तोत्तो–चान (झयालमा रमाउने त्यो सानी केटी) - तेच्चुको कुरोयानागी

तोत्तो(चानः झयालमा रमाउने त्यो सानी केटी जापानकी एक सुप्रसिद्ध कलाकार तेच्चुको कुरोयानागीको बाल्यकाल, विशेषतः प्राथमिक तहमा पढ्दाको संस्मरण हो । पुस्तककी प्रमुख पात्र स्वयं लेखक नै हुन् र ‘तोत्तो–चान’ बाल्यकालमा आफन्तले माया गरेर बोलाउने उनकै नाम हो । तोत्तो–चान पहिलो पटक स्कूल भर्ना भएको घटनाबाट पुस्तक शुरू हुन्छ । भर्ना भएको केही दिनमै उनलाई ‘धेरै चुलबुले भएको र चकचक गरेको’ आरोपमा त्यो स्कूलले निष्कासन गरिदिन्छ । त्यसपछि उनलाई अर्को स्कूल ‘तोमोए’मा भर्ना गरिन्छ । सोसाकु कोबायाशीले पुराना रेलका डिब्बामा संचालन गरेको तोमोए स्कूलले तोत्तो–चानलाई मोहनी लगाउँछ ।

तोत्तो-चानले तोमोए स्कूलमा सिकेका कुरा र दैनिक क्रियाकलापको फेहरिस्त पढ्दापढ्दै किताब सकिइसकेको हुन्छ । विशेष र असाधारण प्रकृतिका बालबालिकालाई लक्षित गरी खोलिएको त्यो स्कूलका संस्थापक, संचालक एवं प्रधानाध्यापक कोबायाशीले त्यस्ता बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा पेरिस गएर दुई वर्षसम्म अध्ययन गरेका थिए । उनले आफूले पढेको र सिकेको कुरा तोमोए स्कूलमा इमानदारीपूर्वक व्यवहारमा उतारेको देखिन्छ । यो किताब एक प्रकारले ती असाधारण शिक्षक एवं विद्यालय संचालकप्रति एकजना विद्यार्थीले अर्पण गरेको कृतज्ञता पनि हो । किताबले कोबायाशी सरको शिक्षा र बालबालिकाप्रतिको दृष्टिकोणलाई अत्यन्त मिहिन रूपमा प्रकाश पारेको छ ।

पुस्तकको विषयवस्तु एउटा औसत प्राथमिक स्कूलमा भइरहने नियमित प्रकृतिका घटनाहरू नै भए पनि प्रभावशाली प्रस्तुतिका कारण यो किताब पढ्दा कुनै रोचक उपन्यासभन्दा कम लाग्दैन । पुस्तक सम्बन्धी इन्टरनेटमा उपलब्ध समीक्षा र टिप्पणी हेर्दा अधिकांश पाठकले सामान्यतः एक बसाइमा पढिसिध्याएको कुरा थाहा हुन्छ । यो किताब मन नपराउने र यसमा खोट देखाउने समीक्षा या टिप्पणी हत्तपत्त फेला पर्दैनन् । हुन पनि किताब कति रमाइलो र गम्भीर छ भने, पढ्नेका आँखामा आँसु र ओठमा मुस्कान सँगसँगै आइरहेका हुन्छन् । तर पुस्तक रोचक मात्रै छैन, सन्देशमूलक र ज्ञानवद्र्धक पनि उत्तिकै छ । भर्खरै छोराछोरी हुर्काउँदै गरेका अथवा उनीहरूलाई पहिलो पटक स्कूल पठाउने तयारीमा रहेका अभिभावकका निम्ति त पुस्तकले ‘गाइड’ कै काम गर्न सक्छ ।

पहिलो संस्करण छापिएको ९सन् १९८१० एक वर्षमै जापानमा ४५ लाख प्रति बिक्री भएको यही किताबले लेखक तेच्चुको कुरोयानागीलाई जापानमा ‘सर्वाधिक पढिने लेखक’ को श्रेणीमा स्थापित गरिदियो । बितेका तीन दशकमा यो पुस्तक विश्वका ६० भन्दा बढी भाषामा अनूदित भइसकेको छ । चिनियाँ भाषाको संस्करण एक वर्षमै तीन करोड प्रति बिक्री भएको दावी पाइन्छ । भारतमा सार्वजनिक क्षेत्रको प्रकाशन गृह नेशनल बुक ट्रष्टले एकै पटक ११ वटा भारतीय भाषामा अनुवाद गराई दुई दशक अघि नै तोत्तो–चान भारतीय पाठकका हातमा पु¥याएको हो ।

लेखक : तेच्चुको कुरोयानागी
अनुवाद : डा. सरोज धिताल
सम्पादन : शरच्चन्द्र वस्ती
अन्वेषण/संयोजन : राजेन्द्र दाहाल
प्रकाशक : शिक्षक मासिक

मूल्य: रु.३००/-

किन्नकालागि सम्पर्क गर्नुहोस्। :०१ ५५४३२५२