जसको नामैले तानिए विद्यार्थी

बिहान उनी स्कूलमा पढाउँछन्, दिउँसो उच्च माविमा । यी हुन् कैलाली सदरमुकाम धनगढीको पञ्चेश्वर माविका प्रधानाध्यापक यादव जोशी । २०५५ सालमा पञ्चेश्वर माविमा उनी आउँदा विद्यार्थीको संख्या १ हजार एकसय थियो, जुन त्यही वर्ष सातसयले बढ्यो ।

यसरी एउटा शिक्षकको नामैले विद्यार्थी संख्या बढ्नुका पछाडि उनको शिक्षण ‘करिअर’को सफलता थियो । पञ्चेश्वर आउनुभन्दा अघि उनी धनगढीकै शारदा माविका प्रधानाध्यापक थिए । ‘२०५१ सालमा म बाजुरबाट सरुवा भएर आउँदा शारदा माविको एसएसली नतिजा दुई वर्ष शून्य थियो । म आएको वर्ष ७५ प्रतिशत आयो’ उनले आफ्नो सफलताको स्मरण गरे । स्कूलका छात्रा नारायणमाया बोहरा एसएलसीको परीक्षामा छात्रातर्फ सुदूरपश्चिममै उत्कृष्ट भइन् । यस उपलब्धिबापत उनले २०५२ सालमा गोरखा दक्षिण बाहु चौथो पाए । शारदा माविको कोषमा उनले काम गरेको चार वर्षमा चार लाख जम्मा भयो भने एसएलसीमा अरू विद्यालयहरू पछि पर्न थाले । शारदा माविमा उनले देखाएको यही ‘चमत्कार’ले उनी पञ्चेश्वरमा पुग्नासाथ विद्यार्थी तानिएका थिए ।

यादव जोशीले १७ वर्ष बाजुरा र १४ वर्ष धनगढीमा पढाए । अब त पढाउने काममा बानी परिसकेको छ । भन्छन्, “म शिक्षणबाट अलग भएर बस्न सक्दिनँ ।” १७ वर्ष पढाएर बाजुरा छोड्दा बाजा बजाएर उनको बिदाइ गरियो । मान्छेका आँखा रसाउने खालको आत्मीयता उनले शिक्षकका रूपमा कमाएका थिए ।


‘म आउँदा शारदा माविको एसएलसी नतिजा दुई वर्ष शून्य थियो, म गएको वर्ष ७५ प्रतिशत आयो ।’


सुदूरपश्चिम डोटीको उडितोलाका यिनले २०२५ सालमा १५ वर्षको उमेरमा एसएलसी पास गरे पछिका तीन वर्ष यत्तिकै बिताए । २०३४ को माघमा बाजुराको तत्कालीन सदरमुकाम टाँटेमा रहेको एकमात्र माध्यमिक विद्यालय भानुदयमा उनको नियुक्ति भयो । जिल्ला शिक्षा कार्यालयले आह्वान गरेको दरखास्तमा उनको बीएडको सर्टिफिकेटले सबैलाई उछिन्यो । भानुदयमा चार वर्ष चक–डस्टरसँग खेलेपछि दोगडी गाविसको मष्टेश्वरी मावि उनको अर्को मुकाम बन्यो । र, अध्यापकबाट उनी बने प्रधानाध्यापक ।

मष्टेश्वरीमा यादव सर नौ वर्ष ‘हेडसर’ भए । यो अवधिमा मष्टेश्वरी एसएलसीमा सबैभन्दा राम्रो नतिजा ल्याउने स्कूलका रूपमा स्थापित भयो । “अन्य विद्यालयले २५ प्रतिशत ल्याउँदा राम्रो नतिजा ७५ प्रतिशत हुन्थ्यो” उनले भने । उनी यो सफलताको जश ‘राम्रा र इमानदार’ शिक्षकको आफ्नो टिमलाई दिन्छन् । टाँटेबाट जिल्ला सदरमुकाम मार्तडी सरेपछि त्यहाँको मालिका माविमा एक जनागतिलो प्रधानाध्यापकको खोजी भयो । जिशिअले उनैलाई रोजे । दोगडीवासीको विरोधका बाबजूद उनको सरुवा रोकिएन । यादव सरले फेरि एकपटक विद्यार्थी, अभिभावकलाई दुः खी बनाउँदै स्कूल फेरे । मार्तडीको मालिका माविलाई पनि उनले राम्रो स्कूलमा दह्राइदिए । विद्यार्थी संख्या बढ्यो, साथमा एसएलसी उत्तीर्ण प्रतिशत पनि । स्कूलप्रतिको उनको लगाव कतिसम्मको थियो भने १७ वर्षमा उनी जम्मा दुई दिन मात्र बिदा बसे । त्यो दुई दिन पनि बिरामी भएर । “मलाई शनिबार पनि स्कूल जाने बानी परेको थियो” उनले सुनाए ।

