दुई सय वर्षको यात्रा

पुस्तकालय पढ्ने ठाउँ मात्र होइन, समाज लाई पढाइको महत्व बुझाउने ठाउँ पनि हो । नेपालको इतिहास नियाल्दा यहाँ स्कूलभन्दा पहिले पुस्तकालय जन्मेको देखिन्छ । नेपालको मध्यकालमा पुस्तकालयलाई ‘ग्रन्थालय’ नामले जानिन्थ्यो । पृथ्वीनारायण शाहले उपत्यका विजय गरे पछि विभिन्न स्थानका हस्तलिखितग्रन्थ हनुमान ढोकामा जम्मा गर्न थालिएको पाइन्छ । राजागीर्वाणयुद्ध विक्रम शाहको पालामा वि.सं. १८६९ भदौ १५ गते ‘पुस्तक चिताई तहबिल’ भनी लालमोहोर जारी भयो । ‘चिताई’ भन्नाले रेखदेख र ‘तहबिल’ भन्नाले ढुकुटी वा सङ्ग्रह भन्ने बुझन्छि । यो पुस्तकालय हनुमान ढोका दरबारमा अवस्थित थियो । औपचारिक रूपमा यही ‘पुस्तक चिताई तहबिल’ लाई नेपालको पहिलो पुस्तकालय मानिन्छ ।

तर त्यो पुस्तकालय एकठाउँमा रहन भने सकेन । त्यहाँ रहेका लिखत रग्रन्थहरू जङ्गबहादुर राणाले वि.सं. १९०४ मा थापाथली दरबारको जैसी कोठा (लेखपढ गर्ने कोठा)मा सारेका थिए भने वि.सं. १९५३ मा वीरशमशेरले दरबार स्कूलमा सारी ‘दरबार लाइब्रेरी’ नाम राखेका थिए । वि.सं. १९५७ मा त्यहाँबाट घन्टाघरमा सारी ‘वीर पुस्तकालय’ तथा ‘घन्टाघर लाइब्रेरी’को नाममा सञ्चालन भएको थियो । २०२४ सालमा रामशाहपथमा नयाँ भवन बनाई उक्त पुस्तकालयका सबै सामग्री त्यहाँ सारियो र त्यसलाई ‘राष्ट्रिय अभिलेखालय’ नाम दिइयो । राष्ट्रिय अभिलेखालयमा विभिन्न विषय र महत्वका पुराना लिखत रग्रन्थ देखि नेपाल सरकारका महत्वपूर्ण दस्तावेजहरू सङ्कलन गर्ने गरिएको छ । हाल यहाँ कला, कौशल, धर्म, संस्कृति आदिका बारेमा जानकारी दिने ५० हजार जति विविध विषयका अभिलेख,ग्रन्थ र १४ लिपिका हस्तलिखित सामग्री रहेका छन् ।

२००७ सालअघि खुलेका पुस्तकालय
२००७ सालअघि आम नागरिकहरू शिक्षाबाट वञ्चितगराइएका भए तापनि राणाहरूको निजी प्रयोजनका लागि वीर पुस्तकालय, केशर पुस्तकालय, सिंह पुस्तकालय जस्ता केही पुस्तकालयको स्थापना भएको पाइन्छ । वि.सं. १९८६ मा ४६ जना युवाको जमातले सर्वसाधारणको उपयोगका लागि सार्वजनिक पुस्तकालय खोल्ने चाँजोपाँजो मिलाई भीमशमशेरलाई बिन्तीपत्र बुझाउने तरखर गर्दा गर्दै रामचन्द्र अधिकारी भन्ने व्यक्तिले भीमशमशेरलाई उक्त पोल लगाइदिए । भीमशमशेरले लक्ष्मीप्रसाद देवकोटालगायत ती ४६ जना युवालाई देशद्रोहीको आरोप लगाई जनही सय रुपैयाँ जरिवाना गराए का थिए । यो घटनालाई ‘लाइब्रेरी पर्व’ पनि भनिन्छ ।

सरकारको डरका बाबजुद पनि २००७ सालअगाडि उपत्यकाबाहिर विभिन्न पुस्तकालय खुलेको पाइन्छ । अम्बिकाप्रसाद लाकौलको अगुवाईमा वि.सं. १९८३ मा पाल्पाको तानसेनमा ‘पुस्तक पढ्ने दलान’ नाममा पुस्तकालय स्थापना गरिएको थियो । २००४ साल देखि उक्त दलान नै ‘धवल पुस्तकालय’को नाममा सञ्चालित छ । यसका साथै प्रदीप्त पुस्तकालय काठमाडौं–२००३, आदर्श पुस्तकालय विराटनगर–२००३, शारदा पुस्तकालय पाटन–२००३, विद्यामन्दिर पुस्तकालय बाग्लुङ–२००३, महावीर पुस्तकालय बुटवल–२००४, सार्वजनिक विद्याभवन पुस्तकालय धरान–२००४ लगायत विभिन्न स्थानमा पुस्तकालयको स्थापना भएको पाइन्छ । २००७ सालपछि भने देशभरि निर्वाध रूपमा पुस्तकालय खुल्न थाले ।

