नपढाउनु, नजाँच्नु भनेको त होइन !
२०६६ सालको एसएलसी परीक्षामा अंग्रेजीमा १५, गणितमा २० र विज्ञानमा ३० अङ्क प्राप्त गरे की देवीमाया आचार्य शैक्षिक योग्यताका हिसाबले ‘एसएलसी अनुत्तीर्ण’ हुन्। यो पहिचान उनले कक्षा १० सम्म पढेको कुरा स्थापित गर्न पर्याप्त हुन्छ। अर्थात्; यसबाट उनी कक्षा-१ देखि ९ सम्म मात्रै होइन, कक्षा-१० को योग्यता (टेष्ट) परीक्षामा समेत उत्तीर्ण भएको निर्विवाद तथ्य स्थापित हुन्छ। तर, यथार्थ के भेटिन्छ भने उनी कक्षा-४, ५, ६, ७, ८, र ९ मा समेत ती विषयमा कमजोर, प्रायः अनुत्तीर्ण नै थिइन्। देवीमायाले पढेको विद्यालय नेपाल राष्ट्रिय निर्माण उमावि, मूलपानीको रोष्टर पल्टाएर हेर्दा कक्षा ४ देखि १० सम्म नै गणितमा ३२ अङ्क मात्र प्राप्त गरेको देखिन्छ। अङ्ग्रेजीमा ६ देखि माथिका सबै कक्षामा ३२ पाएकी छन्। विज्ञान विषयमा पनि उनी सधैँ कमजोर नै रहँदै आएकी थिइन्। (हे. तालिका १)
३२ भनेको न्यूनतम उत्तीर्णाङ्क हो। निश्चित विषयहरूमा हरेक कक्षाको परीक्षामा प्राप्ताङ्क ३२ देखि नुको अर्थ, सम्बद्ध विद्यार्थीलाई फेल गराउन नसकेर वा नचाहेर विद्यालय/शिक्षकले नपुग अङ्क थपिदिएको भन्ने हुन्छ। देवीमायाको हकमा कक्षा ४ देखि नै यस्तो भएको देखिन्छ। एसएलसीको मौका परीक्षामा पनि उनले अङ्ग्रेजीमा २४ र गणितमा १८ अङ्क भन्दा बढी प्राप्त गर्न सकिनन्। परिणामतः उनी पहिलो पटक अनुत्तीर्णको अनुत्तीर्ण नै रहन पुगिन्; माथिल्लो कक्षामा जान पाइनन्।
अङ्ग्रेजीमा ३० र गणितमा १३ अङ्क ल्याएर एसएलसी अनुत्तीर्ण छेवाङ तामाङ पनि साना कक्षा देखि उत्तीर्ण भएरै कक्षा १० सम्म पुगेको मान्न कर लाग्छ। किनभने एसएलसी अनुत्तीर्ण भए पनि उनी त्यसभन्दा अघिका कक्षामा अनुत्तीर्ण भएको रेकर्ड कतै पाइँदैन। तर, अङ्ग्रेजी, गणित र विज्ञानमा सानै कक्षा देखि नै उनी अनुत्तीर्ण हुँदै आएको तथ्य उनको प्राप्ताङ्कले देखाउँछ । कक्षा ५ को गणितमा ३२ अङ्क हासिल गरेका छेवाङले कक्षा-६ मा ३३, ८ मा ३२, ९ मा ३३, टेष्टमा ३२ अङ्क पाएका थिए। (हे.तालिका २)
यसैगरी, सुनमाया तामाङ, भीम तामाङ, रोजिना तामाङ, सन्तोष फुँयाल र राज कुमारी आचार्यको शैक्षिक योग्यता ‘एसएलसी उत्तीर्ण’ हो। एसएलसीको लब्धाङ्कपत्रले उनीहरूले अध्ययन गरेरै एसएलसी उत्तीर्ण गरेको देखाउँछ। तर, यथार्थ त्यस्तो छैन। स्कूलले प्रयोगात्मक परीक्षाको नाममा अङ्क थपेका कारण एसएलसी उत्तीर्ण हुन सफल यी छात्रछात्राहरू पनि प्रावि, निमावि र मावि तहमा अङ्ग्रेजी, विज्ञान र गणितमा अनुत्तीर्ण हुँदाहुँदै पनि कक्षा चढेको उनीहरूको कक्षागत प्राप्ताङ्कले देखाउँछ।
