योग्यता र लगनका प्रतिमूर्ति कृष्ण सर

बगनाहाको चुरे उमावि हिजोआज बर्दिया जिल्लाको मात्र नभई मध्यपश्चिमकै एउटा उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा चिनिन्छ । २०६३ सालमा क्षेत्रीय पुरस्कार जितेको यही उमाविले २०६५ मा क्षेत्रीय शिल्डका अतिरिक्त कार्यदक्षता मूल्याङ्कनको आधारमा रु.२६ लाख ४३ हजारको नगद पुरस्कार समेत पाइसकेको छ । विद्यालयले हासिल गरेको यो प्रतिष्ठाको मुख्य आधार भौतिक पूर्वाधार, आर्थिक अवस्था र परीक्षाको नतिजा नै हो । र, ती आधार निर्माण गर्ने सबैभन्दा बढी श्रेय प्रधानाध्यापक कृष्णप्रसाद पौडेललाई जान्छ ।

२ भदौ २०३७ मा पौडेलले यो विद्यालयको प्रअको जिम्मेवारी लिँदा जम्मा ४०० जना विद्यार्थी थिए । अहिले उमाविमा ४०० सय, मावि तहमा १,६७५ र स्नातकमा ३५० विद्यार्थी छन् । उल्लेखनीय कुरा के छ भने, यहाँ छात्रभन्दा छात्रा बढी छन् । तर अन्य कतिपय शहरी इलाकामा झ्ैँ छोरा निजी स्कूलमा र छोरी सरकारीमा पढाउने चलन भएकाले यहाँ छात्रा बढी भएका भने होइनन् । किनकि त्यो इलाकामा निजी स्कूल अझ्ै खुलेका छैनन् । त्यसो भए यसको कारण के होला त ? पौडेल प्रस्ट्याउँछन्, “छोरीलाई पनि पढाउनुपर्छ भन्ने जागरण आएको र हामीले पनि घरघर गएर अभिभावकलाई भेटेर सम्झइबुझइ गरेकाले गाउँका अधिकांश केटीहरू स्कूल आएका छन् ।”

करिब ३० वर्षअघि उनी प्रअ नियुक्त हुँदा विद्यालय र पढाइको गुणस्तरको अवस्था चिन्ताजनक नै थियो । विद्यालय राम्रो हुन सबैभन्दा पहिला असल शिक्षक धेरै हुनुपर्छ भन्ने बुझ्ेका कृष्ण सरले सबभन्दा पहिला त्यही कुरामा ध्यान दिए । खोजी खोजी अङ्ग्रेजी र नेपाली विषयका शिक्षक जुटाए । दुर्गम र टाढाका विद्यार्थीहरूलाई घरमै निःशुल्क ट्युसन पढाउन थाले । अरू शिक्षकलाई पनि त्यस्तै गर्न प्रेरित गरे । परिश्रमको फल मीठो हुन्छ भने झ्ैँ उनी प्रअ भएको पहिलो वर्षमै एसएलसी दिने २६ जना सबै उत्तीर्ण भए । अर्को वर्ष ११५ विद्यार्थीले एसएलसी पास गरेपछि त कृष्णसर जिल्लाभरि नै चर्चित व्यक्ति बन्न पुगे ।
२०५५ देखि उच्च माध्यमिक तहको कक्षा सञ्चालन भएको यस प्रतिष्ठानमा अहिले मानविकी, व्यवस्थापन र विज्ञान (शिक्षा) सङ्कायको पढाइ हुन्छ । मध्यपश्चिममै पहिलो पटक स्नातक तह (बीएड)मा विज्ञान विषय पढाउने शैक्षिक संस्था पनि यही उमावि भएको छ ।

मावि तहको शैक्षिकस्तरमा सुधार आएपछि पौडेलले थारू जातिको बाहुल्य भएको बगनाहामा अभिभावकहरूलाई विद्यालयको भौतिक पूर्वाधार सुधारमा केन्द्रित गराए । नभन्दै, अहिले चुरे उमाविमा सुविधाजनक पुस्तकालय र यथेष्ट फराकिला पक्की कक्षाकोठाहरू छन् । अहोरात्र विद्यालयको उन्नतिमा खटिएका कृष्ण सर संस्थाको हितका लागि पहिला सहकर्मी शिक्षक अनि व्यवस्थापन समितिसँग छलफल गर्छन् र निर्णयमा पुग्छन् । निर्णय लिएपछि त्यसमा अडिग रहने बानी छ । विज्ञान शिक्षक नन्दराम अधिकारी भन्छन्, “ढिलै होस् तर, निर्णय लिएपछि त्यसमा तलमाथि नभई काम गर्ने बानी भएका कारण नै स्कूलको व्यवस्थापन राम्रो भएको छ ।”

