बालबालिका रमाउने विद्यालय नै बालमैत्री

गुणस्तरीय शिक्षा प्रबद्र्धनका लागि बालबालिकाको रुचि, क्षमता र आवश्यकता अनुसार शिक्षा आर्जन गर्ने बालमैत्री वातावरण सिर्जना गर्नु पहिलो शर्त हो । विद्यार्थीको सिकाइ उपलब्धिलाई उच्च बनाउन घरपरिवार, समुदाय तथा विद्यालयको वातावरण बालमैत्री हुनुको विकल्प छैन । विद्यालयमा सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक तथा जातजाति आदि विविध पृष्ठभूमि भएका बालबालिकाको प्रतिनिधित्व हुन्छ । यसप्रकारको विविधतामा बालमैत्री विद्यालयको व्यवस्थापन निश्चय नै चुनौतीको विषय हो । तर असम्भव चाहिँ होइन । बालमैत्री विद्यालय बनाउन निम्न पक्षहरूलाई समेट्न बिर्सनुहुँदैन ।

भौतिक पूर्वाधारः विद्यालयको भौतिक पूर्वाधार बालमैत्री विद्यालयका लागि आधारस्तम्भ हो । विद्यालय भौतिक रूपमा स्वच्छ, स्वस्थ र साधनस्रोत सम्पन्न चित्ताकर्षक भएमा स्वतः गुणस्तरीय शिक्षालाई प्रबद्र्धन गर्द छ । विद्यालय भवन, कक्षाकोठा, पुस्तकालय, फर्निचर, खेल्ने चौर, खाननेपानी, शौचालय, प्रयोगशाला, छात्रावास, चमेना गृह लगायतका सामग्रीहरू विद्यार्थीको उमेर क्षमता अनुसार आकर्षक एवं लैङ्गिक र अपाङ्गमैत्री हुनुपर्दछ ।

शिक्षण विषय र विधि तथा मूल्याङ्कनः पाठ्यक्रम पाठ्यपुस्तक विद्यार्थीको मान सिक तथा शारीरिक उमेर एवं उनीहरूको चाहना र दैनिक दिनचर्यासँग सरोकार राख्ने आधारमा चयन गरिनुपर्दछ । शिक्षण विधि बालबालिकाको मातृभाषाको पृष्ठभूमि समेतलाई अध्ययन गरेर यकिन गरिनुपर्छ । अतः शिक्षकले पाठ्यक्रम पाठ्यपुस्तकका साथै विद्यार्थीको पृष्ठभूमिलाई पनि पढ्नुपर्दछ जसले विद्यार्थीको वैयक्तिक विभिन्नता अनुसार शिक्षण–सिकाइ क्रियाकलाप को तर्जुमा गर्न सहज बनाउँछ । शैक्षिक सामग्रीको यथोचित प्रयोगले शिक्षणसिकाइमा जीवन्तता ल्याउँछ । शिक्षकले आफूले पढाउने विषयको विषयगत लक्ष्य निर्धारण गरी पठनपाठन सञ्चालन गर्दा उपलब्धिस्तर अभिवृद्धि गर्न सकिन्छ । कतिपय अवस्थामा विद्यार्थी समेतलाई शैक्षिक सामग्री सङ्कलन र संरक्षणमा प्रयोग गर्नाले उनीहरूमा अपनत्व र आत्मविश्वासको विकास हुन्छ । ‘बालबालिकाले केही जान्दैनन्’ भन्ने पुरातनवादी सोचलाई निरुत्साहित गर्दै उनीहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने सकारात्मक सोच राखेर उनीहरूको अनुभवलाई समेत समेटेर शिक्षणसिकाइ क्रियाकलाप तर्जुमा गर्नु बालमैत्री विद्यालयको पूर्व शर्त हो ।

विद्यार्थीको योग्यता, क्षमता र उपलब्धिस्तर को प्रगति यकिन गरी सोही अनुसार भावी योजना बनाउन परीक्षा र मूल्याङ्कनको अहम् भूमिका हुन्छ । परीक्षा वस्तुनिष्ठ, पारदर्शी र निष्पक्ष हुनुपर्छ । प्रत्येक विद्यार्थीको उपलब्धिस्तर को विश्लेषण गरी आवश्यक सल्लाह सुझाव स्वयं विद्यार्थी र अभिभावकलाई दिन चुक्नुहुँदैन । त्यस्तै विद्यार्थी उपलब्धिलाई प्रमुखता दिएर शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन लगायतका सबै सरोकार पक्षको कार्यदक्षताको मूल्याङ्कन गर्दा बालमैत्री विद्यालय बनाउन अझ् सघाउ पुग्छ । विद्यार्थीको उपलब्धिस्तर र बालमैत्री विद्यालय एक–अर्काका परिपूरक हुन् ।

