एक असल र योग्य शिक्षक ( व्यक्तित्वः धनञ्जय तिमिल्सिना )

मेरो छापामारको छो रो कथा सङ्ग्रहलाई २०६३ सालको मदन पुरस्कार दिने निर्णय भएको सुनेपछि मलाई अनायासै मेरो विद्यालयका नेपाली गुरु धनञ्जय तिमिल्सिनाको सम्झना आयो । मलाई लाग्यो, मेरोसँगै उहाँको पनि सपना साकार भएको छ । मैले श्रद्धेय गुरुलाई सम्झ्ँदै आफ्नो शिर झुकाएँ

मलाई अहिले पनि सम्झना छ, कैलालीको टीकापुर आवासीय माध्यमिक विद्यालय (हाल वीरेन्द्र विद्यामन्दिर) मा आठ कक्षामा अध्ययनरत् छँदा जाडो महिनाको एक दिन प्रधानाचार्य थोमस बर्गिजले एउटा नौलो अनुहारको परिचय दिँदै भन्नुभयो, “उहाँ तिमीहरूका नयाँ नेपाली शिक्षक हुनुहुन्छ ।” हामी उत्सुक भयौं । नयाँ नेपाली गुरुले त्यसै दिन हामीलाई नेपाली पढाउनु भयो । पढाउनु का साथसाथै हामीलाई आफ्नो समग्र परिचय दिन पनि बिर्सनुभएन । उहाँ भर्खर मात्र नेपाली विषयमा एम.ए. को डिग्री प्राप्त गरी आउनुभएको थियो । उहाँले धेरै साहित्यिक रचनाहरू पनि लेख्नुभएको थियो । उहाँको समग्र व्यक्तित्व थाहा पाएपछि म औधी खुसी भएँ । मलाई मेरो साहित्यिक रुचिले बल्ल उपयुक्त ‘गाइड’ फेला पारेको महसूस भएको थियो ।

उहाँको अध्यापनमा मौलिकता थियो । उहाँ फुर्सदको बेला आफूले लेखेका निबन्धहरू सुनाएर हामीलाई पनि लेख्न र सुनाउन लगाउनुहुन्थ्यो । मेरो साहित्यमा अभिरुचि रहेको भन्ने थाहा पाउँदा उहाँ साहै्र खुसी हुनुभयो । विद्यालयको वार्षिकोत्सवको अवसर पारेर उहाँले साहित्यिक प्रतियोगिता गराउनु भयो । मेरो ‘ गुनकेसरी लता’ नामक कविता प्रतियोगितामा द्वितीय भयो ।

विद्यालयमा मलाई गणित गाह्रो र नेपाली सजिलो लाग्थ्यो । त्यसैले नेपाली गुरुको प्यारो चेलो बन्न मैले कुनै प्रयास गर्नु परेन । गुरुले ह्रस्व–दीर्घको ज्ञानसँगै लय हालेर छन्दोबद्ध कविता वाचन गर्न पनि सिकाउनु हुन्थ्यो । परिणामतः म त्यतिबेला नै शम्भुप्रसाद ढुङ्गेलको ‘जान्छिन् आज शकुन्तला घर भनी ’, माधव घिमिरेको ‘जुँघा रेखी भरखर बसी’, लेखनाथको ‘म खाऊ मै लाऊँ’ आदि कविताहरू भाका हाली गुन् गुनाउनेगर्थेँ ।

नेपाली पुस्तक पढाउँदा उहाँले सम्बन्धित पाठको रचना गर्ने साहित्यकारका बारेमा पनि प्रशस्त जानकारी दिनुहुन्थ्यो । धनञ्जय गुरुको सिकाइले मैले भानुभक्त र मोतीरामलाई चिनेँ,गोठाले चिनेँ र विकल चिनेँ, सिद्धिचरण र रिमाललाई चिनेँ, भूपि र पारिजातलाई चिनेँ । त्यस बेला नेपाली साहित्यकारप्रति मेरो हृदयमा जुन आदर र श्रद्धा जागेको थियो, धनञ्जय गुरु नहुनुभएको भए सायद त्यो भावना नै आउँदैनथ्यो कि ! उहाँ पनि दिनप्रतिदिन ममा जागिरहेको साहित्यिक तृष्णा देखेर रमाउनुहुन्थ्यो । मेरा साथीहरूसँग उहाँ ‘महेश त मभन्दा पनि रराम्रो निबन्ध लेख्न थाल्यो नि ’! भनेर मलाई फुरुङ्ग पार्नुहुन्थ्यो ।

