहरूको छ। शिक्षक ठकुरी भन्छन्, “छात्रवृत्तिमा अध्ययन भ्रमणका लागि हामीलाई अवसर छैन। निजामतीकाले आवास सुविधा पाउँछन्। हाम्रोमा प्रअ भत्ता रु.५०० छ। मर्यादाक्रममा शिक्षक अटाउन सकेको छैन। यस्तो विभेदले निराशा ल्याउँछ।”
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुर्खेतका शिक्षक भूपाल सिंह ठकुरी ।
शिक्षकको मनोबल बढाउन नीतिगत व्यवस्था हुनुपर्ने माग जन-उदय मावि, ललितपुरकी प्रअ मुना खनालको छ। उनी भन्छिन्, “सँगै काम गरेका निजामतीका साथीहरू फाइल बढुवाबाट बढुवा भइसकेका हुन्छन् । हाम्रो ढिलो हुन्छ। मावि शिक्षकलाई खरिदार, प्रासले पनि भ्यालु दिंदैनन् । निजामती भन्दा १/२ हजार बढी तलब दिए पनि आत्मसम्मान बढ्थ्यो। ४ महीनामा एकचोटि तलब पाइन्छ । यस्ता कुराले मनोबल घटेको छ।”
बढुवा नहुँदा निराशा
लामो समयसम्म एउटै श्रेणीमा बस्नु पर्दा, बढुवा नहुँदा शिक्षकहरूको मनोबल गिर्ने गरेको पाइन्छ।
शान्ति नमूना माविकी शिक्षक गौतम भन्छिन्, “१८/१९ वर्ष काम गर्दा पनि बढुवा भएको छैन। लामो समयसम्म एउटै पदमा बसेर काम गर्दा निराशा पैदा हुन्छ । जिल्लान्तर गरेर शिक्षक ल्याइँदा मौका पनि हुन्छ। पद रिक्त नभएपछि बढुवाका लागि विज्ञापन खुल्दैन।” उनले २०७१ सालमा मावि स्थायी तहमा नाम निकालेकी हुन्। त्योभन्दा अघि ८ वर्ष राहत दरबन्दीमा कार्यरत थिइन्।
“शिक्षकलाई समाजमा बौद्घिक वर्गको रूपमा हेरिन्छ। विकास निर्माणका कार्य हुन् वा अन्य सामाजिक कार्य विभिन्न समितिमा बस्न आग्रह गरिन्छ। यो समाजबाट पाइने सम्मान हो।”
सीता गौतम, शिक्षक, शान्ति नमूना माध्यमिक विद्यालय, रूपन्देही
२०७६ सालमा शिक्षक सेवा आयोग पास गरेका युवा शिक्षक भूपाल सिंह ठकुरी शिक्षण पेशामा जुन श्रेणीमा कार्यरत छन्, उही तहमा अवकाश हुने स्थिति देख्दा आफूलाई पनि कहिलेकाहीं निराशा लाग्ने गरेको बताउँछन्। उनी भन्छन्, “निजामतीमा पाँच वर्षपछि खरिदार सुब्बा हुन्छ । एक तह बढुवा हुन्छ। शिक्षण पेशामा यस्तो हुँदैन।”
हिमालय मावि, सुर्खेतका प्रअ मानबहादुर सिंह अब दुई वर्षपछि २०८२ सालमा अवकाश हुँदैछन्। उनी २०४५ सालमा निमावि तह तथा २०६० सालमा मावि तहमा स्थायी भएका हुन्। शिक्षण पेशामा ३५ वर्ष हुँदा पनि उनको बढुवा भएको छैन । “कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि पटकपटक प्रयास गरें, भएन । बढुवा प्रक्रिया पारदर्शी छैन। पहुँचवालाको हुन्छ । अब म निराश भइसकेको छु । अवकाश हुने बेलामा जुन श्रेणीमा कार्यरत हो, एक तह बढुवा गर्ने व्यवस्था छ । अवकाश हुने बेलामा गरिने यस्तो मानार्थ बढुवाको के अर्थ !’ उनी निराशा व्यक्त गर्छन्।
