मूल्याङ्कन प्रणाली नै प्रभावकारी छैन

राजनीतिक आस्थाका कारण पनि शिक्षक बढुवामा ठूलो असर परेको छ । प्रधानाध्यापकले आफ्नो राजनीतिक आस्थाको आधारमा बढुवाका प्रत्यासी शिक्षकलाई कार्य सम्पादन मूल्याङ्कनबापत अङ्क दिने गरेको देखिन्छ ।

गुणात्मक शिक्षाको विकास का लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकले कक्षामा गर्ने क्रियाकलाप ले विद्यार्थीको सिकाइ उपलब्धिमा असर पार्छ । त्यसैले शिक्षक बढुवा प्रणालीको उद्देश्य शिक्षकको शिक्षण क्रियाकलाप सँग जोडिएको छ । बढुवाले शिक्षकको मान –मर्यादा र सामाजिक प्रतिष्ठामा पनि ठूलो असर पार्ने ठानिन्छ । बढुवाबाट उत्साहित शिक्षक विद्यालयको विकास र गुणात्मक शिक्षणमा अभिप्रेरित हुन्छन् भन्ने विश्वास हो । तर, नेपालमा लागू गरिएको शिक्षक बढुवा प्रणालीले यस्ता उद्देश्य हासिल हुनसकेका छैनन् ।

शिक्षक बढुवा निजामती कर्मचारीहरूको झैँ फाइल बढुवा र खुला प्रतियोगिताबाट गर्ने गरिएको छ । फाइल बढुवामा निजामतीसरह नै शिक्षकको अनुभव, माथिल्लो योग्यता (पदमा राखिएको न्यूनतम योग्यताभन्दा एक तह माथिको योग्यता), कार्य सम्पादन मूल्याङ्कन आदि मापदण्ड निर्धारण गरिएको छ । निजामती कर्मचारीको काम, कर्तव्य, अधिकारभन्दा शिक्षण पेशामा लाग्नेहरूको काम, कर्तव्य र पेशागत दायित्व नितान्त भिन्न हुन्छ । त्यसैले शिक्षकको कामको प्रकृति अनुसार बढुवाका मापदण्ड फरक हुनु जरुरी हुन्छ; जुन अहिले छैन । शिक्षकको कार्य सम्पादन मूल्याङ्कन शिक्षकले पढाएको विषयमा विद्यार्थीले प्राप्त गरेको सिकाइ उपलब्धि र विद्यालयमा गरेको कार्य उपलब्धिका आधारमा गरिनु आवश्यक छ ।  

शिक्षक बढुवामा विभिन्न विकृतिहरू देखि एका छन् । आफूले पढाएर शिक्षक बनेका र १० वर्ष मात्र अनुभव भएका चेलाको बढुवा हुने तर आफू भने २०–२५ वर्षको अनुभव हुँदा पनि बढुवा नहुने समस्या धेरै शिक्षकले भोगेका उदाहरण छन् । यस्तो विकृति देखि नुमा मूल्याङ्कनकर्ताको लापरबाही, नियमित मूल्याङ्कन गरी अभिलेख न गर्ने परिपाटी, जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकको चाँडो–चाँडो सरुवा आदि मुख्य कारक हुन् ।

राजनीतिक आस्थाका कारण पनि शिक्षक बढुवामा ठूलो असर परेको छ । प्रधानाध्यापकले आफ्नो राजनीतिक आस्थाको आधारमा बढुवाका प्रत्यासी शिक्षकलाई कार्य सम्पादन मूल्याङ्कन बापत अङ्क दिने गरेको देखिन्छ । यसका अलावा मूल्याङ्कन गर्ने विद्यालय निरीक्षक र जिल्ला शिक्षा अधिकारी को राजनीतिक आस्थाले पनि शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा असर पारेको छ । यस्तो असरबाट मुक्त हुन बढुवाका निम्ति प्रभावकारी मापदण्डको खोजी गरी कार्यान्वयन गर्नु जरुरी छ ।
कार्यसम्पादन मूल्याङ्कनमा बढी अङ्क पाउन आफ्नो कक्षा शिक्षण र सिकाइ उपलब्धि वृद्धि गर्नु भन्दा केही शिक्षक मित्रहरूले पहुँचवालालाई रिझउन बढी मेहनत र शक्ति खर्च गरेका पनि भेटिन्छ । शिक्षण पेशालाई अति उच्च राख्न र पेशागत हकहितको लागि खुलेको नेपाल शिक्षक युनियनले पनि सबै शिक्षक वर्गलाई एउटै छातामा राख्न सकिरहेको छैन । यसले गर्दा शिक्षक साथीहरू राजनीतिमा हावी हुन बाध्य भएका छन् । जसको फलस्वरुप बढुवामा भेदभाव भइरहेको छ, बढुवा पाउनुपर्नेले पाएका छैनन् नपाउनुपर्नेले पाएका छन् ।

