गोठालो गाउँमा गुरुको देन

विद्यार्थीहरू आ–आफ्ना घरबाट गुन्द्री, गुन्द्रुक, सामल–तुमल र कपडा बोकेर विगुटारमा पढ्न आउँथे । बेलुका उज्यालो निम्ति हिउँदमा ढोड बटुल्ने, सीटा टिप्ने र दाउरा जम्मा गर्ने काम हुन्थ्यो । त्यसैको उज्यालोमा राति दश–एघार बजेसम्म पढाइ चल्थ्यो ।

ओखलढुङ्गा सदरमुकामसँगै जोडिएको विगुटार गाउँसँग रामपुर (हाल वरुणेश्वर) कुन्तादेवी, राँगादीप, जन्तरखानी, रुम्जाटार, प्राप्चा र हर्कपुरको आ–आफ्नै किसिमको सम्बन्ध रहेको छ । राडी–पाखीको कुरा उठ्दा रुम्जाटार, वन–जङ्गल वस्तुपालन र श्रमका कारण जन्तरखानी, वीरताका लागि राँगादीप, आपसी सामाजिक सम्बन्धका कारण प्राप्चा–हर्कपुरसँग विगुटार जोडिए पनि शिक्षा, चेतना र रक्त–सम्बन्धका आधारमा ज्यादा जसो रामपुरसँग जोडिएको छ । मोलुङ खोलाको पूर्वपट्टि रहेका तीन वटा टारहरू रुम्जाटार, रामपुरटार र विगुटार हुन् । विगुटारभित्र पनि ६ वटा टार छन्– सर्सेपु, फन्दपु, विगुटार, सुर्के, पिल्पुटार र टक्सार । दुई–अढाई सय वर्षअघि लामीडाँडाका बासिन्दाले बेंसीका रूपमा रामपुरटार र घाँस–दाउरा,गोठका लागि विगुटारलाई उपयोग गर्ने गरेको देखिन्छ ।

विगुटारको नामकरणका बारेमा अनेक भनाइ प्रचलित छन् । लेकको ठाउँ भएकाले घुनपुत्ली नलाग्ने र बीउ जोगिने भएकाले यो गाउँको नामै बीउटार हुन पुग्यो भन्ने एउटा भनाइ छ । अर्काे भनाइमा पृथ्वीनारायण शाहले पूर्व जिते पनि राईहरूलाई सुब्बा दर्जा दिई ६ पैसासम्म टक काट्ने अधिकार दिइएको थियो र टक्सारमा टक काट्ने काम हुन थालेपछि यसको नाउँ विगुटक्सार हुनपुग्यो । टक काट्ने सिलसिलामा जन्तरखानी र लेखखानीतर्फ तामा खानी शुरु भयो र त्यसको विगो विउटारमा बुझाउन थालिएपछि गाउँकै नाम विगोटार हुँदै विगुटार हुन पुग्यो भन्ने पनि अर्को भनाइ छ ।

अहिले त्यस क्षेत्रका उत्साही युवाहरूले विराज समाज गठन गरी ‘विराज स्मारिका’ मार्फत त्यहाँको इतिहास र संस्कृतिका विविध पक्ष उत्खनन गर्न थालेका छन् । अमेरिकी नागरिक डा. पिटर हज प्रिन्डलले विगुटारको बृहत्  अध्ययन -अनुसन्धान गरी ‘वर्न इन विगुटार, नेपाल, (सोसियो– इकोनोमिक रिलेशनसिप अफ ए ब्राह्मण भुजेल भिलेज १९७१–२००१) नामक कृति पनि प्रकाशित गरेका छन् ।

