‘घर अपायक हुनुका फाइदा’

शिक्षक मासिक तथा अन्य मिडियामा बारम्बार सुनिने गरिन्छ– ‘घर अपायक शिक्षण जागिर अभिशाप हो ।’ म घर अपायक शिक्षण पेशामा संलग्न भएको दशक बितिसक्यो । जिल्ला उही भए पनि ५/७ घण्टाको पैदल दूरी, डेरा लिएर बस्नै पर्छ । मेरो ठम्याइमा शिक्षण जागिर घर अपायक हुनु नै फाइदा हो । मैले घरपायक भएका केही शिक्षकहरूको शैक्षिक हविगत राम्ररी अनुभव गरेको छु । विद्यालय आउँदा घरायसी व्यस्तताले गर्दा धूलो, हिलोसरी भएर, कन्सिरीमा भैंसीको पुच्छरको डाँठले हिर्काएकोगोबरको टाटा, पेन्टको एउटा बाहुला तल र अर्को माथि, सर्टको माथिल्लो टाँकघरमा तल्लो टाँक लगाएर, बिहानभरि काम गरेर थकान मेटाउनको लागि विद्यालय आउने सहकर्मीहरू प्रायः हामी सबैले भेट्छौं । हातमा नाम्लो, कचिया, कोदालो च्यापेर आउने; गाउँघरमा कचहरी, सभा, श्राद्ध, रुद्री, बाटो खन्ने, विवाहको टिकोटालो गर्ने दिन जस्ता बहाना बनाएर विद्यालयमा पातलो उपस्थिति जनाउने शिक्षक साथीहरू पनि उत्तिकै हुन्छन् । कहिलेकाहीँ त विद्यालयमा पढाइरहेको समयमा यस्तो निम्ता सम्म आउने गर्द छ— “फलानोका खसी काट्ने, पानी उम्लिसक्यो, तुरुन्त आइदिनुपरयो ।”

माथि उल्लिखित व्यवधानहरू प्रायः गरेर शिक्षकको घरपायक जागिरका उपज हुन् । थोर–बहुत योग्य र चेतनशील शिक्षकहरू माथिको सूचीमा नपर्न पनि सक्नुहुन्छ; तरग्रामीण सामुदायिक विद्यालयका बहुसङ्ख्यक शिक्षकका साझ दिनचर्याहरू यस्तै हुने गर्द छन् । हामी जस्ता घर अपायक शिक्षकहरू कम्तीमा पनि फुर्सदिलो समयमा पत्रपत्रिका पढ्न पाउँछौं । भोलिको विषयवस्तु एकपटक हेर्छौं, मनमनै भए पनि पाठयोजना बनाउँछौं । सधैं जिज्ञासु, ताजा र उत्साही बनिरहन सक्छौं । बिदाको दिन र बिहान–बेलुका सफाइमा बिताउँछौं र आफूलाई अद्यावधिक बनाइरहन्छौं । हो, घर अपायक शिक्षक हुँदा आर्थिक बचत खासै हुँदैन; तर पनि जागिर खाएको अनुभूति भने हुन्छ । घर गाउँमा भन्दा पराई ठाउँमा सम्मान पाइने हुनाले मान सिक सन्तुष्टि पनि बढी नै हुन्छ । ‘नजिकमा काटाकाट, टाढा हुँदा चाटाचाट’ भन्ने नेपाली उखान झै महिना, पन्ध्र दिनमा घर जाँदाखेरि परिवारमा पनि पाहुना झै मानिने र रमाइलो भलाकुसारी हुने गर्छ । कति मज्जा छ अपायक जागिर !
मेरो विचार मा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कनुका धेरै कारणहरूमध्ये घरपायक जागिर पनि एक हो । मैले प्रशस्तै देखेको छु–ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका केही शिक्षकहरू दाँत झ्रेर थोते हुन्जेल अनिवार्य अवकाश पर्खेर पेन्सनमा प्रतिशत बढाई मात्र रहन्छन् । उनीहरूको शिक्षण सिकाइ क्रियाकलाप को कुरै नगरौं; विचरा लौरो टेकेर धन्न विद्यालयमा अनुहारसम्म देखाउँछन् । यदि उनीहरूको घर अपायक जागिर हुँदो हो त उनीहरू २० वर्ष पुगेपछि राजिनामा दिएर घरपरिवारमा रिटायर्ड जीवन बिताउँथे । उनीहरूको स्थानमा नयाँ जोस, जाँगर र उत्साह भएको युवा शिक्षक भित्रिन्थ्यो । जहाँ अर्कै नयाँ शैक्षिक वातावरण बन्थ्यो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुको अर्को तत्व विद्यालय व्यवस्थापन समितिलाई दिएको अधिकारको दुरुपयोग हो । अधिकांश विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू नाता सम्बन्ध विशेष, राजनीतिक पक्षपोषणबाट नियुक्ति भएका हुन्छन् । उनीहरू स्थानीय वा घरपायक शिक्षकहरूका आफन्त या एउटै राजनीतिक आस्थाका र कम्तीमा पनि छरछिमेकी त अवश्य हुन्छन् । उनीहरूले घरपायक अथवा स्थानीय शिक्षकहरूलाई बढी संरक्षण गर्छन् । बाहिरी शिक्षकले स–साना कमजोरी गर्दा पनि औंला ठड्याउँछन् । त्यसैले पनि घर अपायक शिक्षक सधैंभरि आफ्नो कर्तव्यमा तल्लीन भइरहन्छन् । यसको अर्थ सबै घरपायक शिक्षक अल्छी र अयोग्य भन्ने चाहिँ कदापि होइन । घरपायक भएर पनि मिहिनेत र इमान दारी प्रदर्शन गरी आदर्श शिक्षक बन्न सफल पनि थुप्रै हुनुहुन्छ । तर पनि भाग्य वा नियति भनौं, मलाई चाहिँ घर अपायक जागिरमा नसा यसरी बस्यो बरु जागिर छोड्छु तर... ।
मोहन पौडेल
सरस्वती उमावि, डाँडाखर्क, खोटाङ

अनुरोधः मनका कुरा स्तम्भका निम्ति देशभरबाट धेरै शिक्षक मित्रहरूले आफ्ना लेख, रचना पठाइ रहनु भएको छ । प्राप्त सबै रचना तत्काल प्रकाशित गर्न हामी सक्षम छैनौं । तथापि शिक्षकका भावना र विचार लाई अत्यधिक सम्मान र महत्व दिने हराम्रो घोषित नीति भने कायमै छ । यसर्थ, यो स्तम्भका निम्ति लेख, रचना पठाउनु हुने शिक्षक मित्रहरुलाई धैर्यपूर्वक केही महिना प्रतीक्षा गरिदिनु हुन सादर अनुरोध गर्द छौं । किनभने कतिपय रचना ३/४ महिना पछि पनि सान्दर्भिक र प्रकाशनयोग्य ठहर्न सक्छन् । – सं.

commercial commercial commercial commercial