म यस्तै प्रधानाध्यापक भएँ

२०१८ सालको अन्त्यतिर पढाइ अगाडि बढाउन नसकेपछि म जागिर खाने ध्याउन्नमा लागेँ । त्यसबेला काठमाडौँ बाहिर जागिर खाने ठाउँ स्कूलबाहेक अन्यत्र छँदै थिएन । स्कूल पनि पातलै थिए । उतिखेर जागिर भनेकै मास्टरी हुन्थ्यो र जागिरे भनेका मास्टरहरू । मलाई छिमेकी गाउँ, नाम्सालिङस्थित ‘नाम्सालिङ मिडिल स्कूल’ बाट जागिरका निम्ति प्रस्ताव आयो । मैले प्रधानाध्यापकमा नियुक्ति पाएँ । सीधै प्रधानाध्यापकमा नियुक्ति मिल्नुको कारण मेरो शैक्षिक योग्यता थियो । त्यहाँका चारजना शिक्षक कोही पनि एसएलसी पास थिएनन् । मैले आई.ए. पास गरिसकेको थिएँ ।

गाउँका थरी, मुखिया र हुनेखानेहरूद्वारा स्कूल सञ्चालक समितिगठन गरिएको थियो । समितिका सदस्यहरूमध्ये सबभन्दा शिक्षित व्यक्ति थिए– स्वर्गीय धर्मप्रसाद ढकाल (खरदार बा) । उनले दार्जीलिङकोगभर्मेन्ट हाईस्कूलबाट मेट्रिक पास गरेर कलेजसमेत पढेका थिए । मलाई सञ्चालक समितिका सदस्यहरूबाट धेरै थरीका निर्देशन प्राप्त भए । कसैले अङ्ग्रेजी राम्ररी पढाउनू भने, कसैले गणित राम्ररी पढाउनू भने । एकजनाले त संस्कृत राम्ररी पढाउनू पनि भने । मलाई जागिर चाहिएको थियो र जागिर दिनेहरूका निर्देशन स्वीकार गर्दै म मिडिल स्कूलको प्रधानाध्यापक भएँ ।

हरेक कक्षामा विद्यार्थी थोरै भएकाले मैले सात दिनमै सबैलाई नामबाटै चिन्न थालेँ । शुक्रबारका दिन स्कूलको छेवैमा हाट लाग्दथ्यो । हाट भर्न आउने अभिभावकहरूसित पनि महिना दिनसम्ममा मेरो चिनजान भयो । छिमेकी गाउँ भएकाले पारिवारिकरूपले मलाई चिन्ने पनि धेरै थिए तर अभिभावकको चासो मेरो परिवारसित नभएर मैले उनीहरूका छोराछोरीप्रति गरेको व्यवहारसित हुँदोरहेछ । ‘ए ! हराम्रो नानीले भनेको नयाँ सर’ भन्दै उनीहरू खुसी व्यक्त गर्दथे ।

यो स्कूलले २००६ सालमै मिडिल स्कूलका रूपमा स्वीकृति पाएको थियो । २०१८–१९ को शैक्षिक सत्र देखि कक्षा आठ थपेर प्रस्तावित माध्यमिक स्कूलका रूपमा पठनपाठन हुन थाल्यो । यो पहिलो वर्ष म बाहेक एसएलसी उत्तीर्ण गरेका अरू शिक्षक नहुनाले माथिल्ला कक्षाहरूमा मैले धेरै मेहनत गर्नु परयो । एसएलसीसम्म कष्टसित थेगेर छुटकारा पाएको गणित विषयमा मैले फेरिगोता लगाउनुपरयो ।

