अतिरिक्त व्यवसाय

सिन्धुलीका करिब १९०० शिक्षकमध्ये आधाभन्दा बढी घर वा सदरमुकाम नजिकका स्कूलमा पढाउँछन् तर शिक्षक संघसंस्थाका प्रतिनिधिहरूको अनुभवमा यसको परिणाम उत्साहजनक छैन ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ सिलामेस्थित कमला जनज्योति माविका शिक्षक वासुदेव दाहाल ६ पुसको मध्यान्न माडीबजारको आफ्नै पसलमा कपडा बेच्दै थिए । त्यस अघि उनको स्कूलका सहकर्मीहरूले उनी तालिमका लागि बिदामा रहेको जानकारी दिएका थिए । कनपा–४, मधुटारका दाहाल बढुवाका लागि अनिवार्य मानिएको तालिम लिन बस चढेर हरेक बिहान ६.३० बजे भिमान पुग्छन् । ११.३० मा फर्किएपछि आफ्नो पसलमा व्यापार गर्छन् । तालिम सकिएपछि माघ देखि उनको पुरानै रुटिन दोहोरिने छ, बिहान ९.३० बजे स्कूल जाने, ४.३० मा फर्किने र बाँकी समय व्यापारमा लगाउने । प्राविका नेपाली विषयका शिक्षक दाहाल भन्छन्, “२०३५ साल देखि पढाउँदै आएको छु, त्यो तलबले केही थेगेको छैन, थप आयस्रोतका लागि काम गर्नै पर्ने बाध्यता छ ।”  सदरमुकाम माडीबजारबाट १३ कोष पूर्वमा पर्ने डुँडभञ्ज्याङ गाउँका ध्रुव पहाडी सदरमुकामकै गौमती नमुना उच्च माविका लेखा शिक्षक हुन् । तर, उनी हरेक बिहान आफ्नै स्कूलको ‘प्लस टु’मा पनि पढाउँछन् । दुर्गम गाउँ छोडेर सदरमुकाम बस्दा छोराछोरी बोर्डिङ स्कूलमा पढाउन, सम्पत्ति थप्न र आफ्नो योग्यता बढाउन सजिलो भएको उनको अनुभव छ ।  

दाहाल र पहाडीको जस्तै सुविधा र अतिरिक्त आम्दानीका लागि घर वा सदरमुकाम पायक सरुवा हुन खोज्ने शिक्षकहरूको चाप ठूलो छ सिन्धुलीमा । जिल्ला शिक्षा कार्यालयका अनुसार दरबन्दी र राहत कोटासहित करिब १९०० शिक्षकमध्ये आधाभन्दा बढी घरपायक अर्थात् स्थानीय छन् र अरू शिक्षकहरू पनि घरपायक सरुवाका लागि प्रायः सदरमुकाम धाइरहेका हुन्छन् । यस वर्ष सरुवा गरिएका १२७ जनामध्ये ९० प्रतिशत जति घरपायकमा परेको बताउँछन् नेपाल शिक्षक युनियन सिन्धुलीका सचिवगोकर्ण थापा । आफ्नै गाउँको स्कूलमा सेवा गर्ने इच्छा राखेर वा रराम्रो शिक्षक भएकाले गाउँलेहरूले नै माग गरेर घरपायक सरुवा हुने शिक्षकहरू पनि छन् । एसएलसी पास गरे पुग्ने र विषय मिल्नु नपर्ने भएकाले प्रावि तहमा घरपायक बढी छन् ।


   
‘घर सार्नुपर्दैन’

