शिक्षण जागिर हैन !

कडा अनुशासनले मानिसलाई लक्ष्यमा अनवरत हिंड्ने ऊर्जा दिन्छ । समपर्णभाव दिन्छ । गर्न हुने र नहुने बीचको भेद छुट्याइदिन्छ । गर्न हुने काम मात्र अनुसरण गर्न प्रेरित गर्छ । गर्न नहुने कामलाई जीवनबाट परित्याग गर्न उत्प्रेरित गर्दछ ।

आजकाल के गर्दै हुनुहुन्छ ?
त्रिभुवन विश्वविद्यालयबाट २०६४ सालमा रिटायर्ड भएदेखि नै कलेज अफ एप्लाइड बिजनेशको प्रमुखको रूपमा कार्यरत छु । शंकरदेव क्याम्पसमा छँदै केही साथीहरू मिलेर २०५५ सालमा यो कलेज स्थापना गरेका थियौं । ट्रष्टमा आधारित यो कलेज गैरनाफामूलक हो ।

शंकरदेव र यो कलेजमा के भिन्नता छ ?
शंकरदेव ‘मास एजुकेशन’ दिने कलेज हो । त्यहाँ एउटा कक्षामा ३५० जनासम्म विद्यार्थी हुन्छन् भने यहाँ बढीमा ३० जना हुन्छन् । यहाँको पढाइ अन्तरक्रियामुखी हुन्छ भने त्यहाँ ठूलो कक्षा हुने भएकाले शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया सम्भव नै हुँदैन । त्यहाँ विद्यार्थीलाई ‘असाइनमेन्ट’ दिए पनि शिक्षकले त्यो हेर्र्ने अवस्था नै हुँदैन भने यहाँ हरेक विद्यार्थीको कामको जाँच गर्ने र ‘फिडब्याक’ दिने गरिन्छ । सबभन्दा ठूलो भिन्नता नै यही हो । त्यस्तै, सेमिनार, प्रोजेक्ट वर्क, अनुसन्धान, प्रस्तुति, नयाँ र राम्रा किताबहरूको अध्ययन, आफ्नो क्षेत्रमा ख्याति कमाएको व्यक्तिसितको अन्तरक्रिया यहाँको अध्ययन अध्यापनको शैली नै बनिसकेको छ ।

तपाईं शंकरदेवमा पढाउँदा सधैं बिहान ठीक सवा ६ बजे कलेज पुग्नुहुन्थ्यो रे ! पाँच÷दश मिनेट पनि ढिलो गर्नुहुन्नथ्यो
रे ! त्यो कसरी संभव भयो ?

हो, मैले पहिले त्रिचन्द्र र पछि शंकरदेवमा गरेर करीब ३८ वर्ष पढाएँ । त्यो समयमा म ठूलै बिमारी भएको बेलामा बाहेक सधैं कलेज गएँ र समयमै गएँ । कलेजको कक्षा सवा ६ बजे शुरू हुन्छ भनेपछि त्यो समयमा त म पुगिसक्नुप¥यो नि ! पौने सात बजे पुग्दा त विद्यार्थीको आधा घण्टा समय बर्बाद हुन्छ । म एक शिक्षक हुँ र मैैले आफूलाई सुम्पिइएको जिम्मेवारी इमानदारी र निष्ठाका साथ पूरा गर्नुपर्छ भन्ने गहिरो भावना थियो । समय मेरो निम्ति अनुशासन हो । जो मानिसले समयको पालना गर्दैन, ऊ अनुशासित होइन । जो अनुशासित होइन, ऊ सफल र आनन्दित हुन सक्दैन । अनुशासनहीन व्यक्ति असल शिक्षक त हुनै सक्दैन ।

कहिलेकाहीं पाँच दश मिनेट ढिलो हुँदैमा कति नै फरक पथ्र्यो होला र ?
आज पाँच मिनेट ढिला गर्नेले एक हप्तापछि १० मिनेट ढिलो गर्छ । एवं रीतले उसले पहिलो घण्टी छुटाउँछ । तोकिएको समय भन्दा ढिला गर्नुको अर्थ हो, म लापरवाह छु; म आफ्नो जिम्मेवारीप्रति संवेदनशील छैन ।

