मेहनती महतो सर !

महतो गणितलाई ‘हाउगुजी’ का रूपमा नभई एउटा उपयोगी र रुचिपूर्ण विषयका रूपमा प्रस्तुत गरिनुपर्ने ठान्छन् । उनको बुझइमा घोकाएर वा तर्साएर विद्यार्थीले गणित सिक्नै सक्दैनन् ।

२०५९ सालमा पहिलो पटक एसएलसी परीक्षामा २९ विद्यार्थी सहभागी गराएको बाराको निजगढस्थित गौरीशङ्कर माविको नतिजा त्यो वर्ष ‘निल’ भयो । अधिकांश विद्यार्थी गणित र विज्ञानमा फेल भए । यो नतिजापछि गणित र विज्ञान पढाउने शिक्षक रामवली महतो (३८) सात दिनसम्म ‘लाज’ले घरबाट निस्किएनन् । तर, आफ्नो निराशालाई तोड्दै दोस्रो वर्ष स्कूललाई उत्कृष्ट नतिजा दिलाउने अठोटका साथ उनी कस्सिए । नभन्दै २०६० सालको एसएलसीमा गणित र विज्ञानमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए । बढी गाह्रो मानिने विषयमै सबै विद्यार्थी पास भएपछि स्कूलको समग्र नतिजा पनि ६०.४२ प्रतिशतमा तानियो; जुन नतिजा त्यो वर्ष जिल्लाभरकै सर्वोत्कृष्ट थियो । त्यसयता गौरीशङ्करमा यी दुवै विषयको स्तर खस्किन पाएको छैन । यो सफलताका मुख्य कारक हुन्– शिक्षक रामवली महतो ।

यता आएर महतो जिल्लाकै ‘गतिला गणित शिक्षक’को रूपमा चिनिन्छन् । २०६१ सालमा ‘राष्ट्रिय शिक्षा पुरस्कार’ समेत पाएका महतो भन्छन्, “आफ्नो सानो कमजोरीले विद्यार्थीको भविष्य गडबड होला भन्ने डर सधैं भइरहन्छ । त्यसैले रातदिन मेहनत र चिन्तन गर्छु । मेहनत अनुसार नतिजा पनि राम्रो आउँदा प्रशस्तै सन्तुष्टि मिलेको छ ।” निमावि द्वितीय श्रेणीका शिक्षक भए पनि उनले आफूलाई माध्यमिक तहको गणित शिक्षणमा अब्बल दर्जाको शिक्षकका रूपमा स्थापित गराइसकेका छन् ।

शिक्षक महतो गणितलाई ‘हाउगुजी’ का रूपमा नभई एउटा उपयोगी र रुचिपूर्ण विषयका रूपमा प्रस्तुत गरिनुपर्ने ठान्छन् । उनको बुझइमा घोकाएर वा तर्साएर विद्यार्थीले गणित सिक्नै सक्दैनन् । उनी भन्छन्, “विद्यार्थीलाई ‘इन्टरएक्टिभ’ तरिकाले सिकाउने हो भने गणित गाह्रो छैन । गल्ती नै गरे पनि विद्यार्थी आफैंलाई प्रयोग गर्न लगाउनुपर्छ । त्यसो गर्दा विद्यार्थीले बुझ्े÷नबुझ्ेको थाहा हुन्छ ।”

गणित पढाउँदा उनी शिक्षण सामग्रीको प्रयोगमा जोड दिन्छन् । त्यसनिम्ति उनले माटोका प्रिज्म, पिरामिड, गोला जस्ता सामग्रीहरू आफैंले बनाएका छन् । सबै चित्रको सतह कालोपाटीबाट देखाउन कठिन पर्ने र त्यसलाई सामग्री प्रयोग गरेर देखाएपछि विद्यार्थीले सजिलै बुझन सक्ने महतोको ठम्याई छ । उनले ९बंद०घ  को सूत्र समेत त्यस्तै सामग्रीको प्रयोगबाट विद्यार्थीलाई बुझउने गरेका छन् । महतोको शिक्षणकलाबारे कक्षा १० का छात्र सागर अधिकारी भन्छन्, “कुनै पनि कुरा सरल भाषा र रमाइलो ढङ्गले सिकाउनुहुन्छ । लामो कुरालाई छोटो ढङ्गले सिकाउने उहाँको बानी साह्रै मनपर्छ ।”

अति नै आवश्यक पर्दा बाहेक नत्र हत्तपत्त ट्युसन पढाउँदैनन् र बिदा पनि बस्दैनन् । व्यक्तिगत कामलाई बिदाको दिन गर्ने गरी तालिका तय गर्छन् । डेढ दशक चक–डस्टरसँग खेलिसकेका महतो शिक्षण पेशामा रमाएका छन् र सन्तुष्ट पनि देखिन्छन् । उनी भन्छन्, “विद्यार्थीलाई सिकाउनुबाहेक अन्य चाहना मसँग छैनन् । चाहना धेरै राख्दा सन्तुष्टि मिल्दैन ।” आफ्नो क्षमता र योग्यताले भ्याएसम्म शिक्षण पेशाबाट दायाबायाँ नलाग्ने उनको अठोट छ ।

शिक्षक महतो हिजोआज जिल्लाका गणित विषयका प्रशिक्षकको रूपमा पनि चिनिन्छन् । शिक्षक युनियन, बाराका अध्यक्ष देवेन्द्र गिरीको भनाइमा महतो विषयगत दक्षता र पेशागत कुशलता भएका शिक्षक हुन् । अभिभावकहरु स्कूलको स्रोतबाट थप तलब दिएर भए पनि महतोलाई गौरीशङ्करमै राखिराख्न प्रतिबद्ध भेटिन्छन् । गौरीशङ्कर माविले १०+२ कक्षा सञ्चालनका लागि उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन मागेको छ । उनी भन्छन्, “कक्षा ११ र १२ लाई समेत पढाउने मेरो रहर अब पूरा हुँदैछ ।”

स्कूलको सहायक प्रअको जिम्मेवारी समेत वहन गरिरहेका शिक्षक महतो जति मेहनती छन्, त्यत्तिकै मिलनसार पनि । स्कूलका अन्य शिक्षकहरू पनि उनको कार्यशैलीप्रति उत्तिकै सन्तुष्ट पाइन्छन् । प्रअ यादव तिमल्सिना भन्छन्, “रामवली सरसँग राम्रो विषयगत दक्षता छ । गणितका लागि उहाँको विकल्प हामी सोच्न पनि सक्दैनौं ।”
शिक्षक महतो अक्सर ढाका टोपी लगाउँछन् । यसलाई नेपाली हुनुको ‘शान’ ठान्छन्, उनी । भन्छन्, “ढाका टोपी नेपालीको गर्व र पहिचान हो । यसले व्यक्तित्वलाई समेत झ्ल्काउँछ ।”

प्रमोद आयाम

commercial commercial commercial commercial