बालबालिका, अभिभावक र समुदायको सहभागिताः विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाको सक्रिय सहभागिता पहिलो प्राथमिकतामा पर्नुपर्दछ । विद्यार्थी वर्तमान का साझेदार र भविष्यका कर्णधार हुन् भन्ने यथार्थलाई बिर्सिनुहुदैन । विद्यालयलाई साधन–स्रोत सम्पन्न बनाउन अभिभावक र समुदाय तथा सरकारी गैर सरकारी संघसंस्थाको सद्भाव र सहयोग जुटाउनुको विकल्प छैन । अधिकांश बालबालिका ६ घण्टा मात्र विद्यालयमा बस्छन् । बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ त्यहाँको वातावरण पनि बालमैत्री हुनु नितान्त आवश्यक हुन्छ । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, विकेन्द्रित जिम्मेवारी आदिले विद्यालयप्रति अपनत्व भावनाको विकास भई मैत्रीपूर्ण वातावरण सिर्जना गर्न टेवा पुग्छ ।

स्वस्थ र अनुशासित वातावरणः स्वस्थ, स्वच्छ वातावरणमा मात्र बालबालिकाको शारीरिक तथा मान सिक विकास सन्तुलित रूपमा हुन्छ । कक्षाकोठा, धारा, शौचालय, खेल्ने चौर, बाटो नियमित सरसफाई तथा फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्दछ । शिक्षक/स्टाफको स्वस्थकर बानी–व्यहोराले बालबालिकाको बानी–व्यहोरामा पनि सकारात्मक प्रभाव पार्दछ । सामाजिक, धार्मिक संस्कार–संस्कृति, मानवीय सद्भाव र सहयोग तथा भ्रातृत्वको भावनालाई उच्च प्राथमिकता दिएर नवीनतम ज्ञान र सीपबाट सु–सज्जित भई सफल जीवनयापन गर्न सक्षम नागरिक उत्पादनका लागि अनुशासित शैक्षिक वातावरण अपरिहार्य हुन्छ । विद्यालयमा अनुशासित वातावरण कायम राख्न व्यावहारिक आचारसंहिता तथा त्यसको सहज रूपमा परिपालन गर्ने निष्पक्ष परिपाटी अवलम्बन गरिनुपर्दछ । अनुशासनको नाममा गरिने मान सिक तथा शारीरिक यातनालाई पूर्णरुपमा बर्जित गर्दै लोकतान्त्रिक मूल्य–मान्यता अनुरुप कक्षा तथा विद्यालय सञ्चालन गर्ने संस्कारको विकास गरिनुपर्दछ । शिष्ट, सदाचार, सौहार्द एवं नम्र बानी–व्यहोरालाई प्रोत्साहित गर्ने मानवीय वातावरण हुनुपर्दछ । ‘बञ्चरोलेभन्दा बचनले चिरेको घाउ गहिरो हुन्छ’ भन्ने यथार्थलाई बिर्सनुहुंँदैन । विद्यार्थीको आत्मसम्मान मा ठेस पुग्ने व्यवहार गरिनुहुन्न । विद्यालयले अख्तियार गरेका नीति कत्तिको प्रभावकारी भए, भविष्यमा कस्तो सुधार ल्याउनुपर्ला भन्ने उपायहरू खुट्याउन निरन्तर अनुगमन गरिनुपर्दछ ।

शिक्षाका नीति, नियम र योजना विद्यार्थीलाई सर्वोपरि मानी उनीहरूको हितलाई केन्द्रबिन्दुमा राखेर बनाउनुपर्दछ । सौहार्द वातावरण भएमा बालबालिका विद्यालयबाट भागेर घरमा होइन घरबाट भागेर विद्यालयमा जान्छन्; जसलाई बालमैत्री विद्यालयको महत्वपूर्ण सूचकको रूपमा लिन सकिन्छ । सचेत अभिभावक, समर्पित शिक्षक, कुशल व्यवस्थापक तथा अनुशासित विद्यार्थीबाटै बालमैत्री विद्यालयको सपना साकार हुने हो ।
बाबुकाजी कार्की
जिशिअ, काठमाडौं

commercial commercial commercial commercial