काठमाडौंको नेपाल राष्ट्रिय निर्माण उच्च माविका प्रअ मणिराम फुँयाल स्वीकार गर्छन्, “३२ अङ्क आएर उत्तीर्ण भएका विद्यार्थीहरू आफैँ उत्तीर्ण भएका नभई कक्षा चढाइएका हुन् ।” उनका अनुसार तल्ला कक्षामा तीन विषयसम्म लागेकालाई अङ्क थपेर कक्षा चढाइन्छ, एसएलसी वा टेष्टमा पुगेपछि ती असफल हुन्छन्। “तल्लो कक्षामा ३२ आएर उत्तीर्ण भएकाहरू अनुत्तीर्ण नै हुन्”, प्रअ फुँयाल स्पष्ट्याउँछन्। तर माथिल्लो कक्षामा फेल भएर निराश हुनेहरूमध्ये अधिकांशलाई आफू तल्लो कक्षामा पनि फेल भएको थिएँ भन्ने थाहा हुँदैन। किनभने उनीहरूले परीक्षाफल थाहा पाउनुअघि नै विद्यालयले अङ्क थपथाप गरेर ३२ पुर्याइसकेको हुन्छ। थुप्रै सरकारी स्कूलमा परीक्षार्थी वा अभिभावकलाई परीक्षाको विवरण (लब्धाङ्कपत्र) दिने चलन पनि रहेको पाइँदैन । परिणामतः विद्यार्थीसँगै अभिभावकहरू पनि छोराछोरीको सिकाइ स्तर /उपलब्धिबारे अनभिज्ञ रहन्छन्।
गणित/अङ्ग्रेजीको बोझ
गत वर्ष टेष्ट परीक्षामै असफल भएर कक्षा दोहो¥याइरहेकीगीतालाई शिक्षक प्रतिनिधिले अङ्ग्रेजीमा तिमी कति कक्षामा पढ्छ्यौ भन्ने प्रश्न सोध्दा उनको जवाफ थियो– “आई एम टेन क्लास ।”गीतालाई कक्षा १० को मात्र होइन, कक्षा-६ कै अङ्ग्रेजी पनि बुझन गाह्रो पर्छ। गणितमा पनि उनको आत्मविश्वास त्यतिकै कमजोर छ। गीता शारीरिक/मान सिक रूपमा निर्बल वा असक्त छैनन्। उनलाई अहिले कठिन लाग्ने विषय सानै कक्षा देखि नै कठिन लाग्थे, उनी यसै भन्छिन्। विद्यालयको पठन-पाठन कक्षागत, पाठगत तथा तहगत उद्देश्य अनुरुप हुन नसक्दा उनी खेलाँचीमै कक्षा-१० सम्म पुगिन् र पहिलो पटक अनुत्तीर्ण भइन्। योग्यताको हिसाबले उनी अनुत्तीर्ण हुने शृङ्खला कक्षा-४, ५, ७, ८ र ९ देखि नै चल्दै आएको थियो। ती सबै कक्षामा उनी गणित र अङ्ग्रेजीमा अनुत्तीर्ण भएकी थिइन्। तैपनि कक्षा भने चढ्दैगइन्। अहिले विद्यालयले सञ्चालन गरेको विशेष कक्षा र ‘ट्युसन’ पढ्दै गरे की भए पनि गीतालाई आउँदो टेष्ट र एसएलसी परीक्षा फेरि पनि पहाड बनेर उभिएको छ । साउन २०६७ मा स्कूलले लिएको पहिलो त्रैमासिक परीक्षामा उनी अङ्ग्रेजीमा र विज्ञानमा फेल भएकी थिइन्। गीता भन्छिन्, “विज्ञान त बरु घोक्न पनि सक्छु, गणित र अङ्ग्रेजी न घोक्दा हुन्छ, न पढ्दा बुझन्छि।”
प्राथमिक तहमै सिक्नुपर्ने कुरा नसिकी कक्षा-१० मा पुगेका कारणगीतालाई अङ्ग्रेजी, गणित र विज्ञानका सामान्य कुरा पनि कठिन लाग्नु स्वाभाविक देखिन्छ । तर उनको लागि सबैभन्दा अप्ठ्यारो कुरा भएको छ, समाज र उमेर । न त उनी ५–६ कक्षामा फर्किन सक्छिन्, न १० कक्षाको पाठ नै बुझन। साँच्चै दयनीय लाग्छगीताको यो अवस्था ।
