हेडटिचर कक्षामा किन पस्ने ?

कक्षामा बालबालिकाको निर्दोेष अनुहार, स्वतन्त्र र निर्धक्क कुरा हरू देख्न–सुन्न पाइन्छन्, जसले एकैछिन भए पनि हामीलाई प्रशासनिक तनावबाट उन्मुक्ति दिन्छ । त्यसैले हेडटिचर कक्षाकोठामा पस्नैपर्छ, पसेर केही गर्नैपर्छ ।

यो वर्षको शैक्षिक सत्र अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरू आन्तरिक परीक्षामा अनुत्तीर्ण भएर अवकाशमा परेका, मौसम परिवर्तन र डेंगुको प्रकोपका कारण कतिपय शिक्षकहरू भाइरलले थला परेका र सुत्केरी तथा सुत्केरी स्याहार बिदा जस्ता टार्न नसकिने कारणहरूले गर्दा धेरै शिक्षकको अभावमा पनि विद्यालय चलाउनै पर्ने बाध्यताका बीचगुज्रिंदैछ । कक्षा व्यवस्थापनको कुरा आउँदा माथिल्लो कक्षामा भन्दा तल्ला कक्षाहरूमा शिक्षकको अनुपस्थितिले धेरै प्रभाव पार्दछ । एक पिरियड मात्र खाली हुँदा पनि साना भाइबहिनीहरू चलेर लड्लान् वा साथी–साथी झ्गडा गरेर केही होला कि भन्ने डर लिइरहनु पर्छ । ठूला कक्षाहरूमा बरू सँगै कक्षाको शिक्षकले केही काम दिएर वा बहुकक्षा शिक्षण गरेर एक दुई पिरियडसम्म अल्मल्याउन सकिन्छ ।

यसरी धेरै जना शिक्षकहरू अनुपस्थित हुँदा उपस्थित शिक्षकहरूलाई अतिरिक्त कक्षामा पठाउँदा त्यति प्रभावकारी र न्यायोचित नहुन सक्छ किनभने उनीहरूलाई आफ्नै कक्षा धेरै भइरहेको हुन सक्छ । सबैजसो विद्यालयमा प्रअको घन्टी अरू शिक्षकको भन्दा कम नै हुन्छ । त्यसैले जुनसुकै तहको शिक्षक अनुस्थित प्रअ सम्बद्ध कक्षामा जाँदा कक्षाको वस्तुस्थिति पनि बुझन विद्यार्थीसँग अन्तरक्रिया गर्न र विद्यार्थीलाई नयाँपनको अनुभूति गराउने अवसर प्राप्त हुन्छ । त्यति मात्र हैन, हेडसर वा हेडमिस स्वयं कक्षामा आउँदा बच्चाहरूमा उनीहरूप्रति आत्मीयता र अपनत्वको भावना पनि विकास हुन्छ । यस्तै–यस्तै अनुभव सँगाल्ने क्रममा अतिरिक्त कक्षामा जाँदा ४५ मिनेटको समयको भरपुर फाइदा कसरी लिने भन्ने विषय ज्यादै महत्वपूर्ण  हुन्छ । ४५ मिनेट भित्रमा हेडटिचरले कक्षाको वस्तुस्थिति बुझन बालबालिकालाई रमाइलो गराउन र केही ज्ञान पनि दिन सक्नुपर्ने हुन्छ । त्यसका लागि गर्न सकिने केही क्रियाकलाप यस्ता हुन सक्छन्ः