शिक्षक युनियन, विज्ञहरू तथा नेपाल सरकारबीचको अन्तरक्रियाबाट हालको परिपाटीलाई परिमार्जन गरी शिक्षक बढुवा प्रक्रियालाई सुधार गर्न सकिन्छ । शिक्षकलाई अध्ययनशील बनाई विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न कार्य सम्पादन मूल्याङ्कनका लागि पनि लिखित परीक्षाको व्यवस्था गर्नु एउटा विकल्प हुन सक्छ । बढुवाका निम्ति लिइने परीक्षाले शिक्षकलाई नियमित अध्ययन गर्ने बानी बसाल्छ । जसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा पनि वृद्धि हुन्छ ।

शिक्षक तालिम लिएका शिक्षकले बढुवामा अलि बढी अङ्क पाउने व्यवस्था छ । तर, तालिम प्राप्त शिक्षकले कक्षा शिक्षणका क्रममा तालिममा हासिल गरेको सीपकोे खासै प्रयोग गरेको पाइँदैन । तालिमको प्रयोजन बढुवाको लागि अङ्क पाउनेमा सीमित भएको छ भने शिक्षक तालिम रमाइलो गर्ने माध्यम बनेको छ । तालिमप्राप्त शिक्षकबाट शिक्षण सिकाइमा वृद्धि भई यसको उपलब्धिले शिक्षकको बढुवा पनि होस् भन्ने उद्देश्य हो तर यस्तो भइरहेको छैन । त्यसकारण तालिमबाट प्राप्त सीपलाई कक्षा शिक्षणमा प्रयोग गराई सिकाइ उपलब्धिमा वृद्धि गर्न र सिकाइ उपलब्धि वृद्धि गर्ने शिक्षकले बढुवाको लागि रराम्रो अङ्क पाउने व्यवस्था गरिनु उचित हुन्छ । यसनिम्ति विद्यालयका प्रअ र स्रोतव्यक्तिले शिक्षण अनुगमन गर्नु पर्छ । प्रअले प्रत्येक महिना बढुवा हुन चाहने शिक्षकलाई कक्षा शिक्षणको बारेमा एउटा लेख लेख्न लगाई त्यसका आधारमा अङ्क दिने व्यवस्था पनि कार्यसम्पादन मूल्याङ्कनको मापदण्डमा थप्न सकिन्छ ।

कुनै पनि शिक्षकको बढुवा हुनु भनेको उसको व्यावसायिक शिक्षण सीप अभिवृद्धि भएको मानिनुपर्ने हो । तर, यस्तो व्यावसायिक शिक्षण सीपको विकास गर्ने प्रयत्न कसरी गर्ने र कसले गर्ने भन्ने प्रश्नको जवाफ छैन । सामान्यतः शिक्षकको शिक्षण सीपको विकास गर्ने कार्य सम्बन्धित प्रअ र स्रोतव्यक्तिको हो भने प्रधानाध्यापकको क्षमता वृद्धि गर्ने कार्य विद्यालय निरीक्षक र जिल्ला शिक्षा अधिकारी को हो । तर, सार्वजनिक विद्यालयका प्रअले ५–१० वर्षमा कति सक्षम प्रअ उत्पादन गरेका होलान् ? यो प्रश्नको जवाफ हेडमास्टरबाट फेला नपरुञ्जेल स्कूल सुधारको अभियान फलदायी हुन सक्दैन । र हेडमास्टर सक्षम नभई शिक्षकहरूको कामको वस्तुगत मूल्याङ्कन पनि हुनसक्दैन ।

(त्रिपाठी शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुन् ।)

commercial commercial commercial commercial