साठी–सत्तरी वर्षअघिसम्म गोठालाहरूको गाउँ भनेर चिनिने विगुटारमा अहिले एउटा माध्यमिक विद्यालय र पाँच वटा प्राविहरू छन् । एसएलसी उत्तीर्णहरू एक सय जना पुगेका छन्, प्रवीणता प्रमाणपत्र पूरा गर्नेहरू ३०, स्नातक १५ र स्नातकोत्तर गर्ने १२ जना पुगिसकेका छन् । देशको स्वास्थ्य, शिक्षा, कानून व्यवसाय र सञ्चार क्षेत्रमा पनि यो गाउँको योगदान उल्लेख्य छ । यसको जगमा पैंतालीस वर्षभन्दा बढी सेवा गरी २०५४ चैत २७ मा दिवङ्गत हुनुभएका आदरणीय गुरु पुण्यप्रसाद दाहाल त्यस क्षेत्रका निम्ति सदा स्मरणीय हुनुहुन्छ ।

पुण्यप्रसाद दाहाललाई सबैले गुरुबा भन्ने गर्थे । गुरुको अर्थ विद्या, ज्ञान, शिक्षा, कला, बुद्धि, सीप, कर्म, उपदेश दिने व्यक्ति भन्ने हुन्छ, जसले ज्ञान, पुरस्कार र दण्ड दिने सामथ्र्य राख्छ । गुरु सिकाइ–सधाइ गर्ने , पढाउने, लेखाउने, तालिम दिने व्यक्ति पनि हो । एउटा कुनाको गाउँमा जन्मेका एकजना सामान्य युवक ‘ गुरुबा’ बन्नु का पछाडि प्रतिबद्धताको एउटा प्रेरक कथा छ । वि.सं. १९७५ चैत ४ गते पिता बालानन्द र माता यशोदाका माहिला छोराका रूपमा रामपुर, ओखलढुङ्गामा जन्मिएका पुण्यप्रसादले संस्कृतको प्रथम ज्ञान आफ्नै पिताबाट पाउनुभएको थियो । पुण्यप्रसाद वि.सं.१९९२ देखि काठमाडौँको रानीपोखरी प्रधान पाठशालामा पढ्न थाल्नुभयो । त्यसैबेला विगुटारका रत्नप्रसाद दाहाल काठमाडौंको मृगस्थलीस्थित आश्रममा बसेर शिवपुरी बाबासँग संस्कृत पढिरहनु भएको थियो । पुण्यप्रसाद र उहाँका भाइ खड्गप्रसादसँग रत्नप्रसादको बालसखाको पुरानै सम्बन्ध रहेको थियो ।

विगुटार त्यस समयसम्म विल्कुलै निरक्षर थियो । त्यहाँका मानिसहरूको दिन चर्यामा घाँसपात,गाईवस्तु, खेतीपाती बाहेक अरू केही थिएन । आफ्नो गाउँलाई कसरी साक्षर बनाउन सकिन्छ भन्ने बारेमा रत्नप्रसाद र पुण्यप्रसादको सरसल्लाह भयो र पुण्यप्रसाद केही समय विगुटार गाउँमा गएर युवा र बालकहरूलाई पढाउन राजी हुनुभयो । रत्नप्रसादको प्रस्ताव र पुण्यप्रसादको त्यो सहमतिले ओखलढुङ्गाको त्यो निरक्षर गाउँ मात्र होइन, त्यस वरिपरिका कुन्तादेवी, लामीडाँडा, रामपुर, हर्कपुर, प्राप्चा, कटुञ्जे देखि सोलुको सल्यान र पञ्चनसम्मका गाउँमा शिक्षाको उज्यालो फैलिन प्रारम्भ भयो ।