म नाम्सालिङमै डेरा गरेर बस्थेँ । बिदाको दिन घर न गएका बेला म निरुद्देश्य गाउँ घुम्दथेँ । घर–घरमा पुग्थेँ, विद्यार्थीहरूको पढाइ साथै सञ्चो–बिसञ्चोका कुरा हरू गर्दथेँ । खेतीपाती, बालीनाली र वस्तुभाउका कुरा गर्दथेँ । मानिसहरूसित सजिलै घुलमिल हुने बानी भएर होला, उनीहरू कहाँ जान, सुख–दुः खका कुरा गर्न, उनीहरूले खाएको खानेकुरा खान मैले कुनै अभिनय गरिरहनु पर्दैनथ्यो ।

विद्यार्थीहरू थोरै भएकाले प्रत्येक विद्यार्थीको गृह कार्य उनीहरूकै सामुन्ने जाँच्न भ्याउँथेँ । यसक्रममा उनीहरूले प्रत्यक्ष रूपमा सुझाव र सल्लाह पाउँथेँ । त्यसले उनीहरूलाई भाषा तथा अन्य पक्षमा सुधार गर्न सहयोग पुग्थ्यो । केही विद्यार्थी एक्लै बस्न रुचाउने, अरू विद्यार्थीहरूसित पनि घुलमिल हुन नचाहने, शिक्षकहरूको छेउ भरसक नपर्ने स्वभावका थिए र हुन्छन् । म उनीहरूसित मित्रवत् भएर उनीहरूका समस्या बुझने प्रयास गर्थेँ ।

२०१९ साल असोज महिनामा स्कूल विधिवत् प्रस्तावित ‘हाई स्कूल’ भयो । अब स्कूललाई स्नातक प्रधानाध्याक आवश्यक भयो । त्यसनिम्ति मेरो पनि योग्यता पुगेन । त्यसैले बी.ए. पढ्न काठमाडौँतिर लागेँ । बी.ए. पास गरेर म फेरि नाम्सालिङमा नै फर्केँ । विद्यार्थीहरूलाई कहिलेकाहीँ हप्काउनु पनि पथ्र्यो तर यस्तो घटना बिरलै हुन्थ्यो । किनभने त्यतिखेरका विद्यार्थीहरूमा उच्छृङ्खलता ज्यादै कमी थियो । आफूले स्कूलमा उपेक्षित विद्यार्थी भएर बस्नुपरेको घाउको खाटो आलै थियो, यसैले कुनै विद्यार्थीले आफूलाई स्कूल र शिक्षकबाट उपेक्षित नठानोस् भन्ने ध्येय मेरो मनमा रहन्थ्यो । एउटा कलम मेरो भनेर झ्गडा गर्ने दुईजना विद्यार्थीलाई एक–एकवटा कलम दिएर झ्गडा मिलाउने काम मैले कैयौँ पटक गरें । अर्थात् स्कूलको वातावरणलाई सकारात्मक बनाउन सक्दो कोसिस गरें । म नकारात्मक विचार लिएर कक्षामा कहिल्यै गइनँ । यो बानी २०२६ सालमा बी.एड. गरे पछि अझ् बढ्यो ।

स्कूलमा गणित र विज्ञान विषयको पढाइको दुरवस्था थियो । दुई पेपर अङ्ग्रेजीमा १३० अङ्क (६५%) ल्याएको विद्यार्थीले गणित र विज्ञानमा ५०% नघाउन नसकेर द्वितीय श्रेणीमै रहनु परेको तीतो मेरो मनमा अझै छ । अझ् उनीहरू लब्धाङ्क हातमा परेका दिन आँसु चुहाउँदै हिँडेको दुखद् स्मृतिले अझ्सम्म पोल्छ ।

प्रधानाध्यापक भए पनि मलाई विषय शिक्षक बन्नमा नै आनन्द आउँथ्यो । यसैले २०३० सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना सुरु हुनेताक तत्कालीन जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी शर्मालाई भेटेर आफूलाई प्रधानाध्यापकको साटो कुनै स्कूलमा विषय शिक्षक बनाएर पठाइदिन अनुरोध गरें । उनले आश्चर्य मान्दै जिल्लामा स्थायी प्रधानाध्यापक म मात्र भएको बताए । मैले भनेजसो गर्न नमिल्ने बुझेपछि म फेरि खुसी साथै प्रधानाध्यापक भएँ ।