फेरि म त शिक्षक हुँ । मेरो लवाइ, खवाइ, बोलाइ, गराइ सबैको प्रभाव कुनै न कुनै रूपमा विद्यार्थीमा परिरहेको हुन्छ । विद्यार्थीलाई समयको ठूलो महŒव हुन्छ, यसलाई पालना गर्नुपर्छ भनेर सिकाउने मानिस अझ्ै समयमा कक्षामा पुग्नुप¥यो नि ! जब हामी शिक्षककै भनाइ र गराइमा फरक पर्दछ, त्यसपछि हाम्रो कुरा विद्यार्थीले पत्याउन छाड्छन् । शिक्षक भनेको सिकाउने व्यक्ति हो । सिकाउने व्यक्तिले त्यही कुरा सिकाउन सक्छ, जो आफूले पालना गरिरहेको हुन्छ । के चोरले अरूलाई नचोर भनेर सिकाउन सक्छ र ?

तपाईंका कति सहकर्मी साथीहरू ढिला आइपुग्थे होलान् । तिनलाई देखेर तपाईंलाई पनि ढिला गरुँ भन्ने लागेन ?
अहँ, ममा त्यस्तो भावना कहिल्यै पनि आएन । तिनीहरूले ठगेको देख्दा शुरू शुरूमा मलाई रीस नउठेको होइन । तर म आफ्नो मान्यता र प्रतिबद्धताबाट कहिल्यै विचलित भइनँ । एक दिन पनि ढिला कलेज जाने कुरा मैले सोच्न सकिनँ । मैले जति पढाएँ पूर्ण समर्पण र निष्ठाका साथ पढाएँ । त्यसैले म मेरो कामबाट पूर्ण सन्तुष्ट पनि छु । यही नै मेरो ऊर्जाको स्रोत हो ।

अनुशासनले मानिसलाई के दिंदोरहेछ ?
कडा अनुशासनले मानिसलाई लक्ष्यमा अनवरत हिंड्ने ऊर्जा दिन्छ । समपर्णभाव दिन्छ । गर्न हुने र नहुने बीचको भेद छुट्याइदिन्छ । गर्न हुने काम मात्र अनुसरण गर्न प्रेरित गर्छ । गर्न नहुने कामलाई जीवनबाट परित्याग गर्न उत्प्रेरित गर्दछ ।

शिक्षण तपाईंको रोजाइको पेशा हो कि त्यसै आइलागेको हो ?
कुन्नि कसरी हो, मैले गर्ने काममा पूरा सन्तुष्टि पाउनुपर्छ भन्ने विचार मेरो मनमा कलेज पढ्दा ताका नै आइसकेको थियो । अरू कुनै काममा जानेर नजानेर धेरै नै बाँधिएर बस्नुपर्ने तर शिक्षण पेशामा अन्त भन्दा धेरै स्वतन्त्रता देखे मैले । त्यसैले कलेज पूरा नगर्दै शिक्षण पेशा अँगाल्ने विचार बनाइसकेको थिएँ । यो अर्थमा शिक्षण पेशामा मेरो आगमन संयोग नभएर नियोजित नै थियो ।

सफल शिक्षक कसरी बन्न सकिंदोरहेछ ?
समर्पण नै सबथोक हो । खाँदा, आराम गर्दा, सुत्दा समेत शिक्षक हुँ भन्ने भाव ममा आइरहन्छ । शिक्षक हुनुको नाताले उसको पहिलो कर्तव्य उसका विद्यार्थी हुन् । म सधैं उनीहरूकै बारेमा मात्र सोच्दथें । एउटा कलेजको प्रमुखको रूपमा आज पनि सोचिरहेको छु । शिक्षकले आफूलाई आहुति नै दिनुपर्छ । शिक्षण कला, ज्ञानको दायरा फराकिलो पार्ने कुरा, विद्यार्थीसित सिक्ने सोच र क्षमताको विकासदेखि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आइपरेका दुःख, कष्ट, व्यवधान र अड्चनहरूसित संघर्ष गर्ने शक्तिको स्रोत पनि यही समर्पण नै हो । एउटा शिक्षकका निम्ति विद्यार्थी नै सबथोक हुन् । ती हाम्रा लागि हाकिम हुन्, छोराछोरी हुन्, विद्यार्थी हुन् ।