कृष्ण सर विद्यालयलाई प्रगतिको बाटोमा डो¥याउने कुशल व्यवस्थापक मात्र नभई गणित विषयमा त्यस भेगकै ‘अब्बल शिक्षक’ का रूपमा कहलिएका छन् । गणितलाई निरस विषय मान्ने र घोकाउने चलन विपरित उनी बुझइलाई प्राथमिकता दिन्छन् । रसिलो गरी गणितका सूत्र बुझउने उनको शिक्षण विधिले विद्यार्थीहरूमा गहिरो छाप छोड्ने गरेको छ । कुनै समयका पौडेलका विद्यार्थी र हाल सोही स्कूलका शिक्षक नन्दराम भन्छन्, “उहाँ विषयगत रूपमा पनि धेरै दक्ष र पढाउन पनि उत्तिकै माहिर हुनुहुन्छ ।”

विद्यार्थी र अभिभावकबीच कडा हेडमास्टरको छवि बनाएका कृष्ण सरले द्वन्द्वपीडित, गरीब र अभिभावक नभएका १० विद्यार्थीको शुल्क आफैँ बेहोरिरहेका छन् । उनको विचारमा विषयगत दक्षता र कर्तव्यबोधले व्यक्तिलाई राम्रो शिक्षक बनाउँछ । व्यक्तिले शिक्षक भएकै दिनदेखि नैतिकता र असल व्यवहारप्रति विशेष रूपमा जागरुक हुनुपर्छ । तर, आजको शिक्षा क्षेत्रलाई राजनीतिले कमजोर बनाउँदै लगेको र विद्यार्थीमा पनि मेहनत गर्ने बानी हट्दै गएकोमा उनी चिन्तित छन् । भन्छन्, “शिक्षाको स्तर उकास्न विद्यार्थीको भूमिका पनि अहम् हुन्छ । अनुशासित, बढीभन्दा बढी कक्षामा बस्ने र शिक्षकले बताएका कुरा कापीमा सार्ने विद्यार्थी कहिल्यै असफल हुँदैन ।”

आज नसके भोलि पढाउनुपर्छ, तर कहिल्यै गलत पढाउनुहुँदैन भन्ने मान्यताबाट सधँै अनुप्राणित कृष्ण सर आफ्ना छोराछोरी भने भरसक शिक्षक नहोऊन् भन्ने चाहन्थे । किनकि, आफ्नै सन्तान शिक्षक भएर पेशामा इमानदार रहेनन् भने आफूले जीवनभर गरेको तपस्या असफल हुने भयले उनले त्यस्तो चाहेका रहेछन् । तैपनि, बर्दियामा सादा जीवन उच्च विचारका प्रतीक बनेका सधैं सेतो साइकलमा हिँड्ने यी शिक्षासेवीका पाँचमध्ये दुई छोरा र एउटी बुहारी शिक्षण पेशामै संलग्न भएका छन् । तीन दशक लामो शिक्षण यात्रामा त्यागपूर्ण साथ दिएकी जीवनसाथी बसुन्धरा यही जेठमा सधैँका लागि छाडेर गइन्, कृष्ण सरलाई । श्रीमतीका गुणहरू सम्झ्ँदै उनी भन्छन्, “उनले आर्थिक अभावमा पनि दुःखले चलाइन्, पैसाका लागि कहिल्यै दबाब दिइनन्, त्यही भएर पनि ममा आर्थिकोपार्जनप्रति खासै चासो रहेन ।”

चुरे निमाविलाई मावि बनाउने पहल हुँदै गर्दा उनी  काठमाडौंमा एमए सकेर बगनाहा पुगेका थिए । लगत्तै, प्रधानाध्यापक बन्ने प्रस्ताव आउँदा उनले शुरुमा अस्वीकार गरे । पछि बीएड गरेपछि भने प्रअ बन्न उनी तत्पर भए । उनले आफ्ना जीवनका स्वर्णिम वर्षहरू स्कूलकै उन्नतिमा लगाए र सफल पनि भए । वि.सं. २००७ मा प्यूठानमा जन्मेका मध्यपश्चिमाञ्चलकै प्रेरणादायी शिक्षक बन्न सफल कृष्णप्रसाद पौडेलले चुरे उमावि छाड्ने दिन अब धेरै टाढा छैन । अघिपछि विद्यार्थीको लस्कर लगाएर विद्यालय आउने–जाने उनको उमेर हदका कारण केही महिनाभित्रै सेवा निवृत्त हुँदैछन । तर उनी र उनको योगदानलाई बगनाहाका स्थानीय बासिन्दा र उनका विद्यार्थीले शायद कहिल्यै बिर्सने छैनन् ।

सुरेशराज न्यौपाने

commercial commercial commercial commercial