खेतीपाती, व्यापार, ठेक्कापट्टा जस्ता व्यवसाय चलाएर अतिरिक्त आम्दानी गर्न सकिने भएकाले घरपायक सरुवा खोज्नेहरूको चाप बढेको शिक्षा अधिकारी हरूको अनुभव छ । घरपायक हुँदा परिवारसँगै बस्न पाइने भएकाले निश्चिन्त भएर पढाउन सकिन्छ भन्ने शिक्षकहरू पनि प्रशस्त भेटिन्छन् । घरपायक नहुँदा शिक्षकलाई आफ्नो पारिवारको चिन्ता हुने र त्यसबाट पठनपाठनमा असर पर्ने अनुभव सुनाउँदै चार वटा स्कूल चहारिसकेका दाहाल भन्छन्, “घरपायक नहुँदा जता आफू गयो त्यतै घर (परिवार) सार्नु पथ्र्यो, अहिले धेरै सजिलो भएको छ ।”

शिक्षक संघसङ्गठनका प्रतिनिधिहरू कि सरकारले घरपायकको व्यवस्था गर्नु पर्ने कि त दुर्गममा बस्ने शिक्षकहरूलाई थप सुविधा दिनुपर्ने ठान्छन् । शिक्षकले रोजेको ठाउँमै जागिरको व्यवस्था गर्नु पर्ने र पती–पत्नी छन् भने एउटै स्कूलमा मिलाइदिनुपर्ने बताउँदै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुलीका अध्यक्ष तथा जनजागरण उच्च मावि हर्साहीका प्रधानाध्यापक कुलमणि आचार्य भन्छन्, “सरकारले अति दुर्गम क्षेत्रमा पनि राम्रा शिक्षकहरू जान खोज्ने वातावरण बनाइदिए घरपायक खोज्ने चाप स्वतः घट्छ ।”   

तर घरपायक हुँदा शिक्षकहरू घरको कामबाट थाकेर स्कूल पुग्ने भएकाले विद्यार्थी माथि त्यसको असर पर्ने गरेको तथा गाउँमा एउटै व्यक्तिले धेरै काम गर्दा अवसर नपाउनेहरूले द्वेष राख्ने समस्या देखि एको अनुभव सुनाउँछन् शिक्षक युनियन सिन्धुलीका अध्यक्ष तथा जनजागृत उच्च मावि भिमान का प्रअ शालिग्राम पौडेल । उनी भन्छन्, “धेरै शिक्षक घरपायक चाहन्छन् तर घरपायक बस्नु रराम्रो हो भन्ने प्रमाणित गर्न चाहिँ सकिएको छैन ।”  

शिक्षा कार्यालयका एक अधिकृतका अनुसार घरपायक सरुवाको लागि सदरमुकाम धाउने शिक्षकहरू कुनै दिन टुट्दैनन् सिन्धुलीमा । उनीहरू सरुवा मिलाउनका लागि सबभन्दा पहिला शिक्षकका संघसंस्था तथा दलको कार्यालयमा पुग्छन् र त्यहाँबाट फोन गराए र मात्र शिक्षा कार्यालय आउँछन् । शिक्षा कार्यालयका अधिकृतगोकर्ण कार्कीको संयोजकत्वमा तीन वटा शिक्षक संघसङ्गठनका प्रतिनिधिहरू राखेर कार्यदल बनाइएकाले यसपटक राजनीतिक हस्तक्षेपको सामना गर्न सहज भएको बताउँदै अर्का एक अधिकृत भन्छन्, “यसपालि सबभन्दा रराम्रोसँग समझ्दारी गरेर घरपायक सरुवाको सहमति भयो ।”   

सदरमुकाममा ओइरो

घरपायकसँगै सरुवा भएर सदरमुकाम आउन चाहने शिक्षकहरूको चाप धानिनसक्नु छ सिन्धुलीमा । त्यसरी सदरमुकाम आउन खोज्ने शिक्षकहरू अधिकांश दल वा शिक्षक संघसंस्थामा आवद्ध हुने भएकाले शिक्षा कार्यालयले पनि समन्वय गर्न सकिरहेको देखिँदैन । जसले गर्दा सदरमुकामका स्कूलमा शिक्षकहरू पूल (तोकिएको दरबन्दीभन्दा बढी)मा रहने अवस्था छ भने दुर्गमका कतिपय स्कूलहरूमा शिक्षकको अभाव छ । सदरमुकामको ढुङ्ग्रेबासस्थित कमला उमाविका विज्ञान शिक्षक सरुवा भएर काठमाडौँ गएपछि त्यो स्थानमा नयाँखर्कबाट सामाजिक विषयका र झँगाझेली रातमाटाबाट विज्ञानका शिक्षकलाई ल्याइयो जसले गर्दा एक जना शिक्षक पूलमा बस्नुपर्ने अवस्था सिर्जना भयो ।