शुरु मा पुण्यप्रसादले कसैको मतानमा बसेर धुलौटोमा धूलो भर्दै र छेस्काले कोर्दै ‘क, ख..’ को प्रारम्भ गराउनु भयो । त्यसपछि उहाँले रत्नप्रसादको सानो दुईपाखे खरको घरमा पढाउन थाल्नुभयो । वि.सं. १९९७ मा सल्काएको शिक्षाको त्यो बत्ती अहिले पनि निरन्तर बलिरहेको छ र त्यसको आभा झन्झन्  फैलँदै गएको छ । विद्यार्थीहरू आ–आफ्ना गाउँघरबाट गुन्द्री, गुन्द्रुक, सामल–तुमल र कपडा बोकेर विगुटारमा पढ्न आउँथे । बेलुका उज्यालो निम्ति हिउँदमा ढोड बटुल्ने, सीटा टिप्ने र दाउरा जम्मा गर्ने काम हुन्थ्यो । त्यसैको उज्यालोमा राति दश–एघार बजेसम्म पढाइ चल्थ्यो । बिहान भुकभुके देखि नौ बजेसम्म पुरानो पाठ आवृत्ति गराइन्थ्यो र केहीछिन खाजाको समय छुट्याएर फेरि सबै पढ्न थाल्थे । दिउँसो तीन–चार बजेतिर छुट्टी हुन्थ्यो र विद्यार्थीहरू घरको दाउरा, घाँसको काम सक्थे । अनि साँझ् पर्न लागेपछि घरमा मकै–भटमास, कोदाको रोटी, ढिँडो, मकैको भात जे छ खाएर रात्रि कक्षामा पढ्न जुटिहाल्थे । गुरु अत्यन्त कठोर हुनुहुन्थ्यो । सूत्र, वृत्ति र शब्द साध्ने कामलाई कण्ठस्थ गराउने, कण्ठ गरी नसुनाएसम्म अघिल्लो पाठ नदिने उहाँको बानी थियो । उहाँले गुरुकुलीय शिक्षाकै शैली अपनाउनु भएको थियो ।

मध्यमा परीक्षा उत्तीर्ण गरे पछि ००४ सालमा सरकारी शिक्षकको रुपमा उहाँको नियुक्ति ओखलढुङ्गा सदरमुकामको सरकारी स्कूलमा भयो । ०१३ सालमा विगुटार भाषा पठाशाला स्थापित भएपछि उहाँ त्यहाँ पढाउन थाल्नुभयो । यसपछि गुरुको अध्यापनका दुई भिन्न स्थान र क्षेत्र भए । उहाँ दिनभरि भाषा पठाशालामा पढाउनु हुन्थ्यो । दिउँसो एक घण्टाको छुट्टीमा लघुकौमुदी र संस्कृत पढ्ने छात्रहरूलाई चउरमा बसेर पढाउनु हुन्थ्यो । बिहान बेलुका संस्कृतका विद्यार्थीहरू उहाँसँग पढ्नेगर्थे । कहिले वरको फेदमा, कुनै चौतारोमा चउरमा अथवा कसैको मतानमा उहाँका विद्यार्थीहरू पाठ घोक्न व्यस्त हुन्थे । संस्कृत पढ्ने विद्यार्थीहरूले तीन वर्षमा लघुकौमुदी, अमरकोश र रघुवंश महाकाव्य पढिसक्नु पथ्र्यो र त्यसबापत रु.३०० अथवा सो बराबरको मकै–कोदो, दक्षिणाका रूपमा गुरुलाई दिनुपथ्र्यो । विद्यार्थीहरूका हुलमा गुरुका छोरा भतिजाहरू पनि हुन्थे । विगुटार हिउँदमा अत्यन्त चिसो हुने र वर्षामा जुका लाग्ने ठाउँ हो । त्यहाँ धान खेती कम हुन्छ । मकै कोदो, त्यहाँको मुख्य अन्न हो । त्यस गाउँमा जसकसैले पनि मकै र कोदो नै खाएर गुजारा गर्नु पथ्र्यो । दूध, दही, मोही, घिउ र सागसब्जी भने त्यहाँ प्रशस्त पाइन्थ्यो । गुरु र बाहिरका विद्यार्थीहरूलाई गाउँलेले धेरै कुरा सित्तैँमा दिन्थे पनि । दिनभरि हली–गोठालो, दाउरा–घाँस, मेलापात गर्नेहरू पनि राति गुरुसँग पढ्न आउँथे । जसका कारण गाउँमा साक्षरहरूको सङ्ख्या बढ्दै गयो ।

