दाइँ गर्न गोरु नै चाहिन्छ है !

अयोग्य शिक्षकहरूको भीडलाई समयमै व्यवस्थापन गर्न सकिएन भने सामुदायिक विद्यालयको पतनलाई कसैले रोक्न सक्दैन । सरकारले समयमै बुझनुपर्छ, “मृगहरूको वथानले बाघको सिकार गर्न सक्दैन ।” अझ् भनौँ, “दाइँ गर्न गोरु नै चाहिन्छ, बोकाले हुँदैन ।”

सामुदायिक विद्यालय तीन ओटा खम्बामा अडिएको हुन्छः शिक्षक, समुदाय र सरकार । यी तीनै पक्षको सहकार्य, समन्वय र अन्तरसम्बन्धले सामुदायिक विद्यालय र त्यहाँका विद्यार्थीको भविष्य निर्धारण गर्द छ । एस.एल.सी.को रिजल्टले बर्सेनि देखाउने गरेको छ– निजी विद्यालयका विद्यार्थी ९० प्रतिशत भन्दा बढी र सामुदायिक विद्यालयका विद्यार्थी ४० प्रतिशत भन्दा कम उत्तीर्ण हुने गर्छन् । हुनेखानेले निजी विद्यालयमा र हुँदा खानेले सामुदायिक विद्यालयमा पढाउने प्रवृत्ति परम्पराको रूपमा विकास भएको छ । दिन प्रतिदिन सामुदायिक विद्यालय थाङ्ने–माङ्नेहरूको विद्यालयको रूपमा परिणत हुने क्रम डरलाग्दो रूपमा विकसित हुँदै गएको छ ।

सामुदायिक विद्यालयमा अध्यापनको
स्तर कमजोर हुनाका केही कारण

अयोग्य शिक्षकको भीड
अङ्ग्रेजी माध्यममा पढाउने अभिभावकको चाहनामा तीव्र वृद्घि हुँदै गएको छ । आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाउनुको प्रमुख कारण अङ्ग्रेजी माध्यम हो । सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गर्न नसक्नुको प्रमुख कारण त्यहाँका अयोग्य शिक्षक हुन् । सामुदायिक विद्यालयमा खास गरी प्राथमिक तहका अधिकांश शिक्षकले अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने त परको कुरा ; आफ्नै नाम समेत अङ्ग्रेजीमा लेख्न सक्दैनन् । अयोग्य शिक्षकहरूको भीडलाई समयमै व्यवस्थापन गर्न सकिएन भने सामुदायिक विद्यालयको पतनलाई कसैले रोक्न सक्दैन । सरकारले समयमै बुझनुपर्छ, “मृगहरूको वथानले बाघको सिकार गर्न सक्दैन ।” अझ् भनौँ, “दाइँ गर्न गोरु नै चाहिन्छ, बोकाले हुँदैन ।”

जागिरे मनोवृत्ति
धेरैजसो शिक्षक जागिर खान शिक्षक भएका हुन्, पढाउन होइन । उनीहरूको ध्यान कतिबेला ४ बज्छ र कहिले के निहुँमा बिदा होला भन्ने मात्र हुन्छ । शिक्षकको लापरबाहीले विद्यार्थीको भविष्य मात्र होइन देशकै भविष्य एक पुस्ता पछाडि धकेलिन्छ भन्ने चेतना शिक्षकमा नभएसम्म सामुदायिक विद्यालयको भविष्य उज्ज्वल हुन सक्दैन ।
 

अनुशासनको कमी
सामुदायिक विद्यालयका शिक्षक विद्यालय नै जाँदैनन्, गए पनि कक्षामा जाँदैनन्, कक्षामा गए पनि पढाउँदैनन्, पढाए पनि मन लगाएर पढाउँदैनन् ।

जब शिक्षकमा अनुशासन हुँदैन, विद्यार्थीमा अनुशासन हुँदैन । जब विद्यार्थीमा अनुशासन हुँदैन, समाज मा अनुशासन हुँदैन । जब समाज मा अनुशासन हुँदैन, देशमा अनुशासन हुँदैन ।

