एक प्राथमिक शिक्षकको डायरी - हेमराज भट्ट

डायरीका लेखक हेमराज भट्ट नेपालका शिक्षक होइनन् । उनी भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको एउटा दुर्गम र विकट गाउँमा अवस्थित एक प्राथमिक विद्यालयका शिक्षक हुन् । राजनीतिक हिसाबले हाम्रो र हेमराजको देश एवं परिवेश भिन्न भए पनि पहाडी ग्रामीण भेगका प्राथमिक विद्यालयमा शिक्षण गर्ने त्यहाँ र यहाँका शिक्षकहरूको हविगतबीच थुप्रै समानता पनि भेटिन्छन् । यो डायरीका पानामा डुब्दै जाँदा नेपालको विशेषतः दुर्गम पहाडी भेगका कतिपय प्राथमिक शिक्षकहरूलाई हेमराजले भारतको नभई यहींको र आफ्नै कथा-व्यथा सुनाइरहेको आभास हुन थाल्छ ।

यो पुस्तकमा एउटा कर्मठ; स्व-प्रेरित (सेल्फ-मोटिभेटेड) र पेशाप्रति निष्ठा भएको शिक्षकको चिन्तन र व्यवहार कस्तो हुन्छ; त्यस्ता शिक्षक आफ्ना विद्यार्थी, सहकर्मी शिक्षक र अभिभावकहरूप्रति कसरी प्रस्तुत हुन्छन्, विद्यालय सञ्चालनका क्रममा आइपर्ने साना–ठूला समस्या र बाधा-अड्चनसँग कसरी जुध्छन् भन्ने जस्ता थुप्रै प्रश्नको जवाफ फेला पार्न सकिन्छ । अनकन्टार पहाडको प्राइमरी स्कूलका एक्ला शिक्षक हेमराजले आफूलाई शिक्षण पेशामा चुर्लुम्मै डुबाएका छन्, परिणामतः ठूला कष्ट, निराशा पैदा गराउने व्यवहार र अपहेलनाका बाबजूद पनि उनी उत्तिकै आशावादी; कर्तव्यपरायण र मानवीय रहिरहन्छन् ।

हेमराज कवि हृदय भएका दयालु शिक्षक हुन् । डायरी लेख्दा पनि उनको दिमागमा स्कूलका अबोध बालबालिकाको अनुहार नाचिरहेको हुन्थ्यो । कैयौं दिनका डायरीमा उनले विद्यार्थीहरूको नाम सहित हरेकको क्षमता आकलन गरेर कमजोरहरूको निम्ति विशेष पाठ्यसामग्री समेत तयार पारेको कुरा उल्लेख गरेका छन् ।

यो डायरी प्रकाशनको मुख्य उद्देश्य, युवा शिक्षक तथा भावी शिक्षकहरूलाई एउटा आदर्श शिक्षकले आफूलाई पेशागत कार्यमा कतिसम्म समर्पित गर्न सक्दोरहेछ भनी दर्शाउनु रहेको छ । यो सानो डायरी पढेर नेपालका कार्यरत शिक्षक तथा भावी शिक्षकहरूले अलिकति भए पनि प्रेरणा र हौसला ग्रहण गर्न सक्नुभयो भने हामीलाई आफ्नो प्रयत्न सार्थक र सफल लाग्नेछ ।

लेखक : हेमराज भट्ट
अनुवाद : शरच्चन्द्र वस्ती
अन्वेषण/संयोजन : राजेन्द्र दाहाल
प्रकाशक : शिक्षक मासिक

मूल्य: रु.१५०/-

किन्नकालागि सम्पर्क गर्नुहोस्। :०१ ५५४३२५२