चन्द्र सरको पीपलबोटे पाठशाला ! 

चन्द्र भण्डारीले टोलका बालबालिकालाई रूखमुनि पढाउन थालेको २५ वर्ष बित्यो। यस अवधिमा ट्याँङ्ग्रा खोलामा कहिले बाढी आयो, कहिले सुक्खा लाग्यो तर भण्डारीको ट्यूसन कक्षा एकनाशले चलिनैरह्यो । 

दिनरात व्यस्त रहने इटहरीचोक देखि करीब आधा किलोमिटर पूर्व महेन्द्र राजमार्गमा ट्याँङ्ग्रा खोला पर्छ । खोलाको दक्षिण–पश्चिम किनारमा खुला आकाशमुनि पीपलको फेदमा बिहान सात बजे देखि नै चालीस पैंतालीस जना बालबालिका भेला हुन्छन् । म्याट, बोरा, गुन्द्रीमा बस्छन् । नर्सरी देखि आठ कक्षासम्मका ती बालबालिकालाई चन्द्र भण्डारीले निःशुल्क ट्यूसन पढाउँछन् । 

भण्डारीले टोलका बालबालिकालाई त्यसरी पढाउन थालेको २५ वर्ष बित्यो । उनले २०५१ माघ २८ गते ट्यूसन पढाउन शुरू गरेका थिए । अहिलेसम्म नथाकी पढाइरहेकै छन् । यस्तो कक्षा थालनी गर्दा भण्डारी २८ वर्षका थिए । अहिले ५३ वर्ष पुगिसके । यस अवधिमा ट्याँङ्ग्रा खोलामा कहिले बाढी आयो, कहिले सुक्खा लाग्यो तर चन्द्र भण्डारीको ट्यूसन कक्षा एकनाशले चलि नै रह्यो । कक्षामा न कहिल्यै अवरोध आयो न त उनलाई अल्छी नै लाग्यो ।
समयको खोला बग्दै जाने क्रममा भण्डारीले पढाएको ट्यूसन कक्षामा पुस्तक त कति बदलिए कति, यहाँ पढ्ने पुस्ता पनि बदलिइरहेका छन् । तर उनको लगाव कहिल्यै बदलिएन । यो २५ वर्षको अवधिमा चन्द्रले पहिले पढाएका विद्यार्थीले पढाइ सके । जागिर खाए । बिहे गरे । नयाँ पुस्ता जन्माए जसलाई साँझ्–बिहान पढ्न उनैकहाँ पठाइरहेका छन् । एवम् रीतले तेस्रो पुस्ता पनि आउला । तिनलाई पनि पढाउन तयार देखि एका चन्द्र थाकेका छैनन् । उनी भन्छन्, “मेरो शरीरले सकुन्जेल यसरी नै पढाइरहन्छु ।” विना पारिश्रमिक बालबालिकालाई पढाएर एक युग विताएको पाठशालाको नाम उनले आफैं जुराएका हुन्– पीपलबोटे खुला विद्यालय ।

यहाँ पढेर पार भएकाहरूसँग उनको भेटघाट पनि उति हुँदैन । घाटमा बसेर नदी तार्ने माझी  जस्तै हुन् उनी । वारि किनारमा जो आउँछ उसलाई डुङ्गा चढाएर पारि पुरयाउँछन् र अगाडि को बाटो देखाएर विदा गर्छन्, बस् । ती बटुवाले आफूलाई सम्झ्यिून् या नसम्झियून्  त्यसको कुनै पर्वाह न गरी आफ्नो कर्ममा निरन्तर लागिरहेकै छन् उनी । चन्द्र सरले आफूबाट शिक्षित पुराना विद्यार्थीकोगन्ती नै गरेका छैनन् ।

धनकुटा, का गतेका चन्द्र भण्डारीले त्यहींकोगोकुण्डेश्वर माध्यमिक विद्यालयबाट एसएलसीसम्मको शिक्षा पूरा गरेका थिए । स्कूल पढ्दा आफूले भोग्नुपरेको आर्थिक सङ्कटले उनलाई सबैको साझा चन्द्र सरका रूपमा चिनाएको हो । चन्द्र नौ कक्षामा पढ्दा धनकुटा–हिले सडक निर्माण भइरहेको थियो । स्कूल विदा भएका वेला त्यही सडकमा मजदूरी गरेर उनी पढाइ खर्च जुटाउँथे । त्यसवेला त्यो सडकमा दिनभर ढुङ्गा फुटाएको र जूनको उज्यालोमा रातभर ढुङ्गा बोकेको उनले बिर्सिएका छैनन् । 