५० जना विद्यार्थीलाई दुई जना शिक्षक हुनुपर्ने सरकारी प्रावधान विपरीत ७२ जना विद्यार्थी भएको सदरमुकामको बालमन्दिर प्राविमा ६ जना शिक्षक छन् । तर ७५० जना विद्यार्थी भएको जखनीको शङ्करेश्वर उमावि आवश्यकता अनुसार शिक्षक नभएकाले निजी स्रोतबाट मुस्किलले चलिरहेको छ । शिक्षकहरूको सदरमुकाम प्रेमले गाउँका स्कूलहरू खाली हुनसक्ने खतरा देखाउँदै हर्साहीका प्रअ आचार्य भन्छन्, “शिक्षकहरू सदरमुकाम तान्दै जाँदा पाँच जना शिक्षक भएको अमारे गाउँको एउटा स्कूल रित्तै भएपछि सदरमुकामबाट एक जना शिक्षक पठाएर विद्यार्थीको जाँच लिनु परेको घटना अन्य स्कूलमा नदोहोरियोस् ।”  

शिक्षा कार्यालयका अनुसार हाल सिन्धुली सदरमुकाममा प्राविका ७२, निमाविका एक र माविका तीन गरी ७६ जना शिक्षक पूलमा छन् । राजनीतिक दलहरूसँग को पहुँचलाई प्रयोग गरेर ती शिक्षकहरू दुर्गमका स्कूलमा जान मान्दैनन् । उता शिक्षा कार्यालयले शिक्षक राहत अनुदान कोटाबाट दुर्गमका स्कूलमा शिक्षकहरू पठाउने गरेको छ, जो तुलनात्मक रूपमा अदक्ष मानिन्छन् । अखिल नेपाल शिक्षक सङ्गठन सिन्धुलीका सचिवालय सदस्य तथा डुँडभञ्ज्याङस्थित कटुञ्जे प्राविका प्रअ हरिबहादुर देवकोटा भन्छन्, “राहत कोटाबाट आउने शिक्षक प्रायः स्थानीय हुन्छन् र एक जना नियुक्त भएको ठाउँमा तीन जनासम्मले जागिर खान्छन् ।”     

कलेज वा ‘प्लस टु’मा पढाएर, व्यापार वा ठेक्कापट्टा गरेर अतिरिक्त आम्दानी गर्न सकिने, छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउन र संघसङ्गठनमा लागेर आफ्नो नेतृत्व विकास गर्न पाइने भएकाले सरुवाका लागि राजनीतिक पहुँच भएकाहरूले सदरमुकाम ताक्ने गरेका छन् । सिन्धुलीका मावि र उमाविका करिब ८० प्रतिशत शिक्षकहरू सदरमुकाम आउन चाहे पनि तीमध्ये दल र शिक्षक संघसंस्थामा बलियो पहुँच भएकाहरूले मात्रै अवसर पाउने गरेको बताउँछन् शङ्करेश्वर उमावि जखनीका प्रअ दुर्गाराज देवकोटा । यसरी आएकामध्ये करिब ६० जना शिक्षकहरू सदरमुकाममै रहेको बताउँदै प्रअ देवकोटा भन्छन्, “सदरमुकामका स्कूलहरू राजनीतिक दलका भर्तीकेन्द्र जस्ता भएका छन्, सरुवा भएर सदरमुकाम आउनेमध्ये ९९ प्रतिशत दलको इच्छा र शक्तिको आधारमा आउँछन् ।”

पूर्ण बस्नेत, सिन्धुलीमा

commercial commercial commercial commercial