पाठ्यक्रम बेवास्ता गर्दै पाठ्यक्रम विकास केन्द्र !

स्वीकृति नलिइएका पूर्व प्राथमिक तहका किताब बजारमा बिक्री-वितरण भइरहेको थाहा पाउँदा समेत पाठ्यक्रम विकास केन्द्रले अनुगमन तथा नियमन गरेको छैन। शैक्षिक सत्र २०८१/२०८२ र २०८३ का लागि केन्द्रबाट स्वीकृति पाएका प्रकाशकहरूको समेत अघिल्ला वर्षहरूका किताब-बिक्री वितरणका लागि बजारमा छन्।

हामीले नमूनाका रूपमा हेरेकामध्ये गिनिज पब्लिकेसन प्रालि, ज्ञानवृक्ष पब्लिकेसन र इडिटा पब्लिकेसन प्रालिका पुराना किताब बिक्रीका लागि छन्। गिनिजको २०७९ मा पुर्नमुद्रित, इडिटा र ज्ञानवृक्षको गत वर्ष २०८० सालका किताब पाइएका छन्। यी तीनै प्रकाशकले २०८१ देखि २०८३ सम्मका लागि किताब निकाल्न केन्द्रबाट स्वीकृति पाएका छन्।

पाठ्यक्रम विकास केन्द्रले यो शैक्षिक सत्रदेखि पहिलो पटक प्रारम्भिक बाल कक्षा/पूर्व प्राथमिक तहका किताब निकाल्न स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो। डेढ दर्जन प्रकाशकले तीन वर्षका लागि किताब निकाल्न स्वीकृति पाएका छन्।

यस अगाडि प्रयोगमा आइसकेका पाठ्यसामग्री मूल्याङ्कनका लागि पेश गर्न र स्वीकृत भएपछि मात्र प्रयोगमा ल्याउन सकिने भनेर केन्द्रले २०८० जेठमा नै सूचना निकालिसकेको थियो। केन्द्रको स्वीकृति प्राप्त नगरी प्रकाशन, मुद्रण र बिक्री-वितरण गरेमा दुई वर्षसम्म विक्री-वितरण गर्न स्वीकृति नदिइने व्यवस्था छ।


केही प्रकाशक तथा पुस्तक बिक्रेताले अघिल्ला वर्षका स्टक किताब बेच्न पाउने सहमति भएको बताएका छन्। टाइम्स इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत, पुरुषोत्तम दाहाल भन्छन्, ‘पाठ्यक्रम विकास केन्द्रसँग २०८० मा प्रकाशित किताब बेच्न पाउने सहमति भएको छ। प्रकाशक र केन्द्रका अधिकारीहरूबीच मौखिक रूपमा यस्तो सहमति भएको हो। हाम्रो प्रकाशनको पनि २०८० सालकै किताब अहिले बजारमा छ।’

तर पाठ्यक्रम विकास केन्द्रका तत्कालीन महानिर्देशक बैकुण्ठ अर्याल खण्डन गर्दै भन्छन्, ‘प्रकाशकहरूसँग यस्तो कुनै सहमति भएको छैन। दुई हप्ताभित्र हामी नमूना किताब तयार गर्छौ। त्यसपछि अनुगमन गरेर कार्वाही गछौं।’

शैक्षिक सत्र शुरू भएको महीना दिन बित्न लाग्दा र जानकारी हुँदा पनि उपत्यकामै कतै पनि अनुगमन नहुँदा स्वीकृति नलिइएका पुराना किताब बेच्न केन्द्रले छुट दिएको हो कि भन्ने आशंका उब्जिएको छ। केन्द्रले तयार गर्ने नमूना किताब आइन्जेल पुराना स्टक पनि धेरै सकिइसकेको र विद्यालयहरूमा गइसकेको हुन सक्छ।

अनुगमन र नियमन गर्ने निकाय फितलो हुँदा पाठ्यक्रमले निर्धारण गरेको सिकाइ क्षेत्रभन्दा बाहिर गएर लेखिएका अस्पष्ट सन्देश दिने खालका किताब प्रयोग भइरहेका छन्।

युकेजीमा प्रयोग भइरहेको इडिटा पब्लिकेशन्सले गत वर्ष निकालेको किताबमा गोप्य अंग 'Private Parts' शीर्षक छ। शीर्षक यस्तो भए पनि राम्रो स्पर्श 'Good Touch' र नराम्रो स्पर्श 'Bad Touch' का बारेमा केन्द्रित छ। बालबालिका र शिक्षकलाई यसैबारेमा निर्देशन गरिएको छ।

सामान्यतया युकेजीमा पाँच साढे/पाँच वर्षका बालबालिका हुन्छन्। यो उमेरका बालबालिकालाई राम्रो स्पर्श र नराम्रो स्पर्शका बारेमा बुझाउनु आवश्यक हो कि होइन ? हो भने कसरी बुझाउने ? शिक्षकलाई यस विषयमा कति थाहा छ ? साना बालबालिकालाई कसरी सिकाउने भन्ने विधिका बारेमा कति ज्ञान छ ? यी पक्षमा ख्याल नगरी यस्ता विषयवस्तु राख्दा कलिला बालबालिकाले कस्तो सन्देश ग्रहण गर्लान् भन्ने लेखकले ख्याल नगरेको देखिन्छ।