स्कूलको पढाइ सकिएपछि २०४४ सालमा पहाडबाट तराई झरेका  चन्द्रले आर्थिक अभावकै कारण उच्च शिक्षामा प्रवेश गर्ने अवसर पाएनन् । आफूले भोगे जस्तै सङ्कटको कारण आफ्नो वरपरका कुनै पनि बालबालिकाले शिक्षाको उज्यालोबाट वञ्चित भएको उनी टुलुटुलु हेरेर बस्न सक्दैनथे । आफ्नो त्यही स्वभावले नै उनलाई त्यस्ता बालबालिकाको लागि खोलाको किनारमा पीपलको बोटमुनि खुला ट्यूसन पाठशाला चलाउन पे्ररित गरयो । पाठशालाको थालनी गर्दा उनको कक्षामा १० जना बालबालिका थिए । पछि विस्तारै संख्या बढ्दै गयो । चन्द्र सम्झन्छन्, “मकै पोलेर बेच्ने, बदाम बेच्ने, जुत्ता पालिस गर्ने , रिक्सा चलाउने जस्ता पेशा गरेर परिवार पाल्दै आएका बाबुआमाका छोराछोरीको बिजोग देख्थें । बाबुआमा बिहानै काममा जान्थे । छोराछोरी हेरिदिने मान्छे समेत हुँदैनथे । मैले उनीहरूलाई भेला पारेर अक्षर चिनाएपछि स्कूल जाने वातावरण पनि बन्छ भनेर पढाउन थालेको हुँ ।” 

ती बालबालिकालाई बिहान र बेलुका दुई-दुई घण्टाका दरले दैनिक चार घण्टा निःशुल्क पढाउँदै आएका उनले २०७० सालयता भने बिहान मात्र दुई घण्टा पढाउने गरेका छन् । उनको पीपलबोटे स्कूलमा दशैंमा पाँच दिन, तिहारमा दुई दिन तथा फागुपूर्णिमा र छठमा एक-एक दिन गरी वर्षमा नौ दिन मात्र विदा हुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि उनी यो पाठशाला बन्द गर्दैनन् । चन्द्रकी श्रीमती सावित्रा भन्छिन्, “टाइफाइडले सिकिस्त बिरामी हुँदा समेत उहाँ पढाउन जानुभएकै छ ।” बालबच्चाले पनि चन्द्र सरलाई बिछट्टै माया गर्छन् । पीपलबोटे पाठशालामा कुनै दिन चन्द्र सर पुग्न ढिलो भयो भने उनीसँग पढ्ने बालबालिका घरमै लिन पुग्छन् ।

यो काममा उनलाई श्रीमती सावित्राको दर्बिलो साथ छ । भण्डारी भन्छन्, “श्रीमतीको साथ नपाएको भए मलाई समस्या हुन्थ्यो ।” सावित्रा इटहरीकै एउटा निजी विद्यालयमा पढाउँछिन् । त्यहाँबाट आउने आम्दानीले उनी घरव्यवहार चलाउँछिन् । खर्च ठूलो छैन । सेवाभावको सन्तुष्टिले चन्द्रको चार जनाको परिवारलाई सुखी बनाएको छ । आफ्ना दुई छोरालाई सावित्राले घरमै पढाउने भएकाले आफूले एक अक्षर पनि सिकाउनु नपरेको चन्द्र बताउँछन् । 
उनको पीपलबोटे स्कूल र सावित्रीसँग को वैवाहिक जीवनको उमेर बराबरी छ । आफूले उच्च शिक्षा पढ्न नपाएको क्षति पूरा गर्न चन्द्रले श्रीमती सावित्रीलाई पढ्न सघाए, हौस्याए । बिहे गर्दा एसएसली मात्र उत्तीर्ण सावित्रीले त्यसपछि नै पढेर स्नातकोत्तर तह पूरा गरे की हुन् ।

