शिक्षक मजाकोटीका हत्यारालाई पनि उन्मुक्ति ?

सधै झैँ उनी त्यो दिन पनि विद्यालय गए, पढाए । तर छुट्टी भएपछि हाजिरकापीमा हाजिर न गरी घरतिर फर्किए । बाटोमा पर्ने सिन्दुरे गाउँका मीनबहादुर दुराको पसलमा खाजा खाएपछि उनी आफ्नै विद्यालयका प्रधानाध्यापक मनबहादुर दुराको घरमा पसे । तिहार मुखैमा आएकाले त्यहाँ उनले मागेको सापटी पैसा दिन प्रधानाध्यापक दुराले असमर्थता व्यक्त गरे । अनि उनी दुरासँगै रक्सी पिएर घरतिर हिँडे । त्यसको आधाघण्टा जतिपछि उनी बाटोबाटै बेपत्ता भए । आठ दिनपछि उनको लास घाँटी रेटिएको, आँखा झिकीएको, कान काटिएको, शरीरभरि नीलडाम भएको अवस्थामा नजिकैको जङ्गलमा फेला परयो ।

यो लमजुङको सिन्दुरे गाविसको शोभा मन्दिर प्राथमिक विद्यालयका शिक्षकगोविन्द मजाकोटी (सार्की) को हत्या प्रसङ्ग हो । तिहार लाग्नु अघिल्लो दिन; २०६४ कात्तिक २२ गते विद्यालयबाट घर फर्किएका मजाकोटीको बीच बाटोबाटै अपहरण भएर हत्या भएको दुई महिना नाघ्दासम्म हत्यारा र हत्याको कारण अज्ञात नै रहेको छ । मजाकोटीका भाइ प्रेमको जाहेरीपछि घटनामा संलग्न भएको आशङ्कामा प्रधानाध्यापक मनबहादुर दुरा, सिन्दुरे गाविसका निवर्तमान अध्यक्ष लगायत चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर ठोस प्रमाण नभएको भन्दै प्रहरीले उनीहरूलाई तत्काल रिहा गरयो ।

मिलनसार र सहृदयी स्वभावका ३८ वर्षीय शिक्षक मजाकोटीको हत्यारा पत्ता लगाई कानूनी कारबाही गर्न उनका परिवारजन र गाउँले, शिक्षक युनियन लगायतका पेशागत सङ्गठनहरू तथा काङ्ग्रेस, एमाले र माओवादीले समेत माग गरेका छन् । तर हत्यारालाई कानूनको दायरामा ल्याउन प्रशासनले देखाउनुपर्ने जति चासो र तदारुकता नदेखाएकाले राजनीतिक दबाबका कारण प्रशासनले लत्तो छाडेको त हैन भन्ने आशङ्का उब्जिएको छ । यद्यपि प्रहरीले आफूहरू माथि कुनै दबाब नआएको बताएको छ ।

छिमेकको चन्दे्रश्वर गाविस घर भएका मजाकोटी १२ वर्ष देखि सो विद्यालयमा पढाउँदै आएका थिए । २०४५ सालमा शिक्षण पेशामा प्रवेश गरेका उनी कर्मशील र इमान्दार शिक्षकको रूपमा गाउँ–समाज मा चिनिन्थे । मजाकोटीको असमयमै अवसान भएपछि उनको परिवार बिचल्लीमा परेको छ । ७० वर्षका बृद्ध बाबु–आमाको लालनपालन देखि ३ छोरी र छोराको स्कूलको पढाइको बन्दोबस्त सम्मका खर्च मजाकोटीकै तलबबाट धानिँदै आएको थियो । “आम्दानीको एक मात्र स्रोत भनेको श्रीमान्को तलब मात्र थियो । अब त दुईछाक टार्न पनि नसकिने भो !” शोकाकूल अवस्थामा रहेकी श्रीमती बसुन्धराले भनिन्, “अब मैले कसरी छोराछोरीको स्कूलको खर्च धान्नु ?”

मजाकोटीको हत्याले लमजुङवासीलाई फेरि एकपटक मुक्तिनाथ अधिकारी को स्मरण गराए को छ । पाणिनी संस्कृत माविका प्रधानाध्यापक ४६ वर्षीय अधिकारी लाई २०५८ साल माघ ३ गते कक्षामा पढाइरहेको अवस्थामा माओवादीले जबरजस्ती निकालेर चन्द्रपाटाको खर्ज गाउँ नजिकै उत्तीसकोरूखमा झुंण्ड्याएर गोली हानी मारेका थिए । माओवादीको ‘जनयुद्ध’ औपचारिकरूपमै समाप्त भएको झण्डै एक वर्षपछि त्यही शैलीमा कठोर यातना दिएर बीभत्स ढङ्गले अज्ञात पक्षद्वारा मजाकोटीको हत्या गरिएको छ । मुक्तिनाथ अधिकारी का हत्यारा जस्तै मजाकोटीका हत्याराले पनि उन्मुक्ति पाउन लागेको देखिंदैछ । दण्डहीनताको यस्तो निरन्तरताले समाज लाई अराजक र भयभीत त तुल्याएकै छ; समग्र शिक्षक समुदायको आत्मविश्वास घट्न जाँदा सिङ्गो शिक्षा क्षेत्रमै त्यसको नकारात्मक असर परिरहेको छ ।     

आश गुरुङ, लमजुङ

 

commercial commercial commercial commercial