टेष्टमा फेल भएरगीतासँगै कक्षा दोहो¥याइरहेका नवीन अवाल पनि अङ्ग्रेजी, गणित र विज्ञान अनुत्तीर्ण हुँदाहुँदै पनि कक्षा १० मा पुर्याइएका छात्र हुन् । उनी (a + b)2 = के हुन्छ भन्ने प्रश्नको जवाफ सङ्कोच नमानी दिन्छन्, ‘(a2+b2) । उनीसँगै बसेका अर्का छात्र निर्मल राईले उक्त प्रश्नको जवाफ a2+2ab+b2 भनेपछि उनले ‘ए हो र !’ भने ।
कठिन विषयका पाठहरू छिटो-छिटो अघि बढाइने गरेको, सम्बन्धित विषयका शिक्षकले आफू कमजोर भएकाले कम चासो दिने गरेको तथा घरमा नजानेको विषय सिकाउन सक्ने कोही नभएकाले सानै देखि अङ्ग्रेजी र गणितमा आफू कमजोर भएको नवीनको कथन छ। टेष्ट अनुत्तीर्ण भएपछि पढाइमै दत्तचित्त भएको बताउने नवीन साउन २०६७ मा भएको पहिलो त्रैमासिक परीक्षामा फेरि पनि गणित (१५), अङ्ग्रेजी (२०) र विज्ञान (२३) मा अनुत्तीर्ण नै भए । विद्यालयको रेकर्डले उनी यी विषयमा कक्षा-१०, ९, ८, ६, ५, ४ र ३ मा अत्यन्त कमजोर अर्थात् अनुत्तीर्ण रहँदै आएको देखाउँछ ।
सानै कक्षा देखि अनुत्तीर्ण हुँदै आएकागीता र नवीनलाई आफू तल्ला कक्षामा कुन- कुन विषयमा फेल भएँ, कुन कुन विषयमा कमजोर थिए भन्ने थाहा छैन। उनीहरू दुवैलाई गणित, विज्ञान र अङ्ग्रेजीमा उत्तीर्ण भएरै १० कक्षामा पुगेको लाग्छ । तर यथार्थ तिनले अनुमान गरेको जस्तो छैन । तीन विषयसम्म लाग्नेलाई पास गर्ने स्कूलको नीतिका कारण मात्रै उनीहरू पास भएका थिए । स्कूलको लेजरबाट यी छात्रछात्रको कक्षागत शैक्षिक प्राप्ताङ्क निकाल्न शिक्षक प्रतिनिधिलाई सहयोग गर्ने नेपाल राष्ट्रिय निर्माण उमावि, मूलपानीका शिक्षक राजु सिम्खडाको कथन थियो, “३५ भन्दा कम आएर उत्तीर्ण हुनेहरू कोही पनि उत्तीर्ण होइनन्; सबैजना स्कूलले अङ्क थपेर पास गराए का हुन्।”
तल्लो तह देखि नै नजानी नजानी माथिल्लो कक्षामा उकालिएका अनि एसएलसी ‘फेल’ भएर निराश हुने धेरैजसो विद्यार्थी सरकारी स्कूलमै भेटिन्छन् । ललितपुरको मदन स्मारक उमाविकी कृति श्रेष्ठ एसएलसी फेल भएको पीडाबाट मुक्त हुन पढाइ नै छाड्ने विद्यार्थीकी प्रतिनिधि हुन् । २०६६ सालको एसएलसीमा गणितमा १४ आएर फेल भएकी कृतिको त्यही विषयको मौका परीक्षामा पनि १७ कटेन । दुई पटक एउटै विषयमा असफल भएपछि कृतिको औपचारिक अध्ययन यात्राले विश्राम लिएको छ । सतहमा हेर्दा कृतिले एसएलसी जाँचका नियमित र मौका परीक्षामा सोधिएका गणितका प्रश्नपत्रको समाधान गर्न नसक्नु उनी ‘फेल’ हुुनुको एक मात्र कारण देखिन्छ । तर उनी गणितमा प्रावि देखि नै कमजोर थिइन्। (हे. तालिका ३)
