आमाको पछुतो ! 

केही वर्ष पहिले एउटा समाचारले इन्टरनेटमा निकै सनसनी मच्चायो ।

एक एशियाली महिला आफ्ना छोरा र छोरीलाई एकै तरिकाले हुर्काउँछिन् । दुवै जनालाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउँछिन् । एउटी आमाको लागि यो ठूलो सफलता थियो । छोरा र छोरी दुवैलाई उत्तिकै योग्य र सक्षम बनाउन सकेकोमा उनी निकैगर्व गर्थिन् ।

तर एक दिन, छोराले बुहारीलाई अस्पताल नै लैजानुपर्ने गरी कुटेको खबर सुनेपछि आमा छाँगाबाट खसे जस्तै भइन् । पहिला त उनले पत्याउन पनि सकिनन् । तर जब उनले यो कुरा छोराकै मुखबाट सुनिन्, उनी चूप भइन् । छोरो फोनमा कसैलाई भन्दैथियो— “आफू काम गर्छु, पैसा कमाउँछु भन्दैमा श्रीमान्को सेवा नै न गर्ने भन्ने त होइन नि ! त्यसलाई कुन दिन आफू पिटिन्छु भन्ने थाहा थियो ।”

ती आमालाई आफ्नो छोरा अरूभन्दा फरक होला झैं लाग्थ्यो, तर उनीगलत ठहरिइन् । छोरीलाई छोरो जस्तै सबल, सक्षम र आत्मनिर्भर बनाउन तल्लीन आमाले आफ्नो छोरालाई भने फरक रूपमा हुर्काउन सकेकी रहिनछिन् । छोरीलाई आज्ञाकारी र अरूमा निर्भर नबनाउन तल्लीन आमाले आफ्नो छोरालाई ‘छोरा हुनु नै अरूको सेवाको हकदार हुनु होइन’ भन्ने कुरा सिकाउन भुलिछिन् ! 

छोरा हुर्काउने तरिकाको बारे पनि सोचौं
महिलालाई सक्षम बनाउने र माथि उकास्ने प्रक्रियामा हामीले महिलाहरूकै बारेमा मात्र सोच्यौं— उनीहरूलाई कसरी शिक्षित बनाउने, कसरी आत्मनिर्भर बनाउने, कसरी पुरुष विना पनि बाँच्न सक्ने बनाउने भनेर । यी आफैंमा महत्वपूर्ण कुरा हुन् । तर हामीले यसको अर्को पाटोतिर ध्यान दिएनौं । महिलाको समग्र उत्थानको निम्ति महिलाको मात्र होइन पुरुषको सोच पनि बदलिनुपर्छ । घरव्यवहार र भान्सा भन्दा बाहिर जान सिकाइएका प्रत्येक महिलाको छेउमा आज पनि यस्ता थुप्रै पुरुष हुन्छन्, जो भित्रै देखि महिलाको काम घरभित्र मात्र हो भन्ने ठान्छन् । त्यसैले, छोरीलाई — ‘तिमी जे चाह्यो त्यो बन्न सक्छ्यौ’ भन्नु, उसलाई शिक्षा दिनु, उसको होस्टेमा हैंसे गर्नु , अनि उनीहरूलाई आफ्नो भविष्यबारे निर्णय गर्ने स्वतन्त्रता दिनु आधा काम मात्र हो ।

तपाईंको छोराले लुगा पट्याउन जान्दैन, खाना बनाउन जान्दैन, घरका सामान्य काम पनि गर्न सक्दैन भने उसँग विवाह गर्ने महिलाको हालत के होला ? तपाईंकी बुहारीको जिन्दगी त्यस्ता छोराको सानो भन्दा सानो आवश्यकता पूरा गर्दा गर्दै बित्छ । तपाईंले आत्मनिर्भर हुन सिकाएर हुर्काएकी छोरी नै त्यस्तो पुरुषसँग पर्न सक्छिन् । अनि आफूलाई सेवाको हकदार मान्ने त्यो पुरुषको अपेक्षा अनुसार न गर्दा उनी घरेलु हिंसाको शिकार बन्न सक्छिन् ।  
फेसबूकको ‘पितृसत्ताका मान्छे’ (Humans of Patriarchy) नामक एउटा पेजको सानो पोष्टमा लेखिएको छः

‘तपाईंका छोराछोरी स्कूलबाट घर आएपछि छोराले कुर्सीमा लुगा फाल्यो भने ती लुगा टिप्न छोरीलाई नलगाउनुहोस् । उसले खाइसकेपछि उसका प्लेट उठाउन उसका दिदी–बहिनीलाई नलगाउनुहोस् । उसले घर फोहोर बनायो भने छोरीलाई सफा गर्न नलगाउनुहोस् । तपाईं आफ्नो छोरालाई जिम्मेवार हुन र आफ्नो स्याहार आफैं गर्न सिकाउनु होस् । उसले आफ्नो काम दिदी–बहिनीले गरिदिन्छन् भन्ने कहिल्यै नसोचोस् । समाज मा महिलालाई हेप्ने पुरुषहरू छन् भने बुझनुहोस्— पक्कै पनि उनीहरू सानै देखि त्यस्तै व्यवहार देखेर हुर्किएका हुनुपर्छ । हामीले जसरी आफ्ना छोराछोरीलाई हुर्काउँछौं, आखिर भविष्यमा उनीहरूको व्यवहार त्यस्तै त हुने हो ।’

तपाईं छोरीलाई विद्यालय पठाउनुस्, सङ्गीत सिकाउनु स्, फूटबल खेलाउनुस् । तर यति गर्दैमा आफूलाई काँधमा धाप नमार्नुस् । हो, तपाईंले छोरीलाई गराउनु भएका कुरा ले महिला पनि पुरुष सरह हुन् भन्ने मान्यता स्थापित गर्छ । तर सँगै अर्को पाटो पनि सोच्नुहोस् । छोरालाई पनि भाँडा माझन, खाना बनाउन, लुगा धुन सिकाउनु स् । यसले पुरुषलाई ‘महिलाले गर्ने काम’ आफूले पनि गर्नु हुन्छ भन्ने कुरा सिकाउँछ । छोरीलाई ९–१० वर्ष नपुग्दै ‘अब ठूली भयौ’ भन्यौं, र छोरालाई त्यो उमेरमा पनि ‘सानै छ’ भनेर पुल्पुल्याइरह्यौं भने हामीले छोरालाई महत्वपूर्ण काम सिक्नबाट वञ्चित गरिरहेका हुन्छौं, र छोरीहरूलाई पनि नरराम्रो सन्देश दिइरहेका हुन्छौं ।

महिला जतिसुकै आत्मनिर्भर भए पनि आफूलाई महिला–सेवाको हकदार ठान्ने पुरुषहरू समाज मा व्यापक भइरहेको अवस्थामा उनीहरूलाई पुरुष–सरहको उपलब्धि हासिल गर्न गाह्रो हुन्छ । अर्थात् ‘आफूलाई सेवाको हकदार’ ठान्ने छोरा हुर्काइँदासम्म छोरीलाई आत्मनिर्भर बनाउनुको कुनै अर्थ हुन्न । 
भाषान्तरः अदिति अधिकारी
स्रोतः https://www.idiva.com/

commercial commercial commercial commercial