आफैंलाई बिर्सिएर पढाइरहे

डोटीको शैक्षिक विकासमा एउटा नाम जोडिएर आउँछ, ‘बेनर्जी सर’ । पूरा नाम रवीन्द्रनाथ बेनर्जी भए पनि यो नामले उनलाई चिन्न मुश्किल पर्छ । तर ‘बेनर्जी सर’ भन्नेबित्तिकै उनलाई डोटीमा धेरैले चिन्छन् । जीवनको दुई दशकभन्दा लाम समय डोटीको शैक्षिक विकासमा अनवरत योगदान गरे कै कारण ‘बेनर्जी सर’ उनको बलियो परिचय बन्न पुगेको छ । भारतबाट नेपालमा आएर शिक्षण गर्ने धेरै छन् तर बेनर्जी सरले भने सुदूरपश्चिमको समाजमा फरक परिचय बनाएका छन् ।

सन् १९८३ मा भारतका विभिन्न शहर घुम्दै, काम गर्दै र काम खोज्दै अनायास नेपालगञ्जनाकाबाट नेपाल छिरेका बेनर्जी आफूले सोच्दै नसोचेको शिक्षण पेशा अँगाल्न पुगे । नेपालगञ्जमा उनको भेट त्यहीँको एउटा स्कूलमा पढाउँदै गरेका दार्जीलिङका रतन थापासँग भयो । थापासँग को भेट नै बेनर्जीको लागि शिक्षण पेशामा लाग्ने कडी बन्न पुग्यो । डोटीको सिलगढीमा पवित्रा आवासीय प्राथमिक विद्यालय खोलेका थापाले बेनर्जीलाई सिलगढी पुर्‍याए । पवित्रा आवासीय प्राविबाटै उनको परिचय बन्यो, ‘बेनर्जी सर ।’

शुरुमा शिक्षण पेशा अँगाल्ने सोच नै नबनाएका बेनर्जी एकाएक दैनिक ७ पिरियडसम्म पढाउने शिक्षक बने । गणित, अंग्रेजी, विज्ञान सबै विषय उनले पढाए । ४ हजार भारतीय रुपैयाँसम्मको मासिक तलब छाडेर नेपाल पसेका बेनर्जी सिलगढीमा पढाउन थाल्दा मासिक रु.८०० पाउँथे ।

बेनर्जीको अथक मेहनतबाट भाडाको घरमा सञ्चालन भएको विद्यालय प्राविबाट निमावि, मावि हुँदै उच्च मावि बन्यो । अहिले पवित्रा उच्च माविको आफ्नै घर र छात्रछात्रा ओसार्ने आफ्नै बस पनि छ । २०४८ सालयता उक्त माविबाट करीब १ हजार जना छात्रछात्रा एसएलसीमा उत्तीर्ण भएका छन् । एसएलसीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या ७५ प्रतिशत रहेकोमा प्रथम श्रेणीमा उत्तीर्ण हुने संख्या ४० प्रतिशतको हाराहारीमा छ ।

एसएलसीमा कम्प्युटर विषय समावेश गर्ने सुदूरपश्चिमकै पहिलो विद्यालय पनि हो यो । यसले प्लस टुको पढाइ सञ्चालन गरेको पनि ७ वर्ष भयो । पछिल्ला तीन वर्षमा प्लस टुको नतिजा पनि सुदूरपश्चिमै उत्कृष्ट रहेको छ । यी तीन वर्षमा १२ कक्षा उत्तीर्ण हुने विद्यार्थीको संख्या ७५ प्रतिशतको हाराहारीमा छ ।

पवित्राबाट उत्तीर्ण भएका अधिकांश विद्यार्थीहरू आ-आफ्नो क्षेत्रमा सफल भएको कुरा सुनाउँदा बेनर्जीको अनुहार थप उज्यालो हुन्छ । पवित्राबाट एसएलसी उत्तीर्ण गरेका विनायक बिजुक्छे अहिले अमेरिकाको इन्फोसिस कम्पनीमा कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । अमेरिकामै कार्यरत डा. अर्चना तिवारी, डिल्लीराज भट्ट पनि पवित्राकै उत्पादन हुन् । कृषि, शिक्षा, स्वास्थ्य, इञ्जिनियरिङ, व्यवस्थापन लगायतका क्षेत्रमा पवित्राबाट उत्तीर्ण विद्यार्थीहरू स्थापित भएका छन् ।

सन् १९५२ सेप्टेम्बर २१ मा भारतको पश्चिम बङ्गालको पुरुलिया जिल्लाको एउटा सानो शहरमा जन्मेका बेनर्जीले प्राथमिक तहको अध्ययन जन्मथलोकै एक विद्यालयमा पूरा गरे । बलरामपुरमा कक्षा-७ सम्म पढेका बेनर्जीले कक्षा-९ कलकत्ताबाट पूरा गरे । एसलएलसी दिए, आफ्नै जन्मथलोको विद्यालयमा । सत्यभामा विद्यापीठबाट सन् १९७२ मा बीएस्सी पास त गरे तर नतिजाबाट उनी सन्तुष्ट भएनन् । “रिजल्ट त्यति राम्रो आएन”, उनी सम्झिन्छन् । साथीहरूको लहलहैमा माइनिङ इञ्जिनियरिङको प्रवेश परीक्षा दिए । त्यतिबेला पूरै भारतमा एउटा मात्र माइनिङ इञ्जिनियरिङको कलेज धनवाद जिल्लामा थियो । प्रवेश परीक्षामा उत्तीर्ण भए पनि बेनर्जीले त्यहाँ पढ्न भने पाएनन् । उनले सुनाए, “मेरी आमाले मलाई माइनिङ इञ्जिनियरिङ पढ्न नदिने जिद्दी गर्नु भयो । मैले आमालाई जित्न सकिनँ ।” माइनिङ इञ्जिनियर भए, खनिजका लागि खानीभित्र जानुपर्ने भएको ले मेरो ज्यान सधैँ जोखिममा हुन्छ भन्ने आमाको तर्क थियो । बेनर्जी भन्छन्, “आमाको जिद्दीका अगाडि मेरो केही चलेन । इञ्जिनियर बन्ने सपनासँगै पढ्न पनि छोडिदिएँ ।” त्यसपछि उनी जागिरको खोजीमा घरबाट निस्किए । सानोतिनो काम गर्न थाले । केही समय बैंकमा काम गरे । सन् १९७९ मा राँचीको हिन्दुस्तान फुड प्रोडक्ट्समा ल्याब इञ्चार्जका रूपमा पाँच वर्ष काम गरे । भारु २ हजार ८०० मासिक तलबमा काम शुरु गरे पनि ‘ओभर टाइम’बाट थप रकम पनि उनी पाउँथे ।