पीपलबोटे खुला विद्यालयमा विशेष गरी गरीब र सामाजिक रूपमा पिछडा वर्गका बालबालिका आउने गरे पनि मध्यम तथा उच्च वर्गका केही बालबालिका समेत यहाँ पढिरहेका छन् । उनको खुला पाठशालामा आफूलाई पायक पर्ने ठाउँका जोसुकै बालबालिका पनि आउन सक्छन् । अभिभावकको आर्थिक–सामाजिक अवस्था र बालबालिकाले पढ्ने विद्यालयको आधारमा विभेद न गरिएकाले सरकारी र निजी स्कूल पढ्ने विद्यार्थी बराबरीजसो छन् । 
बिहान नौ बजेसम्म चन्द्र सरसँग पढ्ने बालबालिका त्यसपछि घर गएर खाना खान्छन् अनि स्कूल जान्छन् । पीपलबोटे पाठशालाका कारण अभिभावकहरूलाई धेरै सजिलो भएको छ । “बिहानभर बच्चा हेरेर बस्नुपरेन । त्यस माथि उनीहरूलाई विना खर्चमा ट्यूसन पढाउन पाएका छौं । चन्द्र सर हुनुहुन्छ र यो सब सम्भव भएको हो”, अभिभावक भगवती चौधरीले खुशी व्यक्त गर्दै भनिन् । 

बिहानै देखि कामकाजमा लाग्नुपर्ने अभिभावकका छोराछोरीलाई त पीपलबोटे पाठशाला दोस्रो घर जस्तै भएको छ । इटहरी बजारमा अनारस र बदाम बेचेर जीविकोपार्जन गर्दै आएका पंकज ठाकुरका दुई छोरी काजल र सीमा यहीं पढ्छन् । ठाकुर भन्छन्, “बिहान सबेरै देखि व्यापारमा निस्कनुपर्दा हामीलाई बालबच्चा हेर्न समेत फुर्सद हुँदैनथ्यो तर चन्द्रसरकोमा पठाएपछि ढुक्क लाग्छ ।” सुनसरी औरावनीकी सुनितादेवी साह इटहरीमा फलफूल बेचेरगुजारा चलाउँछिन् । उनका तीन छोराछोरी अंकिता, शिवा र अभय बिहानभर पीपलबोटे स्कूलमा पढ्छन्, दिउँसो सामुदायिक विद्यालय जान्छन् । तीन–तीन सन्तानलाई पैसा नतिरी ट्यूसन पढाउन पाएकोमा प्रशन्न सुनिताको भनाइ छ, “पैसा तिर्नु परेको भए मैले बच्चाहरूलाई ट्यूसन पढाउने कुरा सोच्न पनि सक्दैनथें । सबैलाई आफ्नै छोराछोरीलाई जसरी पढाउने चन्द्र सरको गुन कहिल्यै भुल्दैनौं ।”

शिक्षाको उज्यालो सबैका घरघरमा पुर्याउन आफूले सक्दो योगदान गरेर सरकारलाई सघाएको चन्द्र भण्डारीको भनाइ छ ।गीताको दर्शनबाट प्रभावित उनी भन्छन्, “कर्म गर्नु मेरो कर्तव्य हो, फलको आशाले गरेको होइन । मैले जीवनमा गर्नु पर्ने यसबाहेकको अर्को उन्नत काम पनि देखेको छैन । त्यसकारण मैले सिङ्गो जीवन यसैमा समर्पित गरेको छु ।” चन्द्र सरले आफूकहाँ पढ्ने बालबालिकालाई उनीहरूको जन्मदिनमा कापीकलम र किताब उपहार दिने गरेका छन् । त्यसबाहेक समाज का अन्य सहयोगीहरूले पनि वेलावेलामा यहाँका बालबालिकालाई कापीकलम र लत्ताकपडा दिन्छन् ।
खुला आकाशमुनि पढाउनु पर्ने भएकाले पानी परेको वेला भने पीपलबोटे स्कूलमा कक्षा चलाउन ठूलै चुनौती आइपर्छ । खोलाको किनारमा टहरो बनाउन पनि मिलेको छैन । तर कसैसँग कुनै अपेक्षा नराखेका चन्द्र सरलाई जसोतसो सकुञ्जेल बालबालिका पढाइरहन पाए पुग्छ । 
२०७६ कात्तिक अंकमा प्रकाशित । 
 

commercial commercial commercial commercial