बैसाखीको सहारा

बेनी सामुदायिक प्रस्तावित माध्यमिक विद्यालयकी प्रधानाध्यापक तीर्थकुमारी श्रेष्ठले घिस्री–घिस्री एसएलसी उत्तीर्ण गरेर बैसाखीको सहारामा पढाउन थालेको पनि ३२ वर्ष भइसकेको छ । उनी शारीरिक हिसाबले अशक्त छन् । पारिवारिक दृष्टिले एक्ली छन् । तर उनको विद्यालयप्रतिको मोह र प्रतिबद्धतामा न शारीरिक अशक्तता झल्कन्छ, न त नैराश्य र एक्लोपन । उनी भन्छिन्, “मेरो दिमागमा जतिबेला पनि स्कूल नै खेलिरहन्छ ।”

१४ महिनाकी हुँदा उनलाई पोलियो भयो । तिनताका पोलियो थोपा खुवाउने चलन थिएन । परिणामतः उनी अपाङ्ग भइन् । २०३६ मा भएको उनको अन्तरजातीय प्रेमविवाह अपाङ्गताकै कारण १० वर्षभन्दा टिक्न सकेन । पतिले उनलाई अपाङ्ग भनेर हेला गर्ने र रक्सीको सुरमा पिट्न थालेपछि उनी अलग्गिइन् । उनकी एक्ली छोरीको पनि विवाह भइसकेको छ । दिनभरि उनको समय विद्यालयमै बित्छ । घरमा समय काट्न उनीसित गीता लगायतका केही किताब, विभिन्न पत्रपत्रिका र हार्मोनियम छन् ।

विद्यालय परिसरमा विद्यार्थीमाझ तीर्थकुमारी श्रेष्ठ ।

५४ वर्षअघि बेनीमै जन्मेकी तीर्थ कुमारीले १ देखि ५ कक्षासम्म बेनी प्राविमा पढिन् र २०३२ सालमा बेनीकै सबैभन्दा पुरानो प्रकाश हाईस्कूलबाट तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । अहिले उनी आफैँले पढेको स्कूलमा प्रधानाध्यापक छन् । बल्लबल्ल एसएलसी पास गरे पनि कलेज पढ्न उनलाई सजिलो थिएन । किनभने क्याम्पस पढ्न पोखरासम्म हिँडेर आवतजावत गर्नु पथ्र्यो जुन उनका लागि दुरुह थियो । उनकै शब्दमा, “पृथ्वीनारायण क्याम्पसमा आई.एड.मा भर्ना त भएँ; तर अहिले जस्तो बैसाखी नभएको ले आवतजावत गर्न कठिन भयो । पढाइ पूरा गर्न सकिनँ ।”

‘प्राथमिक द्वितीय श्रेणी’को शिक्षक पदमा कार्यरत तीर्थ कुमारी आफूभन्दा धेरै बढी शैक्षिक योग्यता भएका अन्य शिक्षकहरूको समेत विश्वास जितेर माविसम्मकै प्रधानाध्यापक भएकी छन् । उनी भन्छिन्, “मौका पाउँदा अपाङ्गले पनि सवलाङ्गसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने मैले प्रमाणित गर्न खोजेकी छु ।” हुन पनि , तीर्थ कुमारी आफ्ना लागि मात्र बाँचेकी छैनन्, अरू अपाङ्गहरूका लागि पनि उनले सक्दो सहयोग पुर्याइरहेकी छन् । अपाङ्ग संघ म्याग्दीको कार्यालय उनकै घरमा रहेको छ ।

विद्यार्थीहरूसँगै विद्यालय जाँदै ।

आफूलाई पनि गुरुहरूले पिटेरै पढाएकोले शुरु–शुरुमा आफूले पनि विद्यार्थीलाई ‘अलिअलि पिट्ने गरेको’ तर आजभोलि त्यो बानी छोडेको तीर्थ कुमारी बताउँछिन् । उनको अनुभवमा, “घण्टी लाग्नासाथ शिक्षक कक्षामा जाने हो भने विद्यार्थीलाई पिट्नुपर्ने अवस्था नै आउँदैन ।” विद्यालय तहको पढाइको गुणस्तर सुधार्न सरकारले रराम्रो पढाउने शिक्षकलाई प्रोत्साहन र लापरवाही गर्ने शिक्षकलाई दण्ड दिनुपर्ने तथा शिक्षकले पनि विद्यार्थीलाई भुलाउने मात्र नभई रराम्रोसँग पढाउनु पर्ने उनको सुझाव छ । प्रधानाध्यापकले स्थानीय गन्ने– मान्ने, भद्र–भलाद्मी र शिक्षाप्रेमीहरूसित सल्लाह गरेर अघि बढ्नुपर्ने पनि उनको बुझाइ छ । पहिले पहिले ‘विद्यालय भनेको शिक्षक र सरकारको मात्र हो’ भन्ने ठान्ने अभिभावकहरूले पनि अहिले ‘शिक्षक, विद्यार्थी र विद्यालय हाम्रा हुन्’ भन्ने सोच्न थाल्नुलाई उनी निकै सकारात्मक मान्छिन् ।

प्रथम श्रेणीमा बढुवा गरिँदा १० महिने आधारभूत तालिम नभएको भन्दै आफूलाई बढुवाबाट वञ्चित गरिएकोमा तीर्थ कुमारीको गुनासो छ । बढुवा भएको भए उनको मासिक तलब रु.१०,५०० मा अरू रु.१७०० थप हुनेथियो । नेपाल राष्ट्रिय शिक्षा पदकबाट सम्मानित तीर्थकुमारी जिल्ला शिक्षा कार्यालयले आफ्नो योगदानको कदर न गरेकोमा खिन्न देखिन्छिन् । उनी भन्छिन्, “शिक्षा कार्यालयले बेवास्ता गरे पनि समाजले सम्मान गरेकोमा गौरवान्वित छु ।”
तस्वीरहरूः किरण पाण्डे

commercial commercial commercial commercial