स्कूल कलेजमा तपाईं कस्तो विद्यार्थी हुनुहुन्थ्यो ?
मेरो पढाइको श्रीगणेश भक्त विद्याश्रम भुरुङखेल काठमाडौंमा भएको हो । शुरूमा मेरो पढाइ राम्रै थियो । मेरा बा र आमाको विछोडको कारणले गर्दा म एक जना राणाको दरबारमा हुर्किएको व्यक्ति हुँ । थाल थाप्दा भात आउँथ्यो । पढ्नुपर्छ भनेर प्रेरणा दिने कोही थिएन । त्यसरी मेरो दुई तीन वर्ष खेर गयो । ५ कक्षा पास गरेको विद्यार्थी दुई वर्षपछि सोही कक्षामा दरबार हाईस्कूलमा भर्ना हुन पुगें । त्यो ‘ग्याप’ले गर्दा म पहिले जस्तो राम्रो विद्यार्थी हुन सकिनँ । अहिले पनि म जुन गतिमा सोच्न सक्छु, त्यो रफ्तारमा मेरो हात चल्दैन । त्यो नै मेरो सर्वाधिक ठूलो कमजोरी हो । यही कमजोरीले गर्दा कहिल्यै परीक्षामा राम्रो अङ्क आएन । पछि आँखामा समस्या आएकोले चाहे जति किताबहरू पढ्न पनि सकिनँ ।

विद्यार्थीमा राम्रो प्रभाव पार्ने तरीका चाहिं के रहेछ ?
तपाईं समर्पित भएर लाग्नुभयो भने विद्यार्थीको सोच्ने तरीका, उसले बोक्ने मूल्यमान्यतामा सर्वाधिक प्रभाव पर्दछ । आज मात्र होइन, जीवनभर प्रभाव पर्दछ । अझ् महŒवको कुरा, जतिबेला ऊ सर्वाधिक संकटको घडीबाट गुज्रिएको हुन्छ, तपाईंका वाणी, आचरण, व्यवहार उसको मस्तिष्कमा जीवन्त भएर आउँछन् । र, उसले त्यस कठिनतम घडीमा लिने निर्णयमा तपाईंको सद्विचार र सद्चरित्रको अमीट छाप परेको हुन्छ । त्यसैले शिक्षकले आज कक्षामा मैले किताबका कुरा, ज्ञान सीपका कुरा कति राम्रोसित सिकाएँ भन्नेमा मात्र ध्यान दिएर पुग्दैन । मन, वचन र कर्मले पूरा समर्पित भएर लाग्ने शिक्षकको मात्र विद्यार्थीमा जीवनभर छाप परिरहन्छ ।

अर्को कुरा, शिक्षकले किताबका कुरा मात्र डेलिभर गर्ने होइन । तिमीले चिन्तन गर्नुपर्ने ठाउँ यहाँनिर छ है भनेर उसले विद्यार्थीलाई मौलिक तरीकाले सोच्नका लागि प्रेरित गर्नुपर्दछ । तर्क गर्ने क्षमताको विकास गराउने ठाउँ खोजिदिनुपर्दछ । शिक्षकले विद्यार्थीलाई उसको संभावनाको क्षेत्र पहिल्याउन प्रेरित गर्नुपर्दछ । मेरो विचारमा, शिक्षक हुनुको अर्थ र सान्दर्भिकता नै यहीं भेटिन्छ । शिक्षकको मूल काम हो, विद्यार्थीको दिमागलाई खुला (ओपेन अप) बनाउन उत्प्रेरकको भूमिका । किताबले, समाजले, मिडियाले दिएको सोचविचार वा आफैंसित भएका खास खालका आग्रह वा पूर्वाग्रहका कारण विद्यार्थीको दिमाग खुल्ला नभएको पनि हुनसक्छ । त्यस्तो बेला शिक्षकले उचित विधि अपनाएर यो महसूस गराइदिन सक्नुपर्दछ, ‘म ज्ञान वा आग्रहले थिचिएर बस्न हुँदो रहेनछ, सधैं खुल्लाभावमा पो बस्नुपर्ने रहेछ !’