मदन स्मारक उमाविकी प्रअ मोहनलक्ष्मी शाक्य भन्छिन्, “अनुत्तीर्ण छात्रछात्रालाई पनि कुनै कक्षामा नरोक्ने गरिएकाले कमजोर समेत उत्तीर्ण हुने गरेका छन्। तर, त्यस्ता विद्यार्थी टेष्ट र एसएलसीमा पुगेर पछारिइहाल्छन् ।”
२०६६ सालको एसएलसी जाँचमा सहभागी सिन्धुलीको जनता उमावि, चन्दनपुरका तेजनारायण थारू पाँच विषयमा अनुत्तीर्ण हुन्। उनको अङ्ग्रेजीमा २४, गणितमा २४, विज्ञानमा १९, सामाजिक अध्ययन तथा सिर्जनात्मक कलामा २७ र नेपाली विषयमा २१ अङ्क आएको छ । पाँच विषयमा ‘फेल’ भएको ले उनले एसएलसी मौका परीक्षामा सहभागी हुने अवसर त पाएनन् नै; फेरि कक्षा दोहोरयाएर जाँच दिने आँट पनि गर्न सकेका छैनन् । कक्षा ६ बाट अध्ययन शुरु गरेका तेजनारायणलाई विद्यालयले सधैँ आँखा चिम्लिएर उत्तीर्ण गराउँदै एसएलसी जाँचमा सहभागी हुने अवसर दियो । एक वर्षअघि कक्षा ९ को वार्षिक परीक्षामा चिट चोर्न नपाउँदा थारू आफ्नो उत्तरपुस्तिका च्यातेर परीक्षाबाट बाहिरिएका थिए। उक्त विद्यालयका शिक्षकगणेश थापा भन्छन्, “एसएलसीमा रराम्रो गर्ने छात्रछात्रा सानै कक्षा देखि राम्रा छन् भने एसएलसी फेल हुनेहरू तलै देखि फेल हुँदै माथि पुग्ने गरेका छन्।”
२०६६ को एसएलसी जाँचमा सहभागी भएकी सोममाया मगरको स्थिति पनि थारूको जस्तै छ। एसएलसीमा अङ्ग्रेजीमा १९, गणितमा ५, विज्ञानमा १८, नेपालीमा २२ र सामाजिक अध्ययन तथा सृजनात्मक कलामा २० अङ्क मात्र प्राप्त भएपछि उनको एसएलसी पास हुने धोको अधुरै रह्यो । उनी प्राविबाट अनुत्तीर्ण भए पनि उनलाई स्कूलले अङ्क थपेर पास गर्दै आएको थियो। ‘फेअर’ जाँच हुने र सही मूल्याङ्कन गर्ने हो भने सोममाया कुनै पनि विषयमा उत्तीर्ण हुनसक्ने देखिँदैन। तर कमजोर छात्रछात्रालाई ‘फेल’ पार्दा अभिभावक, शिक्षा अधिकारी र स्वयं छात्रछात्राबाट दबाब आउने हुँदा पाँच विषयमा फेल हुनेलाई पनि पास पार्नुपर्ने बाध्यता रहेको सम्बद्ध प्रअ तथा शिक्षकहरूको कथन पाइन्छ।
केही स्कूल भने अपवाद पनि भेटिन्छन्। धनकुटाको सदरमुकामबाट करिब ४० किलोमिटर उत्तरमा रहेको सरस्वती उमावि चानुवाले फेल भएकालाई पास गर्नु पर्ने स्थितिमा सुधार ल्याउनका निम्ति कमजोरलाई फेलै पार्ने गरेको छ । स्कूलको काममा मङ्सिरको दोस्रो साता काठमाडौं आएका उक्त स्कूलका प्रअ रुद्रबहादुर विश्वकर्मा भन्छन्, “अरू विद्यालयबाट कक्षा ६ मा भर्ना हुन हामीकहाँ आउनेलाई प्रवेश परीक्षा लिने गरिएको छ, कमजोरलाई कक्षा ९ भन्दा तलै रोक्छौं ।” नजान्नेलाई फेल पार्न खोज्दा अभिभावकबाट दबाब आउने भएकाले प्रअले स्कूलको व्यवस्थापन समितिबाट नजान्नेलाई कक्षा नचढाउने निर्णय गराए का छन्। “जाँच कडा हुन्छ, कमजोरलाई कक्षा चढाइन्नँ”, उनले शिक्षक प्रतिनिधिलाई भने।
यस्तो किन ?
