विद्यार्थी, बाख्रा र विद्यालय


म ताप्लेजुङको चाँगे, सोबुवाको साधारण कृषक परिवारको व्यक्ति हुँ । मैले शिक्षक बन्ने मुख्य प्रेरणा आफ्नै बुबा स्व. लक्ष्मीप्रसाद पौडेल र आमा चन्द्रावती पौडेलबाट पाएको हुँ । उहाँहरूले आफू निरक्षर भए पनि विद्यालय खोल्न जग्गा प्रदान गर्नु भएको थियो । बाहिरबाट आएका  शिक्षकहरूलाई आफ्नो घरमा राखेर वरपरका बालबालिकालाई समेत पढ्न प्रेरित गर्नु हुन्थ्यो । पढ्न लेख्न नजानेकै कारण आफूले धेरै हण्डर खानुपरेकाले उहाँमा शिक्षाप्रतिको प्रेम जागृत भएको हुनुपर्छ । आफ्ना छोराछोरीलाई शिक्षित बनाएर गाउँको विद्यालयमा शिक्षक बनाउने सपना देख्नुको मुख्य कारण पनि त्यही थियो ।

छोरालाई शिक्षक बनाउने बुबाको अभिलासालाई मैले नै पूरा गर्नु पर्छ भनेर आई.ए. पास गरिसकेपछि ताप्लेजुङकै बुद्ध प्राविगोर्जामा स्थानीय स्रोत शिक्षकको रूपमा रु.५०० तलब पाउने गरी भर्ना भएँ । एक वर्षभित्र विद्यालय स्वीकृत भयो । छात्रछात्रा जम्मा ४२ जना थिए । शिशु कक्षा र कक्षा एकमा आएका विद्यार्थीको उमेर १० देखि २१ वर्षका बीचमा थियो ।

विद्यार्थीहरूलाई फल्याकमा धूलो राखेर सिन्काले क, ख लेख्न सिकाउने गरिन्थ्यो । एकपटक २०/२१ वर्षकी छात्राको हात समाएर सिकाउँदै गर्दा ती छात्राका बुबाले देखे छन् । उनी प्रायः रक्सी खाएर रल्लिरहन्थे । उनले त्यतिबेला गरेको हप्कीदप्कीको घटना अहिले सम्झ्ँदा रोचक लाग्छ । त्यसबेला म डराएको थिएँ तर धैर्यधारण गरेर मात्र काममा टिकेको थिएँ ।
विद्यालय हुस्सु लाग्ने लेकको ठाउँमा थियो । प्रायः विद्यार्थीहरू अत्यन्त विपन्न परिवारका थिए । विद्यार्थीहरूको स्वास्थ्य र सफाइको अवस्था स्वाभाविकरूपमै रराम्रो हुँदैनथ्यो । लुगाका बाहुलाले सिंगान पुछेको र हातखुट्टा नधोएको स्पष्टै देखि न्थ्यो । एकदिन सबै विद्यार्थीलाई स्कूल आउँदा हातखुट्टा धोएर र सफा लुगा लगाएर आउनू भनेर निर्देशन गरें । उनीहरूले खरानी पानीमा पकाएर लुगा धोए छन्, नुहाए छन् पनि । तर, कतिजनाले आफ्ना फुटेका हातखुट्टा सफा पार्न ढुङ्गाले रगडे छन् । उनीहरू केही सफा त भए तर धेरैले हातगोडा रगतपच्छे पारे । यो घटनाले मलाई धेरै लज्जित तुल्यायो । त्यस्तो अवस्थामा रहेको विद्यालयमा औषधि हुने कुरै भएन । पछि मैले नै वनमाराको पात निचोरेर औषधि लगाइदिएँ । यस्ता घटनाबाट शिक्षक र बालबालिकाको सम्बन्धका नयाँ–नयाँ पक्षहरूका बारेमा मलाई सिक्ने मौका मिल्यो ।

२०५० सालतिर कै कुरा होे, विद्यालय नजिकका चार घरका १०/११ वर्षका बालबालिका विद्यालय आउन छाडे । बाबु–आमा भारी बोक्न बाहिर गएकाले बाख्रा चराउने जिम्मा आइपरेका कारण उनीहरू अनुपस्थित भएको थाहा पाएपछि उनीहरूलाई बाख्रा लिएरै विद्यालय आउन भनियो । उनीहरू त्यसो गर्न राजी पनि भए । उनीहरू पढुञ्जेल बाख्रा चौर र वरपर चर्थे, फर्कंदा सँगै लिएर फर्कन्थे । यसरी पनि विद्यार्थीहरूको पढाइको निरन्तरता कायम राख्न सकेको सम्झ्ँदा अहिले आनन्द लाग्छ । हुनतः त्यतिबेला कतिपयले हराम्रो विद्यालयलाई बाख्रा पढाउने विद्यालय भन्थे र हामीलाई दुः ख पनि लाग्थ्यो । अहिले भने मलाई त्यस घटनाप्रतिगर्व लाग्छ । २०५८ साल देखि म मकवानपुरको श्री नाटेश्वर माविमा अध्यापनरत छु ।

नाटेश्वर, मावि चित्लाङ, मकवानपुर

commercial commercial commercial commercial