पहिलो , खेल विधिबाट शिक्षण गर्ने । बालबालिकाको उमेर, तह, इच्छा र चाहना अनुसार विभिन्न शैक्षिक खेलहरू खेलाउन सकिन्छ । जस्तैः विज्ञान हाजिरीजवाफ, गणित हाजिरीजवाफ, अंगे्रजीको हिज्जे प्रतियोगिता, नेपालीको शब्द अर्थ भन्ने प्रतियोगिता आदि । यस्ता प्रतियोगिता गर्दा थोरै समयमा बढी भन्दा बढी प्रश्न सोध्न र बढीभन्दा बढी बालबालिकाको सहभागिता रहोस् भन्नाको लागि धेरै जटिल नियमहरू नबनाई कक्षाको आकार अनुसारको समूह विभाजन गर्न उपयुक्त हुन्छ । त्यसपछि प्रत्येक समूहको एक–एक जना टोली नेता चयन गर्ने र शिक्षकले पढाइसकेका पाठबाट एक–एक वटा प्रश्न सोध्दै जाने । यस्तो विषयगत हाजिरीजवाफ प्रतियोगिताबाट बालबालिकाले सम्बन्धित विषय कतिको बुझेका  छन् अथवा पढेका कुरा हरू कतिको सम्झेका  छन् भन्ने कुरा थाहा पाउन सकिन्छ । यस किसिमको शैक्षिक खेलले बालबालिकालाई चनाखो पनि बनाउँछ । झपट निर्णय गर्ने क्षमताको विकास गराउँछ । सही निर्णयले विजयी बनाउँछ र आत्मविश्वास बढाउँछ भनेगलत निर्णयले भविष्यमा विजयी हुन आवश्यक रणनीति तयार गर्न मद्दत गर्द छ । सबैभन्दा महत्वपूर्ण  कुरा , बालबालिकाहरू खेल भन्ने वित्तिकै दिलोज्यानले जित्ने कोशिशमा लाग्छन् । ‘कोशिश’ गराउने, लक्ष्यमा पुग्न मिहिनेत गर्न सिकाउने र सदैव सफल हुन प्रयासरत हुन सिकाउनु नै एउटा शिक्षकको पेशागत कर्तव्य हो ।

अतिरिक्त कक्षा व्यवस्थापनको अर्को उपाय हो— ‘पुस्तकालय भ्रमण’ । शिक्षक अनुपस्थित हुँदा विद्यार्थीलाई पुस्तकालय लैजाने, उमेर अनुसारको पुस्तक छनोट गराए र पढ्न लगाउने गर्नाले बालबालिकामा पठन संस्कृतिको विकास हुनुको साथै बाह्य ज्ञान वृद्धि हुने र कोर्सका किताबमा नबुझेका, नपुगेका कुरा हरू सन्दर्भ सामग्री मार्फत सिक्ने, पढ्ने बानीको विकास हुन्छ । विद्यार्थीलाई पुस्तक–पठनप्रति आकर्षित गर्न सके उनीहरूको शब्द ज्ञान (Vocabulary) बढ्नुको साथै धैर्यवान, नैतिकवान र अध्ययनशील बनाउन पनि मद्दत पुग्छ । विद्यालयमा मात्रै नभई घरमा पनि फुर्सदको समयमा पुस्तक पढ्ने बानीको विकास हुन्छ । पुस्तकले मानिसलाई ज्ञानी बनाउँछ । आफ्नो विचार को दायरालाई फराकिलो बनाउँछ । अरूको विचार धैर्यपूर्वक पढ्ने र विश्लेषण गर्ने क्षमताको विकास गराउँछ ।

विद्यार्थीलाई प्रअले वेला–वेलामा तिमीहरूलाई मनपर्ने शिक्षक को हो ? र किन ? भनेर सोध्नुपर्छ । यसरी सोध्दा उनीहरूको विचार को कदर गरेको मात्रै हैन, कस्ता शिक्षक विद्यार्थीलाई मन पर्छ भन्ने कुरा को जानकारी पनि पाउन सकिन्छ । त्यस्तै, हराम्रो विद्यालयमा के भइदिए हुन्छ भनेर सोध्नुपर्छ । आखिर, विद्यालयको केन्द्रविन्दु भनेकै विद्यार्थी हुन् । उनीहरूको रुचि, चाहना, इच्छा पूरा भए विद्यालय उनीहरूलाई प्यारो लाग्छ, प्यारो ठाउँमा सधैं जाउँ जाउँ लाग्छ, मन लागेको ठाउँमा जाँदा मन खुशी हुन्छ र खुशी मनले सिकेका कुरा हरू दिगो हुन्छ । शिक्षकको अनुपस्थितिमा कक्षाकोठामा पस्दा हामी विद्यालयको शैक्षिक तथा भौतिक विषयमा बालबालिकासँग छलफल गर्न सक्छौं । उनीहरूको विचार ध्यान दिएर सुन्दा उनीहरूमा आफ्नो विचार प्रकट गर्ने सीपको विकास हुन्छ । साथीको विचार बुझने अवसर प्राप्त हुन्छ । रराम्रो/नरराम्रो, ठीक/बेठीक, उचित/अनुचित के हो छुट्याउन सक्छन् । शिक्षाको मूलभूत उद्देश्य नै यही हैन र ?