शिक्षक राजनीतिक दलका कार्यकर्ता बन्नु
धेरै शिक्षक यस्ता छन् जसको अधिकांश समय विद्यालयमा होइन, पार्टी कार्यालयमा बित्छ । जसको झेलामा विद्यालयमा अध्यापन गराउन आवश्यक पुस्तक तथा शैक्षिक सामग्री होइन, दलका घोषणापत्र तथा दस्तावेजहरू हुन्छन् । सबै राजनीतिक दलको लागि शिक्षक भोट छाप्ने मेशिन भएको छ । राजनीतिक दलले कार्यकर्ता परिचालन गर्ने भनेको एक हिसाबले शिक्षक परिचालन गर्ने हो ।

लट्ठी टेक्ने उमेरसम्म जागिर खाने प्रवृत्ति
शिक्षकले अनिवार्य अवकाश पाउने उमेर ६० वर्ष हो । शिक्षा प्राविधिक विषय हो । यो पेशाको लागि जुझरु, सृजनशील, लगनशील र आफ्नो कार्यक्षमता निरन्तर अद्यावधिक गर्न सक्ने युवा पुस्ता आवश्यक छ, जोतिन नसक्ने बुढो गोरु होइन । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने हो भने ३० वर्ष नाघेकालाई शिक्षकमा नियुक्त गर्नु हुँदैन र ५० वर्ष नाघेकालाई अनिवार्य अवकाशको व्यवस्था हुनुपर्दछ ।

शिक्षकलाई राजनीतिक दलको आश्रय
शिक्षकलाई ‘जागिर’मा कुनै समस्या परेमा ऊ जाने ठाउँ शिक्षा कार्यालय होइन, पार्टी कार्यालय हो । पुरस्कार , सरुवा, बढुवा जिल्ला शिक्षा कार्यालय वा शिक्षा विभाग वा शिक्षा मन्त्रालयले होइन, पार्टीले गर्छ । अनि शिक्षक कोहीप्रति उत्तरदायी किन बन्नु परयो जब राजनीतिक दल नै शिक्षकका लागि ‘त्वमेव माताश्च, पिता त्वमेव’ हुन्छ भने । यहाँसम्म कि एस.एल.सी.को सुपरीवेक्षक नियुक्त गर्न मात्र होइन, जनगणनाको लागिगणक नियुक्त गर्न समेत पार्टीहरूले भागबण्डाको आधारमा गर्छन् ।

अधिकारविहीन प्रअ र जिशिअ
प्रधानाध्यापक विद्यालयको प्रमुख हो भने जिल्ला शिक्षा अधिकारी जिल्लाभरिका शिक्षक र विद्यालयहरूको प्रमुख । प्रमुखलाई पुरस्कार दिने र दण्ड दिने अधिकार हुनुपर्छ । तर हालको व्यवस्था अनुसार प्रधानाध्यापकको अधिकार भनेको शिक्षकलाई तलब खुवाउने चेक र तलबी भर्पाइमा सही गर्ने र बढिमा हाजिरकापीमा अनुपस्थित शिक्षकको बिदा लेख्ने हो । जिल्ला शिक्षा अधिकारी को अधिकार भनेको राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले गरिदिएको निर्णयमा सही गर्नु हो । शिक्षकले जतिसुकै बद्मासीगरोस्, जिल्ला शिक्षा अधिकारी ले अरू त अरू त्यस्ता शिक्षकलाई एक कि.मी. परको अर्को विद्यालयमा सरुवा गर्ने हैसियत समेत राख्दैनन् । बरु एउटा प्राथमिक तहको शिक्षकले जिल्ला शिक्षा अधिकारी लाई नै सरुवा गरिदिने धम्की दिने ‘हैसियत’ राख्दछन् ।

पुरस्कार तथा दण्डको व्यवस्था नहुनु
शिक्षक विद्यालय गए पनि हुन्छ, न गए पनि हुन्छ । कक्षा कोठामा गए पनि हुन्छ, न गए पनि हुन्छ । पढाए पनि हुन्छ, नपढाए पनि हुन्छ । न शिक्षकले साह्रै लापरबाही गर्दागाली गर्ने कोही छ, न साह्रै मिहिनेत गर्दा स्याबासी दिने कोही छ । पुरस्कार को व्यवस्था छैन भनौँ, प्रत्येक वर्ष शिक्षा पुरस्कार बाँडिन्छ, बढुवाको व्यवस्था पनि छ । तर त्यो व्यवस्था इमान दार र मिहिनेती शिक्षकको लागि होइन, दलका कार्यकर्ता र शिक्षक संघ–सङ्गठनका नेताको लागि हो ।