व्यवस्थापन र मजदूरबीच शुरु भएको द्वन्द्वमा मजदूरको पक्ष लिएका कारण त्यहाँ बस्न सक्ने स्थिति नभएपछि जागिर छाड्नु परेको अनुभव पनि छ, उनीसँग । त्यसपछि उनले केही समय दिल्लीकोगुडिया टायरमा सिफ्ट इञ्चार्ज भएर काम गरे । तर, त्यहाँ पनि उनी पाँच महिनाभन्दा बढी टिकेनन् । त्यसलगत्तै राँची फर्केका उनलाई त्यहाँको मान सिक अस्पतालमा कार्यरत नेपाली डाक्टर कुमारले नेपाल जाने सल्लाह दिए । बेनर्जी लेखक बन्न चाहन्थे । तर कहिल्यै लेख्न सकेनन् । साहित्यकार भनेपछि उनी हुरुक्कै हुन्थे । एक पटक बङ्गाली भाषाका चर्चित साहित्यकार सुनिलगङ्गोपाध्यायलाई भेट्न कलकत्तातिर लागे । तर बिना टिकट रेल चढेका कारण समातिए । एक महिना जेल परे । दाइ अफिसर थिए, रेल सेवामा तर उनले दाइसँग गुहार मागेनन् ।

बेनर्जीले जीवनका २४ वसन्त निजी विद्यालयमा पढाएर बिताए । यस अवधिमा उनी २० वर्षसम्म प्रअ रहे । मेहनत जति गरे पनि अहिलेसम्म बेनर्जीको बैंक ब्यालेन्स छैन । दुई वर्षअघि उनले धनगढीमा कक्षा ५ सम्म पढाउने आफ्नै बोर्डिङ खोलेका छन् । तर उनी शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने तर्क राख्छन् । युग उपयोगी शिक्षा नभएका कारण नेपालमा शैक्षिक बेरोजगारको सङ्ख्या बढेको उनको ठम्याइ छ ।

“मैले पैसा नकमाए पनि आत्मसन्तुष्टि पाएको छु । डोटीमा मलाई माया गर्छन्”, उनी भन्छन् । भारतमा जन्मे, त्यहीँ हुर्के । अध्ययन पनि उनले भारतमा पूरा गरे । तर उनको कर्मथलो भने नेपाल बन्यो, त्यो पनि डोटीको शिक्षा क्षेत्रको विकास का लागि । उनी भन्छन्, “मेरो कुनै देश छैन । मेरो कुनै घर छैन । म ऋणी छु त मेरा आमाबुबाको ।”

“म सानै छँदा बुबाको मृत्यु भयो । सम्पन्न परिवारको हुनाले मलाई पढ्न गाह्रो भएन । आठौँ सन्तानका रूपमा मेरो जन्म भएको थियो”, उनले आफ्नो पारिवारिक अवस्था बेलिबिस्तार गरे, “डोटीमा पढाउन थालेपछि बूढीआमालाई पनि ल्याएर सँगै राखेँ । आमाको डोटीमै केही वर्षअघि मृत्यु भयो ।” आफ्नी आमाले २० वर्ष पहिले बिहेको कुरा चलाएकी केटीसँग बेनर्जीले २०५८ सालमा बिहे गरे । कुरा गरेको २० वर्षपछि कसरी बिहे भयो ? बेनर्जीको सहज उत्तर थियो, “म नेपाल आएपछि यति धेरै व्यस्त रहेँ कि पढाउने बाहेक अरू केही सोच्न सकिनँ । समय कसरी गयो पत्तै पाइनँ । तर यति लामो समय बित्दा पनि उनको बिहे भएको रहेनछ । मेरो पनि थिएन । त्यसैले उनीसँगै मेरो बिहे भयो ।”

 जसले जिन्दगीमा शिक्षण पेशा नअँगाल्ने अठोट लिएको थियो– त्यही मान्छेको परिचय कर्मठ शिक्षक बन्न पुग्यो । बेनर्जी सर बारम्बार भन्छन्, “म बाँचुञ्जेल पढाउँछु ।” डोटी, सिलगढीका बासिन्दा राजेश श्रेष्ठ बेनर्जी सरले डोटीमा शैक्षिक क्रान्ति नै ल्याइदिएको ठान्छन् । उनी भन्छन्, “जागिरका लागि डोटीमै काम गर्ने भारतीय नागरिक सयौँको संख्यामा भएपनि बेनर्जी सर भने तीमध्ये अलग पहिचान बनाउन सफल भएका छन् । त्यसको एउटै कारण हो, शिक्षा क्षेत्रमा उनले पुर्‍याएको योगदान ।”

शिक्षक  मासिक, २०६५ असार अंकमा प्रकाशित ।


commercial commercial commercial commercial