उहिले र अहिलेका शिक्षकबीच के भिन्नता पाउनुहुन्छ ?
शिक्षकको बौद्धिकस्तरमा ठूलो परिवर्तन आएको छ । यो अत्यन्त सकारात्मक कुरा हो । ऊ बेला हामीसित नवीन ज्ञान हासिल गर्ने माध्यमहरू अत्यन्त सीमित थिए, त्यो आज धेरै नै फराकिलो भएको छ । व्यवस्थापनभित्रको एउटा सानो विषयमा पनि देश विदेशका थुप्रै पुस्तकहरू नेपाली बजारमा उपलब्ध हुन थालेका छन् । इन्टरनेटका कारण नयाँ–नयाँ ज्ञान र सूचनाहरू घरमै बसेर हामीले आजको आजै पाउन सक्ने भएका छौं । तर मैले शिक्षण पेशा शुरू गर्दाका बखत शिक्षकको कर्तव्य र नैतिकता जे भनेर बुझ्न्थ्यिो, त्यसमा पनि आज ठूलो परिवर्तन भएको छ । आजका शिक्षकहरूमा के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने बीचको विभेद मेटिएको जस्तो देखिन्छ । आजको शिक्षकले आफ्नो कर्तव्य र नैतिकता के हो भनेर पनि पहिल्याउन सकेको छैन । कसरी धनी हुने भन्ने कुरामा मात्र आजका अधिकांश शिक्षकको ध्यान गएको देखिन्छ । यहाँनेर चाहिं हामी नराम्ररी चुकेका छौं ।

तपाईंका शिक्षण जीवनका दुखद् पक्ष के हुन् ?
शंकरदेवको प्रमुख हुँदा मैले तत्काल सुधारका केही कदम चालेको थिएँ । सर्वप्रथम, कक्षामा विद्यार्थीको संख्या दुई–तीन सयबाट घटाएर ६० मा सीमित गर्न खोजें । दोस्रो, विद्यार्थीलाई खोजकर्ता बनाउन खोजें । त्यसनिम्ति, मैले हरेक विषयमा तीन जना शिक्षकको व्यवस्था गरें । एकैपटक कक्षामा गएर उनीहरूले विद्यार्थीलाई तीन समूहमा विभक्त गरेर खोज र चिन्तनमनन गर्न सघाउन भन्ने मेरो अभिप्राय थियो । तर हाम्रा शिक्षक साथीहरू त आफ्नो कक्षामा अरू शिक्षक पसेको देख्न पनि सक्दारहेनछन् । उनीहरू यति संकीर्ण, अभिमानी र मूर्ख छन् भन्ने कुरा मैले कल्पना समेत गर्न सकेको थिइनँ । उनीहरूले यो अवधारणालाई पटक्कै रुचाएनन् ।