२७–२८ वर्ष प्रधानाध्यापकको काम गरें । २०३५ सालमा बौद्ध धाम मावि सरुवा भएँ र २०४६ सालमा सरस्वती मावि बतासे पुगेँ । २०४९ सालमा बूढा प्रधानाध्यापकहरू हटाउने क्रममा सह–शिक्षक हुन पुगियो । मलाई त खोजेकै कुरा पाए झै भयो । कारण म सधैं विपन्न र समस्याग्रस्त स्कूलकै प्रधानाध्यापक बनेको थिएँ । नाम्सालिङमा भवन अपर्याप्त नै थियो । तत्कालीन गाउँ पञ्चायतको एउटा कोठा मागेर र झरी मौसम नभएको बेलामा खुल्ला ठाउँमा राखेर पनि विद्यार्थी पढाउनु पथ्र्यो । बौद्ध धाममा भवन त्यसै पनि पर्याप्त थिएन, त्यस माथि मेरै कार्यकालमा आगलागीमा परेर भष्म भयो । सरस्वती मावि बतासेका भवनहरू २०४५ सालको भूकम्पबाट भत्केका थिए । विद्यार्थी सङ्ख्या न्यून भएकाले अनुदान रकमबाट तलब बाँड्न पुग्दैनथ्यो । यसैले सदरमुकाम जाँदा म सधैं त्रस्त रहन्थेँ । कति रकम निकासा हुने हो र जिशिअले के–के भन्ने हुन् भन्ने सधैं चिन्ता हुन्थ्यो । स्कूलको भौतिक संरचना निर्माणका लागि धेरैपटक चन्दा माग्न हिँडियो । तिहारमा देउसी खेलेर, पर्व मेला लगाएर केही रकम सङ्कलन गरिन्थ्यो । मेलामा ‘स्किलगेम’ मात्र खेलाउने प्रशासनको आदेश भए पनि सीधै पैसाको हानमार नभए रकम सङ्कलन हुँदैनथ्यो । यसका लागि प्रहरीलाई प्रशस्त खुवाउनुपर्दथ्यो । यसैले प्रधानाध्यापक प गरीबाट पार पाउँदा मलाई एकप्रकारले भारी बिसाए जस्तो अनुभूति भयो ।

२०४९ सालमा प्रधानाध्यापकको दायित्वबाट पार पाए पनि उमेरको हदले दिउञ्जेल २०५७ साल मङ्सिरसम्म म अध्यापन पेसामा नै रहेँ । यस अवधिमा विद्यार्थीहरूलाई हौसला दिएर राष्ट्रिय स्तर का विभिन्न प्रतियोगितामा जिताएकोमा सन्तोष लागेको छ । भूगोल विषयको विषय शिक्षक बनेर सम्पूर्ण विद्यार्थीलाई सेन्ट अप तथा एसएलसी (यदि त्यो मापदण्ड हो भने) रराम्रो अङ्कसहित उत्तीर्ण गराए कोमा आत्मिक सन्तोष लागेको छ ।

प्रधानाध्यापक कस्तो हुनुपर्दथ्यो, म कस्तो भएँ, त्यो भन्न म सक्दिनँ । तर, मैले विभिन्न स्कूलमा औपचारिक अनौपचारिक शिक्षा दिएका मेरा विद्यार्थी भाइबहिनीहरू आज पनि श्रद्धासाथ भेटघाट गर्छन्, पुराना कुरा गर्छन्, जसले मेरो आत्म सन्तोष दिएको छ । आत्मगौरव बढाएको छ ।

माघे, इलाम

commercial commercial commercial commercial