कार्य सम्पादन मूल्यांकन प्रक्रिया पारदर्शी, विश्वसनीय र निष्पक्ष नभएको थुप्रै शिक्षकको गुनासो छ । यसले गर्दा उनीहरूमा पेशाप्रति वितृष्णा जागेको छ । केही शिक्षक त पेशालाई निरन्तरता नदिने समेत निर्णयमा पुगेका छन्। एक शिक्षक भन्छन्, “कासमुबाट हुने बढुवा निष्पक्ष हुँदैन । मैले त भर्नै छाडें । लिखितमा पनि नाम निकालें । तर अन्तर्वार्तामा भएन। अरू कारणले पेशामा सन्तुष्ट रहे पनि यसले वितृष्णा जागेको छ । अब ३/४ वर्षमा २० वर्ष पुगेपछि स्वेच्छिक अवकाश लिने सोचमा छु।”
शिक्षक बढुवा रिक्त दरबन्दी विवरणको आधरमा ७५ प्रतिशत कार्य सम्पादन मूल्यांकन र २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक आधारमा हुन्छ । आन्तरिक प्रतियोगिता शिक्षक सेवा आयोगले लिने लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा हुन्छ।
कासमुमा ज्येष्ठता, शैक्षिक योग्यता, तालिम, विद्यार्थीको शैक्षिक उपलब्धि लगायत गरेर अंक छुट्याइएको हुन्छ। प्रअले सुपरीवेक्षकका रूपमा र प्रअ सहितको स्थानीय तहका तोकिएका अधिकारी सम्मिलित पुनरावलोकन समितिले मूल्यांकन गर्ने व्यवस्था छ। प्रअको कासमुमा चाहिं विव्यस अध्यक्ष सुपरीवेक्षक रहने अवस्था छ।
विद्यालयबाट प्रअले अंक दिंदा पक्षपात हुने धेरैको बुझइ छ। एक विव्यस अध्यक्ष भन्छन्, “आफूलाई मन पर्ने शिक्षकलाई बढी नम्बर दिन्छन् ।” प्रअ हुँदा कसले सपोर्ट गर्यो, कसले गरेन भन्ने कारण पनि कसैले कम कसैले बढी अंक पाउने गरेको सुनिन्छ भन्छन् त्रिपद्मका सहायक प्रअ कन्दङ्वा। तर नन्दी मावि, काठमाडौंकी प्रअ अरूको बारेमा थाहा भएन, आफूले कामको आधारमा मूल्यांकन गर्ने गरेको बताउँछिन्।
कासमु गायब पारिन्छ
स्थायी भएपछि प्रत्येक वर्ष शिक्षकले कासमु भर्छन्। ५ वर्षपछि कासमुको गणना हुन्छ। र बढुवा प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था छ। शिक्षकले कासमु फारम भरी विद्यालयमा दर्ता गरी प्रअलाई बुझउनुपर्छ। त्यहाँबाट मूल्यांकन भएपछि स्थानीय तहमा जान्छ। त्यहाँबाट जिल्ला शिक्षा विकास समन्वय इकाइमा जान्छ। त्यसपछि क्षेत्रीय शिक्षा विकास निर्देशनालयमा जान्छ। र अन्तिममा त्यहाँबाट बढुवाका लागि सिफारिश भएका शिक्षकको नामावली प्रकाशन हुन्छ।
शिक्षकहरूका अनुसार यो बीचमा कसैको कुनै वर्षको कासमु फायल नै शिक्षा विकास निर्देशनालयमा पुगेको हुँदैन । गायब पारिएको हुन्छ । कसैको कागजातमा सही छाप छुटेको हुन्छ। जुन वर्षमा यस्तो हुन्छ, त्यो वर्ष काममुबाट अंक प्राप्त हुँदैन । विव्यस अध्यक्ष भन्छन् , “कि प्रअ कि स्थानीय तह कि इकाइबाट गायब पारिएको हुन्छ । विकास निर्देशनालयमा नै पनि हराउन सक्छ।”
हिमालय मावि, सुर्खेतका प्रअ सिंह पनि कासमु हराउने गरेको बताउँछन्। उनी भन्छन्, “शिक्षा विकास निर्देशनालयमा बुझदा पालिकाबाट आएन भन्छन्।”