विद्यालयमा अध्ययनरत् छँदाखेरि नै, एक दिन म धनञ्जय गुरुको टीकापुर–अवस्थित घरमा डेरा गर्न आइपुगेँ । गाउँबाट सधैँ एक घण्टा हिँडेर विद्यालय धाउँदा पढाइमा बाधा पर्ने देखेर मेरा माता–पिताले गुरुसँग कुरा गरी सँगै रहने व्यवस्था मिलाइदिनुभएको थियो । हराम्रो विद्यालय धनञ्जय गुरुको घर छेवैमा थियो । जान–आउन पाँच मिनेट पनि लाग्दैनथ्यो । गुरुको घरमा बस्न थालेपछि अब ओहोरदोहोरको लखतरानलेगुज्रिने समय अध्ययनमा लगाउने मौका मिलेको थियो । म गुरुसँग सधैँ जसो साहित्यिक विचार –विचार गरिरहन्थेँ । गुरु पनि विश्वप्रसिद्ध साहित्यकारका जीवनीहरू सुनाएर मलाई उनीहरूजस्तै बन्ने प्रयास गर्ने प्रेरणा दिनुहुन्थ्यो ।

एक दिन म आफ्नो कोठामा बसेर पाठ पढिरहेको थिएँ । गुरु भुइँतलामा रहेको भान्साकोठामा बिहानको खाना पकाइरहनु भएको थियो । उहाँले एक्कासि मलाई बोलाउनुभयो । म भर्याङ ओर्लंदै तल गएँ । भान्साकोठा धूवाँको कुइरीमण्डलले ढाकिएको थियो । गुरु सेतो धोती बेरेर काठको पिर्का माथि बसिरहनु भएको थियो । उहाँको नजिकै ताउलोमा भात छड्किरहेको थियो । घरी–घरी उहाँ चुलोमा दाउरा ठोसिरहनु भएको थियो । उहाँको अगाडि विद्यार्थीका गृह कार्यका कपीहरू असरल्ल थिए । उहाँले भान्सा नछोइकन नजिकैको पिर्कामा बस्ने आदेश दिनुभयो । गुरुको हातमा मेरो नेपालीको गृह कार्यको कपी थियो । कपी खुल्ला थियो र ठाउँ–ठाउँमा गुरुले सच्याएका राता चिह्नहरू दृष्टिगोचर भइरहेका थिए । गुरुले मतिर हेर्दै भन्नुभयो, “बाबु महेश ! म तिम्रो नेपाली गृह कार्यको कपी जाँचिरहेको छु । तिम्रो नेपाली लेखाइले म अति नै प्रभावित छु । तिम्रो लेखाइले तिमी भविष्यमा साहित्यकार बन्न सक्ने सम्भावनालाई इङ्गित गर्द छ । ठूलो भएर, पढेर जागिर खाने, पैसा कमाउने, मोजमस्तीसँग बस्ने कुरा जीवनको उद्देश्य हुनुहुँदैन । तिम्रो जीवनको उद्देश्य भनेको लेखनाथ हुनुपर्छ, देवकोटा हुनुपर्छ र सम हुनुपर्दछ । म यही चाहन्छु ! तिमी भविष्यमा ठूलो साहित्यकार बन, मदन पुरस्कार पाऊ र नाम कमाऊ ।”

करिब आधा घण्टाजति चुलामा छड्किरहेको भात पकाईवरी तरकारीको कराही चुला माथि बसाल्दासम्म पनि उहाँ मेरो भविष्यका बारेमा नै बोलिरहनु भएको थियो । म मन्त्रमुग्ध भएर उहाँलाई सुनिरहेँ । मलाई त्यस घटनाले हदैसम्म प्रभावित गरयो ।

मेरो विद्यालय त्यस बेला सुदूरपश्चिम क्षेत्रकै नाम चलेको विद्यालय थियो । विद्यालयमा थुप्रै साहित्यिक र सांस्कृतिक प्रतियोगिताहरू हुन्थे, प्रतिस्पर्धा गराइन्थ्यो, तर कसैलाई पुरस्कार भने दिइँदैनथ्यो । मैले पहिलो साहित्यिक पुरस्कार नेपाली भाषा र साहित्यका साधक पूर्णप्रकाश नेपाल ‘यात्री’ ज्यूबाट प्राप्त गरेको थिएँ । उहाँ देशदर्शनको सिलसिलामा टीकापुरमा आइपुग्नुभएको थियो । उहाँले त्यहाँ साहित्यिक प्रतियोगिता गराई हामीलाई प्रोत्साहित गर्नु भएको थियो । पुरस्कार स्वरूप मैले उहाँद्वारा लिखित पुस्तक सेती अञ्चल दिग्दर्श  न, सेतीको नालीबेली र पहलमान सिंह स्वाँरको नाटिका लालुभागा प्राप्त गरेको थिएँ । त्यतिबेला पुरस्कार प्राप्त गरेको चरम खुसीको क्षणलाई म अहिले पनि स्मरण गरेर रोमाञ्चित हुने गर्द छु ।