प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ मा यो विषयवस्तु छैन। स्वास्थ्य, पोषण, सुरक्षा र वातावरण सीप अन्तर्गत बालबालिकाले शरीरका विभिन्न अंगहरूका नाम र काम बताउन सक्नुपर्ने पाठ्यक्रममा उल्लेख छ।

इडिटाले गत वर्ष प्रकाशन गरेको गणित विषय क्षेत्रको किताबमा पनि पाठ्यक्रमले निर्दिष्ट गरेको सक्षमता र सिकाइ उपलब्धिलाई ख्यालै नगरी गह्रौं विषयवस्तु राखिएको छ। जोड घटाउ, अङ्कलाई अक्षरमा लेख्ने, रोमन नम्बर समेत छ।  कक्षा-१ मा सिक्नुपर्ने भन्दा बढी कन्टेन्ट राखिएको छ।
पाठ्यक्रममा चाहिं पूर्व गणीतिय सीपमा ९ सम्मको संख्या गन्न सक्ने, एक अङ्कका संख्या चिन्न, सानो ठूलो, अग्लो होचो, पूरा र आधा भागको धारणा बुझ्न सक्ने हुनुपर्ने भनिएको छ।

आधारभूत तह कक्षा १–३ को एकीकृत पाठ्यक्रम, २०७६ मा कक्षा–१ का बालबालिकालाई १०० सम्मको संख्याको ज्ञान, एक देखि बीससम्मको संख्यालाई अक्षरमा लेख्न र हातलागी नआउने २० योगफल आउनेसम्मको जोडको बारेमा जान्नुपर्ने भनिएको छ।

पूर्व प्राथमिक/प्रारम्भिक बाल शिक्षामा गुणस्तर कायम गरी एकरूपता कायम गर्न उद्देश्यले केन्द्रले पाठ्यसामग्री मूल्याङ्कन गरी स्वीकृत भएपछि मात्र छपाइ तथा बिक्री-वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि यस्तो व्यवस्था थिएन। पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री स्वीकृत गर्नुपर्ने भन्ने निर्णय राष्टिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले २०८० वैशाखमा गरेपछि पाठ्यक्रमका आधारमा पूर्व प्राथमिक/प्रारम्भिक बाल विकास र शिक्षाका सिकाइ सामग्री (पाठ्यसामग्री) विकासका आधार तयार गरियो।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९ अनुसार केन्द्रका प्रमुख अध्यक्ष रहने पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङ्कन समितिबाट स्वीकृती पाएपछि मात्र प्रकाशक/लेखकले किताब/सिकाइ सामग्री निकाल्न सक्छन्। तर यो समितिले नै प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ को वेवास्ता गरेको पाइएको छ।

पाठ्यक्रम विकास केन्द्रले यो शैक्षिक सत्रदेखि लागू हुने गरी स्वीकृति दिएका किताबमा पनि पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धीभन्दा बढी राखिएको छ। जस्तो किडस पब्लिकेशन्सले ४ वर्ष उमेर समूहका लागि निकालेको किताबमा चन्द्र विन्दु र शिरबिन्दुको बारेमा दिइएको छ। आधारभूत तह कक्षा १-३ को एकीकृत पाठ्यक्रम २०७६ मा कक्षा-१ मा नेपाली विषय क्षेत्रमा चन्द्रबिन्दु र शिरबिन्दुको पहिचान र प्रयोग उल्लेख छ। पाँच वर्ष उमेर समुहको किताबमा पनि पाठ्यक्रमभन्दा बाहिर गएको पाइन्छ। 

प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ मा पढाइ-लेखाइ भन्दा शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक, सृजनात्मक, अभिव्यक्ति तथा संचारका लागि भाषिक, पूर्व गणीतीय लगायतका सीपमा जोड दिनुपर्छ भनिएको छ।  

जस्तो संवेगात्मक सीपमा उनीहरूले परिवेशअनुसार हाँसो खुशी भय स्नेह विस्मात प्रकट गर्न, संयमित हुन सिक्नुपर्छ। बौद्धिक सीपमा देखेका र भोगेका घट्ना बताउन, नौलो विषयमा चासो राखी सूचना संकलन गर्न सक्नुपर्छ। भाषिक सीपमा सुनाइ र बोलाइमा जोड दिइएको छ। पूर्व लेखन अभ्यास जस्तै सीधा छ्ड्के वक्ररेखा निर्माण, थोप्लाहरू जोडी आकृति निर्माण गर्न सक्नुपर्ने उल्लेख छ। 

