दुर्गम स्कूलमा ४२ वर्ष

शिक्षण पेशाका ४२ वर्ष म्याग्दी र मुस्ताङका विद्यालयमा बिताएका ५८ वर्षीय हरिबहादुर केसी २०६२ सालदेखि मुस्ताङको छोसेरस्थित दिव्यदीप माविमा प्रअ छन् । उनी प्रअ हुनुअघि दिव्यदीप माविको शैक्षिक÷भौतिक अवस्था नाजुक थियो । विद्यालयको गतिलो भवन थिएन । अभिभावकले पनि आफ्ना सन्तानलाई दिव्यदीपमा पढाउन हिच्किचाउँथे । आर्थिक अवस्था राम्रो हुनेहरू आफ्ना नानीहरू पोखरा र काठमाडौं पठाउँथे भने कमजोर अभिभावकको रोजाइमा गुम्बा पर्ने गरेको थियो । तर, अहिले स्थानीय बासिन्दाले आफ्ना नानीहरूलाई दिव्यदीपमा पढाउन थालेका छन् । केसी भन्छन्, “पहिले त स्थानीयलाई आफ्ना सन्तान विद्यालय पढाउनुपर्छ भनेर सम्झउन गाह्रो भयो । तर, अहिले सबैले यही स्कूलमा पढाउन थालेका छन् । यो ठूलो सफलता हो ।” केसीको आगमनअघि दिव्यदीपको शैक्षिक नतिजा राम्रो थिएन । यस्तै चुनौतीमा केसीले दिव्यदीपको प्रअको जिम्मेवारी लिएका थिए । तर उनको लगन, मिहिनेत र सबैसँग मिलेर काम गर्ने बानीले सात÷आठ वर्षमै दिव्यदीपको मुहार फेरिएको छ । शैक्षिक उपलब्धि बढ्दै गएको छ । तीन वर्षयता यो स्कूलले  एसएलसीमा शतप्रतिशत नतिजा हासिल गरेको छ ।

एउटा भवनमा सीमित स्कूलले केसीकै प्रयासमा चारवटा ब्लक पाएको छ । विद्यार्थी खेल्ने र प्रार्थना गर्ने चौर नभएको स्कूलका निम्ति चौर बनाइएको छ । २०६३÷६४ सालमा जिविसको सहयोगमा स्कूलमा खानेपानीको व्यवस्था र भान्छाघर निर्माण गरिएको छ । त्यस्तै अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाको सहयोगमा विद्यालयको पर्खाल पनि बनाइएको छ । केसीकै अगुवाईमा विद्यालयका लागि २६ वटा ल्यापटप र पाँचवटा कम्प्युटर जुटाइएको छ । पुस्तकालय र विज्ञान प्रयोगशाला पनि बनाइएको छ । पुस्तकालयमा झ्ण्डै नौ हजार बढी किताब छन् ।

प्रअ केसी स्कूललाई आर्थिक÷भौतिक रूपमा सम्पन्न बनाउने अभियानमा मात्र केन्द्रित छैनन्, कक्षा शिक्षणमा पनि सक्रिय छन् । उनी छात्रछात्रालाई गणित र जनसंख्या पढाउँछन् । विद्यार्थीलाई कुटेर वा दण्ड दिएर भन्दा पनि सम्झएर र प्रयोगात्मक विधिबाट बुझउन सकिन्छ भन्नेमा विश्वास गर्छन् उनी । दिव्यदीपमा यही विधि लागू गरिएका कारण विद्यार्थीको कक्षा छाड्ने र स्कूल नआउने दर पनि घटेको छ ।

दुर्गम भेगका स्कूलको पढाइ कमजोर भएकोले मुस्ताङ रोजेको केसी बताउँछन् । “शरीर र स्वास्थ्यले साथ दिएसम्म शिक्षण पेशाबाट विश्राम लिन्नँ”, उनी भन्छन् । मुस्ताङका जिशिअ विष्णुप्रसाद अधिकारी पनि केसीको कामबाट प्रभावित छन् । अधिकारी भन्छन्, “केसी सर कर्तव्यनिष्ठ, इमान्दार र विद्यार्थीको भविष्यप्रति अत्यन्तै चिन्तित भएर काम गर्छन् ।”

स्याङ्जाका बासिन्दा केसीले म्याग्दीको जनजागृति प्राथमिक पाठशालाबाट शिक्षण शुरू गरेका हुन् । उनले सात वर्ष म्याग्दीकै अमर निमाविमा पढाए । त्यसपछि उनी उपल्लो मुस्ताङको दिव्यदीप निमावि पुगे । त्यहाँ उनले २०३९ सालदेखि २०४९ सालसम्म पढाए । उनी २०४९ मा सरुवा भएर मुस्ताङको कोवाङस्थित जनआदर्श माविमा पुगे, जहाँ उनले २०५६ सालसम्म पढाए । शिक्षाशास्त्रमा स्नातक केसी २०५७ सालदेखि २०६२ सालसम्म मुस्ताङमै स्रोतव्यक्ति थिए । तर, केसीको मनले स्रोतव्यक्तिको जिम्मेवारीमै रहेर काम गर्न मानेन । त्यसपछि उनी दिव्यदीपको प्रअ भएर स्कूलको उन्नतिमा सक्रिय छन् ।
दीर्घराज उपाध्याय

commercial commercial commercial commercial