हामी धेरै जना गोठाला गाउँका, गरिब पूर्वज गोठालाका सन्तानहरूको चेतना र जीवन–यात्रालाई विस्तारित गर्ने ती महान गुरु अब यस संसारमा हुनुहुन्न । आज ती ‘ गुरुबा’ लाई स्मरण गर्ने म जस्ता विद्यार्थीहरू हजारको हाराहारीमा छन् । त्यस गोठालो गाउँका सधैँ खस्रु र लाङ्ठेका रूखमा झुण्डिने, भीर—पहरा गर्दै हिँड्ने, कटारी देखि भारी बोकेर सोलुको दोर्पू पुपु¥याउने मजदुरका सन्तानहरू समर्थ र शिक्षित भएर फैलँदै गएका छन् । ६ महिना ढिँडो र ६ महिना कोदाको खोले खाएर जीवन निर्वाह गर्ने विगुटार क्रमशः सहज जीवनयापनको मार्गमा अग्रसर छ । त्यहाँ बिजुली पुगेको छ । घट्ट र मेशिनबाट कुटानी– पिसानी हुन थालेको छ । मानिसहरू वर्षभरि नै पेटभरी खाने भएका छन् ।

मलाई सम्झना छ— मेरा पिताजी रत्नप्रसादले २०२१/२२ सालतिर , ६/७ वर्षको उमेरमा मलाई पुण्यप्रसादको रेखदेखमा पढाउन थाल्नुभएको थियो । धेरै जसो ढिँडो र कोदाको खोले खाएर, भुटेका थोरै मकैले रातगुजारेर म पढ्न गइरहेँ । राति कहिले गुरुबा बस्ने ठाउँ, कहिले— मोतीलालको थोत्रो घर, कहिले सुकुटी बूढीको खाली मतान, कहिले बसाइँ सरेका वंशेको घर, कहिले सेतु दाहाल र देवीप्रसाद घिमिरेका मतानहरूमा सर्दै हराम्रो पढाइ निरन्तर चलिरह्यो । त्यसरी पढेकाहरू अहिले कोही कलेजमा पढाउँदै छन्, कोही रराम्रो जागिरमा छन्, कोही घर– गृह स्थीमै पनि ‘सचेत’ भएर लागेका छन् । ०१३ सालमा शुरु भएको भाषा पाठशालाको घर ०१८—०१९ तिर मात्र बन्यो । गाउँलेहरूको सहयोगमा अलि—अलि कुर्सी, बेञ्च बने । तर, स्कूलका विद्यार्थीहरू पनि चीसो चउर र ढुङ्गामा नै बसेर पढ्न बाध्य थिए । केही कक्षासम्म मैले पनि दिउँसो भाषा पाठशाला र साँझ्—बिहान, गुरुसँग संस्कृत पढें । घामपानीको पीडा हामी स—साना वरकारूखका फेदमा कि पाठशालाको पेटीमा बसेर झेल्ने गथ्र्यौं । हाम्रा खुट्टामा जुत्ता—चप्पल थिएनन् । कपडाका नाउँमा दौरा र भोटो, टोपीमा हामी हुन्थ्यौं । जाँडोमा लुग्लुग् काम्नु रगर्मीमा रापले पिल्सिनु हाम्रा दैनन्दिन थिए । विगुटारका सबै जात र वर्गका विद्यार्थीहरूले यी सबै हण्डर खेपेका थिए र ‘ गुरुबा’ ती हण्डरहरू माथि विजय प्राप्त गर्न सदा प्रेरणा दिइरहनु हुन्थ्यो । थाहा छैन हामी कतिले ‘हण्डर’ माथि विजय पायौं र हामी कतिलाई हण्डरहरूले जिते । तर अहिलेसम्म पनि विगुटारका प्रत्येक घरमा पण्डित पुण्यप्रसाद दाहालको नाम श्रद्धासाथ लिने गरिन्छ ।    

२०६५ वैशाख अंकमा प्रकाशित । 

commercial commercial commercial commercial