प्रअका धेरै जिम्मेवारीहरूमध्ये शिक्षकलाई निरन्तर पृष्ठपोषण दिएर उत्प्रेरित गर्नु पनि एक हो । कक्षाकोठामा नगइकन शिक्षकले कक्षाकोठामा भोग्नु परेका समस्याको बारेमा प्रअ अनभिज्ञ हुन्छ । विद्यार्थीको सिकाइ उपलब्धिको आधारमा मात्रै दिएको पृष्ठपोषण खासै व्यावहारिक नहुन सक्छ । आफैं कक्षाकोठामा पसेपछि कक्षाकोठाको वास्तविकता बुझन सकिन्छ । कक्षाकोठाको सबल र दुर्बल पक्षको बारेमा जानकार हुन सकिन्छ । यसपछि दिएको पृष्ठपोषण यथार्थपरक र कार्यान्वयन योग्य हुन्छ र शिक्षकले पनि सहर्ष स्वीकार्दछन् ।

वास्तवमा, प्रअले गर्ने सबै क्रियाकलाप बालबालिकाको लागि नै हुन् । शिक्षकहरूले रराम्रो पढाएको नपढाएको अवलोकन अनुगमन गर्ने तिनै बालबालिकाको निम्ति हो । भौतिक सुधारका लागि सरकारी तथा गैर सरकारी संस्थामा धाउने तिनकै लागि हो । स्रोत जुटाउने, चन्दा संकलन गर्ने , समुदायसँग समन्वय गर्ने सबै–सबै तिनै बालबालिकाको लागि हो भने तिनको मनमस्तिष्कमा पस्न, उनीहरूको भावना बुझन, प्रअ र विद्यार्थीको सम्बन्ध आत्मीय बनाउन र दूरी घटाउन पनि प्रअ कक्षाकोठामा छिर्नै पर्छ ।

बालबालिकाको निर्दोेष अनुहार, उनीहरूको निस्वार्थ माया, स्वतन्त्र विचार , कलिला सपना, निर्धक्कसँग गरेका शिक्षकको प्रशंसा वा गुनासो, अनायास पोखेका पारिवारिक समस्या– यस्तै यस्तै कुरा हरू देख्न र सुन्न पाइन्छ कक्षाकोठामा, जसले एकैछिन भए पनि हामीलाई प्रशासनिक झनझट  र तनावबाट उन्मुक्ति दिन्छ । तर यसको लागि हामी बालबालिकासँग भिज्न जान्नुपर्छ । उनीहरूलाई आफ्नो बनाउन जान्नुपर्छ । उनीहरूको विश्वास जित्न सक्नुपर्छ । पटक पटकको कक्षा भ्रमण, उनीहरूसँग मित्रवत् व्यवहार, उनीहरूप्रतिको हराम्रो माया केवल मायाले मात्रै यसलाई सम्भव बनाउँछ । त्यसैले हेडटिचर कक्षाकोठामा पस्नैपर्छ, पसेर केही गर्नैपर्छ । 

सरस्वती निकेतन मावि, ब्रह्मटोल, काठमाडौं

२०७६ मंसीर अंकमा प्रकाशित ।

commercial commercial commercial commercial