मूल्याङ्कनको जिम्मेवारी पाएका मूल्याङ्कनकर्तामध्येका प्रारम्भिक बालविकास विज्ञ डा. मीनाक्षी दाहालले केही प्रकाशकका सिकाइ सामग्रीहरू मूल्याङ्कन गरेकी थिइन्। सिकाइ सामग्री÷किताबमा सुधारका लागि लागि लेखक/प्रकाशकसँग छलफल गर्दा बालबालिकाको हितमा सबै पक्ष पुग्न सकिने उनको जोड थियो। तर केन्द्रले यसमा वास्ता नगरेको उनको भनाइ छ। डा. दाहाल भन्छिन्, ‘तिनमा पाठ्यक्रमअनुसार केही पक्ष उपयुक्त थिए। केही अनुपयुक्त थिए। अक्षर, अङ्क घोकाउने र किताबबाट सार्नेमा जोड बढी थियो। बालबालिकालाई जिज्ञासु, बौद्धिक र सिर्जनशील बनाउने कन्टेन्ट कम पाएँ। प्रकाशक र लेखकसँग बैठक राख्नुस भनेर तीनपटक अनुरोध गरें। तर बैठक बोलाइएन । मैले दिएको सुझावअनुसार पछि सुधारेर ल्याइयो कि ल्याइएन, त्यो देखाइएन।’

टाइम्स इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम दाहालको भनाइमा पाठ्यसामग्री पाठ्यक्रममा आधारित छ/छैन भनेर केन्द्रले खासै हेर्दैन। उनी भन्छन्, ‘किताब प्रकाशित अघि हुनुअघि राजश्व तिरेर पाठ्यसामग्री मूल्याङ्कनका लागि बुझाइएको हुन्छ। केन्द्रले हेर्दैन। सेन्सरसिप गर्दैन। यदि हेरिहाल्यो भने पनि सबैलाई मिल्ने गरी हुन्छ। जस्तो फन्टको कुरा हुन्छ। पाठ्यक्रम विकास केन्द्रको काम राजश्व संकलन गर्ने मात्र भएको छ।’

पूर्वप्राथमिक तहको सिकाइ सामग्री मूल्याङ्कनका लागि प्रति सिकाइ सामग्री रु.३ हजार रुपैयाँ राजश्व बुझाउनुपर्छ। लेखक वा प्रकाशकले तीन प्रति बुझाउनुपर्छ। पाठ्यक्रम विकास केन्द्रले एकैपटक तीन शैक्षिक सत्रका लागि किताब निकाल्न स्वीकृति दिएको छ। ३,४ र ५ वर्ष उमेर समूहका लागि अलग अलग किताब/सिकाइ सामग्री निकाल्न स्वीकृति दिइएको छ। 

विद्यमान नीतिगत व्यवस्थाअनुसार चार वर्ष उमेर पूरा गरेका बालबालिकालाई एक वर्षको प्रारम्भिक बाल शिक्षा दिने व्यवस्था छ। विद्यालय शिक्षाको राष्टिय पाठ्यक्रम प्रारुप २०७६ मा चार वर्ष पूरा भएका बालबालिकालाई एक वर्षको प्रारम्भिक बाल विकासको अवसर र चार वर्षमुनिका बालबालिकालाई शिशु विकास केन्द्रमार्फत स्याहार र विकासको बारेमा उल्लेख गरिएको छ । यस्तै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ मा चार वर्ष पूरा गरेका बालबालिकालाई कक्षा १ मा प्रवेश गर्नुअघि दिइने एक वर्ष अवधिको शिक्षा भनिएको छ।

केन्द्रका तत्कालीन महानिर्देशक अर्याल भन्छन्, ‘नर्सरी, एलकेजी र युकेजी कक्षाहरू विद्यालयहरूमा अभ्यासमा छन्। व्यावहारिक पाटो पनि हेर्नुप¥यो । फरक-फरक उमेर समूहका बालबालिका छन्। यस्तोमा एउटै किताब सबैतिर लगाएर हुँदैन । बिस्तारै सिस्टममा ल्याउँछौं।’

तर डा. दाहाल व्यवहारमा होइन नीतिगत व्यवस्थालाई आधार मान्नुपर्ने बताउँछिन्। डा. दाहाल भन्छिन्, ‘भएका कानूनदेखि नीतिगत दस्तावेजले ४ वर्ष उमेर पूरा भएका बालबालिकाका लागि एक वर्षको प्रारम्भिक बाल शिक्षा भनेका छन्। र, पाठ्यक्रम पनि छ। चार वर्षमुनिका लागि स्याहार र विकासमा केन्द्रित गर्नुपर्छ। क्रियाकलाप पुस्तिका पनि बनेको छ। युकेजीको बारेमा त कुनै दस्तावेजले बोल्दैन। हुँदै नभएको कक्षाका लागि कसरी स्वीकृति दिन मिल्छ ? यो गैरकानूनी हो। कक्षा–१ मा जानुपर्ने बालबालिका युकेजीमा राखिँदा अभिभावकको पैसा पनि क्षति भएको छ।’

commercial commercial commercial commercial