ज्ञानोदय मावि, काठमाडौंका प्रअ नातिकाजी महर्जनले पनि यो समस्या भोगिसकेका छन्। स्थायी भएको बीस वर्षमा चार महिना अघि मात्र उनको बढुवा भयो । उनी भन्छन्, “१० वर्षअघि नै मेरो बढुवा हुनुपर्ने थियो । आफ्नो नम्बर कम आएपछि शिक्षा विकास निर्देशनालय, हेटौंडामा बुझें। त्यहाँ बुझदा ज्ञानोदयको फायल नै आएको छैन भनियो। लापरबाहीको हद छ । कसले कसरी गायब पार्छन्, थाहा हुँदैन । प्रमाण पनि हुँदैन।”
“विद्यार्थीबाट पाउने सम्मान महत्तवपूर्ण पक्ष हो। जिल्लामा प्रमुख जिल्ला अधिकारीले भन्दा शिक्षकले बढी सम्मान पाउँछ। शिक्षकका धेरै विद्यार्थी हुन्छन्।”
लोकबहादुर खत्री, प्रअ, कृष्ण संस्कृत मावि, सुर्खेत
प्रअ काफ्ले अर्को पीडित हुन्। उनी भन्छिन्, “मेरो दुई वर्षको कासमु थिएन। २ वर्षको अंक नजोडिंदा पछि परें । कहाँबाट हराउँछ ? जवाफ नै पाइँदैन । धेरै पीडित छन्। तर उपाय नै छैन।”
शिक्षकलाई ५ वर्षपछि मात्र कासमुबारे थाहा हुन्छ । वर्षैपिच्छेको थाहा पाउने व्यवस्था छैन। बढुवाका लागि सहभागी भएपछि कासमुबाट कति नम्बर आयो भनेर खोज्ने क्रममा उनीहरूले कासमु गायब भएको थाहा पाउँछन्। एकैचोटि पाँच वर्षपछि थाहा हुने हुँदा कहिले कहाँबाट हरायो भन्ने प्रमाण शिक्षकसँग हुँदैन । जसले गर्दा उनीहरू उजुरी गर्न सक्दैनन्।
बढुवा प्रक्रियामा चित्त नबुझें शिक्षक सेवा आयोगमा उजुरी दिन सकिने व्यवस्था छ तर एक त प्रमाण नहुने अर्को उजुरी झुटा ठहरिएमा अंक घटाइने कारण शिक्षकहरू उजुरी दिन डर मान्ने गरेका छन्।
वर्षैपिच्छेका कासमु हेर्न मिल्ने व्यवस्था नभए पनि पहुँच र चिनजानका आधारमा स्थानीय तह, जिल्ला इकाइ र निर्देशनालयमा नम्बर र कागजात हेर्न सकिने मावि तहका एक शिक्षक बताउँछन्। आफ्नो कम अंक आएपछि उनले चिनजानका आधारमा आफ्नो कागजातमा भएको त्रुटि पत्ता लगाएका थिए। उनी भन्छन्, “मेरो कागजातमा समन्वय इकाइका तोकिएका अधिकारीको सही छुटेको रहेछ । ती अधिकारी अन्तै सरुवा भइसकेका थिए । त्यहीं गएर मैले सही गराएँ । सामूहिक कागजातमा सही गर्नुपर्दा मानवीय त्रुटि भएको पनि हुनसक्छ । कसैलाई अगाडि ल्याउने नियतले छुटाएको पनि हुनसक्छ।”
कासमु बढुवा प्रक्रिया निष्पक्ष र लापरबाहीपूर्ण छ भन्ने यी केही उदाहरण हुन्। ज्ञानोदयका प्रअ महर्जन भन्छन्, “स्थानीय तह, समन्वय इकाइ र निर्देशनालय सबै ठाउँमा पदीय रूपमा अनुशासित हुनुपर्छ। साथै हामी शिक्षकले लिखित प्रक्रियाबाट हुने बढुवामा पनि प्रयास गर्नुपर्छ।”
शिक्षण जस्तो चुनौतीपूर्ण पेशामा जिम्मेवारी निर्वाह गर्न शिक्षकको सन्तुष्टि र खुशीले महत्वपूर्ण भूमिका खेल्छ । पेशामा सन्तुष्ट, खुशी र उत्साहित शिक्षकको मनोबल उच्च हुन्छ। उच्च मनोबल भएको शिक्षकले मात्र जिम्मेवार भई विद्यार्थीको सिकाइ, विकास र विद्यालय सुधारमा सकारात्मक प्रभाव पार्न सक्छन् । त्यसैले विद्यालय र राज्यका निकायले उनीहरूको वितृष्णा र निराशालाई सम्बोधन गर्नु अति जरूरी छ।