तेस्रो, मैले हरेक शिक्षकलाई हरेक विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार भएपछि आएका नवीन ज्ञान तथा सूचनाहरू समेट्ने गरी ‘ह्याण्डस् आउट’ तयार गर्ने थिति बसाउन खोजें । यसबाट शिक्षक र विद्यार्थी दुवै उत्तिकै लाभाविन्त हुनेथिए । त्यसनिम्ति मैले एउटा ‘ह्याण्डस् आउट’ को ३०० रुपैयाँ दिने व्यवस्था पनि मिलाएँ । ऊ बेलाको यो रकम भनेको एउटा प्राथमिक तहको शिक्षकको एक महीनाको तलब बराबर थियो । ‘ह्याण्डस् आउट’ लाई पैसा दिनुअघि त्यसको लेखनमा मौलिकता, भाषागत शुद्धता र बौद्धिक गहिराइ पनि हेरिने प्रावधान राखिएको थियो । तर हाम्रा शिक्षक साथीहरूले ‘मेरो पनि क्षमता जाँच्ने’ भनेर त्यसलाई पनि मन पराएनन् । शायद सुधारको कुरा उपकुलपतिको कार्यालयको पनि प्राथमिकतामा नपरेर होला, मलाई केही समयपछि नै प्रमुखबाट हटाइयो । मेरो लक्ष्य थियो, शंकरदेव क्याम्पसलाई विश्वस्तरको कलेज बनाउने । मेरो त्यो सपनालाई तुहाउने काम भयो । मेरो जीवनको सबभन्दा ठूलो दुःख यही हो ।

आजका सामुदायिक विद्यालय र कलेजको स्तर कस्तो देख्नुहुन्छ ?
सन्तोषजनक छैन । यति ठूलो सरकारी लगानीका बाबजुद यो अवस्था आउनुको एक मात्र कारण भनेको राजनीतिक हस्तक्षेप नै हो । व्यवस्थापनलाई कामै गर्न दिइँदैन । २०३७ सालमा शंकरदेव क्याम्पसको प्रमुखको हैसियतमा त्रिविका उपकुलपतिसमक्ष पेश गरेको प्रतिवेदनमा मैले लेखेको थिएँ, ‘राजनीतिक हस्तक्षेप बन्द गरे मात्र शैक्षिक गुणस्तर अभिवृद्धि र कलेज–विश्वविद्यालयको व्यवस्थापन सुदृढ गर्न सकिन्छ ।’

अब कसरी सुधार होला त ?
सबभन्दा पहिला राजनीतिक दल र सरकार चलाउने मानिसहरूमा शिक्षालाई राजनीतिक मैदान बनाउने सोच हट्नुप¥यो । आजसम्म त्यस्तो सोच त्याग्न नसक्नुको मुख्य कारण हो, उनीहरू देश र जनताप्रति इमानदार भएर सोच्दैनन् । जब उनीहरू देशको प्रगतिलाई केन्द्रमा राख्न थाल्छन्, राजनीतिक हस्तक्षेप गर्ने लगायतका राजनीतिक तहबाट भित्रिएका विसंगतिहरू स्वतः हटेर जान थाल्छन् । राजनीति सप्रियो भने सरकारी प्रशासन स्वतः सप्रेर जान्छ । अहिले विश्वविद्यालयको र विद्यालयको व्यवस्थापन बिग्रेको पनि राजनीतिक दलहरूकै कारण हो । त्यहाँ पनि सुधार आउँछ । जताततै सकारात्मक वातावरण बन्छ ।

त्यसले ‘अब त राम्रो हुन लाग्यो है’ भन्ने सन्देश समाजमा प्रवाहित हुन्छ । सुधार प्रक्रियाले गति लिन्छ । गरे असंभव के छ र ?
यस्तै सुधार तलबाट आवश्यक छ । त्यो भनेको आधारभूत तहको शिक्षालाई पहिलो र सबैभन्दा बढी प्राथमिकता दिइनुप¥यो । त्यो भनेको जीवनको जग हो । स–साना बालबालिकाको सही तरीकाले समग्र विकास गराउन नसके तिनको जीवन र उच्च शिक्षा दुवैको स्तर उकासिन सक्दैन । समर्पित र योग्य शिक्षकको छनोट विद्यालय सुधारको पहिलो पूर्वशर्त हो । त्यसलाई सुनिश्चित गरी अरू सुधार कसरी गर्ने भनेर अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकदेखि सरकार र बुद्धिजीवीसम्म सबैले यस विषयलाई पहिलो प्राथमिकता दिई आ–आफ्नो तहबाट सुधारका निम्ति चिन्तन, पहल र प्रयत्नहरूको थालनी गर्नु जरुरी देखिन्छ ।