वेतन दिने सरकार, बुझाउने निजी विद्यालयलाई
सरकारले दिएको तलब अधिकांश सरकारी कर्मचारीले निजी विद्यालयमा बुझउँछन् । सरकारी कर्मचारीले त गरे – गरे , सरकारी शिक्षकले समेत सामुदायिक विद्यालयमा बुझेको तलब निजी विद्यालयमा बुझउँछन् । अनि सामुदायिक विद्यालयमा पढाउने शिक्षक कोप्रति जिम्मेवार रहन आवश्यक रह्यो र ? सरकारी लाभको पदमा बस्ने हरेक व्यक्तिले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गर्न सकिएमा मात्र पनि सामुदायिक विद्यालयको आमूल परिवर्तन सम्भव छ ।

सरकार र अभिभावकको अनुगमन नहुनु
सरकार चलाउनेका छोराछोरी, जागिरेका छोराछोरी, कर्मचारीका छोराछोरी, नेताका छोराछोरी, व्यापारीका छोराछोरी, शिक्षकका छोराछोरी निजी विद्यालयमा पढ्छन् । कतै केही हैसियत नभएकाका छोराछोरी मात्र सामुदायिक विद्यालयमा पढ्छन् । त्यसता अभिभावकहरूले विद्यालय र शिक्षकले जतिसुकै लापरबाही गरे पनि विद्यालय वा जिल्ला शिक्षा कार्यालयमा गुनासो गर्ने हैसियत राख्दैनन्, गुनासो गरे पनि तिनका गुनासोले केही अर्थ राख्दैन ।

गुणस्तर हीन पाठ्यपुस्तक
सरकारले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तकको व्यवस्था गरेको छ । पाठ्यपुस्तकमा प्रयोग भएको कागजको गुणस्तर त यस्तै त्यस्तै हो, पाठ्यवस्तु समेत निजी विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तकको तुलनामा न गुणस्तरीय छ न आकर्षक नै । खास गरी साना विद्यार्थीले प्रयोग गर्ने पाठ्यपुस्तक रङ्गीन चित्रले भरिएको र पाठ्यवस्तु आकर्षक ढङ्गले प्रस्तुत गरिनु आवश्यक छ जसले साना विद्यार्थीलाई आकर्षित गर्नु का साथै पढाइमा रुचि ज गाउँछ । तर सामुदायिक विद्यालयमा साना विद्यार्थीले प्रयोग गरिने पाठ्यपुस्तक वास्तवमै ‘दानमा प्राप्त गरेको थारोगाई’ जस्तो छ ।

सक्षम व्यक्ति शिक्षण पेशाप्रति आकर्षित नहुनु
शिक्षण पेशालाई अन्यत्र नपाएपछि जागिर खाने ठाउँको रूपमा बुझन्छि । वास्तवमा शिक्षण पेशामा सबैभन्दा दक्ष व्यक्तिहरू हुनुपर्ने हो । भनिन्छ, “एक अयोग्य शिक्षकले एउटा पुस्तालाई नै पछाडि धकेल्छ ।” यस्तो संवेदनशील पक्षमा दक्ष जनशक्ति आकर्षण गर्न सरकारको ध्यान पटक्कै गएको देखिँदैन बरु सामुदायिक विद्यालयलाई अस्थायी शिक्षक भर्तीकेन्द्र बनाइएको छ ।

माथि उल्लेख गरिएका बुँदाहरूमध्ये आधाभन्दा बढी बुँदाहरूमा शिक्षकको कमजोरी देखिन्छ तर यसमा शिक्षक मात्र दोषी भन्न पटक्कै सकिँदैन । शिक्षक पनि एक सामाजिक प्राणी हो । जबसम्म कर्तव्यच्यूतलाई सजाय र इमान दारलाई पुरस्कार को संस्थागत रूपमा विकास गर्न सकिँदैन यसको वा उसको दोष भनेर कुनै पनि पक्ष पन्छिएर पानी माथि ओभानो बन्न खोज्नु देशलाई अझ् एक पुस्ता पछाडि धकेल्नु र बर्बाद बनाउनु हो । एउटा प्रचलित, सान्दर्भिक, मार्मिक भनाइ छ, “एक वर्षको लागि धान रोप, दश वर्षको लागिरूख रोप, सय वर्षको लागि शिक्षामा लगानीगर ।”
शिक्षक, समुदाय र सरकारलाई चेतना भया ।

वाल्मीकि निमावि, बागेश्वरी–८, भक्तपुर

commercial commercial commercial commercial