मावि शिक्षकको तलवः रु. २५०० तर पढाइ कहिल्यै रोकिँदैन !

पूर्णप्रसाद सापकोटा प्रधानाध्यापक हुन् । अङ्ग्रेजी र समाज शास्त्रमा स्नातक गरेका छन् । बिहान साढे आठ बजे साइकलको पाइडल फन्काउँदै विद्यालयको हातामा पुगिसक्छन् । साढे चार नबजी विद्यालयबाट बाहिरिने कुरै भएन । तनखा हात परेको साता रहेछ भने छाप्रो र विद्यालयबीचको बाटो किनारमा थापिएका पसलबाट दश/बीस रुपैयाँको तरकारी किन्छन् । “तर यो पनि नियमित गर्न सक्ने औकातको म परिनँ”, निराश मुद्रामा प्रधानाध्यापक सापकोटा भन्छन्, “म मात्र होइन म जस्ता सबै ६९६ जना भुटानी शिक्षकको हालत यही हो ।”

झपा र मोरङका सात वटा शरणार्थी शिविरमा सन् १९९२ देखि विद्यालय सञ्चालनमा छन् । रोमन क्याथोलिक क्रिश्चियनहरूको संस्था ‘कारितास नेपाल’ले चलाएका ती स्कूलमा नेपाली पाठ्यक्रम नै पढाइ हुन्छ । पढाउने शिक्षकको योग्यता र विद्यार्थीहरूको परीक्षा बोर्ड पनि नेपाली शैक्षिक नीति मुताविककै हुन्छ । तर प्रअ सापकोटाको महिनाभरिको तनखा भने रु.२५०० मात्र हो । ९२६ विद्यार्थी पढिरहेको विद्यालयका प्रअ सापकोटा भन्छन्, “यति कम पारिश्रमिकमा पढाउनेले त परै जाओस्, भाँडा मस्काउनेले पनि काम गर्न नमान्दो हो नेपालमा !”

रमेश कार्कीको बास बेलडाँगी–२ शरणार्थी शिविरको सेक्टर–एफ–२ छाप्रो नम्बर ४६ मा छ । तोते बोली नफुट्दै दुईवटा अन्तर्राष्ट्रिय सिमाना पार गरेर पराई मुलुकमा शरणार्थी बनेका रमेशले शिविरका भाटे स्कूलमै पढे । एसएलसी माथिको उच्च शिक्षा उनले नेपालमै लिए । दुई वर्ष भयो उनले चक डस्टर समातेको । कारितासका अधिकारी हरूले शिविरका ख वर्गका (निमाविसम्म पढाउने) शिक्षकको मासिक पारिश्रमिक अघिल्लो महिना बढाएर रु.२१५० पुर्याएका थिएनन् भने यो महिना पनि उनले रु.१८६० नै समात्ने थिए । दुई वर्षको शिक्षणबाट रमेशले जम्मा तनखा हात पारेछन्— रु.४४,९३० । समान योग्यता भएको शिविर बाहिरका शिक्षकको चार महिनाको तलब भन्दा यो केही मात्रै कम हो । महिनाभरिको शिक्षणबाट केही दिनको तरकारी, वर्षमा एक/दुई थान सस्ता फाटा कम्पनीका कपडा र एक दुई जोर बीस रुपैयाँको भाउमा पाइने भुक्के चप्पल बाहेक केही जोड्न नसकेको बताउने शिक्षक रमेश भन्छन्, “आफूखुसी पचास रुपैयाँ खर्च गरेको छैन ।”

झपा र मोरङका ७ शिविरमा नौ वटा माध्यमिक विद्यालय छन् । तिनमा १६,९२६ विद्यार्थी पढिरहेका छन् । त्यहाँ प्राथमिकसम्मका विद्यार्थी भुइँमा बसाइन्छन् । शिविरका विद्यालयमा तीन वर्गका शिक्षक काम गरिरहेका छन् । स्नातकलाई क वर्गमा राखी मासिक रु.२५००, प्रमाणपत्र पास गरेकालाई रु.२१६० र एसएलसी उत्तीर्णलाई रु.१८६० दिइन्छ । विद्यालयको टहल–टुकुरो गर्ने १५० जना जति पियन र चौकीदारको पारिश्रमिक यही फागुन देखि बढेर रु.१५०० पुगेको छ ।

चेतन खनाल भुटानी समाज का एकजना पुराना शिक्षक हुन् । उनको नाभीगाडिएको ठाउँ ठेगाना दक्षिण भुटानको चिराङ्ग लामिडाँडा हो । उनले दक्षिण भारतको तिर ुपति विश्वविद्यालयबाट संस्कृतमा आचार्य उत्तीर्ण गरेका छन् । आफ्नो गाउँ र देशबाट खेदिएपछि सन् १९९१ को जून महिनामा उनले शरणार्थी बालबालिकालाई झपाको कन्काई बगरमा सिसौको सयलमा सित्तैँ पढाउन थाले । एक वर्षपछि मासिक रु.५०० पाउन थाले । उनलेगोलधाप शिविरमा पढाउन थालेको १९ वर्ष भइसकेको छ । १४ वर्षसम्म उनी स्रोत शिक्षक नै रहे ।

शरणार्थीलाई शैक्षिक सहायता दिइरहेको ‘कारितास’का मानिसहरू शरणार्थी शिक्षकहरूलाई दिएको न्यून पारिश्रमिकलाई स्वाभाविक ठान्छन् । शरणार्थीलाई यसै पनि दाल–चामल दिइएको र खरकै भए पनि बस्नका लागि ओत भएकाले आफ्नो समाज लाई सघाउन प्रोत्साहन स्वरुप त्यति पारिश्रमिक दिइएको उनीहरूको भनाइ छ ।

शिक्षकहरूको पारिश्रमिक जतिसुकै न्यून भए पनि शरणार्थी शिविरका विद्यालयमा पढाइ भने कहिल्यै रोकिंदैन । त्यहाँका विद्यालयमा हडताल र तालाबन्दी पनि हुँदैन । हावाहुरी आएर टाटीको बार लच्किँदा वा खरको छानो चुहिएर समस्यै पर्दा बाहेक पढ्ने/पढाउने काम चलिरहन्छ । विद्यार्थी र शिक्षक दुवैले एक दिनको बिरामी बिदाको लागि समेत लिखित निवेदन दर्ता गराउनै पर्छ । तुलनात्मक रूपमा शिविरका विद्यालयको नतिजा शिविर बाहिरका सरकारी विद्यालयको भन्दा राम्रै हुने गरेको छ (हे. शिविरको एसएलसी नतिजा) । “तर यति थोरै पारिश्रमिकमा हराम्रो योग्यताका मान्छेले योग्यता अनुसारकै काम गरेको अन्यत्र सुनेको छैन”, प्रधानाध्यापक सापकोटा भन्छन् ।

commercial commercial commercial commercial