२०४६ सालपछि पुस्तकालय खोल्ने काममा गैर सरकारी संस्थाहरू अग्रपङ्क्तिमा पाइन्छन् । २०४८ सालमा स्थापित रिड नेपाल नामक गैर सरकारी संस्थाले विभिन्न जिल्लामा गरी ४९ वटा सामुदायिक पुस्तकालय स्थापना गरिसकेको छ । समुदायले जग्गा उपलब्ध गराई भवन निर्माणमा १५ देखि २० प्रतिशत हिस्सा व्यहोर्ने र आय–आर्जनको स्रोत जुटाउने भएमा संस्थाले सो स्थानमा उपयुक्त पाठ्यसामग्री उपलब्ध गराई पुस्तकालय स्थापना गर्ने गर्द छ । यसै गरी, सन् २००० मा स्थापित रुम टु रिड नामक गैर सरकारी संस्थाले प्रावि र निमाविस्तर का विद्यार्थीलाई मध्यनजर गरी पुस्तकालय स्थापना गर्ने गर्द छ । हालसम्म विश्वमा १० हजारभन्दा बढी पुस्तकालय स्थापना गरिसकेको यस संस्थाले नेपालका ३ हजार १२५ वटा विद्यालयमा पुस्तकालय स्थापना गरेको छ ।

पुस्तकालयको वर्गीकरण
पुस्तकालयलाई विशेष गरी राष्ट्रिय, सार्वजनिक, शैक्षिक , विशिष्ट र निजी पुस्तकालयको रूपमा वर्गीकरण गरेको पाइन्छ । मुलुकभित्र प्रकाशित पुस्तकहरू सङ्कलन गरी पुस्तकालय सेवा प्रदान गर्नु तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको पुस्तकालय सेवाको प्रतिनिधित्व गर्नु राष्ट्रिय पुस्तकालयको भूमिका हुन्छ । स्व. पण्डित हेमराज पाण्डेको निजी स्वामित्वमा रहेको पुस्तकालय २०१३ सालमा नेपाल सरकारले खरिद गरी सिंहदरबारस्थित सिक्रीढोकाबाट सञ्चालनमा ल्याएको थियो । सरकारले खरिद गर्दाका बखत ३४ हजारको हाराहारीमा पाठ्यसामग्री रहेको सो पुस्तकालय अहिले नेपाल राष्ट्रिय पुस्तकालयका नाममा हरिहर भवन पुल्चोकमा अवस्थित छ । त्यसमा हाल ९० हजारको सङ्ख्यामा पुस्तक र अन्य पाठ्यसामग्रीहरू रहेका छन् ।

यसै गरी, शैक्षिक संस्थाले आफूलाई आवश्यक एवं उपयोगी पाठ्यपुस्तक सङ्कलन गरी सञ्चालन गरेका शैक्षिक क्षेत्रका पुस्तकालयहरूमध्ये त्रि–चन्द्र कलेजको पुस्तकालय नेपालको सबैभन्दा पुरानो मानिन्छ । २०१६ सालमा नेपाल सरकार र यूएसएआईडीको सहकार्यमा काठमाडौंको लालदरबार (हालको होटल याक एण्ड यती) मा सेन्ट्रल लाइब्रेरी स्थापना भएको थियो । २०१६ सालमै त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै त्रिपुरेश्वरमा त्रिवि पुस्तकालयको पनि स्थापना भयो । २०१९ सालमा उक्त सेन्ट्रल लाइब्रेरीलाई त्रिवि पुस्तकालयमा गाभेर त्रिवि केन्द्रीय पुस्तकालय नाम राखियो । हाल तीन लाख ५० हजारको सङ्ख्यामा पाठ्यसामग्री रहेको यो पुस्तकालय देशको सबैभन्दा ठूलो शैक्षिक पुस्तकालयको रूपमा परिचित छ ।