मैले धनञ्जय गुरुमार्फत् ‘यात्री’ ज्यूसँग नजिक हुने अवसर पाएँ । हामी ठाउँ–ठाउँमा साहित्यिक कार्यक्रमहरूमा साथै रह्यौं । उहाँले मेरा धेरै रचनाहरू पढ्नुभयो र मलाई आशिष् दिँदै भन्नुभयो— “यसै गरी लेख्दै जाऊ बाबु, तिम्रो भविष्य उज्ज्वल छ !” पछि उहाँको से तीका तारा नामक पुस्तक प्रकाशन भयो जसमा उहाँले मेरो परिचयसहित तस्बिर छापी भविष्यको सेतीको ताराका रूपमा मलाई सम्मान दिनुभएको थियो ।

विद्यालयस्तर मा सबैका गुरु हुन्छन्, तर यस्ता गुरु विरलै हुन्छन् जसले आफ्ना शिष्यलाई असल मान्छे बनेर देखाउने सङ्कल्प जगाउने शिक्षा दिऊन् । सबै गुरुले सबै शिष्यलाई रराम्रोसँग पढ, रराम्रो मान्छे बन भनेर प्रायः सधैँ भन्छन्, तर आफ्ना शिष्यमा रहेको प्रतिभालाई बेलैमा चिनेर त्यसको विकास को सम्भावनाको खोजीमा लाग्ने महान् गुरुहरू कमै हुन्छन् । मेरा गुरु पनि तिनै महान् गुरुहरूमध्ये एक हुनुहुन्छ जसले ममा रहेको सृजनशील प्रतिभाको पहिचान गरी आफ्नो सृजनशीलताको विकास मा मलाई बेलैमा निर्देशित गर्दै सचेत र सजग तुल्याउनुभएको थियो

आफ्नो विद्यालयका दिनलाई फर्केर हेर्दा त्यो समय आफ्नो जीवनको स्वर्णिम समय लाग्छ । हरेक विद्यार्थीमा साहित्यिको चेतना र तिर्खा अटेसमटेस थियो । ‘कोभन्दा को कम’ को भावना थियो । साहित्यिक र सांस्कृतिक प्रतिस्पर्धाहरू बग्रेल्ती हुन्थे । हामी अलि लेख्न जान्नेहरू आफूलाई के–के न आउँछ भनेझैँ गरिटोपल्थ्यौँ । मलाई जहाँसम्म स्मरण छ, गुरुको पवित्र छहारीमा रहेर साहित्य लेख्न सिक्ने अन्य साथीसँग ीहरू नरराज खनाल, महामाया उप्रेती, निर्मला थापा, पञ्च कुमारी खड्का, चन्द्र दीपक पोखरेल, कमला पोखरेल आदि थिए । यी नामहरू साहित्यकार नै नबने पनि आ–आफ्नो क्षेत्रमा सफल र आफ्नो परिचय स्थापित गर्न सक्षम भएका छन् । जीवनको त्यो पल्लो पाटामा रहेका मेरा सँग ीहरूलाई एक सफल र असल मान्छे बन्न हाम्रा गुरुको प्रेरणा र सिकाइले अवश्य पनि साथ दियो होला भन्ने म ठान्दछु ।


मैले प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरे पछि माता–पिताले मलाई उच्च शिक्षाका लागि काठमाडौँ पठाउने निर्णय गर्नु भयो । तर कुन विषय लिएर पढ्ने ? त्यसमा निर्णय भइसकेको थिएन । मैले नेपाली साहित्य लिएर पढ्ने र आफ्नो साहित्यकार बन्ने उद्देश्य रहेको निर्णय सुनाएँ । मेरो निर्णयले मेरा माता–पितालाई खिन्न तुल्यायो । उहाँहरूलाई मनाउन मैले गुरुको शरण लिएँ । गुरुले मेरा माता–पितालाई सम्झउँदै ‘महेशको रुचि नेपाली साहित्यमा छ र ऊ भविष्यमा सफल साहित्यकार बन्न सक्छ, उसलाई उसको रुचि अनुसार नै उच्च शिक्षा हासिल गर्न दिँदा बेस होला’ भन्ने सल्लाह दिनुभयो । तर पिताजीले गुरुको ‘आदर्श भनाइ’को सम्मान गर्दै ‘महेशले डाक्टर बन्न विज्ञान पढोस् र आफ्नो जीवन सफल तुल्याओस्’ भन्ने इच्छा राखेको कुरा स्पष्ट बताउनुभयो । माता–पिताको भनाइका अगाडि हामी गुरु–चेला नतमस्तक बन्यौँ । म विज्ञान पढ्न काठमाडौँ आएँ ।

छोरो डाक्टर बनोस् भन्ने माता–पिताको सपना मबाट साकार हुन सकेन । तर छापामारको छोरोले मदन पुरस्कार प्राप्त गरे पछि गुरुको आशीर्वाद र ‘सफल साहित्यकार बन्ने’ आफ्नो पुरानो सपना भने अवश्य नै पूरा भएको छ ।  

commercial commercial commercial commercial