“मैले चर्पी बनाउँदा देवता रिसाउँछन् भनेर मान्छेहरू रिसाए” उनले यस्तो भोगेको बाजुरामा अहिले ५० वटा मावि छन् । बाजुरामा उनले शिक्षा विषय पढाए । कैलाली आएपछि अर्थशास्त्र, सामाजिक शिक्षा र स्वास्थ्य वातारण तथा जनसंख्या शिक्षा पढाए । त्यसबाहेक विषयगत शिक्षक नभएको बेला उनले कक्षा खाली हुन दिएनन् । शिक्षक अनुपस्थित भएका दिन चाहे गणित होस् या अंग्रेजी या विज्ञान उनले सबै विषय पढाए । तब त उनी जहाँ गयो, त्यही स्कूल अब्बल हुन्थ्यो ।

३१ वर्ष लामो शिक्षण पेशामा आफूले पाठ्यक्रमको उद्देश्य परिपूर्ति हुने गरी विद्यार्थीकेन्द्रित विधिमा पढाएको उनले सुनाए । उनको विचार मा विद्यार्थीकेन्द्रित शिक्षण सबैभन्दा राम्रो शिक्षण विधि हो । उनी भन्छन्, “यस्तो विधि प्रश्नोत्तर पनि हुनसक्छ । छलफल , प्रयोगात्मक र समस्या समाधान गर्नु पनि विद्यार्थीकेन्द्रित विधिका तीन पाटा हुन् ।” यी विधि अपनाएर पढाए विद्यार्थीहरू शिक्षकले पढाएको बुझने र पढाइमा अब्बल हुने उनको दाबी छ ।

तीन दशकको शिक्षक जीवनमा उनले पढाएका दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी एसएलसी उत्तीर्ण भइसके । कति डाक्टर भए, कति इन्जिनियर, सांसद र मन्त्री पनि भए । “शिक्षक भनेको लौरो हो, लौरोले खोलो तारेको बटुवा पहाडको टुप्पोमा पुगिसक्छ तर लौरो बगरमै अर्को बटुवा पर्खेर बस्छ” उनले आफ्नो जीवनदर्शन सुनाए ।

शिक्षक जीवनमा उनले थुप्रै जिल्लास्तरीय, जनस्तरीय र राष्ट्रिय स्तरका सम्मान पाए । सम्मानले मानिसलाई हर्षित बनाउँछ । तर, उनीसँग एउटा यस्तो सम्मानको स्मृति छ, जसले कुनै दिन उनलाई हर्षविभोर बनाएको थियो । २०४८ सालको पहिलो संसदीय निर्वाचनमा बाजुराबाट निर्वाचित भएका देवराज जोशी कुनै बेला यादव सरका विद्यार्थी थिए । उनले चुनाव जितेपछि सदरमुकाम मार्तडीमा विशाल कार्यक्रमको आयोजना गरियो जसमा यादव सरलाई समेत अतिथिका रूपमा मञ्चमा बोलाइयो । मञ्चमा पुगेर सरले विद्यार्थी सांसदलाई नमस्कार गरे, जुन विद्यार्थीलाई मन परेन । त्यसपछि विद्यार्थी सांसदले भुइँमा लम्पसार भएर साष्टाङ्ग दण्डवत् गरे ।

राज्यले शिक्षण पेशालाई आकर्षक र मर्यादित बनाउनेतर्फ पहल न गरेकोमा उनी असन्तुष्ट छन् । “शिक्षण पेशालाई आकर्षक बनाउने काम राज्यको हो । राज्यकै उदासीनताका कारण हाम्रा सबैभन्दा प्रतिभाशाली विद्यार्थीहरू शिक्षक बन्न चाहँदैनन्” उनले भने । उनको सपना छ— कुनै दिन शिक्षक बन्नका लागि युवाहरूमा प्रतिस्पर्धा चलेको हेर्ने ।

तीन दशकको अनुभव सँगालेका शिक्षकसँग सरकारी स्कूलको स्तर सुधार्ने विषयमा चाहिं कुनै औषधि छ कि छैन— “अभिभावक र सम्बन्धित निकायबाट बेला– बेलामा अनुगमन भए सरकारी विद्यालयको पढाइको स्तर बढ्छ, बढ्छ । अभिभावकले विद्यार्थी भर्ना गरे पछि आफ्नो दायित्व पूरा गरेको सम्झिने र सरकारले शिक्षकको तलब पठाएर दायित्व पूरा भएको सम्झिने गरेकाले यस्तो हालत भएको हो ।”

अन्त्यमा यादव सरलाई उनको प्रसिद्धिको कारण खोतल्ने प्रश्न सोधियो— “असल शिक्षक कसरी भइन्छ ?’ उनले भने, “विषयवस्तुमा दक्ष र बालमनोविज्ञानको ज्ञान हुनुपर्छ । विद्यार्थीका लागि शिक्षक उत्प्रेरक र पथप्रदर्शक हुनुपर्छ । शिक्षक देख्ने बित्तिकै विद्यार्थी डराउँछन् भने त्यो शिक्षक जतिसुकै ठूलो विद्वान् भए पनि काम लाग्दैन । विद्यार्थीलाई आतङ्कित बनाएर सिकाउन सकिंदैन  ।”

शिक्षक  मासिक, २०६५ असोज अंकमा प्रकाशित । 


commercial commercial commercial commercial