गुणात्मकताको कसी शिक्षक !

थकित शरीर, आलस्य मन, बूढो शरीर र राजनीतिक पृष्ठपोषण लिएर विद्यालय प्रवेश गर्ने हजारौं कामचोर अदक्ष शिक्षकहरूले आफूलाई सच्याउँदै कर्तव्यनिष्ठताको बोध गर्न सक्नुपर्दछ । समस्याको समाधान शिक्षकको कोर्टमा नै बढी छ ।

“सर ! मेरो छोरो कसरी फेल भयो ? एउटा छोरो, बर्बादै भइहाल्यो नि ! किन सर मेरो छोरोले विद्यालयमा रराम्रोसँग पढ्दैन, गृह कार्य गर्दैन ?”

चिन्तित अनुहार लिएका एक अधबैंसे अभिभावक मलाई प्रश्नको खात ल गाउँदैथिए । मैले उहाँलाई सम्झउने प्रयत्न गर्दै भनेँ, “घरमा अलि बढी ख्याल गर्नु होस् । साथीभाइको सङ्गत र व्यवहारले पनि केही समस्या थपेको छ । त्यसो त; सिक्नलाई ऊ खास उत्साही नै देखिँदैन । उसलाई केही घरायसी समस्या छ जस्तो छ ।” समस्याको कारण घर र घरको वातावरणलाई इङ्गित गर्दै म समस्याबाट मुक्त हुने प्रयास गर्दैथिएँ । छोटो वार्तालापपछि उनी बाटो लागे । मैले उनलाई अनुरोध गर्दै भनेको थिएँ, “उसको सन्दर्भमा हामी आफैँ पनि चिन्तित छौं । म सक्दो प्रयास गर्ने छु ।”

यस्ता सन्दर्भहरू प्रायः आइपर्छन् । अभिभावकहरू आफ्ना छोराछोरीको भविष्यको लागि बढी नै चिन्तित देखिन्छन्; जुन स्वाभाविक पनि छ । तर लगभग प्रत्येक दिन सामना गर्नु पर्ने यस्ता प्रश्नले मलाई घोरिन बाध्य पार्ने गरेका छन् । के हामी शिक्षकहरूले सही शिक्षण गरिरहेका छौं ? के हराम्रो शिक्षणले विद्यार्थीमा उत्सुकता थपेको छ ? विद्यार्थीको ध्यानलाई पठन–पाठन क्रियाकलाप तर्फ रचनात्मक तबरले खिच्न सफल भएका छौं ? किन हराम्रो शिक्षणले कमजोर विद्यार्थीमा सुधार ल्याउन सकेन ? के हामी शिक्षकले नै आफ्नो शिक्षण क्रियाकलाप को विश्लेषण र मूल्याङ्कन गर्नु पर्ने भएको हो ?

हो, शिक्षकको शैलीमा केही परिवर्तन अत्यावश्यक छ । अदक्ष व्यक्तिलाई शिक्षण प्रक्रियाद्वारा सबल र सक्षम जनशक्तिमा रुपान्तरण गराउने सक्षमता राख्ने शिक्षकहरू सक्षम, सक्रिय र सकारात्मक हुनैपर्छ । ज्ञानका र सूचनाका अनन्य स्रोत मानिने शिक्षकको परिभाषा र दायित्व दुवैमा परिवर्तन आएको छ । अब शिक्षक सर्वेसर्वा होइनन्; मात्र सहजकर्ता हुन् । सिकाइको निमित्त वातावरण निर्माण (पाठ्यक्रम, पाठ्यपुस्तकको उपलब्धता, सिकारुमा रुचि, इच्छा, तत्परता र आवश्यकताको भावना निर्माण, स्वाध्यायन संस्कृतिको निर्माण, आपसी छलफल र विचारबाट सत्य–तथ्यको नजिक पुगिने यथार्थताको बोध, उद्देश्यप्राप्तिको लागि समर्पण र निरन्तरताको महसुस आफ्नो क्षमता सम्भावनालाई चिन्न) गर्नु पर्दछ । त्यसै गरी विद्यार्थीलाई निष्क्रियग्रहणकर्ताबाट अनुसन्धानकर्ताको रूपमा प्रयोगमा ल्याउनुपर्दछ । यसले विषयवस्तुमा विद्यार्थीको सक्रिय सहभागिता बढाउँछ । पुरातन सोच र अहम् एवं व्यक्तिवादी संस्कृतिले सिर्जनात्मकताको सट्टा आफ्नो ज्ञान अरूमा थोपर्न मात्र सजिलो बनाउँछ ।