ठग र कामचोर साथीले जताततै ठाउँ पाएको देखेर इमानदार शिक्षकमा हीनभावना पैदा भएको देखिन्छ नि !
कुनै पनि शिक्षकको पहिलो र सबभन्दा महŒवपूर्ण मूल्यांकनकर्ता उसकै विद्यार्थी हुन्; सहकर्मी साथी वा शिक्षक हैनन् । यदि विद्यार्थीले ठूलो भएपछि ‘आज म जे छु फलाना फलाना शिक्षकका कारणले छु’ भनेर महसूस गर्छ भने त्योभन्दा ठूलो मूल्यांकन अरू हुन सक्दैन । हाम्रो अजस्र आनन्द र सन्तुष्टिको स्रोत नै त्यही हो । त्यसैले इमानदार, कर्मशील र समर्पित शिक्षकले हीनभावना पाल्नुपर्ने कुनै कारण छैन । विद्यालयप्रति पूर्ण रूपेण समर्पित भएर काम गरेको शिक्षकलाई कुनै अप्ठ्यारो पर्दा गाउँ होस् शहरमा अभिभावकले सघाएका छैनन् र ? इमानदार शिक्षकहरूले के कुरा हेक्का राखे हुन्छ भने, जुन शिक्षकले फट्याइँ र राजनीतिमा लागेर स्कूलको पठनपाठन बिगार्छन्, तिनले जीवनमा कुनै सन्तुष्टि र आनन्द पाउनेवाला छैनन् । अवकाशपछिको बुढेसकालमा त ती झ्न् बढी दुःखी र बेचैन हुनेछन् । ती त्यस्तो पछुतोमा पर्नेछन्, जसको प्रायश्चित पनि उनीहरूले गर्न पाउने छैनन् ।

आज नेपालमा रावण राज्य छ, रामराज्य होइन । रावणराज्य भएको यो समयमा राज्यका तर्फबाट रामको होइन रावण प्रवृत्तिकै प्रोत्साहन र जगेर्ना हुनु अनौठो होइन । त्यसैले इमान्दार शिक्षकले हीनभावना पाल्नु रत्तिभर पनि आवश्यक छैन । बरु हामी शिक्षकहरूले त्यस्तो नयाँ पुस्ता उत्पादन गर्नुप¥यो, जसले यो रावण राज्यलाई जरैदेखि उखेलेर फालोस् र रामराज्यको स्थापना गरोस् । इमानदार र असल शिक्षकहरूले अब यतातिर सोच्न आवश्यक छ ।

शिक्षक सेवा आयोगले हालै खोलेको विज्ञापनमा करीब पाँच लाखले आवेदन दिएका छन् । तिनलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
शिक्षण कार्य जागिर होइन, जीवनको मिसन हो । यस पेशामा लाग्नेले आफ्नो जीवनलाई पूरा समर्पित गर्नुपर्छ । जागिर खाने सोच कसैले बनाउनुभएको छ भने कि त्यस्तो सोच बदल्नुस् कि आयोगको जाँचमै नबस्नुस् । किनभने नयाँ पुस्ताको भविष्यलाई दाउमा लगाएर तपाईंले जागिर खानु अपराध हो । मलाई लाग्छ, आवेदन दिने धेरै युवायुवतीहरू जागिर खान होइन, असल शिक्षक भएर नयाँ पुस्ताको प्रगतिमै आफूलाई होम्न चाहन्छन् । बरु शिक्षक छनोट पद्धतिलाई चाहिं निष्पक्ष, विश्वसनीय र प्रभावकारी बनाउनु आवश्यक छ, जसले गहिरो समर्पण भाव भएको योग्य व्यक्तिलाई चिन्न र छनोट गर्न समर्थ होओस् । ७

प्रस्तुतिः सुदर्शन घिमिरे

commercial commercial commercial commercial