सबै वर्गका जनतालाई लक्षित गरी निःशुल्क सेवा प्रदान गर्नका लागि सञ्चालित पुस्तकालयलाई सार्वजनिक पुस्तकालय भनिन्छ । उपत्यकामा रहेका केही प्रचलित सार्वजनिक पुस्तकालयहरूमा नेपाल राष्ट्रिय पुस्तकालय–२०१३ (पुल्चोक), केशर पुस्तकालय–२०२६ (केशरमहल), डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय–२०६० (लाजिम्पाट), उपत्यका सार्वजनिक पुस्तकालय–२०६२ (भृकुटीमण्डप) आदि छन् । कुनै निश्चित विषय वा क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिएका पुस्तकालयलाई विशिष्ट पुस्तकालय भनिन्छ । यसअन्तर्गत जमलस्थित कानुन पुस्तकालयलाई लिन सकिन्छ । मदन पुरस्कार पुस्तकालय–२०१२ ‘पुस्तकालय’ भनिए तापनि सार्वजनिक प्रयोगका लागि खुला छैन । यसका संस्थापक कमलमणि दीक्षितका अनुसार ‘पुस्तकालय’ भनिए तापनि यो निजी क्षेत्रबाट सञ्चालित अभिलेखालय हो । यसले नेपाली भाषामा प्रकाशित पुस्तक तथा अन्य सामग्री सुरक्षित राख्ने र सार्वजनिक उपयोगका लागि तिनको डिजिटल संस्करण तयार पार्ने उद्देश्य राखेको छ । हाल यहाँ रहेका पाठ्यसामग्रीको सङ्ख्या ३५ हजारको हाराहारीमा छ ।

यस्तै, विदेशी संस्थाका पुस्तकालयहरूमा नेपाल–भारत पुस्तकालय (सुन्धारा), अमेरिकन लाइब्रेरी (महाराजगन्ज), ब्रिटिस लाइब्रेरी (हाल यहाँका पाठ्यसामग्री उपत्यकाको सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा राखिएको छ) आदि रहेका छन् । नेपालमा अहिलेसम्म सार्वजनिक पुस्तकालयको सङ्ख्या यकिनसाथ भन्न नसकिए तापनि विभिन्न सङ्कलकको तथ्याङ्कलाई आधार मानेर हेर्दा यो सङ्ख्या ६ सय देखि १ हजारको बीचमा रहेको पाइन्छ ।

नेपालमा वि.सं. १८६९ भदौ १५ (सन् १८१२ अगस्ट २८) मा पुस्तकालयको औपचारिक स्थापना भएको मितिलाई आधार मानी २०६५ साल देखि भदौ १५ गतेलाई पुस्तकालय दिवसको रूपमा मनाइने गरिएको छ । २०६८ साल भदौ १५ गते पुस्तकालय स्थापनाको दुई सय वर्ष पुगेको अवसर पारेर भव्यताका साथ चौथो पुस्तकालय दिवस सम्पन्न गरियो । तथापि; अझ्सम्म पनि नेपालमा पुस्तकालयको विकास एवं विस्तारले पर्याप्त मात्रामागति लिन सकेको छैन । गुणस्तरीय शिक्षामा पुस्तकालयको अहम् भूमिका हुने हुँदा सबैमा पुस्तकालयको उपयोग एवं पुस्तक पढ्ने बानी बढाउनु आवश्यक छ । पुस्तकालयको विकास का लागि जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०५२ सालबाट त्रिविमा पुस्तकालय विषयमा स्नातक तह र हाल स्नातकोत्तर तहको कक्षा सञ्चालन हुँदै आएको छ ।

पुस्तकालय स्थापनाका दुई सय वर्षको अन्तरालमा निकै उतारचढाव देखि ए तापनि अबका दिनमा भने यसको विकास एवं विस्तारमा पुस्तकालयसँग सम्बन्धित निकाय, संघ/संस्था र पुस्तकालयकर्मीले आ–आफ्नो तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ । जुनसुकै क्षेत्रको विकास का लागि त्यस क्षेत्रसँग सम्बन्धित जनशक्ति नै अग्रसर हुनु आवश्यक हुन्छ । शिक्षित समाज एवं गुणस्तरीय शिक्षाका अलावा समग्र राष्ट्रको विकास मा पुस्तकालय सहयोगी मात्र नभई पथ–प्रदर्शकको रूपमा समेत रहेको हुन्छ । सैद्धान्तिक एवं व्यावहारिक ज्ञान एवं सूचनाको भण्डार पुस्तकालय भएकाले यसको संरक्षण, सम्बद्र्धन एवं विस्तारमा विशेषतः शिक्षक, विद्यार्थी र शिक्षाकर्मीहरूको विशेष ध्यान पुग्नु जरुरी छ ।

(लेखक डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयका सहायक लाइब्रेरियन हुन्)

commercial commercial commercial commercial