शिक्षकले शिक्षण गर्दा विषयवस्तुमा अत्यधिक सोच्नको लागि वातावरण तयार पारी विद्यार्थीहरूलाई निर्धक्कसँग आफ्ना विचार , अनुमान र कल्पनाहरू अरूको सामु पेश गर्न दिनुपर्दछ । यसबाट सोच्नेशक्ति एवं कल्पनाशक्तिमा वृद्धि हुनाको साथै आफ्नो विचार मा अरूलाई सहमत गराउन आवश्यक पृष्ठभूमि तथा तथ्यहरूको सङ्कलन, अध्ययन र विश्लेषण गर्न अनिवार्य बनाउँछ । आफ्नो प्रस्तुति माथि अन्य साथीहरूको प्रश्न भएमा चित्तबुझदो उत्तर दिने क्षमता बढ्छ, जसले सामाजिकीकरणमा सहयोग पुर्याउँछ । शिक्षकले एक चरणको छलफल भइसकेपछि विषयवस्तुसँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराई अध्ययन गर्न सहजीकरण गर्नु पर्दछ । विद्यार्थीको उमेर, क्षमता, कक्षा र आवश्यकताको आधारमा विषयवस्तु र यसकोगहिराइमा पुग्ने सवालमा शिक्षकले विशेष भूमिका खेल्नुपर्दछ । यतिञ्जेलसम्म विद्यार्थीहरू आफ्ना अनुमान र यथार्थताका बीचमा तुलना गर्न सक्षम भइसकेका हुन्छन् । कुनै पनि प्रश्नको जवाफ छलफल बाट पत्ता लगाउन सक्छन् । अब शिक्षकले ती सङ्ग्रहित बुँदा र अन्य अपुग बुँदाहरू प्रस्टसँग कालोपाटीमा लेखी हाम्रा दैनिक जीवनमा घटेका र घट्ने खालका सन्दर्भ/उदाहरणहरू प्रस्तुत गरी विषयवस्तुको धारणा प्रस्ट बनाउन सक्नुपर्दछ । यसरी सिकिएको सिकाइ चिरस्थायी, जीवनोपयोगी र जीवन्त पनि हुन्छ ।
शिक्षकले विषयवस्तु पढाउनु भन्दा अगाडि त्यो विषय प्रस्टसँग बुझन आवश्यक पर्ने आधारभूत शीर्षक एवं उपशीर्षकहरूको सिकारुमा ज्ञान भए/नभएको पहिचान गरी आवश्यकता अनुसार उपचार गर्न सक्नुपर्दछ । प्रत्येक विद्यार्थीको पारिवारिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षहरू फरक हुने भएकाले रुचि, चाहना, आवश्यकताका साथै सिक्ने क्षमता र तत्परतामा पनि विविधता आउँछ । यस्ता फरक क्षमताका विद्यार्थीलाई एउटै कक्षामा राखी शिक्षण गर्न विशेष सीपको आवश्यकता हुने हुँदा शिक्षक अध्ययनशील, तार्किक, धैर्य र अनुशासित बन्न सक्नुपर्दछ । विद्यार्थीहरूका बीचमा गृह कार्य, कक्षाकार्यका साथै उत्तरपुस्तिकाहरू साटासाट गरेर एकले अर्काको राम्रा पक्षहरूको अनुसरण गर्ने वातावरण सृजना गरी आफ्नो सिकाइको घेरो फराकिलो बनाउने अवसर जुटाइ दिनुपर्दछ । अध्ययनका क्रममा ठीक भए कसरी र बेठीक भए कसरी भन्ने तरिकाले विश्लेषणात्मक अध्ययन गर्ने बानीको विकास गराउनु पर्दछ । गल्ती गर्ने र गल्ती दोहोर्याउने सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसमा न्यून बनाउन शिक्षण रणनीतिमा फरक ढङ्गले सोच्न थाल्नुपर्दछ ।

थकित शरीर, आलस्य मन, बूढो शरीर र राजनीतिक पृष्ठपोषण लिएर विद्यालय प्रवेश गर्ने हजारौं कामचोर अदक्ष शिक्षकहरूले आफूलाई सच्याउँदै कर्तव्यनिष्ठताको बोध गर्न सक्नुपर्दछ । समस्याको समाधान शिक्षकको कोर्टमा नै बढी छ । यदि यी र यस्ता विषयमा सच्चिन थाल्यौं भने अभिभावकहरू गुनासा र प्रश्नहरू लिएर होइन स्यावासी र बधाईका शब्द लिएर विद्यालय पुग्नेछन् । आखिरमा रराम्रो काम गर्ने को पहिचान भएरै छाड्छ ।
प्रकाश पौडेल
धादिङवेसी, धादिङ

commercial commercial commercial commercial