कमजोर विद्यार्थी सिकाइका चरणबद्ध खुट्किला पार न गरी माथिल्लो कक्षामा पुग्नुमा कसलाई जिम्मेवार मान्ने ? स्कूलका सरोकारवालैपिच्छे यसको फरक–फरक जवाफ आउने गर्छ। प्रअ/शिक्षकहरू विद्यार्थीले मेहनत न गरेको तथा अभिभावकले छोराछोरीको पढाइमा चासो नदिएको जवाफ दिन्छन् भने विद्यार्थी चाहिँ या आफ्नो दिमागलाई दोष दिन्छन् या शिक्षकले रराम्रोसँग नपढाएको आरोप ल गाउँछन्। शिक्षा अधिकारी हरू भने ‘फेल’ विद्यार्थी माथिल्लो कक्षामा पुग्नुमा स्कूल र अभिभावकलाई जिम्मेवार देख्छन्। समस्याबाट उम्किन शिक्षक-सरकार-विद्यार्थी र अभिभावकबीच आरोप–प्रत्यारोपको यस्तो शृङ्खला चले पनि अनुत्तीर्णलाई कक्षा चढाउनुमा शिक्षा मन्त्रालयले लिएको ‘उदार कक्षोन्नति’ (लिबरल प्रोमोसन) नीतिकोगलत बुझइ र प्रयोग मुख्य कारक रहेको पाइन्छ। सरकारले कक्षा-३ सम्मका लागि लिएको उक्त नीतिलाई सरकारी स्कूलले कक्षा १० सम्मै लागू गरेको पाइन्छ। शिक्षा अधिकारी , विनि, स्रोतव्यक्ति लगायतले सरकारी विद्यालयका प्रअ तथा शिक्षकहरूलाई विद्यार्थी फेल न गर्न निर्देशन दिने गरेकाले पनि आधारभूत कुरा नै नसिकेका धेरै विद्यार्थीले एसएलसीमा वा टेष्टमा पुगेर असफलता व्यहोर्नु परेको देखिन्छ।
उदार कक्षोन्नतिलाई निहुँ बनाएर थुप्रै स्कूलका प्रअ तथा शिक्षकहरूले कक्षाको पठनपाठन रराम्रो पार्ने, परीक्षा प्रणालीलाई चुस्त र प्रभावकारी तुल्याउने अनि बालबालिकाको नियमित रूपमा सही मूल्याङ्कन गर्नु पर्ने दायित्वबाट आफूलाई स्वतः मुक्त गरेको भान हुन्छ । स्कूलले आफैँ पास गरिदिने भएपछि ‘मेरा बच्चालाई किन फेल पारेको मास्टरसाहेब’ भन्दै सोधखोज गर्ने अनि ‘छोरीको यसपालि विवाह गर्नु छ, पास गरिदिनुपरयो’ भन्दै स्कूल धाउने अभिभावकहरूको दबाब एवं गुनासो पनि प्रअ तथा शिक्षकहरूमा कम हुँदै गएको छ । ‘फलानो स्कूलमा त विद्यार्थी फेल हुन्छन्’ भन्ने अवगालबाट जोगिन र स्कूलको ‘पब्लिक इमेज’ रराम्रो देखाउन पनि कतिपय स्कूलले उदार कक्षोन्नति सम्बन्धी अवधारणाको दुरुपयोग गरेको पाइन्छ।
यसरी तहगत सिकाइको नियम उल्लङ्घन गरेर अनुत्तीर्णलाई पनि माथिल्लो कक्षामा पठाइदिने कतिपय सरकारी विद्यालयहरूको प्रवृत्तिले लाखौं बालबालिका र किशोर–किशोरीहरूको भविष्य धरापमा पारेको स्पष्ट हुन्छ। उदार कक्षोन्नतिको आशय अबोध बालबालिकालाई ‘फेल’ को बिल्ला भिराएर कुण्ठित पार्नुहुँदैन भन्ने सम्म हो। त्यसको मनसाय ‘पढाउँदै नपढाऊ, योग्यता नै नजाँच, विद्यार्थीको पढाइ र व्यवहारलाई वास्तै नगर तर माथिल्लो कक्षामा चाहिँ चढाइदेऊ’ भन्ने कदापि हुनसक्दैन।
शिक्षक मासिक, २०६७ पुस अंकमा प्रकाशित।